Monday, March 11, 2013



ध्यान र पुनर्ताजगी
— नेत्र आचार्य


अघिल्लो वर्षको आखिरीतिर आयोजित एउटा विपश्यना शिविरमा गुरु छोक्न्यी रिन्पोछेले भने, ‘बुद्धले संसारलाई दिएको सबभन्दा ठूलो देन विपश्यना ध्यान हो । बुद्धले आफ्नो कालखण्डमा ध्यानको यो प्राचीन पूर्वीय कलालाई पुनरुत्थान गरेका थिए । विपश्यनालाई एकपटक फेरि पुनरुत्थान गर्ने बेला आएको छ ।’ यतिखेर स्रोत साधन सम्पन्न विश्वविद्यालयहरूले ध्यानको प्रभाव र उपयोगितामाथि विभिन्न प्रयोग गर्न थालेका छन् ।

हार्वर्ड विश्वविद्यालयमा गरिएको पछिल्लो शोधले ध्यान गर्नेहरूमा मानसिक स्वास्थ्य, एकाग्रता र स्मरण शक्तिको विकास भएको तथा तिनीहरू तुलनात्मक रूपले सन्तुलित जीवन बाँच्ने गरको पाइएको छ । विपश्यना ध्यान साधकहरूमाथि गरिएको उक्त शोधबाट ध्यानीहरूको दिमागको आयतनसमेत बढाएको देखियो । हार्वर्ड मेडिकल स्कूलकी मनोविज्ञानवेत्ता तथा शोधको अगुवाइ गरेकी सारा लाजार भन्छिन्, संगीतकारहरूमा ध्यानले दिमागका संगीतसम्बन्धी तन्तुको आकार वृद्धि गरेको र जादूगरहरूमा तिनको दिमागका दृश्य नियन्त्रण गर्ने तन्तु सबल बनाएको देखियो । उनका अनुसार ध्यान दीर्घ यौवनका लागि समेत प्रभावी देखिएको छ । कैयौँ ध्यानीहरूको अनुभवबाट सिद्ध भइसकेको छ, नियमित ध्यानको अभ्यासले विचारमा स्पष्टता आउँछ, तनाव हराउँछ र प्रतिकूल परिस्थितिहरूमा अविचलित रहने सहनशीलता विकसित हुन्छ । तर आकांक्षाहरूको पछि दौडन सधैँ हतारो गर्नुपर्ने हुँदा मानिसलाई ध्यान गर्ने समय निकाल्न मुश्किल हुन्छ र ध्यानमा बसिहाले पनि मनको बेचैनीले गर्दा एकाग्र रहन र ध्यानलाई स्वभाव बनाउन कठिन हुन्छ । प्राचीन कालमा भने ध्यान मानिसको एउटा महत्वपूर्ण दैनिकी थियो ।

ध्यान प्रायः सबै धर्मको एक प्रमुख अङ्ग हो । हिन्दूहरू गायत्री मन्त्रजपबाट नित्य दैनिकी सुरु गर्छन् । बौद्धहरू प्रातः कालमा विपश्यना अभ्यास गर्छन् भने क्रिश्चियनहरू प्रार्थना गर्छन् । मुस्लिम मस्जिदमा नित्य मध्यान्हकालमा नमाज पढ्ने प्रार्थना गर्ने गरिन्छ । वर्तमान उत्तरआधुनिक कालखण्डमा जीवन जति जटिल हुँदै गएको छ उति नै फेरि एक पटक ध्यान मानव जीवनको दैनिकीको एक हिस्सा बन्दै गइरहेको छ । तनावबाट मुक्त हुन र मानसिक शान्ति अनुभूति गर्नका लागि भए पनि शहरियाहरू ध्यानमा बस्न थालेका छन् । ध्यानको महत्ता र उपयोगिता भने योभन्दा निकै बेशी छ ।

ध्यान त्यो कला हो जसले हामीलाई आफ्नै दिमागमाथि नियन्त्रण गर्न सिकाउँछ । अन्यथा हामी हरपल दिमागको दास भइरहेका हुन्छौँ, दिमागले हामीलाई काबूमा राखिरहेको हुन्छ । हामीले चाहे पनि, नचाहे पनि दिमागमा नानावली चाहिने नचाहिने विचार खेलिरहेका हुन्छन् । हामीले शान्त बस्न चाहँदा पनि दिमागले सोचिरहेको हुन्छ, विचारको प्रवाह एक क्षण पनि रोकिएको हुँदैन । कसैले सम्मान वा अपमान गरेको प्रसङ्ग आवश्यकताभन्दा बढी दिमागमा खेलिरहन्छ । दिमागमा आकांक्षा र अतृप्त चाहनाहरूको त हरदम बाढी नै प्रवाहित भइरहेको हुन्छ । यो कहिले घर पुग्छ, कहिले अफिस, कहिले पूरा गर्नुपर्ने डेडलाइनका बारेमा चिन्ता गरिरहेको हुन्छ, भने कहिले हाकिम खुशी होला कि नहोला भन्ने तर्कना गरिरहेको हुन्छ । दिमाग अक्सर विनाकाम यत्रतत्र भौँतारिइरहेको हुन्छ भने हामी गर्नुपर्ने मुख्य कामबाट विमुख भइरहेका हुन्छौँ । दिमागलाई जे देख्यो त्यही चाहिन्छ । तृष्णाहरू असीमित हुन्छन् तर तृप्ति सीमित । एकाध चाहना पूरा गर्नु माग्नेको पोल्टामा दुईचार सिक्का फ्याँकेजस्तै हुन्छ । आज माग्नेको जीवन धानिन्छ यद्यपि भोलि उसका दुख झन् बढ्छन् । दिमागको दास हुँदा हामी यही नियतिको शिकार हुन पुग्छौँ । काबूमा रहेको दिमाग मानिसका निम्ति स्वर्ग हो भने बेलगाम दिमाग नरक हो । बुद्धले भनेका थिए, संसार जित्ने मानिस बहादुर होइन, बहादुर त्यही हो जसले आफ्नो दिमागमाथि विजय प्राप्त गरेको हुन्छ । ध्यान साधनाद्वारा दिमागलाई काबूमा राख्न सकिन्छ ।

ध्यान एउटा मिहीन कला हो । ध्यान मस्तिष्कलाई विचारशून्य पार्नु होइन । बरु त्यहाँ खेल्ने विचारहरूलाई विना हस्तक्षेप अवलोकन गर्नु हो । क्रमशः नियमित अभ्यासबाट मस्तिष्कमा उठ्ने विचारका तरङ्गहरूलाई निगरानी र नियमन गर्ने क्षमता हासिल हुन्छ । ध्यानमा बस्दा कहीँ कतैबाट आवाज सुनियो भने त्यसलाई के रहेछ भनेर सोच्ने होइन, सुन्ने मात्रै । खुट्टा निदाउँछ भने त्यहाँ भइरहेको शारीरिक संवेदना अनुभव गर्ने मात्र । अथवा बाह्य कुनै कुराले ध्यान भङ्ग गरिरहेको छैन भने स्वासप्रश्वासमा ध्यान केन्द्रित गर्ने । क्रमशः वर्तमानमा होशपूर्वक रहने अभ्यास गर्ने र शून्यता अनुभूति गर्ने । यसबाट मस्तिष्कलाई पर्याप्त विश्राम प्राप्त हुन्छ र एकाग्रता पनि विकसित हुँदै जान्छ । एकाध घण्टाको नियमित अभ्यासले केही दिनमै मन–मस्तिष्कमा ताजगी आउँछ र ऊर्जा भरिन थाल्छ । नकारात्मक विचारहरू विलय हुँदै जान्छन् र सकारात्मक सोचहरू विकसित हुन थाल्छन् । जर्मन दार्शनिक शोपेनहावर भन्छन्, ‘तिम्रो मनको आनन्द तिम्रो गोजीमा के छ त्यसमा होइन, तिम्रो मस्तिष्कको संरचनामा निर्भर गर्छ ।’ ध्यान गरौँ र आफ्नो मस्तिष्कलाई समृद्ध बनाऔँ ।
नोट : केही वर्ष पहिलाको आलेख ।



ब्रह्मा र देवदूत संवाद

-नेत्र आचार्य
Netra-Acharyaब्रह्माले भर्खरै नदी, जंगल, खेत, पहाड र हिमालहरूको सृष्टि गरेका थिए । आकाशबाट तलतिर नियाल्दै ब्रह्मा बूढा आफैँ मुग्ध भए, ‘आहा † कस्तो सुन्दर धर्ती † चन्द्रमाको मुस्कान, गुलाफको सुगन्ध र महको माधुर्य । वीरभोग्या बसुन्धरा, साहसीहरूले भोग्नलायक धर्तीमा जीवन बिताउने प्राणी पो कस्तो बनाउँm ?’
ब्रह्माले हीरा, मोती, पन्ना, सुन, चाँदीहरू पगाले । हरेक धातुको घोललाई मानिसको आकारमा उभ्याए । तर, कुन्नि किन हो ब्रह्मालाई उपयुक्त लागेन । अनेक प्रयोग गर्दागर्दा धेरै ढिलो भइसकेको थियो । आखिरमा उनको मस्तिष्कमा अपूर्व विचार फुर्‍यो । उनले शुद्ध माटोको एउटा मूर्ति बनाए र त्यसैमा प्राण फुकिदिए ।
त्यसैबेला एक देवदूत आइपुग्यो । विधाताको यो अनौठो रचना देखेर आश्चर्यचकित हुँदै सोध्यो, ‘तपाईंले यो के बनाउनुभयो ?’
ब्रह्माले आफ्नो कलाकारितामा गर्व गर्दै भने, ‘यसको नाम जीवन हो । मेरो सर्वश्रेष्ठ कृति ।’
‘क्षमा गर्नुहोला विधाता † तर, यसको शरीर माटोले किन बनाइदिनुभएको ? माटो त तुच्छभन्दा तुच्छ, जडभन्दा जड वस्तु हो । माटो नलिएर कुनै धातु लिएको भए हुन्थ्यो नि । हीरामोती वा सुनले नै बनाएको भए पनि उत्तम हुन्थ्यो,’ देवदूतले किञ्चित् आश्चर्य मान्दै सोध्यो ।
देवदूतको स्वाभाविक जिज्ञासा सुनेर ब्रह्मा बूढाको ओठमा एउटा मोहक मुस्कान दौड्यो । उनले भने, ‘बन्धु, यही हो जीवनको रहस्य । माटोको शरीरमा मैले सृष्टिको सारा सुख, सौन्दर्य र वैभव भरिदिएँ । जडमा आनन्दको चैतन्य फुकिदिएँ । मानिसले शरीरको जस्तो चाहन्छ उस्तै उपयोग गर्न सक्छ । शरीरलाई महत्त्व दिनेले माटोको जस्तै जडता भोग्नेछ, शरीरभन्दा माथि उठ्नेलाई आनन्दका तहतह अनुभूति हुनेछ । मैले सबै कुरा क्षणिक बनाइदिएको छु ताकि जीवनको हरक्षण मूल्यवान् होस् । हरक्षण सजगतामा रहन जरुरी होस् । ढोकाको पाटो सर्केझैँ बिछ्यौनामा कोल्टे फेर्दै सुतिराख्ने अल्छीहरूले उति नै जीवन गुमाउनेछन् ।’
देवदूतको चित्त बुझेको थिएन । किञ्चित् शंका गर्दै देवदूतले भने, ‘तपाईंले भनेजस्तो जीवनको उच्चतम आनन्द कुनै सर्वश्रेष्ठ धातुको चहकिलो शरीरमा भरिदिन सकिँदैनथ्यो ? सुनमा सुगन्ध हुनेथियो ।’
‘अहँ, सुनमा सुगन्ध हुनै सक्दैन । सुगन्ध त माटोमा मात्र सम्भव छ । यही कारणले त सृष्टि अद्भूत रहस्यमय बनेको छ † तिमी माटोका अवगुण मात्रै देख्छौ । गुणहरू देख्दैनौ । माटोमा अद्भूत उत्पादकत्व हुन्छ । माटोमै अंकुर पलाउँछन् । माटोले बनेको शरीरको विशिष्ट उपयोगिता छ । मानिसले शरीरको बाहिरी रूपरंगलाई सिँगार्दै बस्न पनि सक्छन्, भित्री सौन्दर्य फेला पारेर त्यसमा रमाउन पनि । चेतनाको गहिराइमा अनुभूति हुने आनन्दका क्षणमा मैले सृष्टि रचना गरेको हुँ । तिमीले उपनिषद्मा पढ्यौ होला— आनन्दादेव खल्विमानि भूतानि जायन्ते ।’
‘हो, पढेको थिएँ । आनन्दबाटै सृष्टि हुन्छ, आनन्दमै चलिराख्छ र आनन्दमै विलय हुन्छ । सायद यही कुरा बुझेर श्री अरविन्दले भनेका छन्, आनन्द नै रहस्य हो । परम आनन्द अनुभूति गर्न सिक्यौ भने तिमीले सृष्टिकर्तालाई देख्नेछौ ।’
देवदूतलाई कौतूहल लाग्दै थियो । उनले सोधे, ‘परम आनन्द कसरी अनुभूति हुन सक्छ ?’
ब्रह्माले एकछिन आँखा बन्द गरे । लामो श्वास लिए र देवदूतलाई सम्झाउन थाले, ‘सिर्जनशील काम गर्नेलाई काममै आनन्द अनुभूति हुन्छ । ध्वंसात्मक र विनाशकारी काम गर्नेलाई अपराधबोध र ग्लानि हुन्छ । कर्मको फल शरीरमा तत्काल देखापर्छ । पाप गर्नेको मन जलिरहेको हुन्छ, कताबाट पापको पोल फुस्केला भन्ने चिन्ता हुन्छ । भलो गर्नेको मन प्रशन्न हुन्छ । मानिसले स्वविवेकको प्रयोग गर्न सक्छ । कुन काम गर्ने, कुन नगर्ने भन्ने छनोट गर्न पाउँछ । चित्तनदी नामो उभयतो बाहिनी, पुण्याय च बहति, पापाय च । चित्त नामको नदी दुवैतिर बग्न सक्छ, पुण्य कर्मतिर बग्न पनि सक्छ, पापतिर ओरालो लाग्न पनि सक्छ । मैले जानीजानी मानिसको मनको स्वभाव चञ्चल बनाइदिएको छु । ताकि मानिस हरपल सजग रहोस् । अलिकति बेहोसी भएमा मानिसको मन पापतिर बग्न थालिहाल्छ । पछुतो र दु:ख भोग्न नपरोस् भनेर मानिस हमेसा वर्तमान क्षणमा होसपूर्वक बाँच्नुपर्छ, यही नै जिउने कला हो । विगतको चिन्ता र भविष्यको कल्पनामा रुमल्लिने र कुन बेला के गर्दै छु भन्ने होस नहुनेले दु:ख नपाए कसले पाउँछ त †’
सृष्टिकर्ता ब्रह्माको चातुर्य देखेर देवदूत प्रभावित भयो । बोलीमा केही श्रद्धाभाव ल्याएर उसले अर्को शंका व्यक्त गर्‍यो, ‘तपाईंले धेरै विचार पुर्‍याएर मानिस रच्नुभएछ । तर, मानिसले जीवनको गहन रहस्य बुझ्ला भन्ने लाग्दैन । मैले धेरै समानान्तर ब्रह्माण्डको भ्रमण गरेको छु । अन्य ग्रहका मानिसको स्वभाव कहाँसम्म देखेँ भने भौतिक शरीरबाट प्राप्त हुने सुखलाई नै मुक्ति भन्ठान्छन् । एउटा ग्रहको महाकविले भन्थ्यो, ‘सुन्दर युवतीहरूलाई पेन्टी र ब्राबाट मुक्त गरेपछि मात्र पुरुषलाई मोक्षको आनन्द प्राप्त हुन्छ ।’
देवदूतको कुरा सुनेर ब्रह्मालाई खेद भयो । ‘यौनको मामलामा मानिस र चौपाया उस्तै छन् । बरु पशु एक ऋतुमा मात्र सम्भोग गर्छन् । सम्भोगमा चेतनाको आनन्दको एक झलक मात्र प्राप्त हुने हो । त्यही एक झलकमा सन्तुष्ट हुन्छन् भने मेरो के लाग्छ । शरीर त उपहार हो । उपहारको प्याकेट खोलेर भित्र हेर्नेले चेतनाको अद्भुत आनन्द पाउँछन्, केवल खोल चाटिराख्नेलाई यही बानी पर्छ । नयाँनयाँ खोल चाहिन्छ । यज्ञकुण्डमा जति हवन गरे पनि आगोको ज्वाला शान्त हुँदैन ।’
ब्रह्मालाई हल्का विरक्ति लाग्यो । यद्यपि संयमित हुँदै भने, ‘म एक छिन ध्यानमा बस्छु । तिमी पृथ्वीको भ्रमण गरेर आऊ । एक चक्कर लगाएपछि यहीँ आउनु र मेरो सम्पूर्ण सृष्टि तिमीलाई कस्तो लाग्यो, बताउनू ।’
पृथ्वीको भ्रमण पूरा गरेर फर्केपछि देवदूतले ब्रह्मालाई दण्डवत् गरेर भने, ‘प्रभो, पदेपदे यत् नवतां उपैति तदेव रूपं रमणीयताया । म जहाँजहाँ पुगेँ त्यहाँ पाइलापाइलामा सौन्दर्य देखेँ, कणकणमा भगवान् देखेँ र प्रत्येक श्वासमा आनन्द अनुभूति गरेँ । एकाबिहानै सूर्य होली खेलेर निस्कँदो रहेछ र हिमाललाई रङ छेपेर राताम्मे बनाइदिँदोरहेछ । बर्खाको हिलो राम्रो, शरदको चाँदनी राम्रो, वसन्तका पालुवा राम्रा …।’
‘धर्तीको सुगन्धै बेग्लै । घामले गर्दा दिन उज्याला, ताराले गर्दा रात रमाइला । पारखी आँखामा त सर्वत्र सौन्दर्य देखिँदो रहेछ । घाम डुबेपछि सन्ध्या पृथ्वीमा ओर्लन्छे । कसैलाई पर्खेर बसेकी सन्ध्याको मनभरी अनुराग सल्बलाइरहेको हुन्छ । ठीक त्यतिबेलै, जून उदाएर उसलाई यस्तरी चुम्बन गर्छ उसले आफ्नो निष्पट्ट अँध्यारो सारी सर्लक्क खसेको पत्तै पाउँदिन ।’
मीठामीठा फल खाएको सम्झँदै देवदूतले अगाडि भने, ‘सृष्टिका फलहरू सुस्वादु र अमृततुल्य रहेछन् । तर, आँपको मीठो फलमा त्यति ठूलो कोया किन राख्नुभएको ? अनि, स्त्रीका स्तनमा कोया नै नराखिदिनुभएको । सुन्दरीहरूका स्तन लत्रिएपछि सौन्दर्य पनि खस्कँदोरहेछ ।’
मैले धेरै अनौठा दृश्य देखेँ । कुनै बस्तीमा घुम्दै थिएँ । एक ठाउँमा एउटा लहरामा विशाल फर्सी फलेको देखेँ । एमानको फर्सीले थाँक्रोबाट लहरालाई नै चोइटाइदिएको थियो । मैले सोचेँ, यो फर्सीले आफैँले धान्न नसक्ने फल किन फलाएको होला ? मैले त केही बुझ्न सकिनँ ।’
‘हेर्नुस् न, कति ठाउँमा त आपत् आइलाग्यो । एक ठाउँमा थकाइ मार्न ओखरको रूखमुनि बसेको थिएँ । अचानक ओखर खसेर टाउकोमै लाग्यो’ देवदूतले टाउकोमा टुटिल्को देखाउँदै भने ।
ब्रह्माले देवदूतको टाउको सुम्सुम्याउँदै भने, ‘देवदूत, त्यो ओखरको विशाल वृक्षमा फर्सीजत्रै फल लागेका हुन्थे भने †’
‘मेरो टाउको त रोटी पर्ने थियो नि ।’
ब्रह्माले शान्त हुँदै भने, ‘सृष्टिको रहस्य यही हो । ओखरको विशाल वृक्षमा सस्याना फल लाग्छन् । फर्सीको मसिनो लहरामा विशाल फर्सी फल्छन् । जहाँ जे देख्छौ त्यसको पछाडि कारण हुन्छ । कार्यकारण सम्बन्धबाटै सृष्टि चलिरहन्छ । हरेक व्यक्ति, वस्तु र घटना रहस्यमय हुन्छन् । तिनलाई यथाभूत स्वीकार गर्नु र आफ्नो आवश्यकता र क्षमताअनुसार उपयोग गर्नु बुद्धिमानी हो । जुन दिन जहाँतहाँ व्यर्थमा नाक रगड्ने बानी छुट्छ, त्यही दिन मानिस मुक्त हुन्छ– ‘स्वीकार मात्रै गर एक बार संसार तिम्रै अनि बार बार ।’
Published in Sourya Daily 9 March 2013 
http://www.souryadaily.com/2013/03/61235.html


