बेंगलोर योग यात्रा
नेत्र आचार्य

गोरखपुरबाट ५० घण्टाको रेलयात्रापछि बेंगलोर पुग्दा खजुर, नरिवल र ताडीका बगैंचामा बिहानको कलिलो घाम पोतिएको थियो । नयाँ ठाउँमा पुग्दाको उत्तेजनाले हो वा मनमा संवेदनशीलता भरिएर, ती वृक्षका लामा पात हावाले हल्लाउँदा आत्मीयलाई धेरैपछि भेट्दाजस्तो कम्पन मनमा अनुभूति भइरह्यो । ‘ओम्’, योग सम्मेलनमा आउनेलाई स्वागत गर्नेहरु रेलवे स्टेसनमै पर्खिरहेका रहेछन् ।
ओम्कारको उच्चारणसँगै उनीहरुले हामीलाई एक–एक गुलाफका गुच्छा दिए । बस चढेर हामी तोकिएको निवासस्थान विवेकानन्द योग विश्वविद्यालयतर्फ गइहाल्यौं । मुख्य सहरबाट एक घण्टाको दूरीमा एकान्त स्थानमा रहेको विश्वकै पहिलो योग विश्वविद्यालयको विशाल परिसरमा पुग्दा मनमा त्यसैत्यसै उमंग भरियो । योग हामी पूर्वीयहरुको सभ्यता हो, यसको जगेर्ना गर्ने चेष्टा थालिएको देख्न पाउनु पनि गौरवको विषय हो । यात्राको थकान र धूलोले भरिएका हामी सबै पहिला स्नानागारमा नुहाउन पस्यौं । सय जनाले एकै पटक नुहाउन मिल्ने धाराहरु, विशाल भोजनालय, ध्यान केन्द्र, योगासन हल, थरीथरीका प्राकृतिक स्वास्थ्योपचार कक्ष, सभागृह, छात्रावास, घुम्नको लागि फराकिलो उद्यान र वृक्षहरु, योग विश्वविद्यालयको भव्यता वर्णनातीत लाग्थ्यो । विश्वविद्यालयको समग्र भूगोल र व्यवस्थापन एकपटक देखिसकेपछि मात्र ज्यान थाकेर हत्तु परेको बोध भयो । हामी विश्रामगृहमा पस्यौं ।
भोलिपल्ट विश्वप्रसिद्ध योग गुरु बिकेएस आयंगरले पानसमा बत्ती बालेर योग सम्मेलनको उद्घाटन गरे । विश्वका २६ देशबाट भेला भएका पाँच हजारभन्दा बढी सहभागीले श्रद्धापूर्वक उभिएर पर्र ताली पिटे । कालजयी कृति ‘लाइट अन द योग’का लेखक यी वयोवृद्ध गुरुले योगले शरीरलाई त लचिलो, निरोग एवं दीर्घजीवी बनाउँछ नै, मन र चेतनालाई पनि स्वस्थ एवं आनन्दित बनाउने हुँदा योगको भरपूर लाभ लिन आग्रह गरे ।
सम्मेलनको विशालता देख्दा छक्क परिन्थ्यो । कतै योगासनका कठिन अभ्यासहरुको प्रदर्शनी, कतै सांस्कृतिक झाँकी, कतै आरोग्यबद्र्धक उत्पादनहरुको प्रदर्शनी, कतै प्रवचन, कतै कार्यपत्र वाचन, कतै खानपिन गर्नेहरुको लर्को ।
नेपाल प्रतिनिधिमध्येबाट सभासद् धर्मशीला चापागाईंलाई मञ्चमा बोलाइएको थियो । वक्ताका रुपमा डा. हरिप्रसाद पोखरेलले बुद्ध जन्मेको योगभूमि नेपालबाट ३३ वर्षअघि योग सम्वत् आरम्भ भएको र योगदिवस मनाइँदै आएको बताउनुभयो । नेपालको सहभागिता यत्ति नै रह्यो ।
