Friday, December 15, 2017
Saturday, August 12, 2017
Tantric Meditation
नेत्र आचार्य
तान्त्रिक ध्यानका विधिहरुप्रति
वर्तमान समयमा मानिसहरुको आकर्षण बढ्दै गएको पाइन्छ । तान्त्रिक विधिहरुका आफ्नै
विशेषता हुन्छन् । तन्त्रको मूलभूत मान्यता जीवनका सबै पक्षहरुलाई स्वीकार गर्नु
हो । घर परिवार र जागिर पेशा सम्हालेर पनि ध्यानको अभ्यासप्रति रुचि र उत्सुकता
भएका सबैका निम्ति तन्त्र साधनाको विकास भएको हो । भोगश्च मोक्षश्च करस्थ एव
अर्थात् कुशल व्यक्तिका लागि संसारको भोग र मोक्ष सुख एकसाथ उपलब्ध हुन सक्छ भन्ने
उदात्त अवधारणामा तान्त्रिक ध्यानविधिहरु आधारित हुन्छन् । तन्त्र साधनामा उपलब्ध
यावत् वस्तु,
व्यक्ति र परिस्थितिको उपयोग आध्यात्मिक चेतना जागृत
गराउनका लागि गरिन्छ ।
मानव जीवन र जगतका सबै आयामलाई ती जस्ता छन् त्यस्तै रुपमा
तन्त्र शास्त्रले स्वीकार गर्दछ । तान्त्रिक ध्यानले साधकको सम्पूर्ण दृष्टि
रुपान्तरण गरिदिन्छ,
वरिपरिका पुस्तक,
टेबुल,
कुर्सी या कोठाका भित्ताहरुमा समेत जीवन भरिदिन्छ ।
तन्त्रको आविष्कार र विकास समकालीन सभ्यता र समयको मागलाई सम्बोधन गर्न भएको हो ।
सबै कुरामा जस्तै साधनाका विधिहरुमा पनि गति,
नवीनता र विकास हुँदै जानु स्वाभाविक पनि हो । विचार र
स्वार्थहरुको ठेलमठेल बढ्दै गएको परिस्थितिमा होसयुक्त,
शान्त र आल्हादपूर्ण जीवन बिताउन चाहने सबैका लागि
तान्त्रिक ध्यान उपयोगी हुन सक्छ ।
गोपनीयता
सन्त कबीरले कतै भनेका छन्, ‘हीरा पायो
गाँठ गठियायो बारबार क्यों खेले ।’
उनको आशय थियो,
बहुमूल्य वस्तु पाउने व्यक्तिले देखाउँदै हिंड्दैन ।
देखाउँदै हिंड्नु प्रदर्शनप्रियता हो र यसो गर्नु आफ्नो योग्यतामा विश्वास नहुनुको
लक्षण हो । वास्तविक सम्पत्तिले मानिसलाई समृद्ध बनाउँछ, छिचरो
बनाउँदैन । तान्त्रिक अभ्यासलाई गोपनीय राखिने मुख्य कारण अदीक्षित व्यक्तिले यी
अभ्यासको सदुपयोग गर्न सक्दैनन् भनेर हो । दीक्षित हुनु महत्वपूर्ण हुन्छ ।
स्वयंभित्रको बुद्धत्वको बीजलाई अंकुरित गर्न दीक्षा आवश्यक हुन्छ ।
शिवले पार्वतीलाई भनेका थिए, ‘अदीक्षिता ये कूर्वन्ति जपपूजादिका क्रिया, न भवन्ति प्रिये तेषां शीलायां न्यस्तबीजवत् ।’ अर्थात् अदीक्षित व्यक्तिले जति नै जप, पूजा आदि गरे पनि ढुंगामा बीऊ छरेजस्तै हुन्छ, फलीभूत हुँदैन । हाम्रा गुरु प्रो नरेशमान बज्राचार्यले पनि अभ्यासको गोपनीयता कायम राख्न भन्नुभएको हो । यद्यपि उहाँकै अनुमतिमा विधिहरु उल्लेख नगरी तान्त्रिक ध्यानका लाभहरु मात्रै यो आलेखमा उजागर गरिने छ । पाठकहरुलाई दीक्षित भएरै तान्त्रिक ध्यानको अभ्यास गर्न रुचि जगाओस् भन्ने पंक्तिकारको आशय हो ।