शिक्षा, योग र अनुशासन


नेत्र आचार्य


सहरमा उच्च शिक्षा पढ्दै गरेको एक विद्यार्थी कृषि र पशुपालनको अवस्था हेर्न कुनै गाउँमा गएको रहेछ। एक ठाउँमा कोल हालेर तोरी पेल्ने काम भइरहेको थियो। गोरुहरुले कोल घुमाउँदै थिए, किसान भने छेउतिर सियाँलमा निदाइरहेको थियो। किसान बिउँझेपछि विद्यार्थीले सोधेछ, 'तपाईँ निदाएपछि गोरु घुम्न छोडे भने यति धेरै तोरी कसरी पेलिएला।' 'म निदाए पनि गोरु घुमिरहन्छन्' किसानले ढुक्क हुँदै भनेछ। 'कसैगरी गोरु अडिए भने तपार्इँले कसरी थाहा पाउनुहुन्छ?' विद्यार्थीले जिज्ञासा राखेछ। 'मैले गोरुको घाँटीमा घण्टी झुण्ड्याइदिएको छु। गोरु घुमिरहेमात्र घण्टी बजिरहन्छन्, घण्टी बज्न छोडेको मैले निदाएकै बेला पनि थाहा पाइहाल्छु,' किसानले भनेछ।
'मानौँ, तपाईँ निदाएका बेला गोरु अडिएर टाउको हल्लाइरहे भने घण्टी त बजिरहेको हुन्छ, कोल भने घुमिरहेको हुँदैन नि' विद्यार्थीले फेरि तर्क गरेछ। 'मेरा गोरुहरु तिमीजस्ता 'शिक्षित' छैनन्' किसानले अब भने धेरै बहस नगर्ने विचारले भनेछ।
शिक्षित हुनुको अर्थ दिमाग लडाउन सक्नु, तर्कशील हुनु वा हरहालतमा आफ्नो दुनो सोझ्याउन सक्षम बन्नुमात्रै होइन। समाज, पर्यावरण र मानवीयताप्रति संवेदनशीलता छैन भने विवेकशील प्राणी हुँ भन्ने गर्व गर्न मानिसले लाज माने हुन्छ। उत्तरआधुनिक मानिसले लाज मान्नुपर्ने अरु पनि विषयवस्तु छन्। 

महाकवि देवकोटाले गधा बुद्धिमान् हो कि गुरु, निश्चय गर्न सकेका थिएनन्। धेरै पढेका गुरु बुद्धिमान् भनूँ भने तिनको व्यवहारमा विवेकको नामोनिशान देखिँदैनथ्यो, आफैँले सिकाउने अनुशासन स्वयंले पालन गर्दैनथे। कहिल्यै बाटो नछोड्ने गधालाई बुद्धिमान् भनुँ भने शिक्षादीक्षा छैन। मानिसको मन-मस्तिष्कबाट अनुशासन कहाँ गायब भयो होला, कसरी हरायो होला, कहाँ फेला पार्न सकिएला। वर्तमानमा जस्तो अनुशासनको खडेरी पहिला यस ग्रहमा सायद कहिल्यै परेको थिएन।
माघको अन्त्यतिर बेंगलोरमा सम्पन्न अन्तर्राष्ट्रिय योग तथा नेचुरोप्याथी सम्मेलनमा हराएको अनुशासनलाई सर्वत्र खोज्ने चेष्टा गरियो। 'अथ योगानुशासनम्, योग भनेको अनुशासन हो, क्षणक्षणमा बदलिने, भाग्ने, आलसी र उट्पट्याङ मनलाई अनुशासनमा राख्नु योगको पहिलो र अन्तिम लक्ष्य हो' प्रसिद्ध योग गुरु बीकेएस आयंगरले भने।
अनुशासन बाहिरबाट थोपरिने वस्तु होइन, मानिसको अन्तर्मनबाट निसृत हुने बोध हो। वर्तमान मानिस बिमारी छ : विजातीय पदार्थ अर्थात् टक्सिनयुक्त खानपानको प्रभावले मानव शरीरका भित्री र बाहिरी अवयवहरु मक्किएका छन्, चौबीसै घण्टा काम गरिरहने प्रणाली अस्वस्थ भएका छन्। यस स्थितिलाई हृदयंगम गरी शारीरिक स्वाास्थ्य पुनर्प्राप्तिका लागि योगासनको अभ्यास हुन थालेको छ। यथोचित योगाभ्यासले निश्चय नै शारीरिक स्वास्थ्य पाउन सकिन्छ। त्यसैले शारीरिक स्वास्थ्यका लागि योगाभ्यासको प्रचलन आम भइसकेको छ। तर, योगाभ्यास शारीरिक स्वास्थ्यका लागि मात्रै होइन। शारीरिक, मानसिक र चेतनाको तहमा मानिसलाई स्वस्थ, दीर्घजीवी र अनुशासित बनाउनु योगको बृहत्तर आयाम हो। यिनै आयामको परिचय दिँदै योग गुरु आयंगरले भने, 'शरीरलाई रोगमुक्त पार्नु, मनलाई शान्त पार्नु, जीवनलाई सुखी बनाउनु र समग्र अस्तित्वसँग सौहार्दता कायम राख्न सिकाउनु योगको लक्ष्य हो।' 

कुए में भाङ डाल दी सभ्यता ने आज, देखें कहाँ पे जाकर ठहरता है आदमी। उपभोगवादी संस्कृतिको हुरी र महत्वाकांक्षाको ज्वारभाटाले मानिसलाई लतार्दै, घिस्याउँदै कतै निर्जन, एकलास ठाउँतिर लगिरहेको छ। आजभोलिको कामकाजी सहरी सभ्यतामा मानिस दिनभर कम्प्युटरको अगाडि बसिरहन बाध्य छ। उसको शरीर स्थिरप्रायः रहन्छ। मन भने जंगलको बाँदरजस्तै यत्रतत्र भागिरहेको हुन्छ। मन न स्थिर छ, न मौन। एक घण्टाभित्र मनमा खेलिरहेका विचार र भागिरहेका ठाउँहरु जस्ताको तस्तै लेख्ने हो भने हरेक मानिस पागल हुन्छ। हामी जहाँ छौँ, त्यहाँ स्थिर छैनौँ, जे गरिरहेका छौँ त्यसमा सन्तुष्ट छैनौँ र त्यस काममा मन लगाउँदैनौँ। कहीँ अन्यत्र सुखसुविस्ता, आराम र चैन होला भन्ने बुझ्नै नसकिने हुटहुटी हरदम हाम्रो मनमा खेलिरहन्छ। 

मनको यही अस्थिरताका कारण मानिसमा दृष्टिदोष पैदा हुन्छ। हामी औषधि खाएर रोग निको पार्न चाहन्छौँ, धेरै खानपान गरेर सन्तुष्टि लिन चाहन्छौँ, सूचनाहरु पढेर विद्वान् हुन चाहन्छौँ र अर्थोपार्जन गरेर सुख वा शान्ति प्राप्त गर्न चाहन्छौँ। तर, गहिरिएर हेर्दा दैनिक जीवनमा यस्तो परिणाम कदाचित् सम्भव देखिँदैन। 

दबाइले रोग दबाउँछ। रोग निको पार्न योगाभ्यास, सात्विक भोजन, प्राकृतिक चिकित्सा आवश्यक छ। धेरै खाएर शक्ति या सन्तुष्टि प्राप्त हुँदैन। यथोचित पाचन, पोषण एव अवशोषणद्वारा मात्र शक्ति या आनन्द प्राप्त हुन्छ। पुस्तक वा पत्रपत्रिकाबाट केवल सूचना प्राप्त हुन्छ, ज्ञान प्राप्तिका लागि त चिन्तन, मनन र व्यवहारमा त्यसको अभ्यास आवश्यक हुन्छ। बैंक ब्यालेन्स बढ्यो भने बाहिरी सुख एवं सामान बढ्छन्। वास्तविक चैन, सुख, शान्ति र आनन्द त सामाजिक एवं वैश्विक महत्वका विषयमा तल्लीनताद्वारा बढ्छन्। धनात् धर्म ततः सुखम्, अर्थात् अर्थोपार्जनबाट परोपकार एवं सेवामूलक कार्य गर्न सकिन्छ तब मात्र वास्तविक सुखानुभूति हुन्छ। अन्तर्राष्ट्रिय योग तथा नेचुरोप्याथी सम्मेलनले पूर्वीय जीवनपद्धतिको पुनर्जागरणको सन्देश दियो। उक्त प्रथम अन्तर्राष्ट्रिय योग तथा नेचुरोप्याथी सम्मेलनमा नेपालबाट ५२ जना योगप्रेमीहरुको समूह सहभागी थियो। माघ २६ देखि फागुन १ सम्म चलेको सम्मेलनमा ५२ देशका पाँच हजार प्रतिनिधि सहभागी थिए। 

कर्नाटक राज्य सरकारको मुख्य आयोजना रहेको उक्त सम्मेलनले 'सम्पूर्ण स्वास्थ्यका लागि योग र नेचुरोप्याथी' मूल प्रतिपाद्य विषय तय गरेको थियो। योगासन च्याम्पिएनसिप, अमृत भोजन मेला, योगको दार्शनिक एवं स्वास्थ्य महत्वबारे विश्वभरिका विद्वान् एवं अनुसन्धाताद्वारा कार्यपत्र प्रस्तुति सम्मेलनका आकर्षण रहे। योगासन, प्राणायाम, विश्राम र ध्यानले मानिसको शारीरिक, मानसिक, भावनात्मक, सामाजिक र आध्यात्मिक स्वास्थ्य कायम गर्छन्। वैज्ञानिक खोजअनुसन्धानबाट यी तथ्य पुष्टि भएपछि योग वैकल्पिक मनोशारीरिक उपचार पद्धतिका रुपमा स्थापित हुँदै गएको छ। नेचुरोप्याथी औषधिको प्रयोगरहित प्राकृतिक उपचार पद्धति हो। माटो, पानी, हावा, ताप र उपवास एवं जीवनशैली परिवर्तनबाट गरिने पार्श्वप्रभावरहित उपचार शैलीप्रति आकर्षण बढ्दै गएको वर्तमान समयमा यस सम्मेलनले वास्तविक स्वास्थ्यप्रति जागरुकता थपेको छ।

सम्मेलन योग र नेचुरोपेथीसम्बन्धी व्यापक अनुसन्धान, प्रवर्द्धन एवं सेवा-विस्तारमा सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गर्‍यो। विश्वभरिका स्वास्थ्य व्यवसायी, अनुसन्धाता, प्राज्ञिक, नीतिनिर्माता, सन्त एवं स्वास्थ्यप्रेमी र विद्यार्थीको निम्ति महत्वपूर्ण प्लेटफर्म बन्यो। भारत सरकारले योग, होमियोपेथी, नेचुरोपेथीलगायत सम्पूर्ण पूर्वीय चिकित्सा पद्धतिहरुलाई आयुष विभागअन्तर्गत प्याकेजकै रुपमा विकसित गर्न चाहेको रहेछ। नेपालमा भने योग तथा नेचुरोपेथीलाई चिकित्सा पद्धतिका रुपमा मान्यता दिनेबाहेक सरकारले थप कुनै चासो दिएको छैन। भारतमा महात्मा गान्धीका पालादेखि योग र नेचुरोपेथीलाई अँगालिएको थियो। गान्धी स्वयंले यी विधालाई राष्ट्रिय महत्व दिएका थिए। नेपालमा भने पर्याप्त दक्ष जनशक्तिको अभावका कारण पनि यी विधा छायाँमा परिरहेका छन्। कालक्रमसँगै पूर्णतया हानिरहित, पार्श्वप्रभावरहित एवं किफायती उपचार पद्धति योग र नेचुरोपेथीप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएकाले नेपालबाट बर्सेनि भारतका विभिन्न ठाउँमा यी विषयमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीको संख्या बढिरहेको छ। बेंगलोरको एसडीएम कलेज अफ नेचुरोपेथीमा मात्रै १४ नेपाली विद्यार्थी यतिखेर ब्याच्लर इन योगिक एन्ड नेचुरोपेथी साइन्सेज विषयमा अध्ययन गरिरहेका रहेछन्। दक्ष जनशक्ति तयार भएपछि निश्चय नै हाम्रो देशमा पनि यी विधाको प्रचार हुनेछ। त्यस्तै विशाल सम्मेलनहरु नेपालमा पनि आयोजना हुन सक्लान्।
नागरिक दैनिकमा प्रकाशित MONDAY, 27 FEBRUARY 2012  
http://archives.nagariknews.com/2011/opinions/98-opinion/37344-2012-02-27-04-54-04.html

