Thursday, September 06, 2018
Sunday, May 27, 2018
भोगदेखि बोधसम्म
(अन्नपूर्णपोष्ट कार्तिक २७ २०७३ मा प्रकाशित)
नन्दलाई यौन आशक्तिको अँध्यारो खाडलबाट उद्धार गर्न बुद्धले प्रयोग गर्नुभएको उपायले सम्भवतः बज्रयान सम्प्रदायको मार्ग प्रशस्त गर्यो । उपाय कौशल्य बज्रयानको मूल दार्शनिक आधार हो । राग र द्वेषबाट मुक्ति पाउन हरेक उपाय प्रयोग गर्नु खुल्ला रहनु बज्रयान हो ।
कपिलवस्तुमा एउटी यस्ती रूपसी पैदा भई, जसलाई देख्दा मानिस अल्मलिन्थे । रूपसी देख्दा ती मानिसको मनमा वासना जाग्थ्यो । रूपसीले तीनवटा नाम पाएकी थिईः शोभा र रूपले सुन्दरी, हठ र गर्वले मानिनी, चमक र कुलीनताले भामिनी । उसले आफूजस्तै जोडी पाई- राजकुमार नन्द, राजा शुद्धाधनकी कान्छी रानीको सुपुत्र । नन्द रूप, यौवन र सौन्दर्यले सबैका निम्ति चित्ताकर्षक थिए ।
सुडौल शरीर, प्रेमिल आँखा, मन्द मुस्कान । नन्दजस्तो होनाहार युवक र लोभलाग्दी युवती । सिद्धार्थ गौतम दरबार त्यागेर तपस्या गर्न हिँडेपछि सुनसान भएको राजमहल नन्द र उनकी प्रेमिका सुन्दरीका प्रेमलीलाले फेरि उज्यालो बनाएको थियो । चखेवा-चखेवीझैं प्रेममा डुब्दा राजकुमार नन्दलाई न कुबेरको पर्वाह थियो, न इन्द्रको । राजकुलमा पैदा भएका नन्दलाई राजधर्मको त हेक्कासमेत रहेन ।
प्रेमान्ध जोडीका आँखा एकअर्कालाई हेर्नमा लीन हुन्थे, चित्त एकआपसमा संवाद गर्न व्यस्त हुन्थे, शरीर परस्परमा आलिंगनरत हुन्थे । रमण गर्दागर्दा एकको शरीर थाक्यो भने अर्कोले अनेक लीला गरेर पुनः उत्तेजित बनाउँथे । सुन्दरीले शृंगार गर्दा नन्दले ऐना समाइदिन्थे, सुन्दरी जिस्केर आफ्ना ओठमाथि जुँगाका रेखी हाल्थी, नन्द ऐनाको सतहमा सास फेरिदिन्थे ।
धमिलो ऐनामा सुन्दरीले जुँगाले विकृत आफ्नै चेहरा देख्न पाउँदैनथी र आँखीभौं खुम्च्याएर नक्कली रिस प्रकट गर्थी । अन्ततः यी प्रेमीको विवाह सम्पन्न भयो । राजाले नन्दलाई देवप्रासादजस्तै भव्य महल दिए । नयाँ महलमा युगल जोडी पुनः प्रेमालापरत भए । सुगन्धलेपन, रतिक्रीडा र मनोविनोदमा दिन, महिना र वर्ष बितेको पत्तै भएन ।
तपस्या गर्न हिँडेका सिद्धार्थले सम्बोधी प्राप्त गर्नुभयो र एकदिन कपिलवस्तुको भ्रमणमा आउनुभयो र भिक्षाटन क्रममा नन्दको महलमा पुग्नुभयो । संयोग कस्तो पर्यो भने, दरबारमा भिक्षा माग्दै गर्नुभएको बुद्धलाई देखेर पनि सेवकहरूले खासै ध्यान दिएनन् । सबै आआफ्ना काममा व्यस्त थिए । कसैले बुद्ध भिक्षाका लागि आउनुभएको सूचना पनि दिएनन् । फलतः एकैछिन रोकिएर बुद्ध निस्किहाल्नुभयो ।

नन्द मन नभए पनि बुद्धलाई पछ्याउन थाले । बुद्ध हिँडिरहनुभयो, नन्द लुरुलुरु पछि लागिरहे । नन्द बारम्बार पछाडि फर्कंदै महलको बार्दलीमा उभिएर आफैंतिर नियालिरहेकी प्रियतमालाई हेर्थे । प्रियतमाले आँखैले छिट्टै फर्कनु भनिरहेकी थिइन्, नन्दले मनमनै 'मलाई जान मनै कहाँ थियो र' भनिरहेका थिए ।
बुद्धको गौरवले अघि, पत्नीको प्रेमले पछि
नन्दलाई भगवान बुद्धको प्रेमले अघि बढ्नुमा गौरव बोध भइरहेको थियो, तर साथसाथै पत्नीप्रतिको अनुरागले पछि तानिरहेको थियो । अनिश्चयका कारण न उनी ढुक्कले अगाडि बढिरहन सकेका थिए न पछाडि फर्कन सकेका थिए । यो स्थिति ठीक त्यस्तै थियो जतिखेर मानसरोवर जान पौडिरहेका राजहंसहरू नदीको प्रवाह तीव्र भएको ठाउँमा न अघि बढ्न सक्छन् न पछि सर्न सक्छन् ।
बुद्धले अन्ततः नन्दलाई बिहारमा लैजानुभयो र उनको इच्छा नसोधी त्यहीं बस्ने व्यवस्था गरिदिनुभयो । अनेक युक्ति र उपदेशमार्फत भौतिक सुखको परित्याग गर्न र ध्यानको अभ्यास गर्न सुझाउनुभयो । तर नन्दका आँखामा हरपल आफ्नी लोभलाग्दी प्रियतमाको छवि घुमिरहन्थ्यो । ध्यान या तपस्यामा नन्दको मन एकरत्ति लागेन । उनको मनमा बुद्धका उपदेशको कुनै प्रभाव परेन । नन्द सदैव खिन्न रहन्थे ।
यो देखेर एकदिन बुद्धले आनन्दलाई भन्नुभयो, यी नन्दलाई भिक्षु बनाऊ । नन्दले शिर झुकाउँदै भने- म भिक्षु हुन्नँ । बुद्धले सम्झाउनुभयो- पत्नी सुख त्यागेर भिक्षु हुन सहज छैन तर तिम्रो मनमा जलिरहेको अनुरागको आगो निभाउने र शान्ति प्राप्त गर्ने एउटै उपाय प्रव्रज्या लिनु हो । अन्ततः बुद्धका सामु नन्दले 'म हजुरको उपदेश पालना गर्नेछु' भने ।
