Tuesday, March 19, 2019

स्त्री बुद्ध









मैले व्यक्ति वा वस्तु हेर्दिन, आफैंलाई हेर्छु,
म अनन्त अनादि प्रज्ञा हूँ,
यही मेरो वास्तविक, शाश्वत स्वरुप हो, 
यो अद्वय ज्ञानको आनन्द अपार छ ।


बुद्ध दर्शनमा स्त्री बुद्धको अवधारणा नयाँ होइन । पालि ग्रन्थहरुमै स्त्री बुद्धका कथा प्रसंगहरु यथेष्ट पाइन्छन् । बुद्ध दर्शनको पछिल्लो विकासका रुपमा आएको महायान वज्रयानमा वज्रयोगिनी, तारा लगायत स्त्री बुद्धका अगणित प्रसंगहरु उपलब्ध छन् । स्त्री पुरुषको सह साधनाबाट यथाशीघ्र मुक्ति प्राप्त गर्न सकिने विधि र पद्धतिहरु विकसित भएका छन् । 

बुद्ध जन्मेको देश नेपालमा भने स्त्रीहरुमा बुद्धत्वको प्यास विरलै देख्न पाइन्छ । स्त्रीहरु स्वभावैले भाव प्रधान हुन्छन् । उनीहरुले अक्सर रागकै तानाबाना बुनिरहेको देख्न पाइन्छ । तर त्यही रागलाई बुद्धिमत्तापूर्वक उपयोग गर्ने हो भने रागबाट सदाका लागि मुक्ति सम्भव हुन्छ । 

जसरी गोडामा बिझेको काँडालाई काँडाले नै निकाल्न सकिन्छ उसैगरी मनमा भएको राग हटाउन रागकै उपयोग गर्न सकिन्छ । वज्रयानमा यही रहस्य सुझाइएको छ, रागेणैवोद्धरेत् रागं कण्टकेनैव कण्टकम् । यो आलेखमा स्त्री बुद्धका प्रसंगहरु उल्लेख गर्दैै कसरी रागले रागलाई पन्छाउन सकिन्छ र मुक्तिको सुख प्राप्त गर्न सकिन्छ भन्ने चर्चा गरिने छ । 

पालि ग्रन्थहरुमा पटाचारा, समावती, खेमा, प्रजापति गौतमी लगायत कैयौं स्त्रीहरुले अर्हत् पद प्राप्त गरेको उल्लेख पाइन्छ । बुद्धको सत्संगमा बस्दाबस्दै उनको चित्त शुद्ध भइसकेको थियो, विपश्यना लागिसकेको थियो ।

एक दिन गोडा पखालेको पानी बगेर गएको देखेर पटाचारालाई अनित्य, दुःख र अनात्म बोध भयो । उनी दुःखमुक्त भइन् । उनले बुद्धका शिक्षा जनजनमा फैलाउने क्रममा दुःखिया स्त्रीहरुलाई सम्झाउँदै भनेकी थिइन्, सात समुद्रहरुमा त्यति पानी नहोला जति हामी स्त्रीहरुका आँखाबाट आँसु बगेको छ । हामीले भोगेको संसारको दुःख, पीडा, रोदन बताइसाध्य छैन । ओ स्त्रीहरु, तिमीहरुमा अझ होस आउँदैन? अझ पनि तिमीहरुको मनमा मुक्तिको प्यास जाग्दैन?

खेमा अर्हत् पद प्राप्त गर्ने अर्की स्त्री थिइन् । उनी औधी सुन्दर थिइन्, शरीरको रंग नम्बरी सुन जस्तो चम्किलो थियो । उनी कोशल जनपदका राजा बिम्बिसारकी मन परेकी रानी थिइन् । जुन दिन बुद्धको शिक्षा सुन्न पाइन् त्यसै दिन उनले धर्मको पथ रोजिन् । सारा भोगविलासको व्यर्थता पत्तो पाउन उनलाई क्षणभर समय लागेन ।  उनले भनेकी थिइन्, मलाई यो रोगी, क्षणभंगुर र बास आउने शरीरको मजा लिन सरम लाग्छ । मैले तृष्णलाई जरै समेत उखेलेकी छु । बुद्धले उनलाई अर्हत् श्राविकामध्ये ज्ञानमा अग्र घोषित गर्नुभएको थियो । 

मुक्तिको आनन्द हरेक स्त्री बुद्धले फरक प्रकारले व्यक्त गरेका छन् । कतिपयका लागि पारिवारिक बन्धन र जन्जालबाट छुटकारा पाउनु नै मुक्ति थियो । भिक्षुणी सुमंगलाले भनेकी छिन् — अहो, म मुक्त नारी हूँ । मेरो मुक्ति कति उदात्त छ ! म पहिला रातोदिन ढिकीमा धान कुटिरहन्थें । आज त्यो टन्टाबाट छुटकारा पाएकी छु । घरको गरिबीका कारण म साना साना भाँडाकुँडा स्याहारेर मैली धैली भएर बसिरहेकी हुन्थें । मेरो निर्लज्ज पति मलाई उसले जीविकाको लागि बनाउने छाताहरु भन्दा पनि तुच्छ सम्झन्थ्यो । 

यसैगरी भिक्षुणी मित्राले आफ्नो पूर्वजीवनप्रति चिन्तन गर्दै भनेकी छिन् — म हरेक चतुर्दशी र पूर्णिमा अनि अष्टमीमा समेत व्रत बस्थें । किन? किनभने म सोच्थें, मृत्युपश्चात् स्वर्गमा पुग्नेछु, देवयोनी प्राप्त गरेर स्वर्गीय सुख प्राप्त गर्नेछु । त्यही म आज दिनमा केवल एक छाक भोजन गर्ने, टाउको मुण्डन गरेकी र गेरुवा वस्त्र पहिरेकी छु । आज मलाई देवयोनीको कामना छैन । स्वर्गमा बास गर्ने अभिलाषा छैन । कारण, मैले मनका चिन्ताहरुलाई नै समूल नष्ट गरिसकेकी छु । अभिलाषाहरुलाई नै टाढा फ्याँकेर हलुका भई बसेकी छु । आफूभित्रको बुद्धत्व फेला पारेकी छु । 

भगवान् बुद्धको शिक्षा विस्तार गर्न थेरीहरुले ठूलो योगदान गरेका थिए । महाप्रजापति गौतमीले भनेकी थिइन्  स्मृति—प्रस्थानको गौचरनमा विचरण गर्दै आफ्नो दीप आफैं बन । ध्यानको अभ्यासका क्रममा सात बोध्यंगहरुको भावना गरेरै तिमीले दुःखको अन्त गर्न सफल हुनेछौ ।

थेरीगाथामा कसरी स्त्रीहरु भिक्षुणी बने, कसरी विपश्यना साधना गरे, कसरी अर्हत् पद प्राप्त गरे र अरुको कल्याणका समर्पित भए भन्ने कैयौं उदाहरणहरु पाइन्छन् ।

यो बुद्धकालीन समयको साधना थियो । तत्कालीन समयमा भिक्षु वा भिक्षुणी बन्नु भनेको शील पालना गर्नु ब्रह्मचर्यमा बस्नु, र ध्यानको अभ्यास गर्नु मुख्य साधना थियो । कालक्रममा साधनाको स्वरुपमा किञ्चित् परिवर्तन आइसकेको छ । यो रुपान्तरणलाई स्वाभाविक रुपमा स्वीकार गरिएको पाइन्छ । किनभने गति, नवीनता र विकास प्रकृतिको स्वभाव नै हो । एउटा नदीले पनि कालक्रममा आफ्नो बग्ने बाटो परिवर्तन गरेको हुन्छ । धर्म जीवन्त अभ्यास हो । कालक्रममा धर्मले फरक मार्ग अपनाउनु अन्यथा हुन सक्दैन । लक्ष्य एकै हो भने मार्ग भिन्न हुनुले तात्विक फरक पार्दैैैन । भारतका केही प्रान्त, नेपाल मण्डल र तिब्बतमा विकसित भएको महायान वज्रयानमा ब्रह्मचर्य गौण हुँदै गएको छ । स्त्री पुरुषबीच सह साधनाका अवधारणा विकसित भएका छन् । तर वज्रयानले बुद्धत्व प्राप्तिको लक्ष्य छोडेको छैन ।

तन्त्र ग्रन्थहरुमा आध्यात्मिक रुपले स्वतन्त्र र शक्तिशाली स्त्री बुद्धहरुको उल्लेख भएको पाइन्छ । ती स्त्री बुद्धहरुले साधकको मनमा अहोभाव पैदा गर्छन्, श्रद्धायुक्त भय जगाउँछन्, आफ्नो शरणमा आकर्षित गर्छन् र नतमस्तक बनाउँदै निरन्तर आदर सत्कारको अपेक्षा गर्छन् ।

तान्त्रिक साधनाले स्त्रीलाई बुद्धत्व प्राप्त गर्न सहज भएको संकेत गर्छ । तन्त्र भन्छ, स्त्रीहरुले आफूभित्र निहित दिव्य स्त्रित्व फेला पार्नुपर्छ । यो कुराले स्त्रीमा आत्मसम्मान जगाउनुपर्छ, आत्मविश्वास बढाउनुपर्छ र आफू हुनुको अनुभूतिप्रति एक प्रकारको दिव्य गौरव विकसित गर्नुपर्छ । यसले स्त्रीलाई तन्त्र साधनाको पथमा अभिप्रेरित गर्छ । किनभने, तन्त्र भन्छ, हरेक स्त्री महान् तान्त्रिक देवीहरुका साक्षात् प्रतिरुप नै हुन् । यथाशीघ्र यो रहस्य आत्मसात गर्नु र आफूमा स्त्री बुद्धका रुपमा आत्मसम्मान विकसित गर्नु हरेक स्त्रीका लागि अपेक्षित छ । तिनीहरु नै तन्त्र साधनाका लागि योग्य हुन्छन्, तिनीहरु नै स्त्री बुद्ध बन्न सक्छन् ।