Monday, January 21, 2013

दमन, दान र दया
नेत्र आचार्य
Netra Acharya



प्रजापति ब्रह्मालाई आफ्ना सन्तानमध्ये देवता असल हुन् भन्ने लागेको थियो । कुरा गुलिया गर्ने तर व्यवहार कप्टी भएपछि के लाग्यो । वृन्दा, दधीचि र विश्वामित्रमाथि देवताले घोर अन्याय गरे । देवताहरू अमृत टन्न पिउँछन् र अप्सरासँग मस्ती गरेर कमाएको पुण्य सक्छन् । मानिसको चालामाला पनि ठीक छैन । बाँचुन्जेल मान्छेहरूको मनमा लोभ भरिएको हुन्छ । अर्काको धन लुट्न र अर्काकी स्त्री बिटुल्याउन यिनीहरूको चित्त चञ्चल भइरहन्छ । मरेपछि पशुको योनीमा जन्म लिन पुग्छन् । असुरहरू त झन् मापाका निस्के । निर्बलियाहरूलाई पछिल्तिरबाट धकेलेर लडाइदिन्छन् । कोही गरिब ऋषि जंगलमा बसेर तपस्या गर्न लागेको छ भने त्यसलाई सताउँछन् ।

स्वर्ग, मत्र्य र पाताल तीनवटा सुन्दर लोकको सृष्टि गरेर पनि ब्रह्मालाई सन्तोष भइरहेको थिएन । सन्तानहरू कुबाटोमा लागेकाले ब्रह्मा बूढाको मनमा खेद भरिएको थियो । एक दिन बूढाले तिनै सन्तानलाई बोलाए र भने, ‘बाबु हो † सन्तान भएपछि सुख हुन्छ भन्थे, खै मलाई त तिमीहरूबाट एक रत्ति सुख भएन । आकाशगंगाका अरू छिमेकीहरू हाम्रा तीन लोकको बेथिति र भाँडभैलो देखेर खिस्सी उडाउँछन् । अब म तिमीहरूलाई अंशबन्डा गरिदिन्छु र तपस्या गर्न जान्छु ।
बूढा सुर्ताएको देखेर देवता, मानिस र असुरहरू चिन्तित हुँदै भने, ‘पिताजी, कृपया आजै हामीलाई छोडेर कतै नजानुहोस् । हामी त बेसाहारा हुन्छौँ । झन् भाँडभैलो हुनेछ । बरु, हामीलाई एकपटक क्षमा गर्नुहोस् र अब आइन्दा के गर्नुपर्छ उपदेश दिनुहोस् ।’

ब्रह्माजीलाई सन्तानहरू आफ्ना सामु नतमस्तक भएको देखेर सन्तोष भयो । यद्यपि उपदेश दिएर मात्र के गर्नु, सुन्ने पात्रता तिनमा थिएन । ब्रह्माले भने, ‘ल ठीकै छ, तिमीहरू सुध्रन्छौ कि म एकपटक चेष्टा गरिहेर्छु । तर, यतिखेर भोगको तिर्सना, लोभी चित्त र बलको घमन्डले गर्दा तिमीहरूको बुद्धि भ्रष्ट भएको छ । दूषित भाँडोमा शुद्ध वस्तु राख्दा पनि दूषित नै हुन्छ । अत: पहिला एक वर्षसम्म यम, नियम र ब्रह्मचर्यको अभ्यास गरेर चित्त शुद्ध बनाऊ तब मात्र म उपदेश दिनेछु ।’ पिताजीको आज्ञा शिरोपर गरी तिनीहरू चित्त शुद्ध बनाउन तपस्या गर्न गए ।

एक वर्षपछि जब देवताहरू आइपुगे, ब्रह्माजीले उपदेश दिँदै भन्नुभयो— द । एकाक्षरी उपदेश सुनेपछि देवताहरू पहिला त अलमलिए, पछि उपदेश बुझेजस्तो गरी मुसुक्क हाँसे । ‘तिमीहरूले के बुझ्यौ ?’ ब्रह्माले सोधे । ‘पक्कै पनि इन्द्रियहरूको दमन गर भन्नुभएको हो’ देवताहरूले भने । ‘यथाशक्य दान गर, धेरै लोभ नगर भन्नुभएको हो’ मानिसहरूले यस्तो बुझेको बताए । ‘सायद, बलको घमण्ड नगर, सबै प्राणीप्रति दया गर भन्नुभएको हो’ असुरहरूले सुझाए । आखिरमा ब्रह्माले भने, ‘जसले जसरी बुझेको छ, उसैगरी उपदेशको पालना गर, तिमीहरूको कल्याण हुनेछ ।’

हामीमध्ये अधिकांश यो हिन्दू मिथकका कोही न कोही पात्रमा अनुवाद हुन सक्छौँ । कोही देवताका रूपमा, कोही मानिसका रूपमा र कोही असुरका प्रतिनिधि पात्रका रूपमा । देवत्व हुनु नै देवता हुनु हो, मानवीयता हुन मानिस हुनु हो र असुरत्व हुनु असुर हुनु हो । ब्रह्माको स्थान हाम्रो विवेकले प्रतिनिधित्व गर्नसक्छ ।

सन्तान थरीथरीका भनेझैँ देवत्वको अभ्यास गर्ने कोही न कोही हामीबीच पनि छन् । जस्तो, १७ वर्षदेखि सोल्टी मोडनजिकै ‘आमाको घर’ सञ्चालन गरेर बसेकी दिलशोभा श्रेष्ठ । ४५ जना असहाय वृद्धाहरू र त्यत्तिकै संख्यामा अनाथ बालबालिकालाई आश्रय दिएकी छन् दिलशोभाले । वृद्धाहरूलाई उनी आमा भन्छिन्, बालबालिकालाई छोराछोरी । ‘कुन प्रेरणाले तपाईंले यो पुण्य कार्य आरम्भ गर्नुभयो ?’ कसैले दिलशोभालाई सोध्यो । उनले सहज ढंगले भनिन्, ‘काम गर्नलाई जोखाना हेर्नुपर्दैन । आफ्नै सन्तानबाट परित्यक्त भई सडकमा हात फैलाएर याचना गरिरहेकी कुनै असहाय आमालाई पहिलोपल्ट मैले देखेँ । तत्क्षण उनलाई मेरो घरमा आश्रय दिएँ । कसैबाट परित्यक्त हुनुको पीडा मैले पनि भोगेकी थिएँ । मलाई उनको पीडाले छोइहाल्यो ।’

दिलशोभाले आफ्नो एउटा सानो संसार बनाएकी छिन् । जुन, आममानिसको भन्दा नितान्त भिन्न सोच र आदर्शले ओतप्रोत छ । उनी असहाय र निरुपाय आत्मालाई खाना खुवाउँदा आनन्दित हुन्छिन् । तृप्त भएपछि तिनको चेहरामा फैलिने उज्यालो, तिनको आँखामा उर्लने कल्याणको भावना र तिनका ओठबाट बर्सने आशिषले दिलशोभा प्रशन्न हुन्छिन् । दिलशोभाले अनुभूति गरेको सुखको स्तर दुई पैसाको लोभ गर्ने र घरमा भर्सक कोही नछिरोस् भनी दैलोमा भोटे कुकुर बाँधेर बस्नेहरूको भन्दा निश्चय नै माथिल्लो स्तरको हुनुपर्छ । अन्यथा, तिनले जस्तै मै खाउँm, मैलाउँm भन्न दिलशोभालाई पनि आउँदो हो । अमेरिकाबाट कमला भुसाल र श्री अरविन्द आश्रमबाट प्रेम भुसालले ‘आमाको घर’लाई गरेको खाद्यान्न सहयोग लिएर पंक्तिकार दिलशोभालाई भेट्न पुगेको थियो । नामजस्तै दिलकी धनी दिलशोभाले सरल नेपाली भाषामा गहनतम मानवीय आदर्श सुनाइन् । कसैले उनलाई सोध्यो, ‘तपाईंलाई पनि अरूले जस्तै निजी जीवन बाँच्न मन लागेन ?’ मुसुक्क हाँस्दै उनले भनिन्, ‘एउटा तोरीको दाना माटोमा बिलाएर जान्छ र लहलहाउँदो तोरीको बोटलाई जीवन दिन्छ । अन्तत: तेल भरिएका सयौँ दाना तयार हुन्छन् । प्रकृतिको यही नियम हामी मानिसहरूमा पनि लागू हुन्छ । एकजनाले त्याग गर्दा सयौँले जीवन पाउँछन् । एउटी आमालाई पाल्न थालेपछि अरू आमाहरूलाई पनि पाल्न मन लाग्यो ।’ घरमा नयाँ खटिया राख्ने ठाउँ हुँदासम्म उनले असहाय आमाहरूलाई आश्रय दिइरहिन् । आफूलाई, आफ्नो निजी जीवनलाई उत्सर्ग गरेर जुन सुखानुभूति हुन्छ, त्यो त सायद हामीले आफूलाई कुनै न कुनै ढंगले दिलशोभामा अनुवाद गरेपछि नै अनुभूति हुन सक्ला । आफ्नो जीवनकालमा करिब यस्तै अनुभूति पाएका महाकवि देवकोटाले भनेका छन् :
खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ,
आफू मिटाई अरूलाई दिनु जहाँ छ ।


यस्तो लाग्छ, जसरी आममानिसलाई लोभ गर्ने आदत बसेको छ, उसैगरी दिलशोभालाई त्याग गर्ने बानी लागेको छ । देश, काल र परिस्थितिवश कसैलाई अरूलाई लुटेर खुसी हुने लत बस्छ, कसैलाई अरूलाई दिएर प्रशन्न हुने । वर्तमान कालखण्डका राजनीतिक अगुवाहरूमा अरूलाई लुटेर खुसी हुने स्वभाव बसेको छ । एकजना पचासौँ तिकडम गरेर सत्तामा पुग्छ र बाँकी सबै उसलाई लघार्न आरम्भ गर्छन् । देशलाई नयाँ शासकको खाँचो हो कि सहमतिको ? मूढमतिहरूको मस्तिष्कमा यति सरल कुरा पनि घुस्दैन । राजनीतिक अगुवाले आफूलाई असुरमा अनुवाद गरेका हुँदा तिनको पात्रता नष्ट भएको छ । हामी स्वयंले आफूलाई देवता, मानिस वा असुर केमा अनुवाद गरिराखेका छौँ यो आफैँलाई नियाल्दा थाहा हुन्छ । पहिला पापपुण्यको हिसाब राख्ने चित्रगुप्त हुन्थे भन्ने मिथक थियो । आज विज्ञानले सावित गरेको छ— चित्रगुप्त चाहिँदैन, समाज र स्वयंले खराब भनेको काम गर्दा कानुनत: कुनै न कुनै समयमा शारीरिक रूपमा दण्डभागी हुने सम्भावना रहन्छ नै, मानसिक रूपमा जीवनको अन्तकालसम्म अपराधबोधले आत्मा छियाछिया बनाइरहन्छ ।
खुसी पनि छ, उदासी पनि छ । खुसी यसकारण कि केही दिलशोभाहरूले मानवीय चेतनालाई माथि उठाएका छन् र झन्डै दैवीकल्याणको अनुकरणीय आदर्श व्यवहारमा देखाइदिएका छन् । उदासी यसकारण कि अगुवाहरूले देशको बलात्कार गरिरहेका छन् । अधिकांश असल मानिस निष्क्रिय छन्, मुठ्ठीभर खराब मानिस सक्रिय छन् । हाम्रो दुर्भाग्य, यस युगमा शेषशायी विष्णुको नाभीबाट कोही विश्वनियन्ता ब्रह्मा जन्मँदैन । जसले लोभीपापी अगुवाहरूलाई घुक्र्याओस्, हप्काओस् । असुरचित्त भएकालाई पात्रता विकसित गर्न यम, नियम र ब्रह्मचर्यको शिक्षा देओस् र अन्तत: तिनका कानमा द अर्थात् दाम्यत, दत्त, दयध्वम्को मन्त्र फुकिदेओस् ।
 My article published in Sourya daily on 5th January 2013.
http://www.souryadaily.com/2013/01/52251.html

नेत्र आचार्य
Netra Acharya

Saturday, December 29, 2012

 
काशीमा साँढेको रजाइँ

( नागरिक दैनिकमा प्रकाशित - 3 Oct 2009 )


मेरा लागि दशै‌ खानपीन गर्न. तास खेल्न र आराम गर्न आउँथ्यो पहिले पहिले । यसपालि साथी नीरज र म निरन्तरताको क्रमभङ्ग गर्दै काशी यात्रामा हान्नियौँ । यात्रामा हाम्रा योजना थिए : पूर्वीय दर्शनका शास्त्रीय ग्रन्थ खरिद्ने, दर्शनीय स्थल घुम्ने र काशीका नेपालीसँगै दशैं मनाउने ।

लामो यात्रामा सबेरै निस्कँदाको मजा पारखीलाई थाहै हुनुपर्छ । हाम्रो गाडी सुनौलीतर्फ हुइँकिन थालेपछि शरीरमा एक खालको रोमाञ्च अनुभूति भइरहेको थियो । वर्षभरिको थकान मानो वाष्पीकरण भएर निस्कँदै थियो । साँझैमा हामी सुनौली बोर्डरमा पुग्यौँ । त्यहाँबाट युपी पैंसठ् नामको लामो न लामो सरकारी बसमा सवार भएपछि भारतीय भूमिमा हाम्रो यात्रा सुरु भयो ।

बिहान पाँच नबज्दै हामी बनारसमा उत्रियौँ । हाम्रो स्वागतमा रोडवेज बसअड्डामा एक बथान साँढे र रिक्सा लामबद्ध थिए । हामीले थाहा पाइहाल्यौँ, पशुता साँढेमा कम र रिक्सावालामा ज्यादा थियो । एउटा रिक्साले नीरजलाई तान्दै पर पु¥याइसकेको थियो । पहिलोपटक बनारस आएका नीरज अक्क न बक्क हुँदै फुत्किने चेष्टा गरिरहेका थिए । ‘मैं जाते नहीँ, तुम नतानो !’ उनी यतिखेरै जीवनमा पहिलो पटक हिन्दीमा बोल्ने जबर्दस्त अभ्यास गरिरहेका थिए । दृश्य मनोरञ्जक थियो । मुश्किलले रिक्साहरु पन्छाउँदै नीरज र म
भीडबाट बाहिर निस्कियौँ ।

‘अब कता जाने हो ?’ नीरजले पहेँला बत्ती बलेका ल्याम्पपोष्टतिर हेर्दै सोधे ।
‘ल, काशीमा सबैरै अरू कहाँ जानु, पहिला गंगामा डुबुल्की लगाएर यात्राको गर्मी शान्त पार्नुपर्छ’ भन्दै म अघि लागेँ ।

रिक्सामा चढ्ने हिम्मत भएन । राम्ररी उज्यालो भएको थिएन । यी अनिँदा र भोका रिक्सा चालकले भनेकै ठाउँमा लगिदेलान् भन्ने भरोसा कसरी गर्नु । हामी गंगाको घाटतिर हिँड्दै गयौँ । आधा घण्टा हिँडिसक्दा पनि गंगा सुसाएको सम्म सुनिएन ।

‘काइदाको प्रातः भ्रमण हुने भयो नि’, मैले थकाइले चूर भएका नीरजलाई ढाडस दिँदै भनेँ ।
‘हो हो, गंगा–स्नानपूर्व पसिना–स्नान पनि हुने भो’ निधारका पसिना चोर औंलाले सोहोरेर तर्र चुहाउँदै उनले व्यङ्ग गरे ।

घण्टाभरिको पैदल यात्रापछि हामी दुई भाइ दशास्वमेध घाटमा थियौँ । हाम्रा अगाडि शान्त, गम्भीर र विशाल गंगा फैलिएको थियो ।