भिक्षु भएर गेरुवावस्त्र पहिरे पनि नन्दको मन परिवर्तन भएन । नन्द एक्लै बस्न थाले । सधैं उदास र खिन्न देखिन थाले । उनी मनमनै सोच्थे- म पत्नीको सम्झनाले पीडित छु, बुद्ध निर्वाणको सपना देखाउनुहुन्छ । एकातिर मनभरिको रतिराग, अर्कोतिर बुद्धको अनुशासनमा बिहारको बास । चित्त स्थिर नभएपछि यहाँ बस्नुको के सार भयो र, म त भिक्षु हुनु पनि उचित थिएन । कुनै उपायले महलमा फर्कन्छु र प्रियतमाको अँगालोमा जिन्दगी बिताइदिन्छु । यस्तै चिन्तना गरेर नन्दका दिन बित्थे ।
बुद्धले नन्द ध्यानको अभ्यास नगरेको थाहा पाइहाल्नुभयो । त्यसैले नन्दको चित्त स्थिर भएको थिएन । बुद्धले नन्दको नजिकै आएर सोध्नुभयो- तिम्रो मनमा के छ, किन शान्त देखिँदैनौ । नन्दले नढाँटी भने, 'भगवान, म प्रियतमाको बिछोडको पीडाले धर्ममा आनन्द अनुभव गर्न सकिरहेको छैन । मलाई तपस्याको सुख चाहिएन । म घर फर्कन चाहन्छु ।'
स्वर्गको सयर
नन्दको हालत बुझेपछि एकदिन बुद्धले एउटा उपाय सोच्नुभयो । बुद्धले नन्दलाई आफूसँगै स्वर्ग लैजानुभयो र स्वर्गका अप्रतिम सुन्दरी अप्सराहरूको दर्शन गराउनुभयो । घनघोर बादलबाट बिजुली निस्केजस्तै स्वर्गको नन्दन बनबाट रम्भा, तिलोत्तमा र मेनकालगायत एक से एक सुन्दरी अप्सरा मस्कँदै नन्दको सामु आए । नन्दको रागरञ्जित मन तत्क्षण ती अप्सरालाई आलिंगन गर्न उत्कण्ठित हुन थाल्यो ।
नन्दको मनमा राग पैदा भएको र पत्नीको अनुराग हटिसकेको थाहा पाएर बुद्धले भन्नुभयो- यी स्त्रीहरूको सौन्दर्यको उत्कर्ष देखेपछि तिमीलाई आफ्नी पत्नीको कत्तिको याद आइरहेको छ ठीकठीक भन । नन्दले अप्सराहरूको अक्षत रूपराशिका सामु आफ्नी प्रियतमाको सौन्दर्य फिका लागेको बताए । उनले नजिकैको रूखमा बसेकी एउटा आँखा नभएकी बाँदर्नीलाई देखाउँदै अगाडि भने- भगवान, यी अप्सराको सौन्दर्यको सामु मेरी पत्नी त्यो कानी बाँदर्नी जत्ति पनि छैन ।
अब तिम्रो के इच्छा छ ? भन्ने बुद्धको प्रश्नमा नन्दले भने, 'भगवान म अप्सरालाई आलिंगन गर्न चाहन्छु ।' बुद्धले भन्नुभयो, 'त्यसो हो भने तपस्या गर । यथेष्ट तपस्या नगरी कसैले पनि अप्सरालाई पाउन सक्दैन ।'
स्वर्गको यात्रापछि दुवै बिहारमा फर्किए । नन्दले घोर तपस्या आरम्भ गरे । अत्यन्त अल्पभोजन गरेर नन्द दिनरात ध्यानको अभ्यासमा लीन रहन थाले । यसरी एकाएक नन्दको स्वभाव परिवर्तन भएको देखेर बिहारमा गाइँगुइँ चल्न थाल्यो । एकाध भिक्षुहरूले छेडछाडसमेत गर्न पछि परेनन् । अप्सरा पाउनका लागि ध्यान बस्दैछन् यी भिक्षु । ध्यानकै अभ्यास गर्ने भए निर्वाण प्राप्तिका लागि गर्नु नि ।
यो कुराले नन्दको मनमा गहिरो प्रभाव पार्यो । ध्यानको अभ्यासले गर्दा क्रमशः मनमा रागरञ्जित विचार कम हुन थालेका थिए । सही र गलत के हो भन्ने हेक्का राख्न सक्ने भइसकेका थिए । ध्यानकै अभ्यास गर्ने भए स्त्री शरीरको भोगका लागि किन, निर्वाणकै लागि गर्नु उत्तम हो । क्षणिक सुखका लागि मरिमेट्नु किन, स्थायी शान्तिकै लागि अभ्यास गर्नु मनासिव हो । यी कुराको हेक्का उनी स्वयंलाई हुन थालिसकेको थियो । अतः त्यही दिनदेखि नन्द दुःखमुक्तिका लागि ध्यानको अभ्यासमा दत्तचित्त भए । ध्यानको विधि र पद्धति बुद्ध स्वयंले सम्झाउनुभएकै थियो । मनैदेखि अभ्यास गर्न थालेको केही दिनमै मन स्थिर हुन थाल्यो । स्थिरताले एकाग्रता बढायो ।
जीवनमा बुद्धिमानीको कुरा केही छ भने त्यो एकाग्रता हो र आफ्नो शक्तिलाई यत्रतत्र छरिदिनु बुद्धिहीनता हो । एकाग्रता ध्यान हो, एकाग्रता मुक्तिको बाटो हो । पहिला त नन्दको मन बारम्बार महलमा पुग्थ्यो, अनेक प्रकारका भोगविलास र सुखसयलको कल्पनाले तरंगित हुन्थ्यो । भौंतारिइरहने मनमा ध्यानको अभ्यासले एकाग्रता विकास भयो । नन्दको चेतना खुल्न थाल्यो । विचारहरू शान्त भए । प्रज्ञा जाग्यो । चार आर्य सत्य र अष्टांगिक मार्गको बोध भयो । उनलाई सताउने दुःख र क्लेशहरू मेटिए । समताको भाव उदय भयो । दुःखीहरूप्रति करुणा जाग्न थाल्यो ।
बज्रयानको आरम्भ
नन्दलाई यौन आशक्तिको अँध्यारो खाडलबाट उद्धार गर्न बुद्धले प्रयोग गर्नुभएको उपायले सम्भवतः बज्रयान सम्प्रदायको मार्ग प्रशस्त गर्यो । उपाय कौशल्य बज्रयानको मूल दार्शनिक आधार हो । राग र द्वेषबाट मुक्ति पाउन हरेक उपाय प्रयोग गर्नु खुल्ला रहनु बज्रयान हो । भनिन्छ,
पादलग्नं करस्थेन कण्टकेनैव कण्टकम्,
रागेणैवोद्धरेत् रागम् ।