तन्त्र साधना स्त्री पुरुष साहचर्यमा फलित हुने हुँदा दुवैलाई एकअर्काप्रति अपार सम्मान जगाउन आवश्यक हुन्छ । खासगरी पुरुषलाई एउटी स्त्रीमा आमाको रुप देख्न सुझाइएको पाइन्छ । साधनामा हरेक स्त्रीप्रति आफ्नी आमाप्रति जस्तै आदरको अपेक्षा हुन्छ । सह साधना वासनापूर्तिको लागि होइन, मुक्तिको लागि हो । तन्त्र साधना सम्यक् दृष्टिरुपी वाणले अज्ञानको पशु बध गरेर अद्वयभावको भोज गर्नु हो । साधना र साध्यको समुचित ज्ञान नभएको अवस्थामा तन्त्र अभ्यास अनपेक्षित दिशामा जान सक्छ ।

तन्त्र जति आकर्षक छ उति नै चुनौतीपूर्ण पनि छ । कुनै समयमा होस सम्हाल्नका लागि ब्रह्मचर्यको अभ्यास आवश्यक ठानिन्थ्यो । तन्त्रले पनि होसपूर्ण रहनै सुझाउँछ तर त्यस क्षणमा जतिखेर मानिसले होस गुमाउने खतरा अत्यधिक हुन्छ । चन्दमहारोसन तन्त्रमा भनिएको छ — बुद्ध आदेश दिनुहुन्छ तिमीले एउटी चित्ताकर्षक र उल्लासमय स्त्रीलाई अँगाल्नुपर्छ । जुन साधकले यो आदेश पालना गर्दैन त्यो मूर्ख हो, उसले निर्वाण प्राप्त गर्न सक्दैन । तन्त्र साधनाको पथमा स्त्रीको साथ अत्यावश्यक हुन्छ भन्ने सुझाउँदै चन्दमहारोसन तन्त्रमा अगाडि भनिएको छ --

यदि तिमीलाई बन्धन र मृत्यु भय छ भने पनि
त्यो भय सबै सहू
यो मार्गमा स्त्रीलाई साथ नलिई हुँदैन । 

तन्त्रले वासना, तृष्णा र इन्द्रिय अनुभूतिलाई स्वाभाविक रुपले परिशुद्ध मान्छ । वास्तवमा तन्त्र शास्त्र तीव्र संवेगी, भावुक, आवेशप्रधान र जोशिला मानिसहरुको साधना पथका रुपमा गौरवान्वित छ । तन्त्र शास्त्र खतरामुक्त भने छैन, किनकि वासना ती मानिसहरुका लागि अवरोध या अडचन बनिदिन्छ जसको मन र चित्त शुद्ध छैन । 

जहाँ स्त्री (डाकिनी) हुन्छन् त्यहाँ 
आनन्द र चमत्कारी शक्ति हासिल हुन्छन्
तिमी त्यहीं बस्नुपर्छ, मन्त्र पाठ गर्नुपर्छ
मिष्ठान्न भोजन गर्नुपर्छ र मनोविनोद गर्नुपर्छ ।

बौद्ध दर्शनको इतिहासमा यस्तो कालखण्ड पनि आयो जुन समयमा केही स्वनामधन्य गुरु वा रिन्पोछेहरुले स्त्रीहरु बुद्ध बन्न सक्दैनन्, बुद्ध बन्नलाई अर्को जन्ममा पुरुष शरीरमा जन्मनुपर्छ भन्ने गलत सन्देश फैलाए । तन्त्र साधनाको नाममा स्त्रीहरुलाई उपभोग गर्ने, शारीरिक शोषण गर्ने इत्यादि गलत अभ्यास पनि भए । तर बुद्धद्वारा प्रदर्शित धर्मको शक्तिले ती सबै गलत अभ्यास निरस्त हुँदै गए । बुद्ध स्वयंले भन्नुभएको छ — सत्ता बुद्धा एव अर्थात् सबै प्राणीमा बुद्धत्व नैसर्गिक रुपले विद्यमान हुन्छ ।  

हिन्दू आध्यात्मिक दर्शनमा समेत स्त्रीहरुको गुणगान पाइन्छ । यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता । जहाँ जहाँ भोग छ त्यहाँ मोक्ष छैन, जहाँ मोक्ष छ त्यहाँ भोग छैन । तर जो तन्त्रका साधक हुन् तिनका लागि भोग र मोक्ष एकसाथ हासिल हुन्छन् । श्री सुन्दरीसेवनतत्पराणां भोगश्च मोक्षश्च करस्थ एव । 

माथि नै भनियो, भावनाको आधिक्य वेशी हुँदै जाँदा साधनाको स्वरुप फेरिनु स्वाभाविक नै हो । श्रावकयान अनुसार बुद्धत्वको साधना अद्यापि ब्रह्मचर्य अभ्यास, शील पालना र विपश्यना मार्फत् नै हुन्छ । तीव्र संवेग हुनेहरुले तन्त्रको पथ रोज्नु स्वाभाविक हो । तर साँचो तान्त्रिक गुरुहरुले सुझाउने आधारभूत पद्धति ज्ञात हुनु अत्यावश्यक छ । तान्त्रिक गुरुहरु भन्छन् - तन्त्र साधकले पहिला बुद्धले बताउनुभएका पालि सूत्रहरु अध्ययन, मनन गर्नुपर्छ, तदनन्तर नागार्जुन, शान्तिदेव आदि आचार्यहरु प्रणीत शास्त्रहरु अनुशीलन गर्नुपर्छ । तबमात्र तन्त्र साधनाको लागि साधकमा सैद्धान्तिक परिपक्वता आउँछ, उसको मनमा अनुकूल भावभूमि तयार हुन्छ । तन्त्र धारिलो हतियार हो, प्रयोग गर्न नजाने आफैलाई आघात गर्न सक्छ । 

पुरुष भोक्ता र स्त्री भोग्या ठानिने समाजमा तन्त्रको अभ्यास दुर्गति निम्त्याउने कारक हुन सक्छ । अतः पहिला सामाजिक र व्यक्तिगत मनोविज्ञान बदल्नु जरुरी छ । स्त्रीहरुले स्वयंलाई भोग्याको रुपमा होइन तान्त्रिक देवीहरुको प्रतिरुप देख्न थालून्, भावप्रधान स्त्रीहरुले रागका तानाबाना बुन्न छाडेर त्यागका चिन्तन गर्न थालून्, जीवन भोगका लागि होइन मुक्तिका लागि हो भन्ने यथार्थ हृदयंगम गरुन्, आफूप्रति आत्मसम्मान जगाऊन्, स्त्रीहरु बुद्ध नै हुन्, बुद्ध नै बनेर तिमिराच्छन्न संसारलाई आलोकित गर्न सक्नेछन् । भगवान् बुद्धको सन्देश यही हो तर बत्तीमुनि अँध्यारो भनेजस्तै बुद्धको जन्मभूमिमै यो आलोक मधुरो भइसकेको छ । आशा गरौं, बुद्धभूमिमा सहस्र स्त्री बुद्धहरु पैदा हुनेछन् र बुद्धत्वको आलोक जगाउनेछन् । 



Published on Gautam Buddha Sandesh, Sunday, 16 March 2019.
नेत्र आचार्य
netra.acharya@gmail.com




Sunday, May 27, 2018

भोगदेखि बोधसम्म



भोगदेखि बोधसम्म
(अन्नपूर्णपोष्ट कार्तिक २७ २०७३ मा प्रकाशित)

