काशीमा साँढेको रजाइँ
( नागरिक दैनिकमा प्रकाशित - 3 Oct 2009 )
मेरा लागि दशै खानपीन गर्न. तास खेल्न र आराम गर्न आउँथ्यो पहिले पहिले । यसपालि साथी नीरज र म निरन्तरताको क्रमभङ्ग गर्दै काशी यात्रामा हान्नियौँ । यात्रामा हाम्रा योजना थिए : पूर्वीय दर्शनका शास्त्रीय ग्रन्थ खरिद्ने, दर्शनीय स्थल घुम्ने र काशीका नेपालीसँगै दशैं मनाउने ।
लामो यात्रामा सबेरै निस्कँदाको मजा पारखीलाई थाहै हुनुपर्छ । हाम्रो गाडी सुनौलीतर्फ हुइँकिन थालेपछि शरीरमा एक खालको रोमाञ्च अनुभूति भइरहेको थियो । वर्षभरिको थकान मानो वाष्पीकरण भएर निस्कँदै थियो । साँझैमा हामी सुनौली बोर्डरमा पुग्यौँ । त्यहाँबाट युपी पैंसठ् नामको लामो न लामो सरकारी बसमा सवार भएपछि भारतीय भूमिमा हाम्रो यात्रा सुरु भयो ।
बिहान पाँच नबज्दै हामी बनारसमा उत्रियौँ । हाम्रो स्वागतमा रोडवेज बसअड्डामा एक बथान साँढे र रिक्सा लामबद्ध थिए । हामीले थाहा पाइहाल्यौँ, पशुता साँढेमा कम र रिक्सावालामा ज्यादा थियो । एउटा रिक्साले नीरजलाई तान्दै पर पु¥याइसकेको थियो । पहिलोपटक बनारस आएका नीरज अक्क न बक्क हुँदै फुत्किने चेष्टा गरिरहेका थिए । ‘मैं जाते नहीँ, तुम नतानो !’ उनी यतिखेरै जीवनमा पहिलो पटक हिन्दीमा बोल्ने जबर्दस्त अभ्यास गरिरहेका थिए । दृश्य मनोरञ्जक थियो । मुश्किलले रिक्साहरु पन्छाउँदै नीरज र म
भीडबाट बाहिर निस्कियौँ ।
‘अब कता जाने हो ?’ नीरजले पहेँला बत्ती बलेका ल्याम्पपोष्टतिर हेर्दै सोधे ।
‘ल, काशीमा सबैरै अरू कहाँ जानु, पहिला गंगामा डुबुल्की लगाएर यात्राको गर्मी शान्त पार्नुपर्छ’ भन्दै म अघि लागेँ ।
रिक्सामा चढ्ने हिम्मत भएन । राम्ररी उज्यालो भएको थिएन । यी अनिँदा र भोका रिक्सा चालकले भनेकै ठाउँमा लगिदेलान् भन्ने भरोसा कसरी गर्नु । हामी गंगाको घाटतिर हिँड्दै गयौँ । आधा घण्टा हिँडिसक्दा पनि गंगा सुसाएको सम्म सुनिएन ।
‘काइदाको प्रातः भ्रमण हुने भयो नि’, मैले थकाइले चूर भएका नीरजलाई ढाडस दिँदै भनेँ ।
‘हो हो, गंगा–स्नानपूर्व पसिना–स्नान पनि हुने भो’ निधारका पसिना चोर औंलाले सोहोरेर तर्र चुहाउँदै उनले व्यङ्ग गरे ।
घण्टाभरिको पैदल यात्रापछि हामी दुई भाइ दशास्वमेध घाटमा थियौँ । हाम्रा अगाडि शान्त, गम्भीर र विशाल गंगा फैलिएको थियो ।
‘हैन, यो नदी हो कि समुद्र ?’ गंगाको दर्शन गर्दै नीरजले अलि लामै सुस्केरा हाले ।
गंगाको जल र हाम्रो वाग्मतीको जलमा धेरै कुरामा सादृश्य देख्न सकिन्थ्यो । उस्तै बाक्लो, उस्तै धमिलो, उस्तै दुर्गन्धयुक्त । भीड भने यहाँ चौगुना हुँदो रहेछ । नदीमा डुबुल्की लगाउनेहरुको भीडमा जिउँदा मात्र होइन, मरेका पनि उत्तिकै हुँदा रहेछन् । छेउमै डुबुल्की लगाइरहेको मानिस जिउँदो हो कि लाश, तीर्थालुहरुलाई वास्ता थिएन । जीवनभरिको पाप पखाल्न र पवित्र हुन गंगास्ना गर्न आएका तीर्थयात्री निर्वस्त्र भई ठण्डा पानीमा बारम्बार डुब्दै, निस्कँदै गरिरहेका थिए ।