शिवले पार्वतीलाई भनेका थिए, ‘अदीक्षिता ये कूर्वन्ति जपपूजादिका क्रिया, न भवन्ति प्रिये तेषां शीलायां न्यस्तबीजवत् ।’ अर्थात् अदीक्षित व्यक्तिले जति नै जप, पूजा आदि गरे पनि ढुंगामा बीऊ छरेजस्तै हुन्छ, फलीभूत हुँदैन । हाम्रा गुरु प्रो नरेशमान बज्राचार्यले पनि अभ्यासको गोपनीयता कायम राख्न भन्नुभएको हो । यद्यपि उहाँकै अनुमतिमा विधिहरु उल्लेख नगरी तान्त्रिक ध्यानका लाभहरु मात्रै यो आलेखमा उजागर गरिने छ । पाठकहरुलाई दीक्षित भएरै तान्त्रिक ध्यानको अभ्यास गर्न रुचि जगाओस् भन्ने पंक्तिकारको आशय हो ।
गुरु योग
हिन्दू परम्परामा कुण्डलिनी
ध्यान, जैन
परम्परामा प्रेक्ष्या ध्यान र थेरवादी बौद्ध परम्परामा विपश्यना ध्यान प्रख्यात
भएजस्तै बज्रयानी बौद्ध परम्परामा गुरु योग प्रख्यात छ । बज्रयान प्रवेशका लागि
गुरु योग प्रवेश द्वार जस्तै हो । गुरु योग तान्त्रिक ध्यान विधि हो तर यसलाई
तान्त्रिक पनि भनिंदैन,
ध्यान विधि पनि भनिंदैन । यसलाई त रत्नमण्डल समर्पण
भनेर अभ्यास गरिन्छ । रत्नमण्डल समर्पणलाई तिब्बती लामाहरुले पश्चिमा शिष्यहरुलाई
अभ्यास गराउँदा ‘मण्डला अफरिङ’ भन्छन् ।
तान्त्रिक अभ्यासको विशिष्टता र यसका अद्भुत लाभहरु बुझेपछि शिष्यले कल्पना गर्न
सकिने सम्मको सबभन्दा ठूलो उपहार गुरुलाई समर्पण गर्छ । त्यति ठूलो उपहार समस्त
ब्रह्माण्ड नै हुनसक्छ,
अरु केही पर्याप्त हुँदैन । आँखाले र मनले ठम्याउन सकिनेसम्मको
यो विशाल शून्यता,
महाद्वीप,
महासागर,
हिमालय,
चन्द्रसूर्य सहित सबै प्रकारका रत्नहरु भरिएको
सुगन्धमय पृथ्वी गुरुलाई समर्पण गरेर तान्त्रिक अभ्यास आरम्भ हुन्छ । पञ्चमहाभूतले
बनेको समस्त ब्रह्माण्ड,
सौर्यमण्डल,
पृथ्वी र चन्द्रसूर्यसँग व्यक्तिको जीवन
अन्योन्याश्रित रुपले सम्बन्धित हुन्छ । सबै समर्पण गर्नु भनेको अस्तित्वसँग
पृथकता अन्त्य गर्नु र एकाकार हुनु हो ।
तान्त्रिक अभ्यासमा गुरुको अर्थ
अलि व्यापक हुन्छ । बुद्ध,
धर्म र संघ मुख्य गुरु हुन् । चेतनशील मानिसका रुपमा
जन्म लिन सहयोग गरेका बाबुआमा गुरु हुन् । तान्त्रिक अभ्यासमा दीक्षित गराउने
माध्यम बनेका व्यक्ति गुरु हुन् । तान्त्रिक अभ्यासको परम स्रोत एउटै हो, विभिन्न