‘हैन, यो नदी हो कि समुद्र ?’ गंगाको दर्शन गर्दै नीरजले अलि लामै सुस्केरा हाले ।
गंगाको जल र हाम्रो वाग्मतीको जलमा धेरै कुरामा सादृश्य देख्न सकिन्थ्यो । उस्तै बाक्लो, उस्तै धमिलो, उस्तै दुर्गन्धयुक्त । भीड भने यहाँ चौगुना हुँदो रहेछ । नदीमा डुबुल्की लगाउनेहरुको भीडमा जिउँदा मात्र होइन, मरेका पनि उत्तिकै हुँदा रहेछन् । छेउमै डुबुल्की लगाइरहेको मानिस जिउँदो हो कि लाश, तीर्थालुहरुलाई वास्ता थिएन । जीवनभरिको पाप पखाल्न र पवित्र हुन गंगास्ना गर्न आएका तीर्थयात्री निर्वस्त्र भई ठण्डा पानीमा बारम्बार डुब्दै, निस्कँदै गरिरहेका थिए ।

नदी किनारमा निकै बेर उभिएर हामीले त्यो ‘तमासा’ हेरयौँ । तैपनि गंगास्नान गर्ने साहस हामी दुई भाइलाई आएन । हामीलाई त गंगाको जलभन्दा आफ्नै मन पो सफा लाग्यो । जति खोजे पनि त्यहाँ स्नान गरेर पखाल्नुपर्ने कुनै प्रकारको कल्मष हाम्रो तनमा फेला परेन, मनमा पनि फेला परेन । आखिरमा, भागीरथी गंगाको मान राख्न पानीमा हात डुबाएर ‘हर हर गंगे’ भन्दै हामी गन्तव्य तिर लाग्यौँ ।

बासस्थान तय गर्न भागवत–प्रवाचक मित्र कपिलजीले दिएको ठेगाना सोध्दै हामी विश्वनाथ मन्दिरको गेटबाट पस्यौँ । मन्दिरको परिसरभित्र जेलिएका असंख्य गल्लीहरु छिचोल्दै, हरेक घुम्तीमा कसै न कसैलाई ‘भाइजी, ललिताघाटका रास्ता किधर सै है’ भनेर सोध्दै, खोज्दै हामी अगाडि बढ्यौँ । गल्लीका हरेक मोडमा थुपारिएको फोहोरको डुँगुरले नाक पोल्न थालेपछि काठमाण्डू घुमेर फर्केका एक भारतीय सज्जनले ‘आपका शहर सुन्दर और बहत साफ–सुथरा है’ भनेको याद आयो । बनारससँगै तुलना गर्ने हो भने त काठमाण्डू पनि सफासुग्घर सहर गनिँदो रहेछ । सायद महिनौँसम्म पानी नपर्ने हुँदा सडक र पेटीमा फोहोरका पाप्रामाथि पाप्रा चढ्दै जाँदा रहेछन् । अनि साँढेलाई विश्वनाथको बाहन मानेर पूजा गर्नुपर्ने र स्वतन्त्र छोडिदिनुपर्ने अकाट्य परम्परा हुनाले काशीमा साँढेको रजाइँ नै चल्दो रहेछ । धन्य, तिनले यात्रुलाई सिंगले हतपती हान्दारहेनछन् । हातले साँढेको सिंग र खुट्टाले तिनको गोबर छल्दै हामी बडो मुश्किलले ललिताघाट पुग्यौँ ।

केही नेपाली विद्यार्थीसँग भेट भयो । तिनैको माध्यमबाट साम्राज्यश्वर पशुपतिनाथ आश्रममा माथिल्लो तलाको ‘भिआइपी’ भनिने कोठा भाडामा लियौँ र पहिला सर्लक्क नुहायौँ । त्यसपछि झ्यालबाट गंगाजी हेर्दै बेडमा डङ्रङ्ग पल्टियौँ, सारा थकान र तनाव मानो क्षणभरमा गायब भयो । एक घण्टा पूरै निदाएर ब्युँझँदा आँखा फेरि झ्याल बाहिर गंगाको समतल प्रवाहलाई छुन पुगिसकेका थिए । त्यतिखेर शरीर जति हलुका भइरहेको थियो, मनमा जुन आनन्द अनुभूति भइरहेको थियो, सायद त्यही होला मानसिक शान्ति भनेको ।
यद्यपि नदी नियाल्दै कोठामै बस्न हामी यात्रामा निस्केका थिएनौँ । बनारसका पुराना विश्वविद्यालय पहिलो प्राथमिकतामा परे । हामी रिक्सा चढेर सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय पुग्यौँ । त्यहाँ पुग्दा रित्ता भवनहरुले हाम्रो आवाभगत गरे । विश्वविद्यालयमा ‘दशेरा’को छुट्टी भइसकेको रहेछ । काशी हिन्दू विश्वविद्यालय खुल्लै छ भन्ने थाहा पाएर हामी त्यतै लाग्यौँ । मध्यान्हको गर्मी, सवारीको भीड, टेम्पो खोज्दै गर्दा हामीलाई दश–पन्ध्रमिनेट तप्त सडकमा भौँतारिनुपर्यो । टाउको अहिले फुट्ला कि भरे फुट्ला जस्तो गरी दुखिरहेको थियो, पसिनाले सर्वाङ्ग भिजाएको थियो । धूलोले नाकै टालिने छाँट देखिएको थियो । ‘फेन्ट’ भएर सडकमा पछारिन मात्र बाँकी रहँदा बल्ल टेम्पो पाइयो । विश्वविद्यालय पुगेर बौद्ध तथा जैन दर्शन अध्ययन विभागको भुइँतलामा कुलरको चिसो पानी पिएपछि र टाउकोमा थप्थपाएपछि गर्मीले गलाएको आँत तैबिसेक ठण्डा भयो ।

बौद्ध दर्शन विभागका अध्यक्ष डा. सूर्यप्रकाश व्यासलाई भेट्ने चाहना थियो । उनी विदामा बसेका रहेछन् । विभागको पुस्तकालय पनि बन्द रहेछ, कर्मचारी विदामा बसेका हुँदा । हामी केन्द्रीय पुस्तकालयतिर गयौँ । पुस्तकालयको कार्डधारीलाई मात्र प्रवेश अनुमति रहेछ । निकै माथापच्ची गरेर हामीले पुस्तकालयध्यक्षसँग अनुमति झिकायौँ र भित्र प्रवेश ग¥यौँ । पुस्तकालयमा पुराना किताबका दराज टन्नै थिए । तर नयाँ किताब कतै भेटिएनन् । हाम्रै त्रिविको केन्द्रीय पुस्तकालयको जस्तै हालत रहेछ । कम्प्युटरबाट बौद्धदर्शनको सान्दर्भिकता सम्बन्धी केही थेसिसको कल नम्बर खोजेर त्यहाँका कर्मचारीलाई दियौँ, तर ती त्यहाँ नभएको बताइयो । पिरियडिकल्स संकलन गरिएको अँध्यारो हल हेरेपछि हामी डेरा फक्र्यौं ।

भोलिपल्ट शहरका मुख्य पुस्तक पसल घुम्यौँ । अधिकांश पुस्तक पसलमा रामायण, महाभारत, पुराण, स्वस्थानी, सन्तोषीमाता, तन्त्रलगायतका पुराना किताब मात्रै भेटिए । मोतीलाल बनारसीदासमा केही अंग्रेजी भाषामा लेखिएका नयाँ किताब फेला परे । चौखम्बा विद्याभवनले पनि केही राम्रा पुस्तक प्रकाशन गरेको रहेछ । सारनाथ मुख्य सहरभन्दा पन्ध्र किलोमिटरको दूरीमा रहेछ । बुद्धले ज्ञान प्राप्त गरेपछि पहिलो उपदेश दिएको स्थान हेर्न जाँदा प्रचण्ड गर्मीले उस्तै गरी आलसतालस बनाएको थियो । यद्यपि पीपलको रुखमुनि बुद्धले पाँच जना शिष्यलाई उपदेश दिँदै गरेको प्रतिमाको दर्शनले सारा थकाइ र ताप बिर्साइदियो । हामीले निकै फोटो लियौँ । सारनाथमै केन्द्रीय उच्च तिब्बती विश्वविद्यालयको प्रकशनगृहबाट केही पुस्तक खरिद्यौँ ।
कहिल्यै घर नछोडेका नीरज ‘होमसिक’ हुँदै गइरहेका थिए । दिनमै दुई पटक घरमा फोन गर्थे उनी । घरकै दूधभात खाएर स्नातकोत्तर पूरा गरेका र विदाका दिनमा संगीत सुन्दै घरैमा बस्ने सोख भएका वाल्मीकि क्याम्पसका यी जवान प्राध्यापकको बेचैनी लवज–लवजमा छताछुल्ल हुन्थ्यो ।

दशैं नजिकिँदै आइरहेको थियो । त्यहाँका नेपालीहरुसँगै दशैं मनाउने हाम्रो योजना थियो । काशीमा बलिप्रथा निषेध छ । हामी बसेको नेपाली आश्रममा बस्ने सम्पूर्णानन्द विश्वविद्यालयका एक प्राध्यापक धरानका गोपालजीले नेपालमा चलेको बलिप्रथा शास्त्रसम्मत नभएको हामीलाई बताए । पशुको होइन, पशुताको अर्थात् अज्ञानको बलि दिने शास्त्रको आशय थियो रे । यद्यपि हामीले भेटेका १५–२० जना नेपालीमध्ये बलिप्रथाको विरोध गर्ने उनी एक्ला वृहस्पति रहे ।

जगदम्बा नामको नेपाली आश्रममा बस्ने चार्टर एकाउन्टेन पढेकी निशा अधिकारीले खुलस्त कुरा हामीलाई सुनाइन् । ‘यहाँ बलिप्रथा निषेध भएको हुँदा घरमा खसी ल्याएर काट्दा छिमेकीले राम्रो दृष्टिले हेर्दैनन्, त्यही भएर बनारसमा बस्ने नेपालीले पसलबाटै मासु खरिदेर ल्याउने गर्छन्, हामी पनि त्यसै गर्छौं ।’ बनारसमा गोर्खा राइफलबाट अवकाश प्राप्त नेपालीहरु बस्ने स्थान खोज्दै हामी पूरै एक दिन भौंतारियौँ । मुश्किलले अठार–बीस घर नेपाली बसेको ठाउँमा पुग्यौँ । उनीहरु त आफ्नै बस्ती भएको हुँदा घरमै ल्याएर पनि खसी काट्दा रहेछन् । क्याप्टेन गगनकी पत्नीले दुर्गापूजाको प्रसाद दिँदै भनिन्, ‘जस्तो नेपालमा मनाउँछौँ, त्यस्तै गरी चाड मनाउँछौँ, खसी पनि काट्छौँ, निधारभरि टीका पनि लगाउँछौँ, जमरा पनि सिउरन्छौँ, सप्पैथोक ।’
‘जहाँ बलिप्रथा निषेध छ, त्यहाँ पनि नेपालीले सिङ्गै खसी काटेर खान भ्याउँदारहेछन्’ नीरज नेपालीको कट्टरता देखेर दङ्दास थिए ।

त्यही पञ्चबली र त्यही मासुभात खाएर दशैं मनाउन हामीलाई कमसेकम यसपाली चाख थिएन । बौद्ध दर्शनको अध्ययनले हामीलाई हिंसाप्रति अलि बढी नै संवेदनशील बनाएको थियो । एउटा निरीह प्राणीको ज्यान हरण गरेर धर्म आर्जन गर्ने वा पेट भर्ने परम्परा अवश्य तर्कसंगत छैन । हामी हिंसामुक्त दशैं खोज्दै काशी पुगेका थियौँ । ‘बर्मा गए कर्म सँगै’ भनेजस्तै हिंसाले मानो छायासरी हाम्रो पिछा छोडेको थिएन । हामी अन्तिम प्रयास स्वरुप जे कृष्णमूर्ति सेन्टरमा पुग्यौँ ।

राजघाटमा रहेको यो सेन्टरमा संयोगले तीन दिने ‘चयनरहित सजगता’ विषयको अध्ययन रिट्रिट आयोजना हुँदै रहेछ । रिट्रिटमा मांसाहार र मद्यपान वर्जित थियो । हामी दुई भाइ त्यसैमा सहभागी भयौँ । रिट्रिटमा मौन श्रवण, सहसंवाद, कृष्णमूर्तिको भिडियो प्रदर्शन, पुस्तकालय अध्ययन र घुमफिर जस्ता कार्यक्रम थिए । जे कृष्णमूर्तिले प्रवचनमा सारा संगठित धर्मको जोडदार विरोध गर्थे । ‘गीता, महाभारत, वेद, पुराणको सहारा लिएर भारत आज पनि सांस्कृतिक र मानसिक रुपले त्यही उभिएको छ जहाँ ऊ पाँच हजार वर्ष पहिला थियो । अब कतिञ्जेल पुराना शास्त्र च्यापेर बस्ने ?’ साँघुरो गल्लीमा बाटो छेकेर बसेको साँढेलाई उठाउन जति कठिन हुन्छ, त्योभन्दा अधिक मक्किएका परम्पराबाट समाजलाई ब्युँझाउन कठिन हुँदोरहेछ । अनियन्त्रित आवादी, अनियन्त्रित रहनसहन र परम्परा बनारसका असली पहिचान हुन् । जहाँ लास पनि नदीमा बगाइदिन पनि छुट छ, बथानका बथान साँढे (शिवका बाहनका रुपमा) सडकमा छोड्नुमा पुण्य छ । हामी फर्किने बेलामा फेरि भेटिएकी निशाले भन्दै थिइन्, ‘यो सहरको भलो चिताउनु व्यर्थ छ, तपाईंहरु दुई सय वर्षपछि आउँदा पनि यो उस्तै रहनेछ ।’



Sunday, October 28, 2012

सौन्दर्य चेतना


हरेक सामाजिक प्राणीमा सौन्दर्य चेतना हुन्छ, जन्मजात । जो वर्तमानमा, होशमा बाँच्ने कला जान्दछ उसमा यो चेतना सर्वाधिक हुन्छ । बुद्ध हरेक शब्दमा संगीत सुन्नुहुन्थ्यो हरेक वस्तुमा सौन्दर्य भेट्नुहुन्थ्यो हरेक मानिसमा बुद्धत्व देख्नुहुन्थ्यो । ११ कात्तिक २०६९ मा शनिवारीय नागरिकमा प्रकाशित मेरो आलेख ।



कालीको नृत्य

देवीको अस्त्र प्रहारले घायल भएको रक्तबीजले रगतबाट आफूलाई ‘क्लोनिङ’ गर्दै लाखौं डुप्लिकेट पैदा गर्यो । ती सबै रक्तबीजहरू तत्काल हतियार लिएर नवदुर्गासँग लड्न थाले । स्थिति नियन्त्रणबाहिर जान लागेको देखेर दुर्गाले आफ्नो शिरबाट एउटा केश थुतेर भुइँमा पछारिन् जसबाट काली पैदा भइन् । यी भयानक देवीले घाइते रक्तबीजको शरीरको सबै रगत चुसिदिइन्एक थोपा भुइँमा खस्न दिइनन् । पैदा भइसकेका रक्तबीजहरूलाई आफ्नो विकराल मुखमा हाल्दै चपाउन थालिन् । अन्ततः रक्तबीजको प्राणान्त भयो । विजयको उन्मादमा अर्धनग्न काली रणभूमिमा ढलेका लासहरूमाथि नाच्न थालिन् । कैयौं दिनसम्म कालीको नृत्य रोकिएन । शिवजी स्वयं त्यहाँ आइपुगे र लासहरूको बीचमा सुते । उन्मत्त काली अचानक भगवान् शिवको छातीमा टेक्न पुगिन् । अपराधबोधले गर्दा उनले जिब्रो टोकिन् र शान्त भइन् । 

काली शब्दको व्युत्पत्ति काल अर्थात् समय जसले सबैलाई निलिदिन्छ । जसरी सबै रंगहरू कालोमा विलीन हुन्छन्सबै सृष्टि कालीमा समाप्त हुन्छ । कालीजस्तो विकराल र गौरीजस्तो सौम्य रूप धारण गर्न सक्ने दुर्गा । प्रायः ध्यानमै डुबिराख्ने शिवजीलाई कामोत्तेजक भावभंगिमाको प्रदर्शनद्वारा आँखा खोलाउने र सृष्टि चालु राख्ने दुर्गा । दुर्गाको मिथले सृजनाजीवन र मृत्युका बारेमा जेजति बोल्न सक्छ त्यति सायदै अन्य कुनै मिथले बोल्ला । हिन्दूहरूकी आद्य शक्ति दुर्गाको एक स्वरूप कालीलाई चित्रण गरिएको एउटा कलाकृतिले साताभरी सौन्दर्य पारखीमाझ चर्चा पायो । आफ्नै गौरवमय अतीत बिर्सेको पुस्तामा रहस्यमयी कालीको बारेमा जान्ने जिज्ञासा पैदा गरेको भए छापामा आएको चर्चा सार्थक भन्नुपर्छ । 