नन्दलाई यौन आशक्तिको अँध्यारो खाडलबाट उद्धार गर्न बुद्धले प्रयोग गर्नुभएको उपायले सम्भवतः बज्रयान सम्प्रदायको मार्ग प्रशस्त गर्‌यो । उपाय कौशल्य बज्रयानको मूल दार्शनिक आधार हो । राग र द्वेषबाट मुक्ति पाउन हरेक उपाय प्रयोग गर्नु खुल्ला रहनु बज्रयान हो ।
कपिलवस्तुमा एउटी यस्ती रूपसी पैदा भई, जसलाई देख्दा मानिस अल्मलिन्थे । रूपसी देख्दा ती मानिसको मनमा वासना जाग्थ्यो । रूपसीले तीनवटा नाम पाएकी थिईः शोभा र रूपले सुन्दरी, हठ र गर्वले मानिनी, चमक र कुलीनताले भामिनी । उसले आफूजस्तै जोडी पाई- राजकुमार नन्द, राजा शुद्धाधनकी कान्छी रानीको सुपुत्र । नन्द रूप, यौवन र सौन्दर्यले सबैका निम्ति चित्ताकर्षक थिए ।
सुडौल शरीर, प्रेमिल आँखा, मन्द मुस्कान । नन्दजस्तो होनाहार युवक र लोभलाग्दी युवती । सिद्धार्थ गौतम दरबार त्यागेर तपस्या गर्न हिँडेपछि सुनसान भएको राजमहल नन्द र उनकी प्रेमिका सुन्दरीका प्रेमलीलाले फेरि उज्यालो बनाएको थियो । चखेवा-चखेवीझैं प्रेममा डुब्दा राजकुमार नन्दलाई न कुबेरको पर्वाह थियो, न इन्द्रको । राजकुलमा पैदा भएका नन्दलाई राजधर्मको त हेक्कासमेत रहेन ।
प्रेमान्ध जोडीका आँखा एकअर्कालाई हेर्नमा लीन हुन्थे, चित्त एकआपसमा संवाद गर्न व्यस्त हुन्थे, शरीर परस्परमा आलिंगनरत हुन्थे । रमण गर्दागर्दा एकको शरीर थाक्यो भने अर्कोले अनेक लीला गरेर पुनः उत्तेजित बनाउँथे । सुन्दरीले शृंगार गर्दा नन्दले ऐना समाइदिन्थे, सुन्दरी जिस्केर आफ्ना ओठमाथि जुँगाका रेखी हाल्थी, नन्द ऐनाको सतहमा सास फेरिदिन्थे ।
धमिलो ऐनामा सुन्दरीले जुँगाले विकृत आफ्नै चेहरा देख्न पाउँदैनथी र आँखीभौं खुम्च्याएर नक्कली रिस प्रकट गर्थी । अन्ततः यी प्रेमीको विवाह सम्पन्न भयो । राजाले नन्दलाई देवप्रासादजस्तै भव्य महल दिए । नयाँ महलमा युगल जोडी पुनः प्रेमालापरत भए । सुगन्धलेपन, रतिक्रीडा र मनोविनोदमा दिन, महिना र वर्ष बितेको पत्तै भएन ।
तपस्या गर्न हिँडेका सिद्धार्थले सम्बोधी प्राप्त गर्नुभयो र एकदिन कपिलवस्तुको भ्रमणमा आउनुभयो र भिक्षाटन क्रममा नन्दको महलमा पुग्नुभयो । संयोग कस्तो पर्‌यो भने, दरबारमा भिक्षा माग्दै गर्नुभएको बुद्धलाई देखेर पनि सेवकहरूले खासै ध्यान दिएनन् । सबै आआफ्ना काममा व्यस्त थिए । कसैले बुद्ध भिक्षाका लागि आउनुभएको सूचना पनि दिएनन् । फलतः एकैछिन रोकिएर बुद्ध निस्किहाल्नुभयो ।
बुद्ध यसरी असम्मानित भएर गएको महलको छतमा कुनै काममा व्यस्त एउटी सेविकाले देखिरहेकी थिई । उसले राजकुमार नन्दलाई खबर गरिदिई । आफ्नी प्रियतमासँग बसिरहेका नन्द 'हत्तेरी कस्तो नजाती भयो' भन्दै तत्काल बाहिर निस्के र पर पुगिसकेका बुद्धलाई पछ्याउन थाले । उनले बाटैमा बुद्धलाई भेटिहाले र प्रणाम गर्दै असावधानीवश हुन गएको अपराधको निम्ति क्षमा याचना गरे । बुद्धले नन्दलाई आफ्नो भिक्षापात्र समाउन दिनुभयो र अघि लाग्नुभयो ।
नन्द मन नभए पनि बुद्धलाई पछ्याउन थाले । बुद्ध हिँडिरहनुभयो, नन्द लुरुलुरु पछि लागिरहे । नन्द बारम्बार पछाडि फर्कंदै महलको बार्दलीमा उभिएर आफैंतिर नियालिरहेकी प्रियतमालाई हेर्थे । प्रियतमाले आँखैले छिट्टै फर्कनु भनिरहेकी थिइन्, नन्दले मनमनै 'मलाई जान मनै कहाँ थियो र' भनिरहेका थिए ।
बुद्धको गौरवले अघि, पत्नीको प्रेमले पछि
नन्दलाई भगवान बुद्धको प्रेमले अघि बढ्नुमा गौरव बोध भइरहेको थियो, तर साथसाथै पत्नीप्रतिको अनुरागले पछि तानिरहेको थियो । अनिश्चयका कारण न उनी ढुक्कले अगाडि बढिरहन सकेका थिए न पछाडि फर्कन सकेका थिए । यो स्थिति ठीक त्यस्तै थियो जतिखेर मानसरोवर जान पौडिरहेका राजहंसहरू नदीको प्रवाह तीव्र भएको ठाउँमा न अघि बढ्न सक्छन् न पछि सर्न सक्छन् ।
बुद्धले अन्ततः नन्दलाई बिहारमा लैजानुभयो र उनको इच्छा नसोधी त्यहीं बस्ने व्यवस्था गरिदिनुभयो । अनेक युक्ति र उपदेशमार्फत भौतिक सुखको परित्याग गर्न र ध्यानको अभ्यास गर्न सुझाउनुभयो । तर नन्दका आँखामा हरपल आफ्नी लोभलाग्दी प्रियतमाको छवि घुमिरहन्थ्यो । ध्यान या तपस्यामा नन्दको मन एकरत्ति लागेन । उनको मनमा बुद्धका उपदेशको कुनै प्रभाव परेन । नन्द सदैव खिन्न रहन्थे ।
यो देखेर एकदिन बुद्धले आनन्दलाई भन्नुभयो, यी नन्दलाई भिक्षु बनाऊ । नन्दले शिर झुकाउँदै भने- म भिक्षु हुन्नँ । बुद्धले सम्झाउनुभयो- पत्नी सुख त्यागेर भिक्षु हुन सहज छैन तर तिम्रो मनमा जलिरहेको अनुरागको आगो निभाउने र शान्ति प्राप्त गर्ने एउटै उपाय प्रव्रज्या लिनु हो । अन्ततः बुद्धका सामु नन्दले 'म हजुरको उपदेश पालना गर्नेछु' भने ।
भिक्षु भएर गेरुवावस्त्र पहिरे पनि नन्दको मन परिवर्तन भएन । नन्द एक्लै बस्न थाले । सधैं उदास र खिन्न देखिन थाले । उनी मनमनै सोच्थे- म पत्नीको सम्झनाले पीडित छु, बुद्ध निर्वाणको सपना देखाउनुहुन्छ । एकातिर मनभरिको रतिराग, अर्कोतिर बुद्धको अनुशासनमा बिहारको बास । चित्त स्थिर नभएपछि यहाँ बस्नुको के सार भयो र, म त भिक्षु हुनु पनि उचित थिएन । कुनै उपायले महलमा फर्कन्छु र प्रियतमाको अँगालोमा जिन्दगी बिताइदिन्छु । यस्तै चिन्तना गरेर नन्दका दिन बित्थे ।
बुद्धले नन्द ध्यानको अभ्यास नगरेको थाहा पाइहाल्नुभयो । त्यसैले नन्दको चित्त स्थिर भएको थिएन । बुद्धले नन्दको नजिकै आएर सोध्नुभयो- तिम्रो मनमा के छ, किन शान्त देखिँदैनौ । नन्दले नढाँटी भने, 'भगवान, म प्रियतमाको बिछोडको पीडाले धर्ममा आनन्द अनुभव गर्न सकिरहेको छैन । मलाई तपस्याको सुख चाहिएन । म घर फर्कन चाहन्छु ।'
स्वर्गको सयर
नन्दको हालत बुझेपछि एकदिन बुद्धले एउटा उपाय सोच्नुभयो । बुद्धले नन्दलाई आफूसँगै स्वर्ग लैजानुभयो र स्वर्गका अप्रतिम सुन्दरी अप्सराहरूको दर्शन गराउनुभयो । घनघोर बादलबाट बिजुली निस्केजस्तै स्वर्गको नन्दन बनबाट रम्भा, तिलोत्तमा र मेनकालगायत एक से एक सुन्दरी अप्सरा मस्कँदै नन्दको सामु आए । नन्दको रागरञ्जित मन तत्क्षण ती अप्सरालाई आलिंगन गर्न उत्कण्ठित हुन थाल्यो ।