व्यक्तिलाई माध्यम बनाएर परम्परा चलिरहन्छ,
स्रोत बहिरहन्छ । सबभन्दा मुख्य गुरु त हरेक व्यक्तिको
आफ्नै मन हो ।
पद्मसम्भवले गुरु शब्दको अर्थ तीन तहमा बुझ्नुपर्ने बताएका थिए, बाह्य, आन्तरिक र
प्रच्छन्न । बाह्य गुरु तान्त्रिक अभ्यासमा डोर्याउने
व्यक्ति हुन सक्छन्,
आन्तरिक गुरु जुन इष्टदेवलाई आराध्य बनाइएको छ ती इदम्
हुन सक्छन् र प्रच्छन्न गुरु त अभ्यासकर्ता व्यक्ति स्वयंको मन हो । यही मन बुद्धू
भएर जीवनभर आयातीत विचारहरुको पछि दौडिरहेको हुन्छ । यही मन बुद्ध भएर निर्वाणको
सुख अनुभूति गर्न सक्छ । मनको बुद्ध स्वभाव चिन्न सक्षम बनाउनु तान्त्रिक अभ्यासको
ध्येय हो ।
ध्यानको अभ्यास
ध्यानको अभ्यासको ध्येय चित्तको
निर्मल, प्राकृतिक या
स्वाभाविक अवस्था प्राप्त गर्नु हो । चित्त विशुद्धिसँगै चित्त स्वाभाविक अवस्थामा
फर्कन्छ । चित्त विशुद्धिका लागि देह विशुद्धि पहिलो शर्त हो ।
योगामृतेक रसपान विशुद्धिचित्तं, पीठादिदेश
गमनेन विशुद्धिदेहम् ।
अर्थात् चित्त विशुद्धिका लागि
योगको अभ्यासबाट प्राप्त अमृत रस पिउनुपर्छ । त्यसभन्दा पहिला देह विशुद्धिका लागि
पीठहरुको तीर्थाटन र आराधना गर्नुपर्छ । चित्त विशुद्धिका लागि गरिने योगाभ्यास नै
ध्यान हो । तान्त्रिक ध्यानको अभ्यास बहुआयामिक हुन्छ । अभ्यासको क्रममा एउटा
कल्पनातीत परिदृश्य निर्माण गरिन्छ जसमा रङ्ग भरिन्छ,
वर्ण तय गरिन्छ,
आकार दिइन्छ,
सुगन्ध थपिन्छ र एक अभूतपूर्व भावभूमि तयार गरिन्छ ।
यी सबै उपक्रमहरु मार्फत इन्द्रियहरुलाई पूर्णतया इङ्गेज गराइन्छ ।
साधना गहिरिंदै
जाँदा अभ्यासकर्ता जहाँ बसेको छ त्यहाँ बसेको हुँदैन,
जसको ध्यान गरिरहेको हुन्छ त्यो इष्टदेव त्यहाँ हुँदैन, जेजस्ता
विधिहरु अनुसरण गरिरहेको हुन्छ ती विधि त्यहाँ हुँदैनन् । समयक्रममा एक क्षण यस्तो
आउँछ जसमा अनायासै शून्यताको बोध हुन्छ र अहङ्कार पूर्ण रुपले गल्छ । अहङ्कार
गलेसँगै रुपान्तरण घटित भइसकेको हुन्छ । ध्याता,
ध्येय र ध्यान एकाकार भइसकेको हुन्छ । अभ्यासकर्ता
रुपान्तरित भइसकेको हुन्छ । संसार र निर्वाण भिन्न प्रतीत हुँदैनन्, संसार नै
निर्वाण स्वरुप भइसकेको हुन्छ । यही अवस्थालाई बौद्ध दर्शनमा अद्वय अवस्था भनिन्छ
।
अद्वय ज्ञान
बौद्ध परम्पराका अभ्यासहरुको
वैशिष्ट्य के हो भने ध्यानले ज्ञानोदय गराउँछ र ज्ञानले ध्यानलाई गहिरो बनाउँछ ।
हिन्दू परम्परामा भने ध्यानको अभ्यासलाई समान महत्व दिएको देखिंदैन । वेदान्तीहरु