केश राशि छरिँदो नितम्बमा हारतुल्य नर–मुण्ड वक्षमा
हातका लहर टम्म मेखला शेष अंग जति छन् सबै खुला ।’ 

नृत्यरत कालीको सौन्दर्य एक कविले रथोद्धता छन्दमा यसरी चित्रण गरे । सौन्दर्य चेतना मिथकीय युगदेखि नै विकसित हुँदै आएको हो । पाषाण युगमा पनि मानिस सौन्दर्यको पारखी थियो । गुफाका भित्ताहरूमा चित्र बनाइन्थ्यो,   छालाको संयोगबाट बनेको खैंजडी बजाइन्थ्यो । ठूलो शिकार मार्दा गुफाको आँगनमा भव्य नाचगान हुन्थ्यो । अनेक देवीद्यौताको परिकल्पना र मिथक सृजनाको सायद त्यही बेला सूत्रपात भयो । वैज्ञानिक खोजबाट सावित भएको छमानिसमामात्रै होइनहरेक प्राणीमा सौन्दर्य चेतना हुन्छ । केवल एक कोषीय जीवमा सौन्दर्य चेतना हुँदैन । किनकिएक कोषीय जीवमा सौन्दर्य चेतनाका लागि अपरिहार्य तत्व अर्थात् सामाजिकताको भावना हुँदैन । 

के हो त सौन्दर्य चेतना ? भारतीय विद्वान् रामचन्द्र शुक्ल सौन्दर्य चेतनाबारे भन्छन् ः ‘कुनै रूप–रंगका वस्तुहरू यस्ता हुन्छन् जुन हाम्रो मनमा आउँदा केही समयका लागि हाम्रो अस्तित्वमाथि यस्तो अधिकार जमाइदिन्छन् कि त्यसको ज्ञान नै विलीन हुन्छ र हामी ती वस्तुहरूको भावनाको रूपमा परिणत हुन जान्छौं । हाम्रो अन्तस्सत्ताको यही तदाकार परिणति सौन्दर्यको अनुभूति हो ।’ साहित्यसंगीत वा कलाले पाठकश्रोता वा दर्शकलाई सौन्दर्यसँग एकाकार अनुभूति गराइदिनु नै सौन्दर्य बोध हो । 

सौन्दर्यशास्त्र

सौन्दर्यशास्त्रमा कलात्मक कृतिरचना आदिद्वारा अभिव्यक्त हुने अथवा तिनमा निहित सौन्दर्यको तात्विकदार्शनिक र मार्मिक विवेचनविश्लेषण हुन्छ । कुनै सुन्दर वस्तु देख्दा हाम्रो मनमा जुन आनन्ददायिनी अनुभूति हुन्छ उसको स्वभाव र स्वरूपको विवेचन तथा जीवनका विविध अनुभूतिहरूसँग त्यसको समन्वय गर्नु सौन्दर्य शास्त्रको उद्देश्य रहन्छ । यद्यपि शास्त्रज्ञहरू ज्ञानको गर्मीले यति सन्तप्त हुन्छन् वास्तविक जीवनमा त्यसको अनुशीलन वा अभ्यास गौण भइदिन्छ ।  

कुनै पनि क्रिया वा विचारलाई झन् राम्रो तरिकाले गर्नेसोच्ने प्रवृत्ति मानिसको सौन्दर्यबोधले तय गर्छ । एक समुचित र उच्चतर सौन्दर्यबोधको विकास अथवा निर्माण हामीद्वारा हुने प्रत्येक क्रिया एवं व्यवहारलाई सचेतनियन्त्रित र निर्देशित गर्छ । सुन्दरताको अनुभूतिसौन्दर्यका आदर्श र मानकहरूको समझहर वस्तुक्रिया एवं विचारहरूका ती मानकहरूसँग तुलनात्मक विश्लेषणसुन्दर र असुन्दरको बीच तार्किक विभेद स्थापित गर्न सक्ने योग्यताले स्वयं एवं समाजलाई परिष्कार गर्छहितकारी र चित्ताकर्षक बनाउँछ । 

कसैले सुगम संगीतमा आनन्द फेला पार्छकोही शास्त्रीय संगीतको आरोह–अवरोहमा डुबुल्की मार्न चाहन्छकोही नृत्यांगनाको भावभंगिमामा । कसैलाई विचारोत्तेजक शब्दहरूसिद्धान्तहरूको संयोजनमा रुचि हुन्छ । कसैलाई प्रेयसीको आँखा रमणीय लाग्छकसैले अर्थोकैमा सौन्दर्य देख्छ । तर सौन्दर्य चेतना हरेकको अन्तस्करणमा विद्यमान हुन्छ । भलै कसैलाई सुरतालको धेरै ज्ञान नहोस्परन्तु बेसुरो संगीत उसले पत्तो पाइहाल्छ । नृत्यका हाउभाउहरूको ज्ञान नभए पनि भंगिमा वा ताल गडबड भयो भने थाहा भइहाल्छ । भद्दा चित्र रहेछ भन्ने जान्न कलाकारै हुनु पर्दैनहेर्दै थाहाहुन्छ । जीवनको यही लय सबै थोक हो जुन विशृङ्खलित भयो भने अन्तर्मनको अनुभूतिले तत्काल फेला पार्छ । यही हो सौन्दर्यबोध । कला सृजना गर्दा कलाकारलाई उति हेक्का हुँदैनउसले सम्पन्न गरिरहेको कलाकर्मप्रति । यद्यपि श्रोता वा दर्शकले कलाकृतिमा उसको निर्वैयक्तिक बौद्धिकता पहिचान गरिहाल्छन् । सौन्दर्य बोध मानिसको न्यूनतम गुणवत्ता हो र यसको अभावमा मानिस मानिसलायक रहन्न भन्छन् भर्तृहरि – 

साहित्य संगीत कलाविहीनः साक्षात् पशु पुच्छविषाण हीनः । 
तृणन्न खादन्नपि जीवमानस्तद्भागधेयं परमं पशूनाम् ।।

साहित्यसंगीत र कला विहीन मानिस पुच्छर र सिंग नभएको साक्षात् चौपाया हो । त्यस्ताले घाँस नखाइदिनु पशुहरूका निम्ति सौभाग्यको कुरा हो ।’ यद्यपि पूर्वीय मिथक भन्छन् बाँदर र ढुंगामा पनि सौन्दर्यचेतना हुन्छ । हनुमानको गायनकौशलबारे अद्भुत रामायणको मिथ –

चट्टान पगाल्ने संगीत

एक पटक हनुमान र नारद दुई भक्तहरूको भेट भएछ । भलाकुसारीपछि हनुमानले नारदलाई कुनै भक्ति संगीत सुनाए । संगीत यति मधुर थियो त्यो सुनेर चट्टान समेत पग्लियो र नारदले त्यहाँ राखेको वीणा पग्लिएको चट्टानमा गाडियो । हनुमानले संगीत सुनाइसकेपछि चट्टान फेरि कडा भयो । नारदले आफ्नो वीणा झिक्न सकेनन् । तब हनुमानले भने, ‘अब तपाइँ कुनै संगीत सुनाउनुहोस् । चट्टान फेरि पग्लिनेछ र वीणा झिक्न सजिलो हुनेछ । नारदले गाउन सुरु गरे । तर जति कोसिस गरे पनि चट्टान पग्लिएन । हनुमानले फेरि गीत गाए र चट्टान पगाले । तब नारदले वीणा झिके । 
सौन्दर्य वस्तुमा हुन्छ कि द्रष्टाको चेतनामा ? शेक्सपियरको  प्रसिद्ध भनाइ छ, ‘ब्युटी लाइज इन द आइज अफ द बिहोल्डर’ सौन्दर्य द्रष्टाको आँखामा हुन्छ । 

मजनूको आँखा

शेक्सपियरले सायद लैला र मजनूको प्रेम कथा सुनेका थिए । लैलाको प्रेममा डुबेको मजनूलाई राजाले सोधे, ‘‘तँ पागल त भइनस् । लैला कुनै सर्वसुन्दरी त हैनसाधारण केटी हो । काली–कलौटी । तेरा लागि एकसे एक रूपसी युवतीहरू लाइन लगाइदिन्छु । लैलालाई बिर्सिदे । हिँड् राजमहल ।’ मजनूले हाँस्दै भन्यो, ‘सायद तपाइँलाई थाहा छैनलैलाको सौन्दर्य देख्न मजनूको आँखाले हेर्नुपर्छ ।’ ‘तेरो आँखाले म कसरी हेरुँ ?’ राजा विस्मयको भावमा झर्किए । ‘‘त्यसो भए तपाइँ लैलालाई देख्न सक्नुहुन्नलैलालाई देख्न मजनूको आँखा चाहिन्छ’ यति भन्दै मजनूले फेरि आँखा बन्द गर्यो ।  

तर कालिदासले सौन्दर्य वस्तुमा हुन्छ भने । नत्रहिलो र लेउ लागेको कमल नराम्रो लाग्नुपर्नेरुखका पात र बोक्रा पहिरेकी शकुन्तला नराम्री देखिनुपर्ने । माधव घिमिरेले दुर्लभतामा सौन्दर्य देखे ः ‘गोरी चुलीको शिर रम्य हुन्छ । नपाइने जो उति रम्य हुन्छ । हस्तिनापुरको होस् वा ट्रोयकोयुद्धको कथन रमणीय हुन्छ । इलियाडओडिसी र महाभारतका युद्धहरू पढ्दा सनसनीपूर्ण लाग्छन् तर ती लडाइँमा सहभागी हुनेलाई सायदै त्यो प्रिय हुँदो हो । 

सूर्योदयमन परेका पति–पत्नी र असल मित्र दिनदिनै रमणीय एवं आनन्ददायी लाग्छन् । सिंगारिएका वेश्या पनि लोभलाग्दा देखिन्छन् तर अलिक टाढैबाट हेर्दा मात्र । जति निकटता बढ्यो उति सौन्दर्य तिरोहित हुन थाल्छ । सौन्दर्य खास केमा हुन्छ त ? महाकवि माघले भनेक्षणे क्षणे यन्नवतां उपैति तदेव रूपं रमणीयतायाजो हर क्षण नवीन लाग्छत्यो रमणीय हुन्छ । कलामा दृश्य वा अदृश्य संगति हुन्छ । यसै कारण कला चित्ताकर्षक हुन्छकलाले जागरण ल्याउँछ । माछापुछ«ेलाई हेरिरहँदा सुन्दर नदेखिन सक्छ । तर त्यसमा एकातिरबाट बादल घेरियो र अर्कोतर्फबाट साँझको सूर्यको किरण पर्यो भने मनोरम देखिन्छ । कलाकारले पनि त्यही गर्ने होभइरहेको वस्तुलाई नूतन ढंगले प्रस्तुति । मानिसलाई नयाँअनौठो र सोच्दै नसोचेको विषय वा दृश्यको प्रस्तुतिले तत्क्षण स्पर्श गर्छप्रभावित पार्छ । 

सौन्दर्य कलाको मुख्य घटक हो । हरेक कलाले सौन्दर्यको उच्चतम स्वरूप पक्रने प्रयत्न गरेको हुन्छ । साहित्य सर्जकसंगीतकार वा कलाकार आफू बाँचेको कालखण्डप्रति सचेत हुन्छ । संवेदनाशीलता कलाकारमा सृष्टिलाई अझ सिंगार्ने र जीवनलाई अझै आनन्ददायी बनाउने चेष्टा हुन्छ । सौन्दर्यबोध संवेदनशील हृदयसँग सम्बन्धित हुन्छ । भनिन्छसंवेदनशीलता जीवन होसंवेदनाहीनता मृत्यु । अहिल्याको कथा पढेर मनमा एउटा कौतुहल उठ्छएउटी जिउँदी सुन्दरी कसरी ढुंगामा परिणत भई होला । त्यो श्राप कस्तो हुँदो हो जसले हेर्दाहेर्दै शरीरका धमनी र शिराहरूमा बगिरहेको तात्तातो रगतलाई तत्क्षण जमाइदिन सक्थ्यो । जीवनका चानचुन तीन दशक बिताएपछि एउटा संवेदशील मानिसले धेरथोर आफ्नै अनुभूतिले जान्न थाल्छ ः संवेदनाहीनपाखण्डी र निश्लोट प्राणधारीहरूको साथसंगतले कहिले विस्तारै र कहिले एक्कासि मानवीय सम्बन्धहरूको उष्ण तरलतालाई जमाइदिन सक्दोरहेछ भनेर ।

वर्तमानको सौन्दर्य

सौन्दर्यसँग आनन्द अभिन्न रूपले संयुक्त हुन्छ । यससम्बन्धी पश्चिमा परिभाषा मननीय छन् । शिलर भन्छन् सौन्दर्यको परख मानवीय बुद्धिविवेक र भावना दुवै पक्षको सर्वाधिक सुसंगत एकत्व हो । ओस्कार वाइल्डले भनेसौन्दर्य जीवनका रहस्यहरूको खोजी हो । उत्तरआधुनिक सौन्दर्य शास्त्रीहरूले सब्लाइम अर्थात् उदात्त सौन्दर्यको चर्चा गर्छन् । ल्योटार्ड भन्छन्, ‘उदात्त कलाकृतिले देख्नै नसकिने बनाएर बल्ल हामीलाई देखाउँछपीडा जगाएर मात्रै प्लिजर अर्थात् आनन्दानुभूति गराउँछ ।’ उत्तरआधुनिक सौन्दर्यशास्त्रीहरूको सब्लाइम अनुभूतिले बुद्धत्वको जीवन पद्धति अर्थात् वर्तमानमा बाँच्ने कलालाई पछ्याएजस्तो देखिन्छ । 

जीवनका सुख–दुख र तमाम रहस्यहरूप्रति बुद्धको संवेदशीलता अवर्णनीय थियो । उनी तपस्याबाट गुज्रिए र हरेक निमेषमा बाँच्ने कौशल सिकेवर्तमानमा रहेर देशदुनियालाई अवलोकन गर्ने क्षमता हासिल गरे । बुद्धको आँखाले हेर्दा सर्वत्र सौन्दर्य व्याप्त छ । यस्तो लाग्छमुडुलो टाउकोचिवरको सप्को र भिक्षा पात्र धारीलाई कति नै सौन्दर्यबोध हुँदो हो ? यद्यपि निमेष–निमेषमा बाँच्न अभ्यस्त बुद्धका कुरा सुन्दा भने सब्लाइम अनुभूति हुन्छ -- तिमी वीणा बजाइहेका छौनाचिरहेका छौ वा क्यानभासमा कलाकृति जन्माइरहेका छौ भने पनि तिम्रो मन सायदै तिम्रो साथमा होला । मनको स्वभाव या त विगतको लास बोक्ने या भविष्यको कल्पनामा हराउने खालको हुन्छ । वीणा बजाउँदा तिमीलाई औंलाहरूको होश हुँदैननाच्दा पाउहरूको ख्याल हुँदैनचित्र कोर्दा तिमी त्यसबाट आउने प्रसिद्धिको लेखाजोखा गरिरहेका हुनसक्छौ । यो बेहोसीमा सौन्दर्यबोध कहाँ ? सौन्दर्यबोधका लागि सर्वप्रथम त वर्तमानमा उपस्थिति अनिवार्य छ । वर्तमान क्षणमा यो वा त्यो वस्तुको अपेक्षा या आग्रह पलाइनसक्ने हुँदा मनमस्तिष्क स्वच्छ र निर्भार हुन्छ । तब हरेक आवाज संगीतमय सुनिन्छहरेक वस्तुमा सौन्दर्य टल्किन्छहरेक व्यक्तिमा देवत्व झल्किन्छ । 




Saturday, September 29, 2012

अरविन्दो आश्रममा एक दिन

                                                                                                                                           – नेत्र आचार्य

पचास–साठी गाई लहरै बाँधिएको गोठमा पस्दा गोबरको हल्का सुगन्ध महसुस भयो । घाँसपातलाई मेसिनमा पेलेर मसिनो बनाएपछि त्यसमा आश्रममै बनाएको दाना मिसाइयो र गाईहरुलाई खान दिइयो । पुष्ट गाईहरुका रहरलाग्दा फाँचा भरिभराउ दूधले भरिभराउ देखिन्थे । दैनिक चार सय लिटर ‘अग्र्यानिक’ दूध उत्पादन हुँदोरहेछ । हामी मास्तिर उक्लियौं ।