अर्थात्, पैतालामा बिझेको काँडालाई झिक्न अर्को काँडा उपयोग गरिएजस्तै मनमा भएको रागलाई हटाउन रागकै प्रयोग गर्न सकिन्छ । यही नै बुद्धिमत्ता हो । बज्रयान तन्त्रयान हो । तन्त्र जीवनवादी हुन्छ, जीवनका हर आयामलाई स्वीकार गरेर अगाडि बढ्नु तन्त्रको विशेषता हो ।
पादलग्नं करस्थेन कण्टकेनैव कण्टकम्,
रागेणैवोद्धरेत् रागम् ।
अर्थात्, पैतालामा बिझेको काँडालाई झिक्न अर्को काँडा उपयोग गरिएजस्तै मनमा भएको रागलाई हटाउन रागकै प्रयोग गर्न सकिन्छ । यही नै बुद्धिमत्ता हो । बज्रयान तन्त्रयान हो । तन्त्र जीवनवादी हुन्छ, जीवनका हर आयामलाई स्वीकार गरेर अगाडि बढ्नु तन्त्रको विशेषता हो ।
कुनै उँचो लक्ष्य बोध हुनु र त्यो लक्ष्य प्राप्तिमा प्रवृत्त हुनु, तल्लीन हुनुमा जति आनन्द अर्थोक केहीमा हुँदैन । बुद्धत्वको भोक महसुस हुनु र कुनै पनि उपायले मनलाई ध्यानमा एकाग्र गर्न सक्नु जीवनको गरिमा हो । यो एकाग्रतामा सुरुदेखि नै आनन्द महसुस हुन्छ । जीवनमा निष्फलता अपराध होइन, निम्नकोटीको लक्ष्य हुनु अपराध हो । उच्चकोटीको लक्ष्य तय गरिएको छ भने निष्फलतामा पनि आनन्द हुन्छ । निम्नकोटीको लक्ष्य छ भने त्यसको प्राप्तिले पनि बेचैनी बढाउँछ ।
तथा तथा प्रवर्तेत यथा न क्षुब्भ्यते मनः
संक्षुब्धे चित्त रत्ने तु सिद्धिं नैव कदाचन ।
संक्षुब्धे चित्त रत्ने तु सिद्धिं नैव कदाचन ।
अर्थात्, मनले जे जे खोज्छ त्यो पूरा गर्नू । जे गर्दा मनमा कुनै प्रकारको क्षोभ बाँकी रहँदैन त्यो अपनाउनू । मनै क्षुब्ध भयो भने सिद्धि कहिल्यै हुँदैन ।
जेन गुरुहरू भन्ने गर्छन्ः जब भोक लाग्छ म खान्छु, जब थाक्छु म सुत्छु । अतीतको सम्झना र भविष्यको कल्पनाले मनलाई विकृत नबनाई वर्तमान अवस्थामा सहज रूपले बाँच्नु आफैंमा साधना हो । हाम्रो चित्त हामी जहाँ छौं त्यहीँ रहेका बेला ज्ञानोदयको झलक उपलब्ध हुन्छ । देख्दा देख्ने मात्रै, सुन्दा, सोच्दा र थाहा पाउँदा थाहा पाउने मात्रै अभ्यास हुनु अद्भुत साधना हो । कुनै पनि वाद, सिद्धान्त र दर्शनको चश्माले हेर्दा व्यक्ति वा वस्तु विकृत देखिन्छन्, जस्ताको तस्तै हेर्दा समस्त सृष्टि सुन्दर देखिन्छ । मनमा यही सहजता हुँदा नै सौन्दर्यबोध हुन्छ । यही बोधमा सृजना सम्भव हुन्छ ।
सहजता जीवनको अभिन्न अंग हो । सहज रूपले भोगको आशक्ति त्याग गर्न सकिन्छ । र यही नै अध्यात्म साधनाको आजसम्मको सर्वोत्तम विकास हो । बज्रयानलाई सहजयान पनि भनिन्छ । सहजयानलाई अपनाएको साधकको लक्ष्य त उँचो हुन्छ नै, तर उसले मनका हरेक विचारलाई स्वीकार गर्छ । साधकले विचारको गहिराइसम्म नियाल्छ तर कुनै पनि विचारप्रति आसक्त हुँदैन । यही क्रममा विचार तिरोहित हुन्छन् र साधकले निर्विचार हुनुको अपार आनन्द बोध गर्छ ।
राजकुमार नन्दलाई स्त्री सुखको गहिरो आशक्ति थियो । आफ्नी पत्नीको रूपराशि र तदनुकूल हाउभाउले राजकुमार हायलकायल भइसकेका थिए । बुद्धले आरम्भमा त अनेक उपदेश सुनाएर नन्दको मनको राग हटाउने चेष्टा गर्नुभयो । तर, ज्ञानका कुरा नन्दको दिमागमै पसिरहेका थिएनन् । भोगको अभावमा नन्दको मनको खिन्नता बढ्दै गइरहेको थियो ।
बुद्धले भन्नुभयो- खिन्न हुनुको साटो यथासम्भव उपाय अपनाएर चाहे जपबाट होस्, चाहे शक्तिशाली मन्त्र उच्चारण गरेर, चाहे सुन्दर कहावतको अभ्यास गरेर, आफ्ना लक्ष्य प्राप्तिको लागि अगाडि बढिरहनुपर्छ । यही बुद्धिमानी हो । बुद्धले नन्दको राग हटाउन अर्को रागको प्रयोग गर्नुभयो । बज्रयानको स्रोत बुद्धका कथा र उपदेशमै भेटिन्छ । बज्रयानले बुद्ध दर्शनलाई छोडेको छैन, बज्रयान त बुद्ध दर्शनको विकसित अवस्था हो ।
चेतनाको पर्दा थोरै उघ्रेका व्यक्ति ध्यानमा आकर्षित हुन्छन् र तिनीहरूलाई यही जन्ममै बुद्धत्व प्राप्ति सम्भव छ, त्यो पनि सहज रूपले सम्भव छ । बज्रयानले सहज रूपले सम्भव मार्ग देखाउँछ । यो मार्गले आसलाग्दा साधकलाई सागर पारी पुर्याउँछ । बज्रयान मुक्तियान हो ।
बुद्धका नाममा आफ्नै प्रचार
(अन्नपूर्णपोष्टमा फागुन २६ २०७४ मा प्रकाशित)
सिर्फ हंगामा खडा करना मेरा मकसद नहीं
सारी कोशिश है कि ये सूरत बदलनी चाहिए।
– दुष्यन्तकुमार
व्यक्ति, वस्तु या घटनाले समान फ्रिक्वेन्सीमा रहने मानिसलाई प्रभावित गर्छन्। उच्चतर फ्रिक्वेन्सीमा बाँच्न थाल्ने हो भने उल्लिखित कुनै कुराले असर गर्दैनन्। यद्यपि यही समाजमा बाँचेर यही समाजका घटनाक्रमबाट अप्रभावित रहन कतै मुस्किल हुँदो रहेछ। गत शनिबार टुँडिखेलमा आयोजित गौतम बुद्धसम्बन्धी विशाल प्रदर्शनी र त्यसमाथिका प्रतिक्रियाले अनिच्छुक हुँदाहुँदै पनि अनायासै छुन आइपुगे। सो प्रदर्शनीको समीक्षा गर्नु र रचनात्मक पक्ष सुझाउनु सम्बन्धित सबैका लागि हितकर हुने देखिन्छ। बुद्धका नाममा जे जति आवाज र प्रचारबाजी गरियो, त्यो दृश्यले झट्ट दुष्यन्तकुमारको माथिको शायरी याद गराउँछ।