नन्दको मनमा राग पैदा भएको र पत्नीको अनुराग हटिसकेको थाहा पाएर बुद्धले भन्नुभयो- यी स्त्रीहरूको सौन्दर्यको उत्कर्ष देखेपछि तिमीलाई आफ्नी पत्नीको कत्तिको याद आइरहेको छ ठीकठीक भन । नन्दले अप्सराहरूको अक्षत रूपराशिका सामु आफ्नी प्रियतमाको सौन्दर्य फिका लागेको बताए । उनले नजिकैको रूखमा बसेकी एउटा आँखा नभएकी बाँदर्नीलाई देखाउँदै अगाडि भने- भगवान, यी अप्सराको सौन्दर्यको सामु मेरी पत्नी त्यो कानी बाँदर्नी जत्ति पनि छैन ।
अब तिम्रो के इच्छा छ ? भन्ने बुद्धको प्रश्नमा नन्दले भने, 'भगवान म अप्सरालाई आलिंगन गर्न चाहन्छु ।' बुद्धले भन्नुभयो, 'त्यसो हो भने तपस्या गर । यथेष्ट तपस्या नगरी कसैले पनि अप्सरालाई पाउन सक्दैन ।'
स्वर्गको यात्रापछि दुवै बिहारमा फर्किए । नन्दले घोर तपस्या आरम्भ गरे । अत्यन्त अल्पभोजन गरेर नन्द दिनरात ध्यानको अभ्यासमा लीन रहन थाले । यसरी एकाएक नन्दको स्वभाव परिवर्तन भएको देखेर बिहारमा गाइँगुइँ चल्न थाल्यो । एकाध भिक्षुहरूले छेडछाडसमेत गर्न पछि परेनन् । अप्सरा पाउनका लागि ध्यान बस्दैछन् यी भिक्षु । ध्यानकै अभ्यास गर्ने भए निर्वाण प्राप्तिका लागि गर्नु नि ।
यो कुराले नन्दको मनमा गहिरो प्रभाव पार्‌यो । ध्यानको अभ्यासले गर्दा क्रमशः मनमा रागरञ्जित विचार कम हुन थालेका थिए । सही र गलत के हो भन्ने हेक्का राख्न सक्ने भइसकेका थिए । ध्यानकै अभ्यास गर्ने भए स्त्री शरीरको भोगका लागि किन, निर्वाणकै लागि गर्नु उत्तम हो । क्षणिक सुखका लागि मरिमेट्नु किन, स्थायी शान्तिकै लागि अभ्यास गर्नु मनासिव हो । यी कुराको हेक्का उनी स्वयंलाई हुन थालिसकेको थियो । अतः त्यही दिनदेखि नन्द दुःखमुक्तिका लागि ध्यानको अभ्यासमा दत्तचित्त भए । ध्यानको विधि र पद्धति बुद्ध स्वयंले सम्झाउनुभएकै थियो । मनैदेखि अभ्यास गर्न थालेको केही दिनमै मन स्थिर हुन थाल्यो । स्थिरताले एकाग्रता बढायो ।
जीवनमा बुद्धिमानीको कुरा केही छ भने त्यो एकाग्रता हो र आफ्नो शक्तिलाई यत्रतत्र छरिदिनु बुद्धिहीनता हो । एकाग्रता ध्यान हो, एकाग्रता मुक्तिको बाटो हो । पहिला त नन्दको मन बारम्बार महलमा पुग्थ्यो, अनेक प्रकारका भोगविलास र सुखसयलको कल्पनाले तरंगित हुन्थ्यो । भौंतारिइरहने मनमा ध्यानको अभ्यासले एकाग्रता विकास भयो । नन्दको चेतना खुल्न थाल्यो । विचारहरू शान्त भए । प्रज्ञा जाग्यो । चार आर्य सत्य र अष्टांगिक मार्गको बोध भयो । उनलाई सताउने दुःख र क्लेशहरू मेटिए । समताको भाव उदय भयो । दुःखीहरूप्रति करुणा जाग्न थाल्यो ।
बज्रयानको आरम्भ
नन्दलाई यौन आशक्तिको अँध्यारो खाडलबाट उद्धार गर्न बुद्धले प्रयोग गर्नुभएको उपायले सम्भवतः बज्रयान सम्प्रदायको मार्ग प्रशस्त गर्‌यो । उपाय कौशल्य बज्रयानको मूल दार्शनिक आधार हो । राग र द्वेषबाट मुक्ति पाउन हरेक उपाय प्रयोग गर्नु खुल्ला रहनु बज्रयान हो । भनिन्छ,
पादलग्नं करस्थेन कण्टकेनैव कण्टकम्,
रागेणैवोद्धरेत् रागम् ।
अर्थात्, पैतालामा बिझेको काँडालाई झिक्न अर्को काँडा उपयोग गरिएजस्तै मनमा भएको रागलाई हटाउन रागकै प्रयोग गर्न सकिन्छ । यही नै बुद्धिमत्ता हो । बज्रयान तन्त्रयान हो । तन्त्र जीवनवादी हुन्छ, जीवनका हर आयामलाई स्वीकार गरेर अगाडि बढ्नु तन्त्रको विशेषता हो ।
कुनै उँचो लक्ष्य बोध हुनु र त्यो लक्ष्य प्राप्तिमा प्रवृत्त हुनु, तल्लीन हुनुमा जति आनन्द अर्थोक केहीमा हुँदैन । बुद्धत्वको भोक महसुस हुनु र कुनै पनि उपायले मनलाई ध्यानमा एकाग्र गर्न सक्नु जीवनको गरिमा हो । यो एकाग्रतामा सुरुदेखि नै आनन्द महसुस हुन्छ । जीवनमा निष्फलता अपराध होइन, निम्नकोटीको लक्ष्य हुनु अपराध हो । उच्चकोटीको लक्ष्य तय गरिएको छ भने निष्फलतामा पनि आनन्द हुन्छ । निम्नकोटीको लक्ष्य छ भने त्यसको प्राप्तिले पनि बेचैनी बढाउँछ ।
तथा तथा प्रवर्तेत यथा न क्षुब्भ्यते मनः
संक्षुब्धे चित्त रत्ने तु सिद्धिं नैव कदाचन ।
अर्थात्, मनले जे जे खोज्छ त्यो पूरा गर्नू । जे गर्दा मनमा कुनै प्रकारको क्षोभ बाँकी रहँदैन त्यो अपनाउनू । मनै क्षुब्ध भयो भने सिद्धि कहिल्यै हुँदैन ।
जेन गुरुहरू भन्ने गर्छन्ः जब भोक लाग्छ म खान्छु, जब थाक्छु म सुत्छु । अतीतको सम्झना र भविष्यको कल्पनाले मनलाई विकृत नबनाई वर्तमान अवस्थामा सहज रूपले बाँच्नु आफैंमा साधना हो । हाम्रो चित्त हामी जहाँ छौं त्यहीँ रहेका बेला ज्ञानोदयको झलक उपलब्ध हुन्छ । देख्दा देख्ने मात्रै, सुन्दा, सोच्दा र थाहा पाउँदा थाहा पाउने मात्रै अभ्यास हुनु अद्भुत साधना हो । कुनै पनि वाद, सिद्धान्त र दर्शनको चश्माले हेर्दा व्यक्ति वा वस्तु विकृत देखिन्छन्, जस्ताको तस्तै हेर्दा समस्त सृष्टि सुन्दर देखिन्छ । मनमा यही सहजता हुँदा नै सौन्दर्यबोध हुन्छ । यही बोधमा सृजना सम्भव हुन्छ ।
सहजता जीवनको अभिन्न अंग हो । सहज रूपले भोगको आशक्ति त्याग गर्न सकिन्छ । र यही नै अध्यात्म साधनाको आजसम्मको सर्वोत्तम विकास हो । बज्रयानलाई सहजयान पनि भनिन्छ । सहजयानलाई अपनाएको साधकको लक्ष्य त उँचो हुन्छ नै, तर उसले मनका हरेक विचारलाई स्वीकार गर्छ । साधकले विचारको गहिराइसम्म नियाल्छ तर कुनै पनि विचारप्रति आसक्त हुँदैन । यही क्रममा विचार तिरोहित हुन्छन् र साधकले निर्विचार हुनुको अपार आनन्द बोध गर्छ ।
राजकुमार नन्दलाई स्त्री सुखको गहिरो आशक्ति थियो । आफ्नी पत्नीको रूपराशि र तदनुकूल हाउभाउले राजकुमार हायलकायल भइसकेका थिए । बुद्धले आरम्भमा त अनेक उपदेश सुनाएर नन्दको मनको राग हटाउने चेष्टा गर्नुभयो । तर, ज्ञानका कुरा नन्दको दिमागमै पसिरहेका थिएनन् । भोगको अभावमा नन्दको मनको खिन्नता बढ्दै गइरहेको थियो ।
बुद्धले भन्नुभयो- खिन्न हुनुको साटो यथासम्भव उपाय अपनाएर चाहे जपबाट होस्, चाहे शक्तिशाली मन्त्र उच्चारण गरेर, चाहे सुन्दर कहावतको अभ्यास गरेर, आफ्ना लक्ष्य प्राप्तिको लागि अगाडि बढिरहनुपर्छ । यही बुद्धिमानी हो । बुद्धले नन्दको राग हटाउन अर्को रागको प्रयोग गर्नुभयो । बज्रयानको स्रोत बुद्धका कथा र उपदेशमै भेटिन्छ । बज्रयानले बुद्ध दर्शनलाई छोडेको छैन, बज्रयान त बुद्ध दर्शनको विकसित अवस्था हो ।
चेतनाको पर्दा थोरै उघ्रेका व्यक्ति ध्यानमा आकर्षित हुन्छन् र तिनीहरूलाई यही जन्ममै बुद्धत्व प्राप्ति सम्भव छ, त्यो पनि सहज रूपले सम्भव छ । बज्रयानले सहज रूपले सम्भव मार्ग देखाउँछ । यो मार्गले आसलाग्दा साधकलाई सागर पारी पुर्‌याउँछ । बज्रयान मुक्तियान हो ।