माथ्लो तलामा घरेलु प्रविधिबाट पस्मिनाका च्यादर तयार हुँदै रहेछन् । बाहिर बरण्डामा स्थायी रंगहरु पगालेर धागोलाई रंगाइँदै थियो । उत्पादित च्यादरहरु विभिन्न देशबाट माग हुँदोरहेछ । स्कूल भवनमा छिर्यौं । खाली समयमा बाबुनानीहरु तोते बोली बोल्दै लुकामारी खेल्दै छन् । भव्य पुस्तकालय, दराजमा श्री अरविन्दोका योगसम्बन्धी ग्रन्थहरु लहरै सजाइएको । छेवैको कोठामा थाङ्का बनाइँदै रहेछ । बुद्धको सौम्य मुहारमा हेर्दाहेर्दै शान्ति, प्रेम र करुणा पोतियो । कलाकारले गहन सन्तोषको सास फेरे । नजिकैको हनुमान मन्दिरमा फूल चढाएर हामी ध्यान स्थलतिर लाग्यौं ।

ध्यान हल अलग्गै भवनमा रहेछ । त्यहाँको मौनता यति सघन थियो मानो एकै छिनलाई मनमा विचारको कोलाहल समाप्त भयो । स्थिरता, चैन र समरसताको गहन अनुभूति भयो । हामीलाई आश्रम देखाउँदै गरेकी लक्ष्मी घिमिरेले माथ्लो तलामा जान संकेत गरिन् । रंगमञ्च । लक्ष्मीजीको भरत नाट्यम्को साधना स्थल । चेन्नइबाट आर्ट एण्ड आर्किटेक्टमा ग्रयाजुएसन गरेकी उनले राष्ट्रिय नाचघरमा एकल नृत्य प्रदर्शन गरिसकेकी रहिछन् ।

भान्छाघर । आश्रमका दुई सय साधक र विद्यार्थीले एकसाथ भोजन गर्न मिल्ने फराकिलो हल । जता हेरे पनि बालक, तन्नेरी र वृद्धवृद्धा सबैले आ–आफ्नो क्षमता र योग्यताअनुसारको काम गरिरहेका । तरकारी केलाउने, चामल निफन्ने, मकै भुत्ल्याउने, लुगा धुने, सरसफाइ, अध्ययन–अध्यापन, पूजा–पाठ, खेलकुद । उसिनेका मकै दहीसँग खाँदैगरेकी दुर्गाजीले भान्छाबाटै भोक लाग्यो कि भनी सोधिन् । हामी आश्रमका परिकल्पनाकार रामचन्द्र दासलाई भेट्न गयौं ।

दासको परिकल्पना : काम र रामको फ्युजन

हाम्रा सामु रामचन्द्र दासको सरलता, गाम्भीर्य र ओज प्रभावी थियो । जीवनको अर्थ खोज्दै पण्डिचेरी स्थित श्री अरविन्दो आश्रममा पुगी एक दशक बिताएपछि उनी चन्द्रमणि भुसालबाट रामचन्द्र दास बने । उनको आन्तरिक शान्तिको प्यास मेटिएको थियो । स्वदेशमै केही गरौं भन्ने संकल्प लिई बीस वर्ष पहिला फर्किए, तर स्वदेशको स्थिति सन्तोषजनक थिएन । आधुनिकताको प्रभावले बढ्दो गरिबी, छिन्नभिन्न परिवार र बालबालिकाको दुर्गति । उनले कम्तीमा बालबालिकाको कल्याण गर्ने संकल्प लिई थानकोटमा श्री अरविन्दो योग मन्दिरको स्थापना गरे । कालक्रममा कैयौं प्रौढहरुले पनि आश्रममा आश्रय लिए । आश्रमकै आम्दानी र सबैको सहयोगले अग्ला भवनहरु बने, गौशाला बन्यो, जैविक खेती प्रणाली सुरु गरियो र स्कूल सञ्चालन भयो ।
कहीँ पुग्दा मानिसमा कल्पनाशीलता, सृजनशीलता, उज्वल भविष्यको परिकल्पना,  आशावाद, काम र जीवनप्रति प्रेम अझै बचेखुचेको देख्न पाउनु सन्तोष र सौभाग्य हो । आम रुपमा आजभोलि मानिसहरु जीवनप्रति निराश छन्, अँध्यारो भविष्य कल्पेर हताश छन्, काममा कत्ति लगाव छैन, परिश्रममा विश्वास छैन, नेता वा अरु कसैले विकास ल्याइदिएन र जीवन बर्बाद भयो भन्ने सोच हावी छ । आश्रममा बिल्कुलै भिन्न दृश्य देख्न पाइयो । सबैले आ–आफ्नो काम गरिराखेका थिए, चेहरामा प्रसन्नता थियो, काममा लगन थियो, भविष्यप्रति निश्चिन्तता थियो ।

यस्तो लाग्थ्यो, आश्रमको परिवेशमा अध्यात्म र भौतिकता फरक–फरक कुरा हुन् भन्ने धारणा मेटिँदै थियो । आजसम्मको आम मान्यता त यही छ : अध्यात्म भनेको योग, ध्यान, सन्यास, एकान्तवास, जीवनबाट विरक्ति । र भौतिकता भनेको जागिर, घर, गाडी, कामकाज, दौडधूप, तनाव वा मोजमस्ती, असन्तोष वा ऐशआराम । लाग्थ्यो, आश्रमको जीवनचर्या देख्दा अध्यात्म र भौतिकताबीचको सीमारेखा मेटिंदै छ, विपरीत मानिएका दुई खालका जीवनपद्धतिबीच मानौ फ्युजन हुँदै छ ।

यस्तो कसरी सम्भव भइराखेको थियो त ? हाम्रो जिज्ञासा क्रमशः शान्त भयो । एउटा मूल मन्त्र सबैको जिब्रोमै झुण्डिएको रहेछ : ‘समग्र जीवन योग हो ।’ एकाध आधारभूत दृष्टिकोण परिवर्तन गरेर जीवनलाई योगमय बनाउन सकिन्छ । उही काम प्रेम र ध्यानपूर्वक गर्दा अध्यात्मबोध हुन्छ । काम र रामको फ्युजन हुन्छ । आदर्श भनौं वा दृष्टिकोण यत्ति हो । र, यो आदर्शमा बाँच्न सिकाउन बालकलाई जति सजिलो अरुलाई हुँदैन । त्यसैले पहिला विद्यालय खोलियो । रामचन्द्र दासले भने, ‘समय लाग्न सक्छ तर, बाल्यकालमै यो आदर्शमा दीक्षित गराउन सके उनीहरुले आजीवन दिव्यताको अनुभूति गरिरहन सक्छन्, मातृभूमिको कल्याणका लागि योग्य जनशक्ति तयार हुन सक्छ ।’

आफू नरहे पनि मातृभूमिलाई माया गर्ने पुस्ता तयार गरेर विदा हुने सुष्ठु संकल्प । हुन पनि, सभ्य र विकसित विश्वका सामु हाम्रो मातृभूमिको अवस्था दयनीय छ । आज नेपाल आमाको दोहोलो काढिएको छ । हामी आम मानिसहरु भने रमिते भएर बसिराखेका छौं । कोही व्यक्ति आमाको छातीमा चढेर उन्मत्त भएको देख्दा उनको छोरो हेरेर बस्न सक्दैन । हातमा औजार हुने औजार लिएर दौडन्छ, कलम हुने कलम लिएर दौडन्छ, शस्त्र हुने त्यही लिएर दौडन्छ, साथमा केही नहुने आवाज लिएर दौडन्छ, तर हेरेर बस्दैन । रामचन्द्रदास अरविन्दोबाट प्राप्त ज्ञान र कर्मको फ्युजनको धारणालाई उपयोग गरेर मातृभूमिको सेवामा जुटेका देखिन्छन् ।

श्री अरविन्दोको योग–दर्शन

दासलाई यो संकल्पमा प्रेरणा र आत्मबल दिने श्री अरविन्दोको योग दर्शन नै हो । जीवन र योगलाई भिन्न नदेख्ने दृष्टि । धर्म सजाएर राख्ने आदर्श मात्र होइन, योग दुई घण्टा उछलकुद गर्ने कसरत मात्र होइन, अध्यात्म दर्शन जानेर–मानेर बस्ने जजमानी मात्रै होइन, यी त जीवनका अधिकतम सम्भावनाहरुमा बाँच्ने पद्धति हुन् । मानव उ¬िद्वकास रोकिएको छैन । यही मान्यताका साथ मानवका अनन्त सम्भाव्यताहरु पहिल्याउन अग्रसर छ अरविन्दो योग ।

फ्रेडरिक नित्सेको परिकल्पना थियो : जसरी बाँदरबाट विकसित भएर मानवको उत्पत्ति भएको थियो त्यसैगरी मानव विकसित हुँदै महामानव हुनेछ ।

श्री अरविन्दोको परिकल्पना अझ अगाडि छ । उनी भन्छन् : उद्विकास रोकिएको छैन । विवेक नै अन्तिम शब्द होइन, विवेकी प्राणी नै प्रकृतिको सर्वोत्कृष्ट प्राणी होइन । जनवारहरुको बीचबाट मानिस प्रकट भएझैं मानव जाति विकसित हुँदै महामानव हुनेछन् ।

बोधिसत्वले सबैको दुख मुक्ति नभएसम्म निर्वाणको अवस्थामा प्रवेश नगर्ने संकल्प गर्छन् । बौद्ध दर्शनमा एक–एक गर्दै हरेक व्यक्तिले मुक्ति पाउने परिकल्पना थियो । वर्तमान युगमा हामीलाई चाहिएको व्यक्ति–व्यक्तिको रुपान्तरण हैन, समाजको रुपान्तरण हो । तर पूर्वीय दर्शनमै समाजको एकसाथ रुपान्तरणको अवधारणाको अभाव देखिन्छ । श्री अरविन्दोले ‘पूर्ण योग’ को अवधारणा विकसित गरे । पूर्ण योग रुपान्तरणको योग हो जहाँ समस्त चेतना र प्रकृति माथिदेखि तलसम्म एकसाथ रुपान्तरण हुन्छ । यस्तो रुपान्तरण हरेक मानिस दिव्य प्रभाव र दिशा अपनाउन पूर्णतया ग्रहणशील र तम्तयार नभएसम्म सम्भव हुँदैन ।
यसका निम्ति श्री अरविन्दोले ‘लाइफ डिभाइन’ अर्थात् दिव्य जीवनको परिकल्पना गरे । व्यक्ति, वस्तु वा कामलाई यो आध्यात्मिक र त्यो भौतिक, यो वन्दनीय र त्यो त्यज्य, यो प्रिय र त्यो अप्रिय भनी भेददृष्टि नराखी समग्र जीवन र यसका गतिविधिमा दिव्यता देख्न सक्नु प्राथमिक चरण हो । यही अभ्यासका क्रममा व्यक्ति रुपान्तरणलाई आत्मसात गर्न सक्षम हुन्छ ।

जीवनलाई अनन्य प्रेम गर्ने पण्डिचेरीका प्रसिद्ध सन्त एवं दार्शनिक श्री अरविन्दोले समग्र जीवनलाई योगमा रुपान्तरण गराउने व्यवस्थित प्रणाली विकसित गरेका छन् । कर्मयोगी अरविन्दो भन्छन् ः अरुले देशलाई जंगल, पहाड, मैदान र नदीनाला सम्झन्छन्, म देशलाई आफ्नी आमा मान्छु । उनको पूजा गर्छु, मातृभक्तिमा जस्तो जीवनको आनन्द मैले अरु कुरामा भेटेको छैन ।

हरेक व्यक्तिले आफूमा यही स्तरको मातृभूमि प्रेम विकसित गर्न सकून् भन्ने अरविन्दो योगको अभीष्ट हो । यो सदिच्छा मनमा जागृत हुँदा यसले साकार रुप लिन असम्भव पनि छैन । केवल हामीले आफ्नो वास्तविक क्षमताको पहिचान गर्नु आवश्यक छ । हाम्रो वास्तविक शत्रु हामीबाहिरको कुनै शक्ति होइन । हाम्रो आफ्नै रोइलो, कमजोरी, कायरता र स्वार्थीपना, हाम्रो पाखण्ड र अन्यौलग्रस्त  ‘सेन्टिमेन्टालिटी’ नै हाम्रा मुख्य शत्रु हुन् ।

जीवनका अनन्त सम्भावना पहिल्याउने महनीय व्यक्तित्व श्री अरविन्दोप्रति भावविभोर हुँदै विख्यात कवि रवीन्द्रनाथ ठाकुरले लेखेका छन्, ‘धेरै पहिला अरविन्दोमा यौवनको उत्ताल ऊर्जासहितको नायकीय व्यक्तित्व देख्दा मैले गाएको थिएँ : ‘अरविन्दो, रवीन्द्रनाथको नमन स्वीकार गर ।’ आज मैले उनलाई प्रज्ञाको प्रशान्ततामा देखेँ र मौन भाषामा भनेँ : अरविन्दो, रवीन्द्रनाथको नमन स्वीकार गर ।’

साँझपख श्री अरविन्दो योग आश्रमबाट फर्कंदा यस्तो लागिरहेको थियो : नेपाल एउटा सुन्दर बगैंचा हो, हामी सबै माली । मालीहरुलाई आफ्नो बगैंचाको महत्ता, सौन्दर्य र गरिमा बोध भएका दिन यसको कायापलट हुन समय लाग्नेछैन । बुद्धको देश, सगरमाथाको देश समृद्धिको देशमा रुपान्तरित हुन सक्छ । यही सुदूर भविष्यका निम्ति सस्याना बालबालिकालाई दीक्षित गरिरहेका रामचन्द्र दासको कर्मयोगलाई सलाम ।


Sunday, September 23, 2012

सर्जकको आराधना


नेत्र आचार्य

डच कलाकार विन्सेन्ट भ्यान गगको प्रसिद्ध चित्र ‘द स्टारी नाइट’ मा भुइँ झार र सिरुका पातहरु आकाशमा टिमटिमाएका ताराभन्दा माथिसम्म फैलिएका छन् । कतिपयले असम्भव र अतिशयोक्तिपूर्ण भने । कलाकारको आशय थियो, आम मानिसका उत्ताल आकांक्षाहरुको सगर चुम्ने अभीप्सा दर्शाउनु । मानिसको मनको उडान योभन्दा सुन्दर र सटीक ढंगले सायदै व्यक्त गर्न सकिएला । कलाकारको रुपमा उनी आम सर्वसाधारणभन्दा के कुरामा भिन्न थिए भने आफू बाँचेको समयलाई पढ्न सक्थे, आफ्ना इन्द्रियजन्य आवेगलाई अतिक्रमण गरेर त्योभन्दा परको शान्ति, स्थिरता र प्रेमको अनुभूति गर्न सक्थे । सातामा तीन दिन खाना खान्थे । आफन्तले दिने गरेको आयस्ताले सधैं खान पुग्दैनथ्यो । कमाउनका निम्ति समय निकाल्न सक्दैनथे, उनलाई त घुँडा धसेर चित्र कोर्दै फुर्सद हुँदैनथ्यो । २१ सयभन्दा अधिक प्रसिद्ध कलाकृतिका सर्जक उनले बाल्यकालबाटै कलाको आराधना थालेका थिए ।

भ्यान गगको भावदशा विचित्रकै थियो । जीवनभर बिहे गरेनन् । एक पटक उनी वेश्यालय गएका थिए । त्यहाँकी सुन्दरीको खुब प्रशंसा गरे । सुन्दरीले पनि उनको प्रशंसा गर्न खोजी । तर, भ्यान गग कुरुप थिए । सुन्दरी अलमलिई : यी मान्छेको के चाहिँ प्रशंसा गर्नु । आखिरमा उसले भनी, ‘तिम्रा कान निकै राम्रा छन् ।’ भोलिपल्ट भ्यान गगले एउटा कान काटेर त्यो सुन्दरीलाई पठाइदिए । ‘तिमीले मन परायौ, त्यसैले मेरो एउटा कान तिमीलाई उपहार !’