तेस्रो दिन भने डा. अञ्जु डंगोलले मिनिबस चढेर बेंगलोर घुम्न हौस्याइन् । आयंगरको योग प्रशिक्षण छोडेर सहर घुम्न हिँड्दा उहिले स्कूलमा कक्षा बंक गरेर खोलातिर माछा मार्न जाँदाजस्तो डर पनि रोमाञ्च पनि अनुभूति भइरह्यो । गाइडले पहिला हरेकृष्ण मन्दिर लग्यो । मन्दिरभित्र नागबेली परेका अगणित घुम्तीमा हरेक पाइला हरे राम हरे राम राम राम हरे हरे, हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे भन्दै सार्नुपर्दोरहेछ । एक घण्टामा कृष्णजीको दर्शन पाइयो । फर्कंदा परिसरभित्रका सयौं बिक्री कक्ष अवलोकन गर्दै ओर्लनुपर्यो । ‘मन्दिर कम सपिङ सेन्टर ज्यादा पो रहेछ’ दीपक शर्माले काजु किन्दै भने । भक्तजनलाई दोब्बर–चौबर मूल्यमा सामान बेचिंदै थियो । फोटो खिच्न पनि नपाइने मन्दिरका देउता दर्शन गरी पवित्र भाव लिएर निस्कँदै गरेकालाई बासी मिठाइ, खेलौना, लुगा र देउताका मूर्ति व्यापार गर्ने इन्डियनहरुको आइडिया विस्मयकारी लाग्यो ।
टिपु प्यालेस दोस्रो गन्तव्य । टिपु सुल्तानले गर्मीमा हावा खान काठैकाठले बनाएको यो दरबारमा झ्याल–ढोका थिएनन् । सिंहासनमा बसेर फोटो खिच्दै हामी पनि क्षणभरका लागि श्रीपेचबिनाको सुल्तान बन्यौं । गेटबाहिर नरिवल भरिएको ठेलागाडी पर्खिरहेको थियो, गर्मीमा प्यास मेट्न योभन्दा मीठो पेय अर्थोक के होला ! तर साथीहरुलाई देख्दा लाग्थ्यो मानौं नरिवल पानी पिउनभन्दा पिउँदै गरेको फोटो खिच्नमा ज्यादा रस छ ।
लाल बाग नामको विशाल बगैंचा लभर्स गार्डेनका नामले चर्चित रहेछ । सहरभरिका प्रेमीप्रेमिका यहाँ आई खुल्लमखुल्ला प्रेम गर्दारहेछन्, हाम्रो स्वयंभूको जंगलजस्तो । बूढाबूढी र बेरोजगारहरु साइड लागेर बसेका भेटिँदारहेछन् । खजुरका रुखहरु र फूलैफूल भरिएको बगैंचाको आकर्षण विशाल सीसामहल रहेछ । महलभित्र हजारौं गुलाफका फूलहरुले बनेको गुम्बज आश्चर्यजनक थियो ।
महात्मा गान्धी रोडमा पुग्दा गाइडले भन्यो ः सुबह से साम तक महात्मा गान्धी रोड, साम से सुबह तक महात्मा ब्रान्डी रोड । बेंगलोरका मानिस खानपिन र मोजमस्तीमा निकै सौखीन छन् । काम कम सिनेमा ज्यादा हेर्छन् । शहरमा १०८ सिनेमा हल छन् । घरमा पहिला हिरोलाई पूजा गर्छन् अनि भगवान्लाई ।
‘उँटीको काजु, मैसूरको सर्वत, बेंगलोरको सिल्क र स्याण्डलउड फेमस हुन् । फुटपाथका सामान लेना नहीं, लेनेके वाद धोना नहीं, धोने के बाद रोना नहीं । अतः म तपाईंहरुलाई सहरको सर्वोत्तम एवं सुपथ मूल्यको सपिङ सेन्टरमा लग्दैछु जहाँ सिल्क र स्याण्डलउडका सामान खरिद गर्न सक्नुहुनेछ’ गाइडले हामीलाई पसलभित्र छिरायो ।