बुद्धका नाममा आफ्नै प्रचार

(अन्नपूर्णपोष्टमा फागुन २६ २०७४ मा प्रकाशित)
सिर्फ हंगामा खडा करना मेरा मकसद नहीं
सारी कोशिश है कि ये सूरत बदलनी चाहिए।
– दुष्यन्तकुमार
व्यक्ति, वस्तु या घटनाले समान फ्रिक्वेन्सीमा रहने मानिसलाई प्रभावित गर्छन्। उच्चतर फ्रिक्वेन्सीमा बाँच्न थाल्ने हो भने उल्लिखित कुनै कुराले असर गर्दैनन्। यद्यपि यही समाजमा बाँचेर यही समाजका घटनाक्रमबाट अप्रभावित रहन कतै मुस्किल हुँदो रहेछ। गत शनिबार टुँडिखेलमा आयोजित गौतम बुद्धसम्बन्धी विशाल प्रदर्शनी र त्यसमाथिका प्रतिक्रियाले अनिच्छुक हुँदाहुँदै पनि अनायासै छुन आइपुगे। सो प्रदर्शनीको समीक्षा गर्नु र रचनात्मक पक्ष सुझाउनु सम्बन्धित सबैका लागि हितकर हुने देखिन्छ। बुद्धका नाममा जे जति आवाज र प्रचारबाजी गरियो, त्यो दृश्यले झट्ट दुष्यन्तकुमारको माथिको शायरी याद गराउँछ।
नेत्र आचार्य
नेत्र आचार्य
प्रदर्शनीको भावभंगी हेर्दा आयोजकहरूको उद्देश्य हंगामा खडा गर्नु थिएन, बुद्ध शिक्षाको महत्ता सम्बन्धमा चेतना जगाउनु थियो भनेर विश्वस्त हुन मुस्किल थियो। यद्यपि मित्रस्य चक्षुषा समीक्ष्यामहे अर्थात् मित्रको आँखाले हेरौं भन्ने सुक्तिलाई पछ्याउँदै यो आलेखमा सो प्रदर्शनीको सार्थकता के हुन सक्थ्यो भन्ने विषयमा चर्चा गरिनेछ।
बुद्धको देशमा बुद्धका शिक्षाप्रति जागरण पैदा गर्न विशाल प्रदर्शनी हुनु आफैंमा प्रशंसनीय विषय हो। कार्यक्रम सफल बनाउन आयोजकहरूले निश्चय नै धेरै समय र ऊर्जा लगाएका थिए। आयोजना सफल भएको पनि देखियो। तर यो सफलताले आयोजकबाहेक अरू कसलाई लाभान्वित बनायो भन्ने सवाल महत्वपूर्ण बनेको छ। आयोजकहरूले केही संवेदनशील पक्षमा ध्यान पुर्‍याउन सकेनन्। ती पक्ष औंल्याउनु आवश्यक छ, ताकि भविष्यमा यस्तै कार्यक्रम गर्दा सुविचारित ढंगले सम्पन्न गर्न मद्दत पुगोस्।
बुद्धको जन्मभूमि नेपाल भएको तथ्य र बुद्धको शिक्षा धम्मपद गरिमामय विषय हुन्। महत्वका हिसाबले यी विषय संवेदनशील हुन्। राम्ररी स्थापित भइसकेको तथ्यलाई फेरि पुष्टि गर्न खोज्नु युक्तिसंगत हुँदैन। कतिपय अवस्थामा उही कुरालाई बारम्बार दोहोर्‍याउनु हानिकारक हुन सक्छ। संस्कृत साहित्यमा यसलाई पुनरुक्ति दोष भनिन्छ। यही सन्दर्भमा कुनै कविले लेखेका छन् :
कृतस्य करणं नास्ति मृतस्य मरणं नही।
पिष्टस्य पेषणं नास्ति द्वितीये त्रितयं नही।
अर्थात्, गरिसकेको काम फेरि गरिँदैन, मरिसकेको मानिस फेरि मर्दैन र पिसिएको पिठो फेरि पिसिँदैन। गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने तथ्य दशकौं अघि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित भइसकेको विषय हो। यो स्थापित तथ्यलाई फेरि प्रमाणित गर्न खोज्नु अनर्थकारी काम हो। यो पुनरुक्ति दोष हो र यस्तो कार्यले सम्बन्धित विषयमा अझै केही आशंका बाँकी रहेको या अझै विश्वस्त भइनसकेको अवस्था इंगित गर्छ। बुद्ध नेपालमा जन्मेका हुन् भन्ने तथ्यको गरिमा चेतनाको अलि माथिल्लो स्तरमा अनुभूति गर्न सकिन्छ, जुन स्टन्टबाजीमा विश्वास गर्ने मानसिकताले बुझ्न समेत सकिँदैन।
Image may contain: 2 people, text
बुद्धको जन्मथलो
जनरल खड्गशमशेर सिकार खेल्न जाँदा पहिलोपटक अशोक स्तम्भ देखेका थिए। सन् १८९६ मा जर्मन पुरातŒवविद् डा. एन्टोन फुहररको सहयोगमा अशोक स्तम्भ पहिचान गरियो र त्यस स्तम्भमा प्राचीन लिपिमा ‘हिद बुद्ध जातेति लुम्बिनी ग्रामे’ भन्ने पदावली लेखिएको पाइएपछि बुद्धको जन्मस्थल लुम्बिनी हो भन्ने सुनिश्चित भइसकेको हो। सम्राट् अशोकले राखिछोडेको बुद्ध जन्मभूमि मार्कर स्टोन सन् १९९२–१९९५ को अवधिमा फेला परेको हो। बौद्ध ग्रन्थहरूमा उल्लेख भएअनुसार मायादेवीले नवजात बुद्धलाई पुष्करिणी पोखरीमा नुहाइदिएको प्रसंग आउँछ। त्यो पोखरी, मायादेवी मन्दिर, स्तूपाहरू, बुद्ध जन्म स्मारक मूर्ति, बुद्ध जन्म स्मारक शीला, तत्सदृश आशयका अनगिन्ती कलाकृति र लुम्बिनी गाउँका भग्नावशेषहरू यथेष्ट पुरातात्विक प्रमाण हुन्।
चौथो शताब्दीदेखि सातौं शताब्दीसम्म लुम्बिनी भ्रमण गरेका विभिन्न चिनियाँ भिक्षु एवं यात्रीहरूको विवरणअनुसार पनि लुम्बिनी बुद्धको जन्मभूमि हो भनेर स्थापित भइसकेको छ। तिब्बत, चीन, बर्मा, श्रीलंकाजस्ता जीवित बौद्ध परम्परा भएका मुलुकहरूमा लुम्बिनीलाई बुद्धको जन्मभूमिका रूपमा श्रद्धा एवं वन्दना गर्ने प्रचलन अद्यापि छ।
सन् १९९७ मा अन्तर्राष्ट्रिय संस्था युनेस्कोले लुम्बिनीलाई भगवान् बुद्धको जन्मस्थलका रूपमा विश्व सम्पदा सूचीमा सूचीकृत गरिसकेको छ। यी यावत् तथ्य, प्रमाण र ऐतिहासिक घटनाले सशक्त रूपले स्थापित तथ्यलाई मास प्रदर्शनी गरेर अझ उजागर गर्न खोज्नु भनेको सूर्यको सामु दियो बाल्नुजस्तै हो।
यस्ता गतिविधि बुद्धलाई चिनाउने प्रयत्न होइनन्, बरु आयोजकहरू आफू चिनिन अपनाइएका छद्म कृत्य हुन्। हुन पनि अक्सर मानिसलाई प्रसिद्धिको भोक हुन्छ। ख्याति पाउन या लाइभ लाइटमा आउन मानिसले जे पनि गर्न पछि पर्दैन। संस्कृतमा एउटा कहावत छ :
घटं जिन्याद् पटं जिन्याद् यद्वा राषभ रोहणात्।
येनकेन प्रकारेण प्रसिद्ध पुरुषो भवेत्।
अर्थात्, घैंटो फोर्दै हिँडेर होस् या वस्त्र च्यात्दै हिँडेर होस् अथवा गधामाथि सवार भएर किन नहोस्, जसरी पनि मानिस प्रसिद्ध होओस्। टुँडिखेलको प्रदर्शनी सम्भवतः यस्तै मनोविज्ञानबाट प्रेरित भएको हुनुपर्छ। बुद्धका नाममा आफ्नै प्रचार गर्ने प्रपञ्च गरिनु र त्यो आशय उदांग हुनु शोभनीय होइन।
धम्मपद वाचन
मानिसहरूको ठूलो भेलाले एकसाथ गौतम बुद्धको शिक्षा धम्मपद वाचन गरेर विश्वकीर्तिमान कायम गर्न खोज्नु पनि दोषपूर्ण देखिन्छ। किनभने यो कार्यले बुद्धका शिक्षाको मर्मलाई एक थोपा पनि हेक्का राख्दैन। बुद्धका शिक्षाको मर्म शील पालना गर्दै ध्यानको अभ्यास बढाएर प्रज्ञालाभ गरी आफू दुःखबाट मुक्त हुनु र करुणावान् भएर सबैलाई निर्वाणको बाटो देखाउनु हो। यति महत्वपूर्ण र गम्भीर विषयलाई सम्बोधन गर्ने तौरतरिका फराकिलो सोचयुक्त हुनुपथ्र्यो। जस्तो, राज्यस्तरबाट सामान्य बौद्ध अभ्यासलाई नेपालभरि जनस्तरमा पुर्‍याउन ठोस कार्ययोजना ल्याउन सकिन्थ्यो। लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राध्यापक नरेशमान बज्राचार्यका अनुसार ‘शील र संयमको महत्व बुझ्दै नबुझेका मानिसले नारा लगाएर बुद्ध शिक्षाप्रति सचेतना बढ्ने सम्भावना देखिँदैन। यसका लागि त सरकारी स्तरबाट सुविचारित कार्ययोजना अगाडि सारिनुपर्छ। बुद्ध शिक्षाको सामान्य ज्ञान र अभ्यास सबै नेपालीलाई उपलब्ध गराउनु महत्वपूर्ण काम हुन सक्छ। बुद्ध शिक्षाप्रति सचेतना जगाउनेजस्तो गम्भीर विषयमा उपलब्धिमूलक र बृहत्तर गतिविधि आयोजना गर्न विलम्ब गर्नु हुँदैन।’
प्राध्यापक बज्राचार्यले लुम्बिनी बौद्ध विश्वविद्यालयले गुरुयोजनामा ‘डोर टु डोर बुद्धिस्ट स्टडिज’ कार्यक्रम अगाडि सारेको उल्लेख गर्दै बरु यस प्रकारका बुद्ध दर्शनलाई जनस्तरसम्म पुर्‍याउने अभियानलाई सबै मिलेर सहयोग गर्नु अधिक फलदायी हुने बताउनुभयो।
धम्मपद भगवान् बुद्धका शिक्षाहरूको सार समेटिएको सुन्दर काव्य हो। आफ्नो जीवनकालमा ४० हजार पुस्तक पढिसकेका आचार्य रजनीशले धम्मपदका बारेमा भनेका थिए, ‘धम्मपद पुस्तकहरूमध्ये एभरेस्टजस्तै छ। हिमाल त जति पनि छन् तर कुनै पनि एभरेस्ट जति उँचा छैनन्।’ बौद्ध विद्वान् भदन्त आनन्द कौसल्यायन धम्मपदको गुरुगरिमाबाट ज्यादै प्रभावित थिए। उनले भनेका छन्, केवल एउटा पुस्तकलाई जीवनभर साथी बनाउने यदि कहिल्यै तपाईंको इच्छा भयो भने विश्वका पुस्तकालयमा धम्मपदभन्दा सुन्दर कृति अर्को फेला पर्न मुस्किल छ।
धम्मपदले जीवन र जगत्लाई बुझ्न सघाउँछ, आफैंलाई बुझ्न सघाउँछ, आफ्ना दुःखहरू बुझ्न सघाउँछ। एकपटक हामीले आफ्ना दुःखहरू बुझ्न सक्यौं भने हामी ती दुःखबाट सधैंका लागि मुक्त हुन सक्छौं। बुद्धको यति अनमोल शिक्षाहरू बीच बजारमा होहल्लासाथ प्रदर्शन गर्न प्रयोग हुनु शोभनीय होइन। बौद्ध अनुयायीहरूले दैनिक पाठ गर्ने यो ग्रन्थको महत्तालाई बुझ्ने हो भने ठूला संघसंस्था एवं राज्य स्तरबाट धेरै महत्वपूर्ण काम गर्न सकिन्छ। पहिलो कदम त धम्मपदलाई निःशुल्क या परल मूल्यमा छापेर सबै नेपालीका हातहातमा पुर्‍याउन सकिन्छ। टोलटोलमा ध्यान केन्द्र स्थापना गरेर ध्यानको अभ्यास गराउने र शील पालनाको महत्ता बुझाउने शिविरहरू गर्न सकिन्छ। केही वर्षयता बुद्धको शिक्षा शुद्धसिद्ध परम्पराअनुसार अध्ययन, अध्यापन र अभ्यास गर्दै आएका बौद्ध धर्मसंघहरूलाई सहयोग पुर्‍याउनु महत्वपूर्ण हुन सक्छ।
हामी जुन समाजमा बाँचिरहेका छौं, त्यसको वास्तविक चित्र अकल्पनीय हुँदै गइरहेको छ। समाज विकृतिको चरम सीमा पार गर्दैछ। टोलटोलमा डान्सबार खुलेका छन्। मिनरल वाटरभन्दा विदेशी रक्सी बढी बिक्री हुन्छ। दैनिक हजारौं निर्दोष पशुको हत्या गरेर मानिसहरू हिंसाजन्य आहार खान्छन् र हिंस्रक स्वभाव बढाउँछन्। बाबुनानीहरू होस्टलमा राखिन्छन्, होटलमा जंक फुड खान्छन् र स्वास्थ्य बिग्रिएपछि हस्पिटलमा धाएर जीवन बिताउँछन्। बूढा भएका बाबुआमालाई फोहोरी वृद्धा श्रममा राखिन्छ। जनसंख्याको एक तिहाइ ओगट्ने युवाहरू खाडीलगायत मुलुकमा पसिना बगाइरहेका छन्। गाउँहरू सुनसान भइसके। खेतीयोग्य जमिन या त बाँझै छ या जग्गा दलालको प्लटिङमा। भएका उद्योग कलकारखाना रुग्ण हुँदै मेटिइसके। यो स्थितिमा सहरका भद्रभलाद्मी मिलेर बुद्धका नाममा आफ्नै प्रचार गर्नु कुनै पनि कोणबाट सराहनीय छैन।
शुद्ध आशय
शुद्ध आशय भए धेरै गर्न सकिन्छ। आयोजकहरूले जे गरे, त्यो भई नै सक्यो। आयोजकहरूको शुद्ध आशय बुद्धका शिक्षाहरूको प्रचार गर्ने नै हो भने केही बिग्रेको छैन। अझै महत्वपूर्ण काम गर्न सकिन्छ। सरकारलाई, सम्बन्धित निकायलाई घच्घच्याउनुहोस्, कुनै ठोस कार्यक्रम ल्याउनुहोस्, जसले मानिसहरूमा बुद्धका शिक्षाप्रति आकर्षण बढोस्। बुद्धका शिक्षाहरू सरल नेपाली भाषामा उपलब्ध होऊन् र ती ग्रन्थमा सबै नेपालीको पहुँच होस्। दूरदराजका बस्तीहरूमा धम्मपद र बुद्धका अन्य शिक्षाहरू पुगून्। नेपाल बौद्ध अध्ययनको केन्द्र होस्। नेपालमा विशिष्ट बौद्ध विद्वान् र गहिरो ध्यान बस्ने भिक्षु एवं साधकहरू पैदा होऊन्। सयौं साधक सम्यक सम्बोधि प्राप्त गरेर बुद्ध बन्न सकून्। त्यस्तो वातावरण बन्न सक्यो भने बल्ल हामीले बुद्ध नेपालमा जन्मेका हुन् भनेर गर्व गर्ने ठाउँ रहनेछ।
अर्को एउटा महत्वपूर्ण काम, महायान बौद्ध साहित्य संस्कृत भाषामा लेखिएको छ र ती संस्कृत ग्रन्थहरू पढ्ने र पढाउने परम्परा झन्डै झन्डै लोप नै भइसक्यो। ती ग्रन्थ अध्ययन परम्परा लोप भएमा समस्त महायान बौद्ध दर्शन लोपोन्मुख हुनेछ। यसलाई बचाउन के गर्न सकिन्छ सोचौं। नेपालमा प्राज्ञिक तहमा बौद्ध दर्शन अध्ययन अध्यापन हुन थालेको दुई दशक हुनै लाग्यो। कुन कुन विश्वविद्यालयमा बौद्ध अध्ययन भइरहेको छ, कुन स्तरमा भइरहेको छ, केकस्ता विद्वान्ले अध्यापन गर्दैछन् र विद्यार्थी बनेर पढ्न आउनेहरू को हुन् ? एउटा सर्भे गर्न आवश्यक भइसकेको छ। यसबाट बौद्ध शिक्षाको अध्ययन मननको स्थिति के छ र अब अगाडि के कस्ता कार्ययोजना ल्याउन आवश्यक छ भन्ने खुल्ने थियो।
नेपालमा बौद्ध दर्शनको अध्ययन, अध्यापन या अभ्यासको यथार्थ स्थिति कस्तो छ ? त्यो थाहा पाएको भए आयोजकहरूले सम्भवतः बुद्ध नेपालमा जन्मेका हुन् भनेर प्रचारबाजी गरिहाल्न हतार गर्दैनथे। लाजमर्दो स्थिति छ, बुद्ध नेपालमा जन्मेका हुन् भन्न। बुद्धका वचनहरू मूल पालि या संस्कृत भाषामा छन्। यी भाषामा बुद्ध वचन पढ्ने र अभ्यास गर्ने व्यक्ति औंलामा गन्न सकिने पनि छैनन्।
लुम्बिनी नजिकै छिमेकी भारतले उसको भूमिमा बौद्ध अध्ययन अध्यापनका लागि सिद्धार्थ विश्वविद्यालय स्थापना गरेको छ। त्यो ठाउँलाई कपिलवस्तु नै भनिँदो रहेछ। झन्डै १२ सय करोडको बजेट उक्त विश्वविद्यालयलाई सरकारले छुट्याएको बताइन्छ। नेपाल सरकारले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई छुट्याएको बजेट १२ करोड पनि छैन। यो बजेटले बौद्ध विश्वविद्यालयले बौद्ध दर्शनको विस्तार गर्न महत्वपूर्ण कार्यक्रम ल्याउन सम्भव भइरहेको छैन। हामीले ध्यान केन्द्रित गर्नुपर्ने ठाउँ यी हुन्। बुद्ध नेपालमै जन्मेका हुन् र हामीले वास्तविक महत्वको विषयमा फोकस गर्ने हो भने हाम्रो जीवन निकै उज्यालो हुने थियो। बुद्धले भनेझैं अप्प दीपो भव, आफू आफ्नै प्रकाश बन्न सक्ने थियौं।
(Published in Annapurna post on 10 March 2018)
netra.acharya@gmail.com