कलाको आराधना र तदनन्तर भावदशाको परिपाकका सम्बन्धमा पप संगीत सम्राट माइकल ज्याक्सनको अनुभूति पनि उस्तै उल्लेख्य छ । पाँच वर्षको कलिलो उमेरदेखि संगीतमा होमिएका उनले हजारौं–लाखौं श्रोतालाई एकसाथ आन्दोलित पार्न सक्ने गीतहरु स्टेजबाट गाए । एक पटक ओस्कार पुरुस्कार समारोहमा उनले भनेका थिए, ‘मैले कहिल्यै आफ्नो जन्मदिन समेत हाइसुख्खले मनाउन पाइनँ । सयौं–हजारौं दर्शकका अगाडि सांगीतिक कार्यक्रम गर्दा मलाई कहिल्यै फुर्सदन हुँदैनथ्यो । यद्यपि आज संगीत सृजना मेरो ‘सेकेण्ड नेचर’ जस्तै भएको छ, मेरा ओठहरुबाट स्वतस्फूर्त गीत गुञ्जन्छ, मरो शरीरका अवयव संगीतको लयमा त्यसैत्यसै लहरिन थाल्छन् ।’

एउटा सर्जकको कलाप्रतिको लगाव प्रेममा रुपान्तरित हुन थालेपछि साधनाबाटै जीवन–ऊर्जा प्राप्त हुन थाल्छ र यही भावभूमिमा सृजनाको मूल फुट्छ । इन्द्रियजन्य भोग वा दमनलाई अतिक्रमण गर्ने सामथ्र्य सर्जकमा पैदा हुन थाल्छ र उसको मनमा शान्ति एवं स्थिरता छाउँछ । आठै बर्षदेखि कविता साधनामा लागेका बालकृष्ण सम ‘मेरो कविताको आराधना’ मा भन्छन्, ‘अशान्त भएको मेरो मनले केवल कवितामा शान्ति पायो – मनको उद्वेगलाई लयमा ढालेर राख्नु, अनि फेरिफेरि त्यसैलाई भावुक हृदयले गाइरहनु, कविताको आराधना गर्नु ।’

चिसो चुल्होमा समको आराधनाको मानौ ‘साङ्गे’ भएको छ, एउटा भावुक प्रेमीलाई उनी यस्तो सल्लाह दिन्छन् : तिम्री प्रेमिका रुपकी रानी नै हुन् भने, उनलाई पाउने उत्कण्ठा तिम्रो मनमा लबालब भरिएकै हो भने एउटा अब्बल अठोट गर । किनकि जिन्दगीसित बाजी ठोक्नुपर्छ । जिते हस्तिनापुरको राज, हारे चपरीमुनिको बास । एक दिन मर्नु नै छ भने बाँचुञ्जेल तातो र रातो फलामजस्तै भई प्रभुतासाथ बाँच्नु नि । यस्तो दृढताका सामु अस्तित्वले सबै सौन्दर्य तिम्रो प्रयोजनका लागि न्यौछावर गरिदिनेछ । तब तिम्रो सपनाकी परी तिमीलाई प्राप्त होलिन् :

‘उनी देखा पर्लिन् चलमल गरी छन्दबिचमा
उनी ढल्की हिंड्लिन् पदपद विषे पाउहरुमा
उनी हाँस्लिन् मुस्की मधुर गहिरा भावहरुमा
उनी तिमै्र होलिन् जब डुबिसक्यौ काव्य रसमा ।’

उता, कालिदासको मेघदूतमा एक निर्वासित यक्षले बादललाई दूत बनाएर आफ्नी नबबधुलाई सन्देश पठाउँछ । आकाशमा बादल मडारिन थालेपछि सुखी मानिसको मन त बिथोलिन्छ, दुखी यक्षको हालत कस्तो भयो होला ! यक्षले ढुंगामा प्रेमिकाको चित्र कोर्छ र आलिंगन गर्न खोज्छ, तर आँखामा आँसु भरिन्छ, उसले प्रेमिकालाई देख्न सक्दैन । अनि विधातालाई गाली गर्छ, ‘थुक्क, ढुंगामा पनि प्रेमिकालाई भेट्न दिन्नस् !’ मोतीरामको पिकदूतमा नायिकाले सुगामार्फत प्रवासी पतिलाई फट्कार्छे, ‘पाकेको फल छाडी जानु परदेश कुन शास्त्रको धर्म हो ?’ भावदशाको पराकाष्ठा र शब्दशक्तिको ‘मास्टरी’ बाट मनोरम सृजना जन्मँदोरहेछ ।
एउटा लेखक कलममा टेकेर नाच्न सक्नुपर्छ, शब्दहरु उसका प्रेमिका भन्दा प्रिय हुनुपर्छ, तब वास्तविक सृजनाले उसको सामु घुम्टो खोलिदिने सम्भावना हुँदोरहेछ । खासमा, सर्जक यति आत्मविश्वासले भरिपूर्ण हुन्छ, आराधनालाई उसले यति सम्मान गर्छ, दुनियाको केही कुराले, कसैले उसको आत्मसम्मान हल्लाउन सक्दैनन् । साधनामा विश्वास छ भने सफलताले नतमस्तक हुँदै बाटो खोलिदिन्छ । असफलता केवल उसको संकल्प पर्याप्त शक्तिशाली थिएन भन्ने संकेत हो । कुनै शायरले भनेका छन् :

खुदको कर बुलन्द इतना, खुदको कर बुलन्द इतना
कि खुदा बन्दे से खुद पूछे बता तेरी रजा क्या है ।

सर्जकले स्वयंलाई बुलन्द अर्थात् उन्मुक्त, निर्भय र उम्दा बनाउनका निम्ति हरतरहले स्वतन्त्र रहनु अभीष्ट हुन्छ । किनकि, सृजनशील व्यक्तिमा वैचारिक स्वतन्त्रताको महत्ता सर्वाधिक हुन्छ । सृजनशील लेखक, कलाकार प्रत्येकको आफ्नै नियम, सिद्धान्त, धर्म वा दर्शन हुने गर्दछ । देश–दुनियालाई हेर्ने आफ्नै अन्दाज हुनुपर्दछ । स्वयं स्रष्टा भएर पनि लेखकले अरुको विचार, सिद्धान्त वा सृजना पद्धतिको अनुकरण गर्दछ भने उसले के नयाँ सृजना गर्न सक्ला ?

सर्जकलाई आखिर के कुराले कलात्मक वा साहित्यिक सृजना कोर्न सक्षम बनाउँछ ? मस्कोमा चलेको रसियन फर्मालिज्म नामक साहित्यिक सिद्धान्तवादीहरुले गजपको अन्दाज व्यक्त गरे, ‘सर्जकले भाषिक विवेचनाका माध्यमबाट दैनन्दिन घटना–परिघटनालाई ‘डिफमिलियराइज’ गरिदिन्छ, पाठकलाई यस्तो लाग्छ मानौं सधैं देखेभोगेका कुरा पहिलोपल्ट देख्दैछ, भोग्दैछ । एकोहोरो जीवन बाँच्दाबाँच्दा पाठकले गुमाएको संवेदनामा सर्जकले पुनर्ताजगी भरिदिन्छ ।

सर्जकले यस्तो कसरी गर्न सक्छ त ? यसमा सिद्धान्त निष्णात नित्सेको अलिक रहस्यवादी व्याख्या छ । नित्सेको रुमानी अन्दाजलाई सरल ढंगले यसरी बुझ्न सकिएला ः आफूलाई खुपै बौद्धिक, विवेकवान् सम्झने मानिस कुनै नशालु बुटीको प्रभावले वा वसन्ती पवनको मधुर झोंक्काले एकाएक आफूलाई बिर्सन पुग्छ । त्यतिखेर कालान्तरदेखि एक्लाइएकी प्रकृतिले पनि आफ्नो आवारा सन्तान ‘मान्छे’ सँग एकाकार हुन एउटा आयोजन गर्छे । एउटा अद्भूत उत्सव सुरु हुन्छ । धर्तीले स्वेच्छिक ढंगले उपाहारहरुको छेलोखेलो गरिदिन्छे र हिमालदेखि मरुभूमिसम्मका मानिस र जीवजन्तु एकसाथ भेला हुन्छन् । चितुवा र बाघहरु रथमा जोतिन्छन् । डाइनोसियाक रिचुअल फूलमाला, लावालस्करसाथ अगाडि बढ्छ । यो कस्तो दृश्य हो ? नित्से भन्छन् : बिथोविनको कुनै संगीतको चित्र बनाउन मिल्दो हो भने यो जात्रामा कोलाहल र हाहू गर्दै उर्लेको भीड रथका सामु धूलोमा श्रद्धापूर्वक नतमस्तक भएको दृश्य अन्दाज गर्न सकिन्थ्यो होला । त्यो अप्रतीम भव्यता र मस्तीमा को दास, को मालिक ! निरंकुशता वा आवश्यकताका कारण मानिस–मानिसबीच खडा भएका पर्खाल गल्र्याम्गुर्लुम भत्किन्छन् । ‘माया’ को घुम्टो च्यातिन्छ । विश्वबन्धुत्व र सौहार्दता व्याप्त हुन्छ । मानिस–मानिसबीच प्रेम र सद्भाव छताछुल्ल हुन्छ । अब यतिखेर मानिसले बोल्न बिर्सन्छ, गाउन थाल्छ, हिंड्न बिर्सन्छ, नाच्न थाल्छ । उसले भगवत्ता बोध गर्छ र सपनामा देखेका देवताहरु जस्तै भव्य अन्दाजमा पाइला अगाडि बढाउँछ । ऊ केवल कलाकार हुँदैन, बरु स्वयं एक कलाकृति बन्छ । यसरी कला जन्मन्छ । केवल एउटा सुन्दर कलाकृतिका रुपमा यो संसार र समग्र अस्तित्व अनन्त रुपले तर्कसंगत बोध हुन्छ ।
कला–साधनाको यज्ञ पूर्वतिर केही भिन्न ढंगले सुसम्पन्न हुन्छ । पूर्वमा सर्जकद्वारा हाडमासुको देहमा उर्लने वासनाका आँधीहरुबाट मुक्त इन्द्रियातीत आनन्दको खोजी भइरह्यो । अन्ततः, फेलापर्यो शान्त रस । मानौं, एउटी नवयौवना रुपकी रानी चुलबुले आँखा नचाउँदै र मादकता छर्दै छेवैबाट गुज्रँदै छे । उसको आगमनमा वासनायुक्त व्यक्तिले आफूलाई समाल्न मुश्किल हुन्छ । तर, मुक्त, निद्र्वन्द्व व्यक्तिको दृष्टिमा रुपसीको आगमनले निखार आउँछ । उसलाई न भोगको लालसा हुन्छ न दमनको आवश्यकता । ऊ केवल साक्षीभावमा रहन्छ, उसको मनमा शान्त रस पैदा हुन्छ । उसले युवतीलाई मात्र हैन, युवती देख्ने आपूmभित्रको द्रष्टालाई देख्छ । यही हो साक्षी भाव, यही हो जागरण । यही थियो विदेह जनकको दर्शन । कुनै कालखण्डमा हाम्रो देशको भूमिमा विकसित भएको र आज हामीले पूरै बिर्सेको जीवन जिउने कला ।

मानौ कुनै दुर्घटना घट्यो । त्यसबखत घटनामा इन्भल्भ अर्थात् संलग्न व्यक्तिलाई खास के भएको थियो, कसरी दुर्घटना हुन पुग्यो थाहा हुँदैन । बरु जसले बाटो छेउमा उभिएर हेरिरहेको थियो उसलाई थाहा हुन्छ, कुन गाडी कताबाट आयो, कसले गल्ती गर्यो, कसरी दुवै जुध्न पुगे । साक्षी भाव भनेको यही हो : कर्म गर्नु तर त्यसमा संलग्न, आसक्त नहुनु ।

कोहावर अर्थात् सुनौला सुहागरात नामक मिथिला कलामा चित्रित अक्षत योनीमा संभोगरत लिंगलाई छेवैको बाँसको टुप्पामा बसेर टोलाउँदै हेरिरहेको सुगा साक्षी भावको प्रतीक हो, उदाहरण हो । म कहाँ छु, के गरिरहेको छु भन्ने यथार्थलाई कर्म गरिरहँदा पनि पृथक् रहेर सोच्न सक्नुपर्छ यो सन्देश आश्चर्यचकित भई हेरिरहेको सुगाले बताउँछ । मान्छेको शरीर चेतनाको स्थूल रूप हो जसलाई समात्न सकिन्छ । जसलाई समात्न सकिँदैन चेतनाको त्यो सूक्ष्म रूप आत्मा हो । सम्भोगरत हुँदा शरीरमा अनुभूति भइरहेको रोमाञ्च कसलाई अनुभूति भइरहेको हो ? त्यसलाई पक्रन सके व्यक्तिको दृष्टिकोणमा रुपान्तरण हुन्छ र शान्त रस पैदा हुन थाल्छ । व्यासले महाभारतजस्तो महाकाव्य तयार गर्नुमा, वाल्मीकिले करुणरसप्रधान रामायण रच्नुमा यही शान्त रसको प्रभाव थियो । कालिदास, भारवि, माघ, अश्वघोष, वाणलगायत महाकविहरु शान्त रसमा सिक्त थिए । जसरी हावा र प्रकाश एउटै स्रोतबाट पैदा भएर सर्वव्यापी हुन्छ त्यसैगरी मानिसको चेतनाको परम स्रोत एउटै हो, मानिसबीच कुनै भेद छैन भन्ने बोधलाई उनीहरुले आत्मसात गरेका थिए । बुद्धसम्म आइपुग्दा शान्त रसको मूल फुट्छ । अप्रतिहत अर्थात् अवरोधरहित ज्ञान पाएका बुद्धको शान्त चित्तमा करुणा जागृत भयो । समस्त बुद्ध वचनहरु स्वतस्फूर्त, काव्यमय र शान्त रसले सिञ्चित छन् । समाकालीन समयमा तीक्ष्ण व्यंगोक्तिहरुका सुष्ठु लेखक खगेन्द्र संग्रौला पनि यही भन्छन्, ‘कनेर नलेख, लेख्दा साँचो लेख ।’ हरेक कालखण्डमा सर्जकबाट यही अपेक्षा हुन्छ उसले कलाको आराधना गरोस् ताकि सृजनाको स्वतस्फूर्त प्रवाह गतिमान होस् । netra.acharya@gmail.com

Source: २०६९ भाद्र २३ को नागरिक दैनिकमा published. 






Saturday, July 21, 2012



सफल कृति असल कृति

-- नेत्र आचार्य
तपाइँले पढ्दै गरेको पुस्तक कुन कोटीको हो : सफल कि असल ? कृतिलाई के कुराले असल वा कालजयी बनाउँछ ? शंकर लामिछानेका पुस्तक जति पटक पढ्दा पनि नयाँ कुरा फेला पर्छ । तर कतिपय पुस्तक एक पटक पढेपछि फेरि छुन मन नलाग्ने खालका हुन्छन् । तपाइँले खर्च गरेको समय र पैसाको उचित मूल्य पाउनुभएको छ त ?