भन्छन्, ब्रह्मविद्
ब्रह्मैव भवति अर्थात् ब्रह्मलाई जान्ने व्यक्ति ब्रह्म नै हुन्छ । ज्ञानले मुक्ति
दिन्छ, कुनै
अभ्यासको जरुरत पर्दैन । बुद्धले यो वेदान्ती मान्यतालाई अधुरो, अपुरो
देख्नुभयो र भन्नुभयो नत्थि झानं अपञ्ञस्य नत्थि पञ्ञां अझायत अर्थात् प्रज्ञा नभए
ध्यान लाग्दैन,
ध्यान नगर्नेको प्रज्ञा पुष्ट हुँदैन । बुद्धको दृष्टि
साङ्गोपाङ्ग प्रतीत हुन्छ ।
तान्त्रिक ध्यानमा खासगरी
गुरुयोगको अभ्यासले जीवन र जगतको अद्वय ज्ञान अनुभूति गराउँछ । जीवन र जगत् भिन्न
होइन, एउटै हो
भन्ने बोध गराउँछ । बौद्ध तन्त्रअनुसार चित्तले जब अद्वय ज्ञान साक्षात्कार गर्छ, तब चित्त नै
संसार हो र चित्त नै निर्वाण हो भन्ने रहस्य बोध हुन्छ ।
वासनायुक्त चित्त हजारौं
विचारहरुको घना जंगलमा अलमलिइरहेको हुन्छ,
हराइरहेको हुन्छ । यस्तो अवस्थामा चित्त बिजुलीजस्तै
चञ्चल हुन्छ । चित्तमा राग एवं द्वेष जस्ता दुर्गुणहरु टाँसिएका हुन्छन् । यस्तो
चित्त हुनु नै संसार हो । बौद्ध तान्त्रिक अनङ्गबज्रले भनेका छन्, यही चित्त जब
प्रकाशमान हुन्छ,
विचारहरु स्थिर हुन्छन्,
रागद्वेषहरु विलीन हुन्छन् र चित्त ग्राह्य एवं ग्राहक
भावबाट मुक्त हुन्छ,
भावातीत हुन्छ या अद्वय ज्ञानयुक्त हुन्छ तब यही चित्त
निर्वाण हुन्छ । यसप्रकार चित्त विशुद्धि,
अद्वय ज्ञान र निर्वाण क्रमशः फलित हुन्छन् ।
व्यावहारिक प्रयोग
तान्त्रिक ध्यानको अभ्यासको
व्यावहारिक उपयोग बृहत्तर छ । गुरु नरेशमान बज्राचार्यका अनुसार ‘तान्त्रिक
अभ्यास एक प्रकारले मनको प्रशिक्षण हो । अन्य अवस्थामा व्यर्थका विचार र काममा
अल्मलिइरहने मनलाई साधनामार्फत प्रशिक्षित गरिएपछि मन एकाग्र हुन्छ । मनको
एकाग्रता अन्ततः ध्यानमा रुपान्तरित हुन्छ ।’
ध्यानले मनलाई शुद्ध बनाउँछ । मन शुद्ध हुनु नै
व्यक्ति बुद्ध हुनु हो । बुद्धत्व अनुभूतिसँगै साधकमा अभेद दृष्टि विकसित हुन्छ ।
जब व्यक्तिले जीवन र जगत्लाई भिन्न देख्दैन उसमा जगत्का समस्त वस्तुप्रति नैसर्गिक
प्रेम पैदा हुन्छ ।
सडक या टोलको सरसफाइ तान्त्रिक अभ्यासकर्ताका लागि आफ्नै
शरीरको सरसफाइ जत्तिकै आवश्यक र महत्वपूर्ण हुन्छ । उसले समस्त प्रकृतिलाई आफ्नो
ठान्छ र प्रेम गर्छ,
वातावरणसँग आफ्नो अभिन्नता बोध गर्छ र वातावरणलाई
प्रेम गर्छ । सबै दुःखी मानिसप्रति करुणायुक्त हुन्छ र उनीहरुलाई दुःखबाट मुक्त
गर्न हर तरहले प्रयत्न गर्छ ।
