Friday, February 13, 2015

मानसिक बन्धन


असाध्यै अँध्यारो रात थियो । मरुभूमिमा उँट व्यापारीहरू बास बस्ने तरखर गर्दै थिए । तिनीहरूले  उँटहरूलाई किला गाडेर बाँध्दै थिए । अन्तमा एउटा उँट बाँध्न किला र दाम्लो पुगेन । अँध्यारो रातमा नबाँधी छोडिदिँदा उँट भौंतारिन सक्थ्यो । उनीहरूले यात्री निवासको मालिक बूढोसँग एउटा उँट बाँध्ने किलो र डोरी मागे ।

बूढोले भन्यो, ‘डोरी र किलो त मसँग पनि छैन । तर मलाई एउटा उपाय थाहा छ । उँटलाई डोरी र किलो बिना नै बाँध्न सकिन्छ ।

कसरी ?’ व्यापारीहरूले आश्चर्यमान्दै सोधे ।

बूढोले भन्यो, ‘यस्तो अँध्यारो छ । तपाइँहरू त्यस उँटको छेउमा जानुहोस् किलो गाड्नुहोस् र उँटलाई डोरीमा बाँध्नुहोस् । अब यति गरेपछि उँटलाई बस् भन्नुहोस्, त्यो केही छिनमै निदाउन थाल्नेछ ।

हामीसँग किला र डोरी नै छैन भनेर तपाइँलाई भनिसक्यौं । अब कुन चाहिँ किला गाड्नु र कुन डोरी बाँध्नु ?’ व्यापारीहरूले उदेक मान्दै भने ।

त्यस बूढो मानिसले भन्यो, ‘यस्तो किलो गाड जुन तिमीहरूसँग छैन । तर किलो गाडेजस्तै आवाज निकाल्नुपर्छ । किलो छैन भन्ने कुराको फिक्री नगर । अन्धकारमा तिमीहरूले साँच्चैको किलो गाड्यौ कि हुँदै नभएको किलो गाड्ने बहाना गर्दैछौ ऊँटले कसरी थाहा पाउँछ ? किलो गाड । अब ऊँटको घाँटीमा हात लगाऊ र डोरी बाँधेजस्तो गर । अब ऊँटलाई बस् भन, ऊँट सुत्नेछ । त्यति धेरै ऊँट सुतिसकेका हुँदा एउटा ऊँट यताउति लाग्ने सम्भावना असाध्यै कम हुन्छ । ऊँट मजाले सुत्नेछ । मानिस त भीडको पछि लाग्छन् भने त्यो त ऊँट भयो ।

व्यापारीहरूले त्यसै गरे । बाध्यता थियो । बाध्यतामा गरे । विश्वास त उनीहरूलाई थिएन; नभएको किलोमा ऊँट बाँधिन्छ भन्ने । यद्यपि उनीहरूले प्रयोग गरेर हेरौं न त भन्ने सोचे । उनीहरू ऊँट भएको ठाउँमा गए, किला गाडेको जस्तो आवाज गरे र ऊँटको घाँटीमा हात लगाएर डोरी बाँधेजस्तो गरे । अब ऊँटलाई थपथपाउँदै भने – ‘बस् ।नभन्दै ऊँट बस्यो । व्यापारीहरू दङ्ग पर्दै पालभित्र पसेर सुते ।

उज्यालो भएपछि यात्राको तयारी सुरु भयो । डोरी फुस्काइए, ऊँटहरू खोलिए र किला उखेलिए । जसलाई बाँधिएकै थिएन त्यसको कुन किलो उखेल्नु, कुन डोरी फुस्काउनु ? तर आश्चर्य त्यही ऊँट उठेन । सबै ऊँट बाटो लागिसके तर त्यो एउटा ऊँट बसेको ठाउँबाट डेग चलेन । जति पिट्दा, घचेट्दा पनि केही सिप लागेन । त्यतिखेरै बासस्थानको मालिक बूढो आइपुग्यो । त्यो देखेर उसले भन्यो, ‘अब यसो गर्नुहोस्, त्यस ऊँटको डोरी फुस्काइदिनुहोस्, किला उखेल्नुहोस् ।
रनभुल्ल परेका व्यापारीहरूले भने, ‘अब यस ऊँटको कुन चाहिँ डोरी फुस्काइदिनु, कुन किला उखेल्नु ?’

जुन डोरीमा तपाइँहरूले बाँध्नुभएथ्यो त्यही फुस्काइदिनुहोस् । कम्तीमा डोरी फुस्काएको, किला उखेलेको जस्तो गर्नुहोस् ।

व्यापारीहरूले त्यसै गरे । ऊँटको घाँटीमा हात लगाए र डोरी फुस्काएजस्तो गरे, भुइँबाट किला उखेलेजस्तो आवाज गरे ।

आश्चर्य ! ऊँट जुरुक्क उठ्यो र समूहमा गएर उभियो ।

यो ऊँटको भन्दा अधिक मानिसहरूको कथा हो । मानिसहरू त्यो ऊँट बाँधिए जसरी नै बाँधिएका छन् । ऊँट त पशु हो; बाँधियो, मानिसलाई यस्तो हालतमा देख्दा दया लाग्छ । उनीहरू यस्तो किलोमा बाँधिएका छन् जसको कुनै अस्तित्व छैन, यस्तो डोरीको बन्धनमा परेका छन् जुन कतै छँदै छैन । मानिसहरू उठ्ने हिम्मतसम्म गर्दैनन्, उभिएर आफ्नै खुट्टामा हिँड्ने साहस गर्न सक्दैनन् । भन्छन्, हामी त बाँधिएका छौं । भविष्यको चिन्ता, जागिरको बाध्यता, परिवारको बन्धन आदि आदि ।


ज्ञानको अकड, कर्ता हुनुको अहम्, कर्मको संस्कार, रीतिथितिको परम्परा । यी सबै मानसिक बन्धनहरू हुन् जसको कुनै अस्तित्व छैन । समस्या के छ भने पहिला त हामी अस्तित्व नै नभएको किलोमा बाँधिएका छौं भन्ने स्वीकार गर्न हाम्रो अहंकार राजी हुँदैन ।
(स्रोतः बुद्धका आँखामा आम्रपालि http://tantranet.blogspot.in/2014/07/blog-post.htm)