महाकवि कालिदासका सम्बन्धमा एउटा किंवदन्ती छ । कालिदास एक दिन प्रातःस्नान गरेर नदीबाट दरबारतिर फर्कंदै थिए । नुहाउँदा पक्रेको ज्यूँदो माछा हातमा समातेका उनलाई बाटैमा राजा भोजले भेटे । दरबारमा मांसाहार निषेध थियो । कालिदासले हत्तपत्त माछा काखीमुनि च्यापे । तै, राजाले सोधिहाले ;

‘कविजी, काखीमा लुकाइराखेको के हो ?’
कालिदासले अक्मकाउँदै भने, ‘मेरो नवीन काव्य हो ।’
‘पानी चुहिराखेको छ त !’ राजाले पत्याएनन् ।
‘काव्यरस हो ।’ कालिदासले छल्न खोजे ।
‘फड्फडाइराखेजस्तो देखिन्छ नि !’ राजा अझैं शंकालु बने ।
‘जीवन्त काव्य फडफडाउनु स्वाभाविकै हो’ कालिदास आत्मविश्वासपूर्वक बोले ।
‘कस्तो गन्ध आइराखेको’ राजाले नाक खुम्च्याउँदै भने ।
‘काव्यमा वर्णित युद्धभूमिमा सडेका जीवको दुर्गन्ध हो’ कालिदास कत्ति डगेनन् ।


यत्तिकैमा काखीको माछा चिप्लेर भुइँमा खस्यो । कालिदासले आँखा चिम्ले । राजा भोज निहुरेर भुइँको पुस्तक उठाए र भने, ‘ए, अभिज्ञान शाकुन्तलम् रहेछ । म पढेर दिउँला है ।’ कालिदासले चकित हुँदै आँखा खोले । उनले भुइँमा खेसकोे वस्तु मैले सोचेकै काव्य भइदेओस् भन्ने संकल्पना आँखा चिम्लेर गरेका थिए । कविको संकल्प साकार भएको थियो ।

असल साहित्यको गुण जीवन्त, रसपूर्ण र कालजयी हुन्छ भन्ने यो प्रसंगको संकेत हो । विक्रमको प्रथम शताब्दीका कवि कालिदासका कृति आज पनि साहित्यप्रेमीका निम्ति उत्तिकै सरस र प्रिय छन् । कृतिलाई के–के कुराले उत्कृष्ट र कालजयी बनाउँछ ? कालिदासको कृतिको मुख्य वैशिष्ट्य के हो त ?
पद–पदमा भाषिक सौन्दर्य र भावको माधुर्य छचल्किनु, उपमा र प्रतीकका माध्यमबाट जीवनका महनीय रहस्यहरु प्रस्तुत गर्न सक्नु र भौतिक आकर्षणमा आधारित वासना अन्ततः प्रेमका कारण नैतिक सौन्दर्य र आध्यात्मिक ज्ञानमा रुपान्तरित भएको काल्पनिकीलाई सजीव ढंगले अभिव्यक्त गर्न सक्नु कालिदासका वैशिष्ट्य हुन् ।

कालिदासले आफ्नो कृतिको विषयवस्तु सांस्कृतिक र पौराणिक प्रसंगबाट लिएका छन् र तिनलाई आफ्नो उद्देश्य प्राप्तिअनुरुप ढालेका छन् । अभिज्ञान शाकुन्तलम्मा नायिका शकुन्तला सुकोमल, निर्दोष तर बुझ्झकी युवती हुन् भने नायक दुष्यन्त स्वार्थी प्रेमी । कण्व ऋषिले तपस्या गर्ने जंगलमा उनकै शरणमा बसेकी शकुन्तलाको मनमा दुष्यन्तप्रति जागेको प्रेमभाव, गन्धर्व–रीतिको विवाह, विछोडपछिको कष्टपूर्ण जीवन र पुनर्मिलनसम्मका परिघटना समेटिएका छन् । नाटकमा जीवनको विविधता समेटिएको छ र विविध प्रकारका रुचि भएका मानिसका लागि रोचक विषयवस्तु प्रस्तुत गरिएका छन् ।

कालिदास, भारवि, वाण, श्रीहर्ष, माघ आदि संस्कृत साहित्यका महाकविका कालजयी कृतिका आधारमा तय भएको असल साहित्यको शास्त्रीय समीक्षा पनि मननीय छ । संस्कृत काव्य–समीक्षक भन्छन् : नरत्वं दुर्लभं लोके विद्या तत्र सुदुर्लभा । कवित्वं दुर्लभं तत्र शक्तिस्तत्र सुदुर्लभा ।। अर्थात् मानिसमा मानवीयता भरिनु दुर्लभ छ, उत्तम विद्या आर्जन झन् दुर्लभ छ । कवित्व क्षमता अझै दुर्लभ छ र प्रतिभा हुनु सुदुर्लभ छ ।
सर्जकमा प्रतिभा हुनु निश्चय नै महत्वपूर्ण हो । यद्यपि प्रतिभा भएर मात्रै पनि पुग्दैन । कालिदास भन्छन्, खानीबाट निकालेको रत्न पनि नखार्दासम्म सुनको गहनामा जड्न योग्य हुँदैन । सर्जक जीवन र जगत्का द्वन्द्वहरुबाट गुज्रिँदै ज्ञान र अनुभवले खारिएको हुनुपर्दछ भन्ने कालिदासको आशय हो । तब मात्र सर्जकले गतिशील र चरित्रको हिमशैल सदृश पात्रहरु विकसित गर्न सक्छ ।

रचनामा सम्प्रेषणीयता हुनु उत्तिकै वाञ्छनीय हुन्छ । सम्प्रेषणीयताका सन्दर्भमा भाषामाथिको पकड प्रारम्भिक चरण हो । उही कुरालाई सामान्य मानिस र सर्जकले व्यक्त गर्ने ढंग अलग हुन्छ । अभिधा, लक्षणा र व्यञ्जना गरी शब्द शक्ति गहिरिँदै जान्छ । असल रचनामा वाक्यको सोझो अर्थ मात्र हुँदैन, लाक्षणिक संकेत पनि हुन्छ र त्यसबाट कुनै विशिष्ट अर्थ समेत ध्वनित भइरहेको हुन्छ । ‘गंगामा घर छ’ भन्नेले नदीको प्रवाहमा घर छ भनेको पक्कै होइन, नदीको किनारमा भन्ने संकेत गरेको हो । यही वाक्यमा पारखीले शान्त, पवित्र स्थानमा घर रहेछ भन्ने भाव समेत ध्वनित भएको अनुभूति गर्छन् ।

पाश्चात्य काव्य समीक्षक लोन्जाइनसका अनुसार असल लेखकको कृति आलंकारिक भाषा, भव्य अभिव्यक्ति, तीव्र भावावेग र गरिमापूर्ण संरचनाजस्ता  गुणहरुले  ओतप्रोत हुन्छ जुन लेखन अभ्यासका क्रममा विकसित हुँदै जान्छन् । उदात्त विचार र अभिप्रेरणा व्यक्तिगत प्रतिभाका विषय हुन् । भाषिक कुशलता अनवरत अभ्यासबाट हासिल हुने कुरा हो । अमरकोषको भूमिकामा विद्वान् कुलचन्द्र गौतमले भनेका छन् ः ‘मानिसको मनका समस्त भावना मनमा नै विलीन हुन्छन् यदि अर्थलाई इतरावबोध्य शब्दमा गुम्फित गर्ने सामथ्र्य छैन भने ।’ अगाडि मूढो छ भन्नुपर्दा एउटा वैयाकरणले ‘शुष्कवृक्षतिष्ठत्यग्रे’ भनिदिन्छ । एउटा साहित्यिकले ‘नीरस तरुरिह विलसति पुरतः’ भन्छ । साहित्यिकको भाषामा माधुर्य रस छ जसले सुन्ने व्यक्तिको ध्यान सजिलै तान्छ । आज हामीले महाकवि भन्ने व्यक्तिहरुमा शब्द चयन र अर्थ गुम्फनको सामथ्र्य साधारण मानिसमा भन्दा अधिक थियो । यही गुणले उनीहरुलाई मानव सभ्यताका अमर सर्जक बन्न धेरै मदत गरेको सजिलै अन्दाज गर्न सकिन्छ ।

असल कृति समाजको ऐना मात्र होइन । एरिस्टोटल भन्छन्, स्रष्टाले आप्mनो कृतिको विषय–वस्तु निश्चय नै समाज र प्रकृतिबाटै लिन्छ  । तर जस्ताको तस्तै प्रस्तुत गर्दैन, आफ्नो ढंगले प्रस्तुत गर्छ । यसकारण असल लेखक नक्कलकर्ता पनि हो र सर्जक पनि हो । असल कृति समाजलाई अझ सुन्दर बनाउने प्रयत्न हो, जुन कार्य प्रकृतिले गर्न भ्याएको हुँदैन ।

आफू बाँचेको समाजलाई अझ सुन्दर बनाउनका निम्ति लेखकमा मानव सभ्यताको विभिन्न कालखण्डमा विकसित साहित्य, संगीत, नृत्य, चित्रकला, ज्ञान–विज्ञान, दर्शनलगायतका विषयदेखि लिएर  शास्त्रीय र समकालीन कृतिहरुसम्मको रचना परम्परा ज्ञान हुनु आवश्यक हुन्छ । टिएस इलियटले ट्रेडिसन एण्ड इन्डिभिज्युएल ट्यालेन्टमा यही कुरा संकेत गरेका छन् । एउटा लेखकले आफ्नो कृतिमा विगत र वर्तमानलाई फ्युजन गराउँछ र साथसाथै वर्तमानका नवीन सम्भावनाहरु उजागर गर्छ । इलिएटको ‘अवैयक्तिकताको सिद्धान्त’ मा लेखकले कसरी आफूलाई परम्पराको सुसंगतिमा राखेर मात्रै नयाँ सृजना गर्न सक्छ भन्ने व्याख्या छ ।

इलिएट लेखकलाई क्याटलिस्टसँग तुलना गर्छन् । लेखक रचना प्रक्रियामा रासायनिक प्रतिक्रियाको क्याटलिस्ट जस्तै हो जसमा भावनाहरु मुख्य घटक हुन्छन् । यद्यपि लेखक आफ्नै भावनाको ज्वारबाट माथि उठेको हुन्छ, आफ्ना निजी भावनाहरुलाई किमार्थ कृतिमा अभिव्यक्त गर्दैन । केवल क्याटलिस्टको काम गर्छ । तबमात्र उत्कृष्ट कृति जन्मिन सक्छ ।

नेपाली पुस्तक बजारमा केही कालयता चहलपहल बढेको छ । पाठकको संख्या बढेसँगै लेखक र प्रकाशक पनि बढोत्तरी भएका छन् । यो विस्तार गुणात्मक कम र संख्यात्मक अधिकतर देखिन्छ । बालकृष्ण समले ‘स्वास्नीमान्छे’ नाटकमा आफैंमाथि गरेको व्यंग्य यहाँ सम्झन योग्य छ । आफैं पात्र बनेका समलाई अज्ञात स्थानमा ‘अमृत तयार गर्ने कारखाना’को मालिकले के गर्छौ भनेर सोध्दा सम भन्छन् ः म नेपाली लेखक हुँ । संस्कृत र अंग्रेजी साहित्यको आकाशमा जसको गति छैन तिनले मेरा कविता पढ्छन् । निश्चय नै, नेपाली साहित्य गुणात्मक हिसाबले विकसित हुन बाँकी छ । यसका निम्ति अझै समय लाग्न सक्छ । यद्यपि आफ्नो वास्तविक धरातलको बोध हुनु लेखक र पाठक दुवै पक्षका निम्ति लाभदायी हुनेछ ।

बिक्री र चर्चाका आधारमा कृतिलाई असल वा कमसल भन्नु अल्पदृष्टि हुनेछ । किनकि बजारका निश्चित नियमहरु हुन्छन् र तिनको अक्षरशः पालना गर्ने हो भने चुत्थै कृति पनि चर्चामा आउन सक्छ । पदको आडमा केही मानिसलाई अघिपछि लगाएर, ठूला पत्रिकामा विज्ञापन छापेर, कक्टेल पार्टीहरु आयोजना वा नौलो ढंगको ‘गुरिल्ला मार्केटिङ’ गरेर पुस्तक बजारलाई प्रभावित पार्न सक्ने प्रकाशन संस्थाहरु एकपछि अर्को जन्मदै छन् । हुनत, जेजसरी भए पनि पुस्तक बजार विकसित हुनु सकारात्मक हो । कार्ल माक्र्सको भनाइलाई सत्य मान्ने हो भने उनका अनुसार संख्यात्मक विकास अन्ततः गुणात्मक विकासमा रुपान्तरित हुन्छ ।

यद्यपि चर्चाका कृति पढ्दा लेखकहरुले पाठकको यसरी मूल्यांकन गरेको छनक पाइन्छ : मानिस ज्ञान होइन विस्मृति चाहन्छन् । मानिसलाई निद्रा चाहिएको छ । बेहोशी, मूच्र्छा चाहिएको छ । ताकि जीवनका कटु यथार्थहरु भुलेर एकै छिनलाई भए पनि राहत महसुस गर्न सकियोस् । यही सोचले पप गीत जस्तै पप फिक्सन लेखिन थालेका छन् । कृतिको मूल्य एक पेग ह्वीस्की जति भए पुगिहाल्यो नि भन्ठान्न थालिएको प्रतीत हुन्छ । पृथ्वीनारायण क्याम्पसमा नेपाली पढाउने मेरा गुरु रघुनाथ अधिकारी भन्नुहुन्थ्यो : ‘शंकर लामिछानेका कृति अनेकौं पटक दोहो¥याएर पढेको छु, जति पटक पढ्दा पनि नयाँ कुरा फेला पर्छ ।’ तर पढ्दासम्म एक खालको भाङको नशाले छोपेजस्तै हुने र त्यसपछि फेरि कहिल्यै दराजबाट झिकेर पढ्न रुचि नहुने कृतिको कति मूल्य होला ?

असल कृतिको अभिप्राय पाठकलाई जगाउनु हो, सचेत बनाउनु हो, सुताउनु हैन । चेतनाको जागरणको आनन्द निकै माथ्लो स्तरको हुन्छ जुन एउटा असल कृतिले जगाउन सक्छ । तर हाम्रा आम पुस्तकमाथिको प्रतिक्रिया भने लज्जाजनक छ । गगन थापा भन्ने गर्छन्, मलाई निद्रा लागेन भने सधैं एउटै उपाय गर्छु : कुनै पुस्तक पढ्न थाल्छु । नेपाली पुस्तक बजारमा अक्सर कृति निद्रा लगाउनलाई पढिने वस्तु भएका छन् । एक पश्चिमी साहित्यिक भन्छन् : पुस्तक त्यस्तो पढ जसले तिमीभित्रको बरफको डल्ला फोरिदेओस् । मलाई लाग्छ हामीले तिनै किताब पढ्नुपर्छ जसले हामीलाई घोच्छन्, घाइते बनाउ“छन् । यदि पढिरहेको किताबले टाउकोमै भुत्ल्याएर हामीलाई धङधङीबाट, बेहोशीबाट ब्यु“झाउ“दैन भने त्यो किताब केका लागि पढ्ने ? आनन्दका लागि? त्यसका लागि त डेटिङ वा डिस्को गए भइहाल्यो नि । हामीलाई त्यस्ता किताब चाहिन्छन् जसले कुनै आ“धीतूफानले जस्तै हामीलाई प्रभावित पार्छन्, जसले हामीले आफूलाई भन्दा पनि धेरै माया गर्ने कुनै आफन्तको मृत्युले भन्दा अधिक हामीलाई हतप्रभ बनाउ“छन्, जसले कुनै निर्जन जंगलमा निर्वासित हु“दाको जस्तो नितान्त नौलो अनुभूति गराउ“छन् । पुस्तक त्यस्तो हुनुपर्छ जसले हामीभित्र जमेको हिम–समुद्रमा बन्चरो हानोस् ।

वर्तमान युगमा अर्थोपार्जन नै हरेक विधाको सफलताको कसी बनेको छ । लेखकीय सफलता पनि यही कसीमा हेर्न थालिएको पाइन्छ । अर्थोपार्जन महत्वपूर्ण पाटो हो । यद्यपि असल लेखक एउटा सुन्दर कृति लेख्ने क्रममा नै सफल भइसकेको हुन्छ । जीवन एक यात्रा हो भने यात्राको आनन्द लिन सक्नु नै लक्ष्य प्राप्त गर्नु हो । महान् कृतिका लेखकहरु लेख्दालेख्दै रुपान्तरित भएका सुनिन्छ । ती लेखकहरु बृहत् अध्ययन र अनुभूतिबाट गुज्रेका थिए । भनिन्छ, सफलताको छोटो बाटो छैन । धूलो, पात र प्वाँख मात्रै छिटो छिटो माथि पुग्छन् ।

‘सक्रिय मस्तिष्क’लाई कुनै प्रकारको नशाको सहाराले छेउ लगाएर लेखिएको कृतिले पाठकका इन्द्रियलाई अपिल गर्न सक्ला, कहिलकाहीँ बुद्धिलाई पनि घुमाइदिन सक्ला तर चेतनालाई स्पर्श गर्न किमार्थ सक्दैन । चेतना जीवन आनन्दको मुख्य स्रोत हो । वेद भन्छ, चेतनाको आनन्दबाटै सृष्टि भएको हो, आनन्दमै यो गतिशील हुन्छ र आनन्दमै विलय हुन्छ ।

आफूलाई लेखक भनाउन हतार गर्नुभन्दा पहिला उत्कृष्ट विषयवस्तु र कुशल प्रविधि प्राप्त गर्नु अधिक वाञ्छनीय हो । पाठकलाई न्याय गर्नु, तिनको समय र स्रोतको उचित मूल्य दिनु लेखकीय धर्म हो । वीपी कोइरालाले भनेका छन्, ठूलो मान्छे होइन, असल मान्छे हुनु । ठूलो मान्छे त धेरै हुन्छन्, दुनियालाई असल मान्छेको खाँचो छ । नेपाली पुस्तक बजारलाई पनि असल कृतिहरुको खाँचो छ ।

Article published in Nagarik Daily (21 July 2012)
http://nagarikplus.nagariknews.com/component/flippingbook/book/1045-nagarik-21-july-2012/2-nagarik.html