बौद्ध दर्शन र सकारात्मक मनोविज्ञान

(कान्तिपुर कोसेलीः माघ ६, २०७४ मा प्रकाशित)

लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष मेत्तया भन्ते प्रवचनका लागि स्ट्यानफोर्ड युनिभर्सिटी पुग्दा त्यहाँका एक प्रोफेसर धम्मपदको संस्कृत र अंग्रेजी संस्करण पढिरहेका थिए । ती प्रोफेसरले नेपालबाट त्यहाँ पुगेका भन्तेलाई सोधे, तपाईंको देशमा त हरेकको घरमा धम्मपदको पाठ हुन्छ होला है ? भन्ते अवाक् भए, किनभने उनलाई थाहा थियो, धम्मपद नेपालका घरघरमा पाठ हुनु त परको कुरा, राष्ट्रिय पुस्तकालयमा समेत खोज्दा फेला पर्दैन होला । मेत्तया भन्तेले एक अभिनन्दन कार्यक्रममा सुनाएको प्रसंगले बुद्ध जन्मेको देशमा बुद्ध शिक्षा कति छायामा परेको छ भन्ने संकेत गर्छ । 

नेपालमा बुद्ध शिक्षाप्रति अभिरुचि शून्यप्राय: भए पनि पश्चिमी देशहरूमा भने उत्साहजनक रूपले विस्तार हुँदै गएको पाइन्छ । हालैका वर्षहरूमा विकसित मनोविज्ञानको एक विधा ‘सकारात्मक मनोविज्ञान’ को दार्शनिक आधार बुद्धका शिक्षाहरूबाट लिइएको प्रस्ट देखिन्छ । यो लेखमा सकारात्मक मनोविज्ञान कसरी बुद्ध शिक्षाहरूबाट अनुप्रेरित भएको छ र यसबाट कसरी लाभान्वित हुन सकिन्छ भन्ने चर्चा गरिनेछ ।




फ्रेडरिक नित्सेले भनेका थिए, व्यक्तिको पागलपन असामान्य हो तर समाज र देशको पागलपन नियम नै हो । नित्सेको भनाइ अक्षरश: लागू गर्दै पश्चिमा मनोविज्ञान विगत सय वर्ष केवल रोगी, मदौरुहरूको उपचारमा केन्द्रित रह्यो । ठूला विचारक र शोधकर्ताहरूले डिप्रेसन, तनाव, क्रोध, हिस्टेरिया, कुण्ठा, पागलपनजस्ता व्यक्तिगत विचलनहरूमाथि चिन्तन, मनन र अनुसन्धान गरे । उनीहरू यी विषयमा किन केन्द्रित भए भने रोगीको उपचार गरेपछि पैसा आउँथ्यो । पुँजीवादी समाजमा अर्थोपार्जनकै सबभन्दा ठूलो मूल्य हुन्थ्यो । भौतिक रूपले जीवन स्तर माथि उठाउनु र यश आराम गर्नु नै सबैको आकांक्षाको विषय हुन्थ्यो । समयक्रममा यो सोचमा केही परिवर्तन आयो । आर्थिक समृद्धि हासिल गर्नु र निरोग हुनु नै सम्पूर्ण जीवन होइन भन्ने चेतनाले केही मनोवैज्ञानिकलाई फरक रूपले सोच्न बाध्य बनायो । पहिलो पटक अमेरिकन साइकोलोजिकल एसोसिएसनका पूर्व अध्यक्ष मार्टिन सेलिगम्यानले व्यक्तिका सकारात्मक भावना र मनोविज्ञानलाई निकै लामो समय उपेक्षा गरिएको देखे । उनले भने, रोगमुक्त हुने ध्याउन्नमा हामी बढी नै एकोहोरो भएछौं, जीवनलाई बाँच्नलायक बनाउनका लागि सकारात्मक भावनाहरूको अध्ययन हुनुपर्छ, तिनलाई कसरी परिपोषित गर्ने भन्ने विधामा अध्ययन अनुसन्धान हुनुपर्छ ।

सेलिगम्यानलाई त्यसप्रकारको ज्ञानोदय बगैंचामा आफ्नी पाँच वर्षकी छोरीसँग टहलिइरहेको बेला भएको थियो । छोरीले अनेक हर्कत गरेर बाबाको ध्यान आफूतिर आकर्षित गर्ने प्रयत्न गरिरहेकी थिइन् । तर सेलिगम्यानले ‘चुप लाग’ भनेर उनलाई हकारे । छोरी उदास भइन् र भनिन्, ‘बाबा, म तीन, चार वर्षकी हुँदा कसरी रोएर, चिच्याएर दु:ख दिन्थें, तपाईं सम्झनुहुन्छ ? अचेल मैले त्यस्तो गर्न छोडिदिएँ । मैले पाँच वर्ष पुगेपछि त्यसो नगर्ने निर्णय गर्न सक्छु भने तपाईं पनि बडबडाउन छोडिदिन सक्नुहुन्छ ।’ छोरीको यो कुराले सेलिगम्यान झल्याँस्स भए, मानो निद्राबाट जागेजस्तो । मनमा खेल्ने विचार र भावनाका सकारात्मक पक्षलाई विकसित गर्नु नकारात्मक पक्ष सुधार्ने धन्दामा एकोहोरो लागिरहनुभन्दा अधिक महत्त्वपूर्ण हो । सेलिगम्यानले भनेका छन्, हामीले आफू र बालबालिकालाई मनका सकारात्मक विचार र भावनाहरूमा ध्यान दिनु अधिक महत्त्वपूर्ण हो, नराम्रा विचार, भावना र कमजोरीहरू कोटयाइरहनु उपयोगी होइन भन्ने सिकाउनुपर्छ ।