नदी किनारमा निकै बेर उभिएर हामीले त्यो ‘तमासा’ हेरयौँ । तैपनि गंगास्नान गर्ने साहस हामी दुई भाइलाई आएन । हामीलाई त गंगाको जलभन्दा आफ्नै मन पो सफा लाग्यो । जति खोजे पनि त्यहाँ स्नान गरेर पखाल्नुपर्ने कुनै प्रकारको कल्मष हाम्रो तनमा फेला परेन, मनमा पनि फेला परेन । आखिरमा, भागीरथी गंगाको मान राख्न पानीमा हात डुबाएर ‘हर हर गंगे’ भन्दै हामी गन्तव्य तिर लाग्यौँ ।
बासस्थान तय गर्न भागवत–प्रवाचक मित्र कपिलजीले दिएको ठेगाना सोध्दै हामी विश्वनाथ मन्दिरको गेटबाट पस्यौँ । मन्दिरको परिसरभित्र जेलिएका असंख्य गल्लीहरु छिचोल्दै, हरेक घुम्तीमा कसै न कसैलाई ‘भाइजी, ललिताघाटका रास्ता किधर सै है’ भनेर सोध्दै, खोज्दै हामी अगाडि बढ्यौँ । गल्लीका हरेक मोडमा थुपारिएको फोहोरको डुँगुरले नाक पोल्न थालेपछि काठमाण्डू घुमेर फर्केका एक भारतीय सज्जनले ‘आपका शहर सुन्दर और बहत साफ–सुथरा है’ भनेको याद आयो । बनारससँगै तुलना गर्ने हो भने त काठमाण्डू पनि सफासुग्घर सहर गनिँदो रहेछ । सायद महिनौँसम्म पानी नपर्ने हुँदा सडक र पेटीमा फोहोरका पाप्रामाथि पाप्रा चढ्दै जाँदा रहेछन् । अनि साँढेलाई विश्वनाथको बाहन मानेर पूजा गर्नुपर्ने र स्वतन्त्र छोडिदिनुपर्ने अकाट्य परम्परा हुनाले काशीमा साँढेको रजाइँ नै चल्दो रहेछ । धन्य, तिनले यात्रुलाई सिंगले हतपती हान्दारहेनछन् । हातले साँढेको सिंग र खुट्टाले तिनको गोबर छल्दै हामी बडो मुश्किलले ललिताघाट पुग्यौँ ।
केही नेपाली विद्यार्थीसँग भेट भयो । तिनैको माध्यमबाट साम्राज्यश्वर पशुपतिनाथ आश्रममा माथिल्लो तलाको ‘भिआइपी’ भनिने कोठा भाडामा लियौँ र पहिला सर्लक्क नुहायौँ । त्यसपछि झ्यालबाट गंगाजी हेर्दै बेडमा डङ्रङ्ग पल्टियौँ, सारा थकान र तनाव मानो क्षणभरमा गायब भयो । एक घण्टा पूरै निदाएर ब्युँझँदा आँखा फेरि झ्याल बाहिर गंगाको समतल प्रवाहलाई छुन पुगिसकेका थिए । त्यतिखेर शरीर जति हलुका भइरहेको थियो, मनमा जुन आनन्द अनुभूति भइरहेको थियो, सायद त्यही होला मानसिक शान्ति भनेको ।
यद्यपि नदी नियाल्दै कोठामै बस्न हामी यात्रामा निस्केका थिएनौँ । बनारसका पुराना विश्वविद्यालय पहिलो प्राथमिकतामा परे । हामी रिक्सा चढेर सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय पुग्यौँ । त्यहाँ पुग्दा रित्ता भवनहरुले हाम्रो आवाभगत गरे । विश्वविद्यालयमा ‘दशेरा’को छुट्टी भइसकेको रहेछ । काशी हिन्दू विश्वविद्यालय खुल्लै छ भन्ने थाहा पाएर हामी त्यतै लाग्यौँ । मध्यान्हको गर्मी, सवारीको भीड, टेम्पो खोज्दै गर्दा हामीलाई दश–पन्ध्रमिनेट तप्त सडकमा भौँतारिनुपर्यो । टाउको अहिले फुट्ला कि भरे फुट्ला जस्तो गरी दुखिरहेको थियो, पसिनाले सर्वाङ्ग भिजाएको थियो । धूलोले नाकै टालिने छाँट देखिएको थियो । ‘फेन्ट’ भएर सडकमा पछारिन मात्र बाँकी रहँदा बल्ल टेम्पो पाइयो । विश्वविद्यालय पुगेर बौद्ध तथा जैन दर्शन अध्ययन विभागको भुइँतलामा कुलरको चिसो पानी पिएपछि र टाउकोमा थप्थपाएपछि गर्मीले गलाएको आँत तैबिसेक ठण्डा भयो ।
बौद्ध दर्शन विभागका अध्यक्ष डा. सूर्यप्रकाश व्यासलाई भेट्ने चाहना थियो । उनी विदामा बसेका रहेछन् । विभागको पुस्तकालय पनि बन्द रहेछ, कर्मचारी विदामा बसेका हुँदा । हामी केन्द्रीय पुस्तकालयतिर गयौँ । पुस्तकालयको कार्डधारीलाई मात्र प्रवेश अनुमति रहेछ । निकै माथापच्ची गरेर हामीले पुस्तकालयध्यक्षसँग अनुमति झिकायौँ र भित्र प्रवेश ग¥यौँ । पुस्तकालयमा पुराना किताबका दराज टन्नै थिए । तर नयाँ किताब कतै भेटिएनन् । हाम्रै त्रिविको केन्द्रीय पुस्तकालयको जस्तै हालत रहेछ । कम्प्युटरबाट बौद्धदर्शनको सान्दर्भिकता सम्बन्धी केही थेसिसको कल नम्बर खोजेर त्यहाँका कर्मचारीलाई दियौँ, तर ती त्यहाँ नभएको बताइयो । पिरियडिकल्स संकलन गरिएको अँध्यारो हल हेरेपछि हामी डेरा फक्र्यौं ।
भोलिपल्ट शहरका मुख्य पुस्तक पसल घुम्यौँ । अधिकांश पुस्तक पसलमा रामायण, महाभारत, पुराण, स्वस्थानी, सन्तोषीमाता, तन्त्रलगायतका पुराना किताब मात्रै भेटिए । मोतीलाल बनारसीदासमा केही अंग्रेजी भाषामा लेखिएका नयाँ किताब फेला परे । चौखम्बा विद्याभवनले पनि केही राम्रा पुस्तक प्रकाशन गरेको रहेछ । सारनाथ मुख्य सहरभन्दा पन्ध्र किलोमिटरको दूरीमा रहेछ । बुद्धले ज्ञान प्राप्त गरेपछि पहिलो उपदेश दिएको स्थान हेर्न जाँदा प्रचण्ड गर्मीले उस्तै गरी आलसतालस बनाएको थियो । यद्यपि पीपलको रुखमुनि बुद्धले पाँच जना शिष्यलाई उपदेश दिँदै गरेको प्रतिमाको दर्शनले सारा थकाइ र ताप बिर्साइदियो । हामीले निकै फोटो लियौँ । सारनाथमै केन्द्रीय उच्च तिब्बती विश्वविद्यालयको प्रकशनगृहबाट केही पुस्तक खरिद्यौँ ।
कहिल्यै घर नछोडेका नीरज ‘होमसिक’ हुँदै गइरहेका थिए । दिनमै दुई पटक घरमा फोन गर्थे उनी । घरकै दूधभात खाएर स्नातकोत्तर पूरा गरेका र विदाका दिनमा संगीत सुन्दै घरैमा बस्ने सोख भएका वाल्मीकि क्याम्पसका यी जवान प्राध्यापकको बेचैनी लवज–लवजमा छताछुल्ल हुन्थ्यो ।
दशैं नजिकिँदै आइरहेको थियो । त्यहाँका नेपालीहरुसँगै दशैं मनाउने हाम्रो योजना थियो । काशीमा बलिप्रथा निषेध छ । हामी बसेको नेपाली आश्रममा बस्ने सम्पूर्णानन्द विश्वविद्यालयका एक प्राध्यापक धरानका गोपालजीले नेपालमा चलेको बलिप्रथा शास्त्रसम्मत नभएको हामीलाई बताए । पशुको होइन, पशुताको अर्थात् अज्ञानको बलि दिने शास्त्रको आशय थियो रे । यद्यपि हामीले भेटेका १५–२० जना नेपालीमध्ये बलिप्रथाको विरोध गर्ने उनी एक्ला वृहस्पति रहे ।