नेत्र आचार्य
प्रदर्शनीको भावभंगी हेर्दा आयोजकहरूको उद्देश्य हंगामा खडा गर्नु थिएन, बुद्ध शिक्षाको महत्ता सम्बन्धमा चेतना जगाउनु थियो भनेर विश्वस्त हुन मुस्किल थियो। यद्यपि मित्रस्य चक्षुषा समीक्ष्यामहे अर्थात् मित्रको आँखाले हेरौं भन्ने सुक्तिलाई पछ्याउँदै यो आलेखमा सो प्रदर्शनीको सार्थकता के हुन सक्थ्यो भन्ने विषयमा चर्चा गरिनेछ।
बुद्धको देशमा बुद्धका शिक्षाप्रति जागरण पैदा गर्न विशाल प्रदर्शनी हुनु आफैंमा प्रशंसनीय विषय हो। कार्यक्रम सफल बनाउन आयोजकहरूले निश्चय नै धेरै समय र ऊर्जा लगाएका थिए। आयोजना सफल भएको पनि देखियो। तर यो सफलताले आयोजकबाहेक अरू कसलाई लाभान्वित बनायो भन्ने सवाल महत्वपूर्ण बनेको छ। आयोजकहरूले केही संवेदनशील पक्षमा ध्यान पुर्याउन सकेनन्। ती पक्ष औंल्याउनु आवश्यक छ, ताकि भविष्यमा यस्तै कार्यक्रम गर्दा सुविचारित ढंगले सम्पन्न गर्न मद्दत पुगोस्।
बुद्धको जन्मभूमि नेपाल भएको तथ्य र बुद्धको शिक्षा धम्मपद गरिमामय विषय हुन्। महत्वका हिसाबले यी विषय संवेदनशील हुन्। राम्ररी स्थापित भइसकेको तथ्यलाई फेरि पुष्टि गर्न खोज्नु युक्तिसंगत हुँदैन। कतिपय अवस्थामा उही कुरालाई बारम्बार दोहोर्याउनु हानिकारक हुन सक्छ। संस्कृत साहित्यमा यसलाई पुनरुक्ति दोष भनिन्छ। यही सन्दर्भमा कुनै कविले लेखेका छन् :
कृतस्य करणं नास्ति मृतस्य मरणं नही।
पिष्टस्य पेषणं नास्ति द्वितीये त्रितयं नही।
अर्थात्, गरिसकेको काम फेरि गरिँदैन, मरिसकेको मानिस फेरि मर्दैन र पिसिएको पिठो फेरि पिसिँदैन। गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने तथ्य दशकौं अघि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित भइसकेको विषय हो। यो स्थापित तथ्यलाई फेरि प्रमाणित गर्न खोज्नु अनर्थकारी काम हो। यो पुनरुक्ति दोष हो र यस्तो कार्यले सम्बन्धित विषयमा अझै केही आशंका बाँकी रहेको या अझै विश्वस्त भइनसकेको अवस्था इंगित गर्छ। बुद्ध नेपालमा जन्मेका हुन् भन्ने तथ्यको गरिमा चेतनाको अलि माथिल्लो स्तरमा अनुभूति गर्न सकिन्छ, जुन स्टन्टबाजीमा विश्वास गर्ने मानसिकताले बुझ्न समेत सकिँदैन।

बुद्धको जन्मथलो

बुद्धको जन्मथलो
जनरल खड्गशमशेर सिकार खेल्न जाँदा पहिलोपटक अशोक स्तम्भ देखेका थिए। सन् १८९६ मा जर्मन पुरातŒवविद् डा. एन्टोन फुहररको सहयोगमा अशोक स्तम्भ पहिचान गरियो र त्यस स्तम्भमा प्राचीन लिपिमा ‘हिद बुद्ध जातेति लुम्बिनी ग्रामे’ भन्ने पदावली लेखिएको पाइएपछि बुद्धको जन्मस्थल लुम्बिनी हो भन्ने सुनिश्चित भइसकेको हो। सम्राट् अशोकले राखिछोडेको बुद्ध जन्मभूमि मार्कर स्टोन सन् १९९२–१९९५ को अवधिमा फेला परेको हो। बौद्ध ग्रन्थहरूमा उल्लेख भएअनुसार मायादेवीले नवजात बुद्धलाई पुष्करिणी पोखरीमा नुहाइदिएको प्रसंग आउँछ। त्यो पोखरी, मायादेवी मन्दिर, स्तूपाहरू, बुद्ध जन्म स्मारक मूर्ति, बुद्ध जन्म स्मारक शीला, तत्सदृश आशयका अनगिन्ती कलाकृति र लुम्बिनी गाउँका भग्नावशेषहरू यथेष्ट पुरातात्विक प्रमाण हुन्।
चौथो शताब्दीदेखि सातौं शताब्दीसम्म लुम्बिनी भ्रमण गरेका विभिन्न चिनियाँ भिक्षु एवं यात्रीहरूको विवरणअनुसार पनि लुम्बिनी बुद्धको जन्मभूमि हो भनेर स्थापित भइसकेको छ। तिब्बत, चीन, बर्मा, श्रीलंकाजस्ता जीवित बौद्ध परम्परा भएका मुलुकहरूमा लुम्बिनीलाई बुद्धको जन्मभूमिका रूपमा श्रद्धा एवं वन्दना गर्ने प्रचलन अद्यापि छ।
सन् १९९७ मा अन्तर्राष्ट्रिय संस्था युनेस्कोले लुम्बिनीलाई भगवान् बुद्धको जन्मस्थलका रूपमा विश्व सम्पदा सूचीमा सूचीकृत गरिसकेको छ। यी यावत् तथ्य, प्रमाण र ऐतिहासिक घटनाले सशक्त रूपले स्थापित तथ्यलाई मास प्रदर्शनी गरेर अझ उजागर गर्न खोज्नु भनेको सूर्यको सामु दियो बाल्नुजस्तै हो।
यस्ता गतिविधि बुद्धलाई चिनाउने प्रयत्न होइनन्, बरु आयोजकहरू आफू चिनिन अपनाइएका छद्म कृत्य हुन्। हुन पनि अक्सर मानिसलाई प्रसिद्धिको भोक हुन्छ। ख्याति पाउन या लाइभ लाइटमा आउन मानिसले जे पनि गर्न पछि पर्दैन। संस्कृतमा एउटा कहावत छ :