अर्को गन्तव्य साइन्स म्युजियममा पस्दा विशाल डाइनोसर भयानक हुँकार गरिरहेको थियो । विजुलीले चल्ने यो भीमकाय रेप्लिकाले आँखाबाट आगो ओकल्दै टाउको उठाउँदै गरेको दृश्य विस्मयकारी थियो । पहिलो तलामा राइट दाजुभाइले बनाएको पहिलो विमान, स्टिम इन्जिनले चल्ने रेल, पांग्रा, बीड, घिर्नी, पेच आदि विज्ञानका आधारभूत उपकरण थिए । रमाइलो विज्ञान नामको तलामा ऐना हेर्दा आफ्नो अनुहार होइन बाँदर–बाँदर्नी पो देखियो । अर्को छेउको ऐनामा हेर्दा टाउको पछाडि पो देखियो । अर्को ऐनामा हेरेर कुरा गर्दै थियौं, पल्लोपट्टी टेलिभिजनमा पो ब्रोडकास्ट भइरहेको ! आफ्नो अनुहार फेला पार्न मुश्किल भयो । अर्को आश्चर्यजनक प्रविधि थियो शरीरमा पानीको प्रतिशत नाप्ने । मेशिनमा पहिला वास्तविक तौल देखिन्थ्यो, स्वीच थिचेपछि ठोस तौल विस्थापन भएर ७० प्रतिशतको हाराहारी पानीको मात्रा देखिन्थ्यो । अरु तलामा अन्तरिक्ष विज्ञानका चमत्कारी दृश्य र बायोटेक्नोलोजीका कक्ष थिए । कम्प्युटर साइन्स कक्षमा इन्टरनेटले कसरी विश्वलाई एउटै सञ्जालमा जोडेको छ देखाइएको थियो । विज्ञानसम्बन्धी विषय पढ्ने विद्यार्थीका लागि त यो हेर्नै पर्ने संग्रहालय हो ।
‘बेंगलोरका मानिसहरु इन्टरनेट प्रविधिमा स्मार्ट छन्, शिक्षामा तेज छन्, कमाइमा तेज छन्, पिक– पकेटिङमा पनि तेज छन् । सहरमा घुम्दा होसियार रहनुहोला ।’ गाइडले बेलाबेला हामीलाई सम्झाउँदै थियो । म्युजियमपछि विधान सभा र हाइ कोर्ट सडकबाटै देखाएर उसले हामीलाई अर्को सपिङ सेन्टर पो पुर्यायो । अब भने यही गाइडदेखि सावधान रहनुपर्ने हामीले सोच्यौं । सहर अवलोकन यत्ति नै भो । हुन पनि, एक करोड जनसंख्या भएको बेंगलोरका तनावग्रस्त मान्छे र हर्न बजाइरहेका सवारीको भीड, प्रदूषण र कोलाहल हाम्रालागि असैह्य भइसकेको थियो ।
अर्को दिन योग तथा नेचुरोप्याथी सम्मेलनमा बित्यो । पाँच हजारभन्दा बढी सहभागीलाई ब्रेकफास्टदेखि बेलुका डिनरसम्म प्राकृतिक खाना पाकिरह्यो ः अंकुरित गेडागुडी, रोटी, दही र सख्खरमा पकाएको भात, नरिवलको चटनी, चुकन्दर र गाजरको सलाद, उखु र पालकको गुलियो पेय, जडिबुटी चिया र हरेक खानामा कडी पत्तीको बासना । नरिवलको स्वादिलो पानी, खाने एवं मालिस गर्ने तेल, चटनीमात्र हैन, प्लेटसमेत बन्दोरहेछ । नरिवलका खबटालाई मेसिनमा पेलेर बनाइएका हलुका डिस्पोजेबल प्लेटमा प्राकृतिक खाना खानुको मज्जै बेग्लै । सम्मेलन पाँच दिने पिकनिक जस्तो पनि भयो । विश्वभरिका योगप्रेमी र चुनिएका विज्ञहरुको अपूर्व जमघट र नवीनतम ज्ञान–विज्ञानको अन्तहीन प्रदर्शनी सम्मेलनका आकर्षण रहे । योगाभ्यासबाट शरीरलाई हदैसम्म लचक र निरोग बनाउन सकिन्छ भन्ने प्रदर्शनी र व्याख्या दिनभरि चलिरह्यो । गँड्यौला त्यति नागबेली हुन वा दोब्रिन सक्दैन होला; बडी–आर्ट कतिसम्म कलात्मक हुनसक्छ त्यो देख्न पाइयो । शरीर एक योगाभ्यासीले नाकले दूध पिए र २८ इन्च लामो चम्किलो तरवार देख्दादेख्दै सुलुत्तै निले, हामीले सास रोकेर हेरिरह्यौं । उनी उस्तै शान्त रहे, अनुहारको भावभंगिमा बिग्रिएको देखिएन ।