पश्चिमा विद्वान् र अनुसन्धाताहरूले सेलिगम्यानको सकारात्मक सोच मनोविज्ञानको क्षेत्रमा युगान्तकारी हो भन्ने पत्तो पाइहाले । त्यसपछि यस विषयमा विशद अध्ययन, चिन्तन, मनन र अनुसन्धान हुन थाल्यो । सकारात्मक मनोविज्ञान अहिले जल्दोबल्दो बनेर अगाडि आएको छ, संसारभरका विश्वविद्यालयहरूमा यसको अध्ययन, अध्यापन भइरहेको छ । यो मनोविज्ञानले कसरी व्यक्तिको जीवनमा खुसी, आनन्द र आल्हादलाई बढोत्तरी गर्न सकिन्छ भन्ने अध्ययन र अनुसन्धानहरू गर्छ । यसमा व्यक्तिका सामाजिक सम्बन्धहरूजस्तो पति–पत्नीबीचको प्रेम, परिवार, साथीभाइ र सामाजिक संघ संगठनहरूसँगको सौहार्द सम्बन्धले व्यक्तिको जीवनमा खुसी र आनन्द भर्ने गरेको विभिन्न अध्ययनमार्फत पुष्टि गरिएको छ । सकारात्मक मनोवेत्ताहरूले जीवनलाई अधिक गरिमामय, सुन्दर र आनन्दित बनाउन आपसी सम्बन्धहरूलाई कसिलो बनाउन र सबैप्रति प्रेम र सहयोगको भावना राख्न सुझाउँछन् ।

बौद्ध दर्शनमा शान्ति र आनन्दका लागि आपसी र सामाजिक सम्बन्धको सौहार्दता विकसित गर्ने अभ्यास धेरै पहिलेदेखि गरिँदै आएको छ । बौद्ध दर्शनको अभ्यास सतही नभएर भित्रैदेखि बुझिएको र अपनाइएको विषय हो । बुद्धले पहिलो, दोस्रो, तेस्रो र चौथो तहको ध्यानको अवस्थामा मनको अलत गहिराइमा चियाएर त्यहाँ वास्तवमा के छ भनी खोजी गरेका थिए । यसरी मनका तहतह केलाएर यसको स्वभाव पहिल्याउनु बुद्धको खोजीको महत्त्वपूर्ण पक्ष हो । यही खोजीका क्रममा दु:ख, दु:खको कारण, दु:ख मुक्तिका सम्भावना र उपाय बुद्धले फेला पारेका थिए ।

यो ज्ञानोदयपश्चात् करिब छब्बीस सय वर्षअघि बुद्धले भनेका थिए, प्रभास्वरमिदं चित्तं प्रकृत्यागन्तवो मला । तेषामपाये सर्वार्थं तज्ज्योतिरविनश्वरम् । यसको अर्थ
हो : मानिसको मन स्वभावैले उज्यालो, सकारात्मक, शान्त र आनन्दित हुन्छ । बाहिरी समाज, वातावरण र पुराना संस्कारका कारण मनमा लोभ, रिस र बेहोसी प्रवेश गर्छन् । बाहिरबाट पसेका दोषहरूलाई मनमा स्थान नदिने र मनका प्राकृतिक गुणहरूलाई परिपोषित गर्न ध्यान, मैत्री र करुणाको अभ्यास गर्ने हो भने अपार शान्ति र हरक्षण नवीन आनन्द स्वस्फूर्त रूपमा अनुभूति हुन्छन् ।

भनिन्छ, ज्ञानोदय भएपछि बुद्ध अपार आनन्दमा मग्न हुँदै पीपलको वृक्षमुनि बसिरहेका थिए । उनले ज्ञान पाएको खबर सबैतिर फैलियो । नजिकैको गाउँबाट गाउँलेहरू त्यहाँ आए र उनलाई सोधे, तपाईंलाई ज्ञान प्राप्त भयो भन्ने सुनिन्छ । खासमा तपाईंलाई के प्राप्त भएको हो ? बुद्धले भने, मलाई त्यस्तो केही प्राप्त भएको होइन । बरु मैले धेरै कुरा गुमाएँ । मनमा आएर बसेका राग, द्वेष, मोहजस्ता नकारात्मक गुणहरू बिलाएर गए । मैले प्राप्त गरेको शान्ति, मैत्री र करुणा त पहिल्यैदेखि, जन्मदैदेखि मेरो मनमा थिए । मैले यी गुणहरूलाई मनमा देखेँ । यी गुणहरूलाई अझ गाढा बनाउन म ध्यानमा डुब्छु, प्रेम र करुणाको अभ्यास गर्छु ।

बुद्धले यी गुणहरू आफ्नो मनमा मात्रै फेला पारेका होइनन् । ठीक यिनै गुणहरू उनले हरेक व्यक्तिमा, हरेक प्राणीमा समेत देख्न थाले । उनले भने, सत्त्वा बुद्धा एवकिन्तु आगन्तुक मलावृता: । तेषामपकर्षणात् सत्त्वा: बुद्धा एव नसंशय: । अर्थात् सबै मानिस र प्राणीहरू बुद्ध नै हुन् । तर बाहिरबाट आएका आगन्तुक दोषहरूले उनीहरूको बुद्ध स्वभाव छोपिएको छ । दोषहरूबाट मन हटाएर गुणहरूमा ध्यानस्थ हुने हो भने सबैले आफ्नो बुद्ध स्वभाव देख्न सक्छन् । सकारात्मक मनोविज्ञानको गहकिलो आधार योभन्दा प्रभावी अर्थोक फेला पार्न नसकिएला । तर पश्चिमा मनोवैज्ञानिकहरूले उक्त मनोविज्ञानको आधारको रूपमा बुद्ध दर्शनलाई एक रत्ती पनि ‘क्रेडिट’ दिएका छैनन् ।
बौद्ध दर्शन संसारभरिका विश्वविद्यालयमा आधिकारिक रूपमै पढाइन थालेको सय वर्ष नाघिसक्यो । अत: सकारात्मक मनोविज्ञानका प्रणेताहरूले बुद्धको दर्शन नपढेको वा थाहा नपाएको हुन सक्दैन । तर उनीहरूले कतै पनि यो मनोविज्ञानको आधार बुद्धको दर्शन हो भनेर उल्लेख नगर्नु रहस्यमय छ । यो अलग्गै खोज र अनुसन्धानको विषय हुन सक्छ । तर ध्यानको अभ्यासले कसरी मानिसमा सकारात्मक भावनाहरू विस्तार हुन्छन् भन्ने खोजहरू व्यापक रूपमा भइरहेका छन् ।

डा. रिचार्ड डेभिडसनले ध्यानको अभ्यास गरिरहेका भिक्षुहरूको मस्तिष्कको वैज्ञानिक प्रयोगशालामा अध्ययन गरेका थिए । उनले ध्यानस्थ हुँदा व्यक्तिको मनबाट भय र क्रोधजस्ता भावना शान्त हुँदै या हराउँदै गएको पाए । एक ठूला साधक ध्यानको अभ्यास गरिरहेका बेलाउनको मस्तिष्कका खुसी र सकारात्मक भावनाहरूसँग सम्बन्धित क्षेत्रमा व्यापक गतिविधि भइरहेको देखे । बौद्ध ध्यान पद्धतिमा मुख्य रूपमा आउने विपश्यना ध्यान र मैत्री एवं करुणा ध्यानले अभ्यासकर्तामा खुसी र आनन्दको विस्तार भएको वैज्ञानिक प्रयोगशालामा गरिएका सबै प्रयोगहरूमा देखियो । प्रयोगशालाहरूमा यी कुरा अहिले प्रमाणित भए तर बौद्ध ध्यान साधकहरूले शताब्दियौंदेखि मैत्री र करुणाको अभ्यासले जीवनमा सबभन्दा धेरै शान्ति र आनन्द दिन्छ भन्ने अनुभूति गर्दै आएका छन् । मैत्री र करुणाको अभ्यास गर्नुलाई बौद्ध दर्शनका अनुयायी र पारखीहरूले बोधीसत्त्व चर्या भन्छन् ।

सकारात्मक मनोविज्ञानका ज्ञाताहरूले व्यक्तिगत र पारिवारिक, सामाजिक सम्बन्धहरूमा सौहार्दता विकसित गर्न सके खुसी र आनन्द विस्तार हुन्छ त भने । यो कुरा सैद्धान्तिक रूपमा सही भए पनि व्यक्तिले व्यवहारमा उतार्न सकेको पाइँदैन । किनभने, वर्तमान समयमा पढ्न पाइने र सुझाव पाइने कुराहरू अनगिन्ती हुन्छन् । मानिसको मनको गहिराइसम्म ती सुझावहरू पुग्न सक्दैनन् । बुद्धले बाहिरबाट पाएको ज्ञानको सीमा देखेका थिए । उनले भनेका थिए, सुनेको ज्ञान अर्थात् श्रुतमयी प्रज्ञालाई चिन्तनमनन गरेर परिष्कार गर्नुपर्छ र ध्यानको अभ्यासमार्फत अनुभूति गर्नुपर्छ । यसप्रकार ज्ञान भावनामयी प्रज्ञा बन्छ जसले व्यक्तिलाई भित्रैदेखि रूपान्तरण गरिदिन्छ, भित्रैदेखि मैत्रीभावयुक्त र करुणावान् बनाइदिन्छ । जति करुणाको भावना विकसित हुन्छ उति आनन्दको अनुभूति हुन्छ । सकारात्मक मनोविज्ञानले बौद्ध दर्शनबाट धेरै कुरा ग्रहण गर्न बाँकी छ । बुद्धत्व र बोधीसत्त्वचर्यालाई सही रूपमा बुझ्न सके सकारात्मक मनोविज्ञान अधिक प्रभावी हुन सक्छ र यसबाट सबै लाभान्वित हुन सक्छन् ।
netra.acharya@gmail.com