मिति २८ साउन २०७४ मा नागरिक दैनिकमा प्रकाशित ।
http://nagarikplus.nagariknews.com/epaper/src/epaper.php?id=3109#page/8
Thursday, April 27, 2017
शाश्वत धाम घुमघाम

शाश्वत धामभित्र प्रवेश गर्दा मंगल धुन बजिरहेको थियो । मण्डपमा पञ्चकन्याले स्वागत गरे, ढुंगेधारामा गुरुङसेनीहरूले । पञ्चेबाजा घन्किरहेको थियो, नृत्यांगनाहरू नाचिरहेका थिए । देख्दादेख्दै भव्य मञ्चमा सबै धर्म र सम्प्रदायका अगुवाहरू भरिए ।
शिवमन्दिरको विशाल परिसर भक्तिसंगीतले गुञ्जायमान भयो । पानीका फोहोरा छुटे । फूल बर्सिए । यज्ञकुण्डबाट कुमकुमको सुगन्ध चारैतिर फैलियो । शुभ बिहानीमा मानौं आकाशबाट कुनै दिव्य अवतार पदार्पण गर्दैछ, धर्तीको रूप फेरिँदैछ भन्ने आभास हुन्थ्यो । माहोल घनिभूत हुँदै थियो, मानौं समय थामिँदैछ । न भूत थियो, न भविष्य । वर्तमान क्षण सुन्दर र सम्पूर्ण रूपले छाइरहेको थियो । धाम साँच्चिकै शाश्वत प्रतीत भइरहेको थियो ।
शाश्वत शब्दले हरेक मानवलाई सृष्टिको रहस्यसँग जोड्ने चेष्टा गर्छ । परिवर्तनशील सृष्टिमा केही कुरा शाश्वत पनि छ, अस्तित्वमा कुनै शक्ति अविनाशी र सदाबहार पनि छ । बुद्ध, महावीरलगायत तपस्वीले गहिरो ध्यानावस्थामा यो रहस्यको अनुभूति गरिसकेका हुन् । यद्यपि आममानिसका लागि अदृश्य ऊर्जाको स्रोत अझै अव्यक्त र अविदित छ । जे भए पनि मानिस अव्यक्तलाई व्यक्त रूपमा प्रस्तुत गर्न कहिल्यै हार मान्दैन ।
स्वर्गलाई धर्तीमा उतार्न मानिसले हरसमय प्रयत्न जारी राख्छ । शाश्वत धाममा यतिखेर देखिएको भव्यताले मानौं मानिस जातिको उक्त प्रयासको सांगे भइरहेको झल्को दिन्थ्यो । सुन्नलाई मीठो संगीत, हेर्नलाई सुन्दर कलाकृति, सुँघ्नलाई धूपको सुवास । केही विशिष्ट कुराको शुभारम्भ हुँदै गरेको क्षण वर्णनातीत हुँदो रहेछ । मानिसको व्यक्तित्वका सीमा र बन्धनहरू टुट्न थाल्दा रहेछन् ।
मानिस ऊ सम्बद्ध देश, जाति, धर्म, लिंग या वर्ण बिर्सेर ती सबै बन्धनबाट माथि उठ्दो रहेछ । आफैंबाट माथि उठ्दा अस्तित्वसँग एकाकार हुन सम्भव हुँदो रहेछ । क्षणभरका लागि यो सब दृश्य सपनाजस्तै लागिरहेको थियो । त्यस्तो सपना जुन छुन सकिन्छ, जसको तस्बिर खिच्न सकिन्छ ।
