१. जनक दर्शन अर्थात् साक्षीभाव, आत्मज्ञान ।
या लोकद्वयसाधिनी चतुरता सा चातुरी चातुरी ।
अर्थात् संसारको क्षणभंगुर सुख पनि भोग गर्न सक्नु र मोक्षलोकको चिरस्थायी आनन्द पनि नगुमाउनु वास्तविक बुद्धिमानी हो । साक्षीभावको साधनाद्वारा जनकले दुवै लोकको सुख अनुभूति गरेका थिए ।
२. साक्षीभाव भनेको कर्ता भाव रहित भई कर्म गर्नु हो, फलप्रति आसक्ति नहुनु हो, आफ्नै कर्मको आफैं साक्षी हुनु हो । -सरल भाषामा भन्दा, कर्ता भाव भनेको म काम गरिरहेको छु भन्ने भावना तिरोहित हुनु, हराउनु । यो शरीरले काम गरिरहेको छ, म शरीरको र कामको पनि साक्षी हुँ भन्ने हेक्का भइरहनु ।)
३. यो साक्षीभाव प्राप्त गर्न आफूलाई शरीर होइन आत्मा सम्झन सक्नर्ुपर्छ । जनकले आफूलाई राजसी वस्त्र आभूषण र राजदण्ड धारी शरीर होइन, र्सवव्यापी, र्सवदर्शी आत्मा सम्झन्थे । यही कारणले उनलाई विदेह राजा भनियो, राजषिर् भनियो ।
४. जनक दर्शनले पर्ूर्वीय चिन्तन परम्परामा उल्लेख्य स्थान राख्छ । प्राचीन नगरी जनकपुरमा राज्य गरेका यी राजाले वेदव्यासका विद्वान् छोरा शुकदेवलाई जीवन दर्शन सिकाउने क्षमता राख्थे । व्यासले जनकलाई भेटेर साक्षीभाव सिक्न शुकदेवलाई पठाएको प्रसंग देवी भागवत्मा आउँछ ।
५. देवी भागवत् बाहेक बृहदारण्यक उपनिषद्, अष्टावक्र गीता आदिमा पनि जनक दर्शनको शास्त्रीय चर्चा पाइन्छ ।
६. जनक दर्शनले आत्मज्ञान प्राप्त गर्न घरबार त्यागेर बनबासी हुनु पर्दैन, केवल भोक्ता भाव, कर्ता भाव त्यागे पुग्छ भन्छ । ऋत् अर्थात् सृष्टिक्रम, सूर्योदय, सुर्यास्त, ऋतुपरिवर्तन, दैनिक व्यवहार र स्वयंलाई समेत कर्ता वा भोक्ता भावले होइन, साक्षी भावले हेर्नु म शरीर होइन आत्मा हुँ भन्ने स्मरण गरिरहनु आत्मज्ञान हो । यति ज्ञानलाई व्यवहारमा उतार्न सफल भएपछि राजा जनकले विदेह -म शरीर हुँ भन्ने भावना रहित) अवस्था प्राप्त गरेका थिए । आष्टावक्रको भोगविलास विमुख दर्शनको प्रतिच्छाया पनि जनक दर्शनमा पाइन्छ । ऐन्द्रिकतादेखि अतिन्द्रियतासम्म, भौतिकतादेखि अध्यात्मसम्मको अन्तर्यात्रा दिशानिर्देश गर्ने यो दर्शन र तान्त्रिक दर्शनमा तारतम्य पनि देखिन्छ ।
कोहावर अर्थात् सुनौला सुहागरात नामक मिथिला कलामा चित्रित अक्षत योनीमा संभोगरत लिंगलाई छेवैको बाँसको टुप्पामा बसेर वाल्ल पर्दै हेरिरहेको सुगा साक्षी भावको प्रतीक हो, उदाहरण हो । म कहाँ छु, के गरिरहेको छु भन्ने यथार्थलाई कर्म गरिरहँदा पनि पृथक् रहेर सोच्न सक्नुपर्छ यो सन्देश आर्श्चर्यचकित भई हेरिरहेको सुगाले बताउँछ । शरीर चेतनाको स्थूल रूप हो जसलाई समात्न सकिन्छ । जसलाई समात्न सकिँदैन त्यो चेतनाको सूक्ष्म रूप आत्मा हो । सम्भोगरत हुँदा शरीरमा अनुभूति भइरहेको रोमाञ्च कसलाई अनुभूति भइरहेको हो - त्यसलाई पक्रन सके जीवनमा ठूलै आन्तरिक क्रान्ति हुन्छ । त्यसैले आफ्नो होशलाई बाँसको टुप्प्ामा रहेको सुगाझैं सर्वोपरि राख्नुहोस्, कुनै पनि बेला आफूभित्र चेतनाको दीयो प्रज्वलित हुन सक्छ । यसप्रकार कोहावरमा चित्रित तान्त्रिक दर्शनमा जनक दर्शनकै भोगदेखि योगसम्मको यात्रा देख्न सकिन्छ ।
७. द्रष्टा, असंगता, आत्मज्ञान । आत्मज्ञान प्राप्त गरेपछि आत्मा पाकेको बदाम जस्तै असंग हुन्छ, आत्माले शरीर त खोल मात्रै रहेछ भन्ने पत्तो पाउँछ ।
८. साक्षी भावको जीवन दर्शनका प्रणेता भएका हुँदा राजा जनक नेपालका दार्शनिक विभूति ।
यो दर्शन किन सजिलै बुझ्न सकिँदैन त ः
जनक दर्शन सिद्धान्त होइन, जीवन पद्धति हो । जनक दर्शन चेतनाको स्तरको जीवन पद्धति हो । -हाम्रो शरीरका भिन्नभिन्न स्तर हुन्छन् : बाहिरी शरीर, स्वासप्रश्वास वा प्राण, मन, बुद्धि र चेतना) । सिद्धान्त बौद्धिक प्रयासले बुझ्न सकिन्छ । तर जीवन पद्धति बुझ्न साधना आवश्यक हुन्छ । ध्यानको अभ्यास आवश्यक हुन्छ ।
वासनाका पछि दगुरिरहेको मनले साक्षीभाव बुझ्न सक्दैन । जसरी बगिरहेको पानीमा आफ्नै प्रतिबिम्ब देख्न सकिँदैन ।
ध्यानको अभ्यास गर्दा शील पालना अनिवार्य हुन्छ । हिंसा नगर्नु, झूठो नबोल्नु, अरुको वस्तुको लोभ वा चोरी नगर्नु, यौन व्यभिचार नगर्नु र मादक पदार्थ सेवन नगर्नु यी पाँच शील हुन् । स्वभावतः मानिसको प्रकृति हिंसा उन्मुख, लोभी, व्यभिचारी हुन्छ । बुद्धि र विवेकले मनलाई रोक्न सकिन्छ । शील पालना गर्दा मन ओरालो लाग्न पाउँदैन । निश्चय नै, स्वाभाविकतालाई जित्न सक्नु ठूलो चुनौती हो ।
शान्त तलाउमा प्रतिबिम्ब देख्न सकिएजस्तै स्थिर मन भएपछि चेतनाको ज्ञान हुन्छ । चेतनाको ज्ञान हुनु नै आत्मज्ञान हो ।
ध्यानमा बस्दा के हुन्छ त - शरीर अचल हुन्छ । बिस्तारै स्व्ासप्रश्वास सूक्ष्म वा स्थिरप्रायः हुन थाल्छ । अनि मन स्थिर हुन्छ । मन स्थिर हुनु भनेको विचारको कोलाहल शान्त हुनु हो । अन्यथा हामी हर्दम केही न केही सोचिबिचारी रहेकै हुन्छौं ।
पानी सङ्लिन थाल्छ, अनि प्रतिबिम्ब देखिन्छ । मन शान्त हुन्छ, अनि चेतना प्रकट हुन्छ । चेतनाको स्तरमा जिउनुको आनन्दै बेग्लै हुन्छ । चेतनाको स्तरमा बुद्धि अत्यन्त संवेदनशील हुन्छ, प्रखर हुन्छ । स्वास लिनु मात्र पनि अद्भुत आनन्ददायी हुन्छ । स्वास लिनु सजीव प्राणीका निम्ति एउटा अद्भुत घटना हो, रहस्य हो । चेतनाको स्तरमा जीवन महाभोग हो ।