घटं जिन्याद् पटं जिन्याद् यद्वा राषभ रोहणात्।
येनकेन प्रकारेण प्रसिद्ध पुरुषो भवेत्।
अर्थात्, घैंटो फोर्दै हिँडेर होस् या वस्त्र च्यात्दै हिँडेर होस् अथवा गधामाथि सवार भएर किन नहोस्, जसरी पनि मानिस प्रसिद्ध होओस्। टुँडिखेलको प्रदर्शनी सम्भवतः यस्तै मनोविज्ञानबाट प्रेरित भएको हुनुपर्छ। बुद्धका नाममा आफ्नै प्रचार गर्ने प्रपञ्च गरिनु र त्यो आशय उदांग हुनु शोभनीय होइन।
धम्मपद वाचन
मानिसहरूको ठूलो भेलाले एकसाथ गौतम बुद्धको शिक्षा धम्मपद वाचन गरेर विश्वकीर्तिमान कायम गर्न खोज्नु पनि दोषपूर्ण देखिन्छ। किनभने यो कार्यले बुद्धका शिक्षाको मर्मलाई एक थोपा पनि हेक्का राख्दैन। बुद्धका शिक्षाको मर्म शील पालना गर्दै ध्यानको अभ्यास बढाएर प्रज्ञालाभ गरी आफू दुःखबाट मुक्त हुनु र करुणावान् भएर सबैलाई निर्वाणको बाटो देखाउनु हो। यति महत्वपूर्ण र गम्भीर विषयलाई सम्बोधन गर्ने तौरतरिका फराकिलो सोचयुक्त हुनुपथ्र्यो। जस्तो, राज्यस्तरबाट सामान्य बौद्ध अभ्यासलाई नेपालभरि जनस्तरमा पुर्याउन ठोस कार्ययोजना ल्याउन सकिन्थ्यो। लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राध्यापक नरेशमान बज्राचार्यका अनुसार ‘शील र संयमको महत्व बुझ्दै नबुझेका मानिसले नारा लगाएर बुद्ध शिक्षाप्रति सचेतना बढ्ने सम्भावना देखिँदैन। यसका लागि त सरकारी स्तरबाट सुविचारित कार्ययोजना अगाडि सारिनुपर्छ। बुद्ध शिक्षाको सामान्य ज्ञान र अभ्यास सबै नेपालीलाई उपलब्ध गराउनु महत्वपूर्ण काम हुन सक्छ। बुद्ध शिक्षाप्रति सचेतना जगाउनेजस्तो गम्भीर विषयमा उपलब्धिमूलक र बृहत्तर गतिविधि आयोजना गर्न विलम्ब गर्नु हुँदैन।’
प्राध्यापक बज्राचार्यले लुम्बिनी बौद्ध विश्वविद्यालयले गुरुयोजनामा ‘डोर टु डोर बुद्धिस्ट स्टडिज’ कार्यक्रम अगाडि सारेको उल्लेख गर्दै बरु यस प्रकारका बुद्ध दर्शनलाई जनस्तरसम्म पुर्याउने अभियानलाई सबै मिलेर सहयोग गर्नु अधिक फलदायी हुने बताउनुभयो।
धम्मपद भगवान् बुद्धका शिक्षाहरूको सार समेटिएको सुन्दर काव्य हो। आफ्नो जीवनकालमा ४० हजार पुस्तक पढिसकेका आचार्य रजनीशले धम्मपदका बारेमा भनेका थिए, ‘धम्मपद पुस्तकहरूमध्ये एभरेस्टजस्तै छ। हिमाल त जति पनि छन् तर कुनै पनि एभरेस्ट जति उँचा छैनन्।’ बौद्ध विद्वान् भदन्त आनन्द कौसल्यायन धम्मपदको गुरुगरिमाबाट ज्यादै प्रभावित थिए। उनले भनेका छन्, केवल एउटा पुस्तकलाई जीवनभर साथी बनाउने यदि कहिल्यै तपाईंको इच्छा भयो भने विश्वका पुस्तकालयमा धम्मपदभन्दा सुन्दर कृति अर्को फेला पर्न मुस्किल छ।
धम्मपदले जीवन र जगत्लाई बुझ्न सघाउँछ, आफैंलाई बुझ्न सघाउँछ, आफ्ना दुःखहरू बुझ्न सघाउँछ। एकपटक हामीले आफ्ना दुःखहरू बुझ्न सक्यौं भने हामी ती दुःखबाट सधैंका लागि मुक्त हुन सक्छौं। बुद्धको यति अनमोल शिक्षाहरू बीच बजारमा होहल्लासाथ प्रदर्शन गर्न प्रयोग हुनु शोभनीय होइन। बौद्ध अनुयायीहरूले दैनिक पाठ गर्ने यो ग्रन्थको महत्तालाई बुझ्ने हो भने ठूला संघसंस्था एवं राज्य स्तरबाट धेरै महत्वपूर्ण काम गर्न सकिन्छ। पहिलो कदम त धम्मपदलाई निःशुल्क या परल मूल्यमा छापेर सबै नेपालीका हातहातमा पुर्याउन सकिन्छ। टोलटोलमा ध्यान केन्द्र स्थापना गरेर ध्यानको अभ्यास गराउने र शील पालनाको महत्ता बुझाउने शिविरहरू गर्न सकिन्छ। केही वर्षयता बुद्धको शिक्षा शुद्धसिद्ध परम्पराअनुसार अध्ययन, अध्यापन र अभ्यास गर्दै आएका बौद्ध धर्मसंघहरूलाई सहयोग पुर्याउनु महत्वपूर्ण हुन सक्छ।
हामी जुन समाजमा बाँचिरहेका छौं, त्यसको वास्तविक चित्र अकल्पनीय हुँदै गइरहेको छ। समाज विकृतिको चरम सीमा पार गर्दैछ। टोलटोलमा डान्सबार खुलेका छन्। मिनरल वाटरभन्दा विदेशी रक्सी बढी बिक्री हुन्छ। दैनिक हजारौं निर्दोष पशुको हत्या गरेर मानिसहरू हिंसाजन्य आहार खान्छन् र हिंस्रक स्वभाव बढाउँछन्। बाबुनानीहरू होस्टलमा राखिन्छन्, होटलमा जंक फुड खान्छन् र स्वास्थ्य बिग्रिएपछि हस्पिटलमा धाएर जीवन बिताउँछन्। बूढा भएका बाबुआमालाई फोहोरी वृद्धा श्रममा राखिन्छ। जनसंख्याको एक तिहाइ ओगट्ने युवाहरू खाडीलगायत मुलुकमा पसिना बगाइरहेका छन्। गाउँहरू सुनसान भइसके। खेतीयोग्य जमिन या त बाँझै छ या जग्गा दलालको प्लटिङमा। भएका उद्योग कलकारखाना रुग्ण हुँदै मेटिइसके। यो स्थितिमा सहरका भद्रभलाद्मी मिलेर बुद्धका नाममा आफ्नै प्रचार गर्नु कुनै पनि कोणबाट सराहनीय छैन।