तस्बिरमा सबैतिर धर्मो रक्षति रक्षितः चित्रित भइरहेको थियो । संस्कृतको यो सूक्तिले धर्मको रक्षा गरिन्छ भने आफ्नो रक्षा हुन्छ भन्ने आशय उजागर गर्छ । यही सूक्तिलाई मूलमन्त्र मानेको शाश्वत धामलाई आयोजकले आध्यात्मिक शक्ति, सनातन ज्ञान र आत्मानन्दको त्रिवेणीका रूपमा विकसित गर्ने संकल्प गरेको देखियो, सुनियो । विशाल परिसरमा गौशाला, ध्यानगृह, सात्विक भोजनालय, गुरुकुल, मन्दिर र सनातन संस्कृतिको झल्को दिन्छन्, शास्त्रमा वर्णित शाश्वत धामको झल्को दिन्छन् ।
शाश्वत भनेको सदासर्वदा रहिरहने सृष्टिको धारा हो । त्यो धारामा समाहित हुँदा मानिसले निस्सार जीवनको सार फेला पार्छ । त्यो क्षणमा मानिस अधिक मानवीय हुन्छ । एक हौं भन्ने भावना पैदा हुन्छ । एक्लोपनाको कारणले हुने असुरक्षाको भाव, कुण्ठा, बेचैनीको अन्त्य हुन्छ । मानिसको दृष्टि क्षणिक महत्ववका वस्तुबाट हटेर दीर्घकालीन महत्ववका भावनाहरूमा जोडिन्छ ।
मानिसको आशक्ति पद र प्रतिष्ठा, धन र धाकको धङधङीबाट मुक्त भएर प्रेम, मानवता, शान्ति, सौन्दर्य र ज्ञानको आलोक पछ्याउन थाल्छ । यिनै कुराले मानिसको जीवनलाई अधिक जीवनमय बनाउँछन् । यिनै कुराले जीवनलाई शाश्वतसँग जोड्छ । योगासन या ध्यानको अभ्यासले कालक्रममा मानिसमा एउटा विवेक पैदा हुन्छ जसले जीवनमा कुन कुरा अशाश्वत हो र कुन शाश्वत हो भन्ने सिकाउँछ । यति कुराको हेक्का राख्ने व्यक्ति शाश्वततर्फको यात्रामा अग्रसर हुन्छ । यही एक यात्रा हो जुन यात्राको हरेक क्षण आनन्दमय हुन्छ ।
सभा मण्डपमा राष्ट्रपतिको व्यग्रतासाथ प्रतीक्षा भइरहेको थियो । आकाश सफा थियो तर उनको वायुयानको नामोनिशान कतै देखिएन । ९ बजे उद्घाटन हुनुपर्ने, ११ बज्न थाल्दा पनि मुख्य अतिथि आइनन् । अब माहोलको आकर्षण फिका हुन थाल्यो । मञ्चमा आसीन धर्मगुरु हाई काढ्न थाले । बस्दाबस्दै सबै थाके । गर्मी चढिरहेको थियो, भीड बढिरहेको थियो । जता हेरे पनि त्यति सुन्दर ठाउँ अब त पट्यारलाग्दो भइसकेको थियो । अघिसम्मको सुमधुर संगीत पनि कानै खालाजस्तो कर्कश सुनिन थालेको थियो ।
खजुराहो शैलीमा कुँदिएको शिव मन्दिरमा वृकोदर पण्डाहरू भरिभराउ थिए । मन्त्र पढ्ने गुटिका हातमा लिएका यी नंगधडंग व्यक्तिहरूले कुन पुण्य कार्य गर्दैछन् केही बुझ्न सकिँदैनथ्यो । यज्ञकुण्डमा एक हूल भारतीय पुजारीहरू घिउ र अनाज स्वाहा गर्दैथिए । नजिकै गुरुकुल थियो, जहाँ सस्याना बालकहरूलाई वेदका श्लोक पाठ गर्न लगाइएको थियो ।