फर्कने दिन आयो । हाम्रो यात्राका अगुवा डा. सूर्यबहादुर कार्कीसँगै अधिकांश सहभागी दिल्ली, हरिद्वार हुँदै फर्कने भए । बेंगलोरबाट सिधै नेपाल फर्कने समूह सात जनाको भयो । नयाँ संयोजनले सबैको स्लिपर टिकट कन्फर्म गर्न पनि सकेन । जसरी पनि फर्कनु त छँदैथियो, केरा चिप्स खाँदै रेलवे स्टेसनको प्रतीक्षालयमा समय बिताउन थाल्यौं ।
समयमै रेल आइपुग्यो, धक्कमधक्का गर्दै पसेर तीन जनाको सिटमा सात जना कोचिएर बस्यौं । रेलको सयर भने गजब भयो । आठ सिटको बक्समा सबै नेपाली थियौं । एक दिन नाच्दै गाउँदै बित्यो, अर्को दिन हाँस्दै खेल्दै । मगन्ते भने भाँतीभाँतीका आइलागे । कोही सद्दे खुट्टा खोच्याउँदै आउँथे, कोही सोझो ढाड बंग्याउँदै । एक टोली त निकै जण्ड आइलागे । ‘आइला’ भन्दै हत्केला पड्काउँदै आउने यो टोली तेस्रो लिङ्गी रहेछ । भारतमा तिनको निकै कदर हुन्छ रे, बिहेमा तिनले आशिक दिए भने फलिफाप हुन्छ रे । जे भए पनि रेलमा छिरेर यात्रुबाट जबर्जस्ती पैसा झार्ने छुट दिन हुँदैनथ्यो, सरकारले नियन्त्रण गर्नै सक्दोरहेनछ । एउटी काली हाम्रो बक्समा छिरेपछि होमजी खुम्चिएर बसे । काली त झन् सन्किई । होमजीको गाला मुसार्दै उसले भनी, ‘आइला रे, छोकरी तेरे साथ सो नहीं रही, तुझे कर नहीं रही, क्यों सिकुडता रे । चल, आज भ्यालेन्टाइन डे है, प्यार से जल्दी दश रुपये दे दे और आइ लभ यु बोल ।’ होमजी आलटाल गर्न खोज्दै थिए । ‘जल्दी दे दे, नहीं तो सबके सामने तेरे कपडे एक एक करके उतारुँगी ।’ अब भने होमजीले पर्स खोतले, भनेको दाम दिए र लामो सास फेरे ।
५२ घण्टाको यात्रापछि गोरखपुर रेलवे स्टेसनमा आइपुग्दा दीपकजीको सुटकेश फेला परेन । एक साता अघि यही स्टेसनमा उनको मोबाइल चोरी भएको थियो । अहिले सुटकेश । निकै खोजेपछि पल्लो बक्समा सुटकेश भेटियो । समयमै नखोजेको भए चट् हुनेरहेछ । भीडभाड र चोर–उचक्काहरुको सहरबाट यथाशीघ्र मुक्ति पाउन हामी साँझमै सुनौली जाने बस चढ्यौं । जनक र बुद्ध जन्मेको नेपालको जमिन टेकेपछि भने यस्तो लाग्यो मानौं जीवनका सारा समस्या स्वतः सुल्झिए । मनमा देशप्रेम जगाउन कसैले कञ्जुसी नगरे हुन्छ, हामी साँच्चै नै सुन्दर र शान्त देशका भाग्यमनी बासिन्दा हौं । यहाँको बाहुन जातैले चोखो होला वा नहोला, नेपाली जन्मले योगी हुन् । यति स्थिर, प्रशान्त र सौम्य मानिस अन्यत्र सायदै फेला पर्ला, यो यथार्थ अनुभूति गर्न एक पटक भारतको कुनै सहर घुमेर फर्के पुग्नेरहेछ ।
My Banglore yoga yatra published in Nagarik Daily 17th March 2012