शुद्ध आशय
शुद्ध आशय भए धेरै गर्न सकिन्छ। आयोजकहरूले जे गरे, त्यो भई नै सक्यो। आयोजकहरूको शुद्ध आशय बुद्धका शिक्षाहरूको प्रचार गर्ने नै हो भने केही बिग्रेको छैन। अझै महत्वपूर्ण काम गर्न सकिन्छ। सरकारलाई, सम्बन्धित निकायलाई घच्घच्याउनुहोस्, कुनै ठोस कार्यक्रम ल्याउनुहोस्, जसले मानिसहरूमा बुद्धका शिक्षाप्रति आकर्षण बढोस्। बुद्धका शिक्षाहरू सरल नेपाली भाषामा उपलब्ध होऊन् र ती ग्रन्थमा सबै नेपालीको पहुँच होस्। दूरदराजका बस्तीहरूमा धम्मपद र बुद्धका अन्य शिक्षाहरू पुगून्। नेपाल बौद्ध अध्ययनको केन्द्र होस्। नेपालमा विशिष्ट बौद्ध विद्वान् र गहिरो ध्यान बस्ने भिक्षु एवं साधकहरू पैदा होऊन्। सयौं साधक सम्यक सम्बोधि प्राप्त गरेर बुद्ध बन्न सकून्। त्यस्तो वातावरण बन्न सक्यो भने बल्ल हामीले बुद्ध नेपालमा जन्मेका हुन् भनेर गर्व गर्ने ठाउँ रहनेछ।
अर्को एउटा महत्वपूर्ण काम, महायान बौद्ध साहित्य संस्कृत भाषामा लेखिएको छ र ती संस्कृत ग्रन्थहरू पढ्ने र पढाउने परम्परा झन्डै झन्डै लोप नै भइसक्यो। ती ग्रन्थ अध्ययन परम्परा लोप भएमा समस्त महायान बौद्ध दर्शन लोपोन्मुख हुनेछ। यसलाई बचाउन के गर्न सकिन्छ सोचौं। नेपालमा प्राज्ञिक तहमा बौद्ध दर्शन अध्ययन अध्यापन हुन थालेको दुई दशक हुनै लाग्यो। कुन कुन विश्वविद्यालयमा बौद्ध अध्ययन भइरहेको छ, कुन स्तरमा भइरहेको छ, केकस्ता विद्वान्ले अध्यापन गर्दैछन् र विद्यार्थी बनेर पढ्न आउनेहरू को हुन् ? एउटा सर्भे गर्न आवश्यक भइसकेको छ। यसबाट बौद्ध शिक्षाको अध्ययन मननको स्थिति के छ र अब अगाडि के कस्ता कार्ययोजना ल्याउन आवश्यक छ भन्ने खुल्ने थियो।
नेपालमा बौद्ध दर्शनको अध्ययन, अध्यापन या अभ्यासको यथार्थ स्थिति कस्तो छ ? त्यो थाहा पाएको भए आयोजकहरूले सम्भवतः बुद्ध नेपालमा जन्मेका हुन् भनेर प्रचारबाजी गरिहाल्न हतार गर्दैनथे। लाजमर्दो स्थिति छ, बुद्ध नेपालमा जन्मेका हुन् भन्न। बुद्धका वचनहरू मूल पालि या संस्कृत भाषामा छन्। यी भाषामा बुद्ध वचन पढ्ने र अभ्यास गर्ने व्यक्ति औंलामा गन्न सकिने पनि छैनन्।
लुम्बिनी नजिकै छिमेकी भारतले उसको भूमिमा बौद्ध अध्ययन अध्यापनका लागि सिद्धार्थ विश्वविद्यालय स्थापना गरेको छ। त्यो ठाउँलाई कपिलवस्तु नै भनिँदो रहेछ। झन्डै १२ सय करोडको बजेट उक्त विश्वविद्यालयलाई सरकारले छुट्याएको बताइन्छ। नेपाल सरकारले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई छुट्याएको बजेट १२ करोड पनि छैन। यो बजेटले बौद्ध विश्वविद्यालयले बौद्ध दर्शनको विस्तार गर्न महत्वपूर्ण कार्यक्रम ल्याउन सम्भव भइरहेको छैन। हामीले ध्यान केन्द्रित गर्नुपर्ने ठाउँ यी हुन्। बुद्ध नेपालमै जन्मेका हुन् र हामीले वास्तविक महत्वको विषयमा फोकस गर्ने हो भने हाम्रो जीवन निकै उज्यालो हुने थियो। बुद्धले भनेझैं अप्प दीपो भव, आफू आफ्नै प्रकाश बन्न सक्ने थियौं।
(Published in Annapurna post on 10 March 2018)
netra.acharya@gmail.com
(Published in Annapurna post on 10 March 2018)
netra.acharya@gmail.com
बौद्ध दर्शन र सकारात्मक मनोविज्ञान
(कान्तिपुर कोसेलीः माघ ६, २०७४ मा प्रकाशित)
लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष मेत्तया भन्ते प्रवचनका लागि स्ट्यानफोर्ड युनिभर्सिटी पुग्दा त्यहाँका एक प्रोफेसर धम्मपदको संस्कृत र अंग्रेजी संस्करण पढिरहेका थिए । ती प्रोफेसरले नेपालबाट त्यहाँ पुगेका भन्तेलाई सोधे, तपाईंको देशमा त हरेकको घरमा धम्मपदको पाठ हुन्छ होला है ? भन्ते अवाक् भए, किनभने उनलाई थाहा थियो, धम्मपद नेपालका घरघरमा पाठ हुनु त परको कुरा, राष्ट्रिय पुस्तकालयमा समेत खोज्दा फेला पर्दैन होला । मेत्तया भन्तेले एक अभिनन्दन कार्यक्रममा सुनाएको प्रसंगले बुद्ध जन्मेको देशमा बुद्ध शिक्षा कति छायामा परेको छ भन्ने संकेत गर्छ ।
नेपालमा बुद्ध शिक्षाप्रति अभिरुचि शून्यप्राय: भए पनि पश्चिमी देशहरूमा भने उत्साहजनक रूपले विस्तार हुँदै गएको पाइन्छ । हालैका वर्षहरूमा विकसित मनोविज्ञानको एक विधा ‘सकारात्मक मनोविज्ञान’ को दार्शनिक आधार बुद्धका शिक्षाहरूबाट लिइएको प्रस्ट देखिन्छ । यो लेखमा सकारात्मक मनोविज्ञान कसरी बुद्ध शिक्षाहरूबाट अनुप्रेरित भएको छ र यसबाट कसरी लाभान्वित हुन सकिन्छ भन्ने चर्चा गरिनेछ ।

फ्रेडरिक नित्सेले भनेका थिए, व्यक्तिको पागलपन असामान्य हो तर समाज र देशको पागलपन नियम नै हो । नित्सेको भनाइ अक्षरश: लागू गर्दै पश्चिमा मनोविज्ञान विगत सय वर्ष केवल रोगी, मदौरुहरूको उपचारमा केन्द्रित रह्यो । ठूला विचारक र शोधकर्ताहरूले डिप्रेसन, तनाव, क्रोध, हिस्टेरिया, कुण्ठा, पागलपनजस्ता व्यक्तिगत विचलनहरूमाथि चिन्तन, मनन र अनुसन्धान गरे । उनीहरू यी विषयमा किन केन्द्रित भए भने रोगीको उपचार गरेपछि पैसा आउँथ्यो । पुँजीवादी समाजमा अर्थोपार्जनकै सबभन्दा ठूलो मूल्य हुन्थ्यो । भौतिक रूपले जीवन स्तर माथि उठाउनु र यश आराम गर्नु नै सबैको आकांक्षाको विषय हुन्थ्यो । समयक्रममा यो सोचमा केही परिवर्तन आयो । आर्थिक समृद्धि हासिल गर्नु र निरोग हुनु नै सम्पूर्ण जीवन होइन भन्ने चेतनाले केही मनोवैज्ञानिकलाई फरक रूपले सोच्न बाध्य बनायो । पहिलो पटक अमेरिकन साइकोलोजिकल एसोसिएसनका पूर्व अध्यक्ष मार्टिन सेलिगम्यानले व्यक्तिका सकारात्मक भावना र मनोविज्ञानलाई निकै लामो समय उपेक्षा गरिएको देखे । उनले भने, रोगमुक्त हुने ध्याउन्नमा हामी बढी नै एकोहोरो भएछौं, जीवनलाई बाँच्नलायक बनाउनका लागि सकारात्मक भावनाहरूको अध्ययन हुनुपर्छ, तिनलाई कसरी परिपोषित गर्ने भन्ने विधामा अध्ययन अनुसन्धान हुनुपर्छ ।
सेलिगम्यानलाई त्यसप्रकारको ज्ञानोदय बगैंचामा आफ्नी पाँच वर्षकी छोरीसँग टहलिइरहेको बेला भएको थियो । छोरीले अनेक हर्कत गरेर बाबाको ध्यान आफूतिर आकर्षित गर्ने प्रयत्न गरिरहेकी थिइन् । तर सेलिगम्यानले ‘चुप लाग’ भनेर उनलाई हकारे । छोरी उदास भइन् र भनिन्, ‘बाबा, म तीन, चार वर्षकी हुँदा कसरी रोएर, चिच्याएर दु:ख दिन्थें, तपाईं सम्झनुहुन्छ ? अचेल मैले त्यस्तो गर्न छोडिदिएँ । मैले पाँच वर्ष पुगेपछि त्यसो नगर्ने निर्णय गर्न सक्छु भने तपाईं पनि बडबडाउन छोडिदिन सक्नुहुन्छ ।’ छोरीको यो कुराले सेलिगम्यान झल्याँस्स भए, मानो निद्राबाट जागेजस्तो । मनमा खेल्ने विचार र भावनाका सकारात्मक पक्षलाई विकसित गर्नु नकारात्मक पक्ष सुधार्ने धन्दामा एकोहोरो लागिरहनुभन्दा अधिक महत्त्वपूर्ण हो । सेलिगम्यानले भनेका छन्, हामीले आफू र बालबालिकालाई मनका सकारात्मक विचार र भावनाहरूमा ध्यान दिनु अधिक महत्त्वपूर्ण हो, नराम्रा विचार, भावना र कमजोरीहरू कोटयाइरहनु उपयोगी होइन भन्ने सिकाउनुपर्छ ।
पश्चिमा विद्वान् र अनुसन्धाताहरूले सेलिगम्यानको सकारात्मक सोच मनोविज्ञानको क्षेत्रमा युगान्तकारी हो भन्ने पत्तो पाइहाले । त्यसपछि यस विषयमा विशद अध्ययन, चिन्तन, मनन र अनुसन्धान हुन थाल्यो । सकारात्मक मनोविज्ञान अहिले जल्दोबल्दो बनेर अगाडि आएको छ, संसारभरका विश्वविद्यालयहरूमा यसको अध्ययन, अध्यापन भइरहेको छ । यो मनोविज्ञानले कसरी व्यक्तिको जीवनमा खुसी, आनन्द र आल्हादलाई बढोत्तरी गर्न सकिन्छ भन्ने अध्ययन र अनुसन्धानहरू गर्छ । यसमा व्यक्तिका सामाजिक सम्बन्धहरूजस्तो पति–पत्नीबीचको प्रेम, परिवार, साथीभाइ र सामाजिक संघ संगठनहरूसँगको सौहार्द सम्बन्धले व्यक्तिको जीवनमा खुसी र आनन्द भर्ने गरेको विभिन्न अध्ययनमार्फत पुष्टि गरिएको छ । सकारात्मक मनोवेत्ताहरूले जीवनलाई अधिक गरिमामय, सुन्दर र आनन्दित बनाउन आपसी सम्बन्धहरूलाई कसिलो बनाउन र सबैप्रति प्रेम र सहयोगको भावना राख्न सुझाउँछन् ।
बौद्ध दर्शनमा शान्ति र आनन्दका लागि आपसी र सामाजिक सम्बन्धको सौहार्दता विकसित गर्ने अभ्यास धेरै पहिलेदेखि गरिँदै आएको छ । बौद्ध दर्शनको अभ्यास सतही नभएर भित्रैदेखि बुझिएको र अपनाइएको विषय हो । बुद्धले पहिलो, दोस्रो, तेस्रो र चौथो तहको ध्यानको अवस्थामा मनको अलत गहिराइमा चियाएर त्यहाँ वास्तवमा के छ भनी खोजी गरेका थिए । यसरी मनका तहतह केलाएर यसको स्वभाव पहिल्याउनु बुद्धको खोजीको महत्त्वपूर्ण पक्ष हो । यही खोजीका क्रममा दु:ख, दु:खको कारण, दु:ख मुक्तिका सम्भावना र उपाय बुद्धले फेला पारेका थिए ।
यो ज्ञानोदयपश्चात् करिब छब्बीस सय वर्षअघि बुद्धले भनेका थिए, प्रभास्वरमिदं चित्तं प्रकृत्यागन्तवो मला । तेषामपाये सर्वार्थं तज्ज्योतिरविनश्वरम् । यसको अर्थ