सायद धर्मभीरु जनहरूलाई भुलाइराख्न कर्मकाण्डको पुनरुत्थान गर्न परेको थियो । नजिकै लुम्बिनीमा पच्चीस सय वर्षपहिला गौतम बुद्धले ठगी धन्दाका रूपमा विकसित भइरहेको कर्मकाण्डलाई निस्तेज गर्न र मानिसलाई वास्तविक रूपले आध्यात्मिक बनाउन शील, समाधि र प्रज्ञाको बाटो देखाएका थिए । आज तिनै बुद्धको सालिकलाई छेउतिर साक्षी राखेर आयातीत पण्डाहरूले सुप्तप्रायः कर्मकाण्डलाई मानौं विद्युतीय झट्का दिएर ब्यूँताउने चेष्टा गर्दै थिए । सायद समय सधैं अग्रगामी हुँदैन ।
अकारण लामो समय नष्ट भएकोमा खिन्न पत्रकारहरू गर्मी छल्नका लागि मञ्चबाट अलि पर लिचीको बगैंचामा शीतल बस्न पुगे । शाश्वत धामभित्रै योग र ध्यानगृह पनि छ भन्ने जानकारी थियो । तर, साधना ग्राम अवलोकन गराउने त परको कुरा, ती ठाउँ कता थिए भन्नेसमेत हामीलाई बताउन आयोजकले आवश्यक ठानेनन् । सबैतिर कुनै अदृश्य ईश्वरको कृपा प्राप्त गर्न पूजा, अर्चना र धूपदीप बालिँदै थियो । पत्रकारहरूको बोली आलोचनात्मक हुँदै गइरहेको थियो । अन्ततः एउटा वायुयान परिसर नजिकै ओर्लियो, राष्ट्रपतिको सभास्थलमा आगमन भयो । शाश्वत धाम उद्घाटन कार्यक्रम शुभारम्भ भयो ।

आर्ट अफ लिभिङका संस्थापक धर्मगुरु रविशंकर मञ्चमा आउँदा उनका सबै शिष्य जुरुक्क उठे र जय गुरुदेव भन्दै चिच्याए । उनलाई यति धेरै सम्मान दिइयो मानौं रविशंकर त्यस झकिझकाउ समारोहका देवता नै हुन् । देवत्वकरण या दानवीकरण गरिहाल्ने मानिसको स्वभाव हो । यहीँनेर त मानिस शाश्वत दृष्टिबाट चुक्न पुग्छ । हरेक वस्तुलाई त्यो जस्तो छ त्यस्तै रूपमा हेर्न सक्नु शाश्वत दृष्टि हो ।
हरेक मानिसमा केही गुण हुन्छन्, केही अवगुण हुन्छन्, केही क्षमता हुन्छन्, केही अक्षमता । गुणको कदर गर्नु तर अवगुणहरूलाई समर्थन नगर्नु शाश्वत दृष्टि हो । कसैलाई तिमी भगवानै हांै भन्नु अल्पदृष्टि हो र यस्तो दृष्टिले शाश्वत धामको यात्रा सम्भव हुँदैन । मानिसका रूपमा पैदा भएका सबै मानिस नै हुन् । देवत्वकरण गर्नु त मानिसले उसको क्षमता, सामथ्र्यमा विश्वास नभएर आफ्ना मुराद पूरा गर्न कसैलाई द्यौता थाप्नु गर्नुसरह हो जसको पाउमा लम्पसार परेर वरदानको याचना गर्न सकियोस् ।
विनोद चौधरी जो ठूला उद्योगपति, व्यापारी हुन् उनले यसप्रकारको मन्दिर किन बनाउनु परेको होला ? सबैको जिज्ञासा मेट्दै चौधरीले आफ्नो स्वागत मन्तव्यमा शंकराचार्यको प्रेरणाबाट धामको परिकल्पना आरम्भ भएको बताए । नेपालजस्तो पुण्य भूमिमा व्यवस्थित र वैदिक विधिले भगवान् शिवको पूजाआराधना गर्ने थलो होस् भनेर मन्दिर र पण्डितहरू उत्पादन गर्ने गुरुकुलसमेत बनाइएको उनले खुलासा गरे ।