जगदम्बा नामको नेपाली आश्रममा बस्ने चार्टर एकाउन्टेन पढेकी निशा अधिकारीले खुलस्त कुरा हामीलाई सुनाइन् । ‘यहाँ बलिप्रथा निषेध भएको हुँदा घरमा खसी ल्याएर काट्दा छिमेकीले राम्रो दृष्टिले हेर्दैनन्, त्यही भएर बनारसमा बस्ने नेपालीले पसलबाटै मासु खरिदेर ल्याउने गर्छन्, हामी पनि त्यसै गर्छौं ।’ बनारसमा गोर्खा राइफलबाट अवकाश प्राप्त नेपालीहरु बस्ने स्थान खोज्दै हामी पूरै एक दिन भौंतारियौँ । मुश्किलले अठार–बीस घर नेपाली बसेको ठाउँमा पुग्यौँ । उनीहरु त आफ्नै बस्ती भएको हुँदा घरमै ल्याएर पनि खसी काट्दा रहेछन् । क्याप्टेन गगनकी पत्नीले दुर्गापूजाको प्रसाद दिँदै भनिन्, ‘जस्तो नेपालमा मनाउँछौँ, त्यस्तै गरी चाड मनाउँछौँ, खसी पनि काट्छौँ, निधारभरि टीका पनि लगाउँछौँ, जमरा पनि सिउरन्छौँ, सप्पैथोक ।’
‘जहाँ बलिप्रथा निषेध छ, त्यहाँ पनि नेपालीले सिङ्गै खसी काटेर खान भ्याउँदारहेछन्’ नीरज नेपालीको कट्टरता देखेर दङ्दास थिए ।
त्यही पञ्चबली र त्यही मासुभात खाएर दशैं मनाउन हामीलाई कमसेकम यसपाली चाख थिएन । बौद्ध दर्शनको अध्ययनले हामीलाई हिंसाप्रति अलि बढी नै संवेदनशील बनाएको थियो । एउटा निरीह प्राणीको ज्यान हरण गरेर धर्म आर्जन गर्ने वा पेट भर्ने परम्परा अवश्य तर्कसंगत छैन । हामी हिंसामुक्त दशैं खोज्दै काशी पुगेका थियौँ । ‘बर्मा गए कर्म सँगै’ भनेजस्तै हिंसाले मानो छायासरी हाम्रो पिछा छोडेको थिएन । हामी अन्तिम प्रयास स्वरुप जे कृष्णमूर्ति सेन्टरमा पुग्यौँ ।
राजघाटमा रहेको यो सेन्टरमा संयोगले तीन दिने ‘चयनरहित सजगता’ विषयको अध्ययन रिट्रिट आयोजना हुँदै रहेछ । रिट्रिटमा मांसाहार र मद्यपान वर्जित थियो । हामी दुई भाइ त्यसैमा सहभागी भयौँ । रिट्रिटमा मौन श्रवण, सहसंवाद, कृष्णमूर्तिको भिडियो प्रदर्शन, पुस्तकालय अध्ययन र घुमफिर जस्ता कार्यक्रम थिए । जे कृष्णमूर्तिले प्रवचनमा सारा संगठित धर्मको जोडदार विरोध गर्थे । ‘गीता, महाभारत, वेद, पुराणको सहारा लिएर भारत आज पनि सांस्कृतिक र मानसिक रुपले त्यही उभिएको छ जहाँ ऊ पाँच हजार वर्ष पहिला थियो । अब कतिञ्जेल पुराना शास्त्र च्यापेर बस्ने ?’ साँघुरो गल्लीमा बाटो छेकेर बसेको साँढेलाई उठाउन जति कठिन हुन्छ, त्योभन्दा अधिक मक्किएका परम्पराबाट समाजलाई ब्युँझाउन कठिन हुँदोरहेछ । अनियन्त्रित आवादी, अनियन्त्रित रहनसहन र परम्परा बनारसका असली पहिचान हुन् । जहाँ लास पनि नदीमा बगाइदिन पनि छुट छ, बथानका बथान साँढे (शिवका बाहनका रुपमा) सडकमा छोड्नुमा पुण्य छ । हामी फर्किने बेलामा फेरि भेटिएकी निशाले भन्दै थिइन्, ‘यो सहरको भलो चिताउनु व्यर्थ छ, तपाईंहरु दुई सय वर्षपछि आउँदा पनि यो उस्तै रहनेछ ।’