हो : मानिसको मन स्वभावैले उज्यालो, सकारात्मक, शान्त र आनन्दित हुन्छ । बाहिरी समाज, वातावरण र पुराना संस्कारका कारण मनमा लोभ, रिस र बेहोसी प्रवेश गर्छन् । बाहिरबाट पसेका दोषहरूलाई मनमा स्थान नदिने र मनका प्राकृतिक गुणहरूलाई परिपोषित गर्न ध्यान, मैत्री र करुणाको अभ्यास गर्ने हो भने अपार शान्ति र हरक्षण नवीन आनन्द स्वस्फूर्त रूपमा अनुभूति हुन्छन् ।
भनिन्छ, ज्ञानोदय भएपछि बुद्ध अपार आनन्दमा मग्न हुँदै पीपलको वृक्षमुनि बसिरहेका थिए । उनले ज्ञान पाएको खबर सबैतिर फैलियो । नजिकैको गाउँबाट गाउँलेहरू त्यहाँ आए र उनलाई सोधे, तपाईंलाई ज्ञान प्राप्त भयो भन्ने सुनिन्छ । खासमा तपाईंलाई के प्राप्त भएको हो ? बुद्धले भने, मलाई त्यस्तो केही प्राप्त भएको होइन । बरु मैले धेरै कुरा गुमाएँ । मनमा आएर बसेका राग, द्वेष, मोहजस्ता नकारात्मक गुणहरू बिलाएर गए । मैले प्राप्त गरेको शान्ति, मैत्री र करुणा त पहिल्यैदेखि, जन्मदैदेखि मेरो मनमा थिए । मैले यी गुणहरूलाई मनमा देखेँ । यी गुणहरूलाई अझ गाढा बनाउन म ध्यानमा डुब्छु, प्रेम र करुणाको अभ्यास गर्छु ।
बुद्धले यी गुणहरू आफ्नो मनमा मात्रै फेला पारेका होइनन् । ठीक यिनै गुणहरू उनले हरेक व्यक्तिमा, हरेक प्राणीमा समेत देख्न थाले । उनले भने, सत्त्वा बुद्धा एवकिन्तु आगन्तुक मलावृता: । तेषामपकर्षणात् सत्त्वा: बुद्धा एव नसंशय: । अर्थात् सबै मानिस र प्राणीहरू बुद्ध नै हुन् । तर बाहिरबाट आएका आगन्तुक दोषहरूले उनीहरूको बुद्ध स्वभाव छोपिएको छ । दोषहरूबाट मन हटाएर गुणहरूमा ध्यानस्थ हुने हो भने सबैले आफ्नो बुद्ध स्वभाव देख्न सक्छन् । सकारात्मक मनोविज्ञानको गहकिलो आधार योभन्दा प्रभावी अर्थोक फेला पार्न नसकिएला । तर पश्चिमा मनोवैज्ञानिकहरूले उक्त मनोविज्ञानको आधारको रूपमा बुद्ध दर्शनलाई एक रत्ती पनि ‘क्रेडिट’ दिएका छैनन् ।
बौद्ध दर्शन संसारभरिका विश्वविद्यालयमा आधिकारिक रूपमै पढाइन थालेको सय वर्ष नाघिसक्यो । अत: सकारात्मक मनोविज्ञानका प्रणेताहरूले बुद्धको दर्शन नपढेको वा थाहा नपाएको हुन सक्दैन । तर उनीहरूले कतै पनि यो मनोविज्ञानको आधार बुद्धको दर्शन हो भनेर उल्लेख नगर्नु रहस्यमय छ । यो अलग्गै खोज र अनुसन्धानको विषय हुन सक्छ । तर ध्यानको अभ्यासले कसरी मानिसमा सकारात्मक भावनाहरू विस्तार हुन्छन् भन्ने खोजहरू व्यापक रूपमा भइरहेका छन् ।
डा. रिचार्ड डेभिडसनले ध्यानको अभ्यास गरिरहेका भिक्षुहरूको मस्तिष्कको वैज्ञानिक प्रयोगशालामा अध्ययन गरेका थिए । उनले ध्यानस्थ हुँदा व्यक्तिको मनबाट भय र क्रोधजस्ता भावना शान्त हुँदै या हराउँदै गएको पाए । एक ठूला साधक ध्यानको अभ्यास गरिरहेका बेलाउनको मस्तिष्कका खुसी र सकारात्मक भावनाहरूसँग सम्बन्धित क्षेत्रमा व्यापक गतिविधि भइरहेको देखे । बौद्ध ध्यान पद्धतिमा मुख्य रूपमा आउने विपश्यना ध्यान र मैत्री एवं करुणा ध्यानले अभ्यासकर्तामा खुसी र आनन्दको विस्तार भएको वैज्ञानिक प्रयोगशालामा गरिएका सबै प्रयोगहरूमा देखियो । प्रयोगशालाहरूमा यी कुरा अहिले प्रमाणित भए तर बौद्ध ध्यान साधकहरूले शताब्दियौंदेखि मैत्री र करुणाको अभ्यासले जीवनमा सबभन्दा धेरै शान्ति र आनन्द दिन्छ भन्ने अनुभूति गर्दै आएका छन् । मैत्री र करुणाको अभ्यास गर्नुलाई बौद्ध दर्शनका अनुयायी र पारखीहरूले बोधीसत्त्व चर्या भन्छन् ।
सकारात्मक मनोविज्ञानका ज्ञाताहरूले व्यक्तिगत र पारिवारिक, सामाजिक सम्बन्धहरूमा सौहार्दता विकसित गर्न सके खुसी र आनन्द विस्तार हुन्छ त भने । यो कुरा सैद्धान्तिक रूपमा सही भए पनि व्यक्तिले व्यवहारमा उतार्न सकेको पाइँदैन । किनभने, वर्तमान समयमा पढ्न पाइने र सुझाव पाइने कुराहरू अनगिन्ती हुन्छन् । मानिसको मनको गहिराइसम्म ती सुझावहरू पुग्न सक्दैनन् । बुद्धले बाहिरबाट पाएको ज्ञानको सीमा देखेका थिए । उनले भनेका थिए, सुनेको ज्ञान अर्थात् श्रुतमयी प्रज्ञालाई चिन्तनमनन गरेर परिष्कार गर्नुपर्छ र ध्यानको अभ्यासमार्फत अनुभूति गर्नुपर्छ । यसप्रकार ज्ञान भावनामयी प्रज्ञा बन्छ जसले व्यक्तिलाई भित्रैदेखि रूपान्तरण गरिदिन्छ, भित्रैदेखि मैत्रीभावयुक्त र करुणावान् बनाइदिन्छ । जति करुणाको भावना विकसित हुन्छ उति आनन्दको अनुभूति हुन्छ । सकारात्मक मनोविज्ञानले बौद्ध दर्शनबाट धेरै कुरा ग्रहण गर्न बाँकी छ । बुद्धत्व र बोधीसत्त्वचर्यालाई सही रूपमा बुझ्न सके सकारात्मक मनोविज्ञान अधिक प्रभावी हुन सक्छ र यसबाट सबै लाभान्वित हुन सक्छन् ।
netra.acharya@gmail.com
Subscribe to:
Posts (Atom)