चर्को गर्मीमा पसिना पुछ्दै मञ्चमा बसेका धर्मगुरुहरू सायद धर्मसभामा बोल्न आतुर थिए । उनीहरू ९ बज्नुभन्दा पहिल्यैदेखि मञ्चमा उपस्थित भइसकेका थिए । उनीहरूलाई आ–आफ्ना धर्मको आशय व्यक्त गर्नु थियो । सबैले आफ्नो मन्तव्यमा धर्मको सार मानव कल्याण हो भने । सबै धर्मले जोड्ने गर्छन्, तोड्ने गर्दैनन्, ईश्वर एक छन्, चाहे हामीले जुनसुकै नामले पुकारौं, शान्ति सबै धर्मको निचोड हो । सबैको मन्तव्य सुन्दा एउटा निष्कर्ष के निस्किन्थ्यो भने यति कुरा नभने अब धर्म या सम्प्रदाय चलाउन पनि कठिन हुने भयो ।
समाजमा मानिसहरूको बुझाइ या समझको दायरा केही फराकिलो भइसकेको छ । धर्म या सम्प्रदाय सञ्चालकहरूले भित्र जे भने पनि बाहिर खुला मञ्चबाट एकता, मेलमिलाप र समानताका कुरा गर्नैपर्ने भयो । उनीहरूले मुखले जे भने पनि, इतिहास साक्षी छ, समाजमा धर्मको नाममा जति भेदभाव र हिंसा अन्य कुनै कारणले भएको छैन । आशा गरौं, उनीहरूले मुखले एक स्वरले अभिव्यक्त गरेको कुरा उनीहरूको मनकै कुरा होस् र उनीहरूको व्यवहार पनि तदनुरूप होस् ।
उद्घाटनपछिको धर्मसभामा पूर्वराजा ज्ञानेन्द्र पनि उपस्थित थिए । जुन आसनमा केही समयपहिला गणतन्त्र नेपालकी पहिलो महिला राष्ट्रपति बसेकी थिइन्, त्यही आसनमा पूर्वराजा बसेका थिए । प्रवेशद्वारबाहिरै राजदण्ड हातमा लिएका पूर्वराजा ज्ञानेन्द्रका ठूला तस्बिरहरू टाँगिएको देखेर पत्रकार अचम्म परेका थिए । र, तिनमा हाम्रा राजा हाम्रो देश प्राणभन्दा प्यारो छ इत्यादि नारासमेत लेखिएको हुनु कल्पनातीत विषय थियो ।
हामी सबैलाई कतै केही तालमेल नमिलेको, कतै कुनै आग्रह लुकेको आभास भइरह्यो । कर्मकाण्डलाई अध्यात्मसँग जोड्ने, गणतन्त्रमा राजतन्त्र मिसाउनेजस्तो असम्भव प्रयत्न शाश्वत धाममा देखियो । चौधरी गु्रपको मनशाय बुझ्नलाई हामीसँग समय पनि थिएन, पहुँच पनि थिएन । हामीले धामको शोभा हेरेरै चित्त बुझायौं । मोनालिसाको मुस्कान बडा आकर्षक थियो, मनशाय पनि पक्कै सुन्दर हुँदो हो । आशा गरौं, चौधरी गु्रपले संस्कृति विस्तार गर्न केही खँदिलो काम गरेको देख्न पाइयोस् ।
फगत हंगामा खडा करना कोई बडी बात नहीं
सब की उम्मीद ये है कि सूरत बदलनी चाहिए ।
अन्नपूर्ण पोष्टमा २८ फागुन २०७३ मा प्रकाशित
http://www.annapurnapost.com/news/66242फगत हंगामा खडा करना कोई बडी बात नहीं
सब की उम्मीद ये है कि सूरत बदलनी चाहिए ।
अन्नपूर्ण पोष्टमा २८ फागुन २०७३ मा प्रकाशित
Subscribe to:
Posts (Atom)