Saturday, August 12, 2017

Tantric Meditation

                            तान्त्रिक ध्यानको अभ्यास





नेत्र आचार्य

तान्त्रिक ध्यानका विधिहरुप्रति वर्तमान समयमा मानिसहरुको आकर्षण बढ्दै गएको पाइन्छ । तान्त्रिक विधिहरुका आफ्नै विशेषता हुन्छन् । तन्त्रको मूलभूत मान्यता जीवनका सबै पक्षहरुलाई स्वीकार गर्नु हो । घर परिवार र जागिर पेशा सम्हालेर पनि ध्यानको अभ्यासप्रति रुचि र उत्सुकता भएका सबैका निम्ति तन्त्र साधनाको विकास भएको हो । भोगश्च मोक्षश्च करस्थ एव अर्थात् कुशल व्यक्तिका लागि संसारको भोग र मोक्ष सुख एकसाथ उपलब्ध हुन सक्छ भन्ने उदात्त अवधारणामा तान्त्रिक ध्यानविधिहरु आधारित हुन्छन् । तन्त्र साधनामा उपलब्ध यावत् वस्तु, व्यक्ति र परिस्थितिको उपयोग आध्यात्मिक चेतना जागृत गराउनका लागि गरिन्छ । 

मानव जीवन र जगतका सबै आयामलाई ती जस्ता छन् त्यस्तै रुपमा तन्त्र शास्त्रले स्वीकार गर्दछ । तान्त्रिक ध्यानले साधकको सम्पूर्ण दृष्टि रुपान्तरण गरिदिन्छ, वरिपरिका पुस्तक, टेबुल, कुर्सी या कोठाका भित्ताहरुमा समेत जीवन भरिदिन्छ । तन्त्रको आविष्कार र विकास समकालीन सभ्यता र समयको मागलाई सम्बोधन गर्न भएको हो । सबै कुरामा जस्तै साधनाका विधिहरुमा पनि गति, नवीनता र विकास हुँदै जानु स्वाभाविक पनि हो । विचार र स्वार्थहरुको ठेलमठेल बढ्दै गएको परिस्थितिमा होसयुक्त, शान्त र आल्हादपूर्ण जीवन बिताउन चाहने सबैका लागि तान्त्रिक ध्यान उपयोगी हुन सक्छ ।

गोपनीयता

सन्त कबीरले कतै भनेका छन्, ‘हीरा पायो गाँठ गठियायो बारबार क्यों खेले ।’ उनको आशय थियो, बहुमूल्य वस्तु पाउने व्यक्तिले देखाउँदै हिंड्दैन । देखाउँदै हिंड्नु प्रदर्शनप्रियता हो र यसो गर्नु आफ्नो योग्यतामा विश्वास नहुनुको लक्षण हो । वास्तविक सम्पत्तिले मानिसलाई समृद्ध बनाउँछ, छिचरो बनाउँदैन । तान्त्रिक अभ्यासलाई गोपनीय राखिने मुख्य कारण अदीक्षित व्यक्तिले यी अभ्यासको सदुपयोग गर्न सक्दैनन् भनेर हो । दीक्षित हुनु महत्वपूर्ण हुन्छ । स्वयंभित्रको बुद्धत्वको बीजलाई अंकुरित गर्न दीक्षा आवश्यक हुन्छ । 

शिवले पार्वतीलाई भनेका थिए, ‘अदीक्षिता ये कूर्वन्ति जपपूजादिका क्रिया, न भवन्ति प्रिये तेषां शीलायां न्यस्तबीजवत् ।’ अर्थात् अदीक्षित व्यक्तिले जति नै जप, पूजा आदि गरे पनि ढुंगामा बीऊ छरेजस्तै हुन्छ, फलीभूत हुँदैन । हाम्रा गुरु प्रो नरेशमान बज्राचार्यले पनि अभ्यासको गोपनीयता कायम राख्न भन्नुभएको हो । यद्यपि उहाँकै अनुमतिमा विधिहरु उल्लेख नगरी तान्त्रिक ध्यानका लाभहरु मात्रै यो आलेखमा उजागर गरिने छ । पाठकहरुलाई दीक्षित भएरै तान्त्रिक ध्यानको अभ्यास गर्न रुचि जगाओस् भन्ने पंक्तिकारको आशय हो ।

गुरु योग

हिन्दू परम्परामा कुण्डलिनी ध्यान, जैन परम्परामा प्रेक्ष्या ध्यान र थेरवादी बौद्ध परम्परामा विपश्यना ध्यान प्रख्यात भएजस्तै बज्रयानी बौद्ध परम्परामा गुरु योग प्रख्यात छ । बज्रयान प्रवेशका लागि गुरु योग प्रवेश द्वार जस्तै हो । गुरु योग तान्त्रिक ध्यान विधि हो तर यसलाई तान्त्रिक पनि भनिंदैन, ध्यान विधि पनि भनिंदैन । यसलाई त रत्नमण्डल समर्पण भनेर अभ्यास गरिन्छ । रत्नमण्डल समर्पणलाई तिब्बती लामाहरुले पश्चिमा शिष्यहरुलाई अभ्यास गराउँदा ‘मण्डला अफरिङ’ भन्छन् । तान्त्रिक अभ्यासको विशिष्टता र यसका अद्भुत लाभहरु बुझेपछि शिष्यले कल्पना गर्न सकिने सम्मको सबभन्दा ठूलो उपहार गुरुलाई समर्पण गर्छ । त्यति ठूलो उपहार समस्त ब्रह्माण्ड नै हुनसक्छ, अरु केही पर्याप्त हुँदैन । आँखाले र मनले ठम्याउन सकिनेसम्मको यो विशाल शून्यता, महाद्वीप, महासागर, हिमालय, चन्द्रसूर्य सहित सबै प्रकारका रत्नहरु भरिएको सुगन्धमय पृथ्वी गुरुलाई समर्पण गरेर तान्त्रिक अभ्यास आरम्भ हुन्छ । पञ्चमहाभूतले बनेको समस्त ब्रह्माण्ड, सौर्यमण्डल, पृथ्वी र चन्द्रसूर्यसँग व्यक्तिको जीवन अन्योन्याश्रित रुपले सम्बन्धित हुन्छ । सबै समर्पण गर्नु भनेको अस्तित्वसँग पृथकता अन्त्य गर्नु र एकाकार हुनु हो ।
तान्त्रिक अभ्यासमा गुरुको अर्थ अलि व्यापक हुन्छ । बुद्ध, धर्म र संघ मुख्य गुरु हुन् । चेतनशील मानिसका रुपमा जन्म लिन सहयोग गरेका बाबुआमा गुरु हुन् । तान्त्रिक अभ्यासमा दीक्षित गराउने माध्यम बनेका व्यक्ति गुरु हुन् । तान्त्रिक अभ्यासको परम स्रोत एउटै हो, विभिन्न व्यक्तिलाई माध्यम बनाएर परम्परा चलिरहन्छ, स्रोत बहिरहन्छ । सबभन्दा मुख्य गुरु त हरेक व्यक्तिको आफ्नै मन हो । 

पद्मसम्भवले गुरु शब्दको अर्थ तीन तहमा बुझ्नुपर्ने बताएका थिए, बाह्य, आन्तरिक र प्रच्छन्न । बाह्य गुरु तान्त्रिक अभ्यासमा डोर्‍याउने व्यक्ति हुन सक्छन्, आन्तरिक गुरु जुन इष्टदेवलाई आराध्य बनाइएको छ ती इदम् हुन सक्छन् र प्रच्छन्न गुरु त अभ्यासकर्ता व्यक्ति स्वयंको मन हो । यही मन बुद्धू भएर जीवनभर आयातीत विचारहरुको पछि दौडिरहेको हुन्छ । यही मन बुद्ध भएर निर्वाणको सुख अनुभूति गर्न सक्छ । मनको बुद्ध स्वभाव चिन्न सक्षम बनाउनु तान्त्रिक अभ्यासको ध्येय हो ।

ध्यानको अभ्यास

ध्यानको अभ्यासको ध्येय चित्तको निर्मल, प्राकृतिक या स्वाभाविक अवस्था प्राप्त गर्नु हो । चित्त विशुद्धिसँगै चित्त स्वाभाविक अवस्थामा फर्कन्छ । चित्त विशुद्धिका लागि देह विशुद्धि पहिलो शर्त हो ।

योगामृतेक रसपान विशुद्धिचित्तं, पीठादिदेश गमनेन विशुद्धिदेहम् ।

अर्थात् चित्त विशुद्धिका लागि योगको अभ्यासबाट प्राप्त अमृत रस पिउनुपर्छ । त्यसभन्दा पहिला देह विशुद्धिका लागि पीठहरुको तीर्थाटन र आराधना गर्नुपर्छ । चित्त विशुद्धिका लागि गरिने योगाभ्यास नै ध्यान हो । तान्त्रिक ध्यानको अभ्यास बहुआयामिक हुन्छ । अभ्यासको क्रममा एउटा कल्पनातीत परिदृश्य निर्माण गरिन्छ जसमा रङ्ग भरिन्छ, वर्ण तय गरिन्छ, आकार दिइन्छ, सुगन्ध थपिन्छ र एक अभूतपूर्व भावभूमि तयार गरिन्छ । यी सबै उपक्रमहरु मार्फत इन्द्रियहरुलाई पूर्णतया इङ्गेज गराइन्छ । 

साधना गहिरिंदै जाँदा अभ्यासकर्ता जहाँ बसेको छ त्यहाँ बसेको हुँदैन, जसको ध्यान गरिरहेको हुन्छ त्यो इष्टदेव त्यहाँ हुँदैन, जेजस्ता विधिहरु अनुसरण गरिरहेको हुन्छ ती विधि त्यहाँ हुँदैनन् । समयक्रममा एक क्षण यस्तो आउँछ जसमा अनायासै शून्यताको बोध हुन्छ र अहङ्कार पूर्ण रुपले गल्छ । अहङ्कार गलेसँगै रुपान्तरण घटित भइसकेको हुन्छ । ध्याता, ध्येय र ध्यान एकाकार भइसकेको हुन्छ । अभ्यासकर्ता रुपान्तरित भइसकेको हुन्छ । संसार र निर्वाण भिन्न प्रतीत हुँदैनन्, संसार नै निर्वाण स्वरुप भइसकेको हुन्छ । यही अवस्थालाई बौद्ध दर्शनमा अद्वय अवस्था भनिन्छ ।

अद्वय ज्ञान

बौद्ध परम्पराका अभ्यासहरुको वैशिष्ट्य के हो भने ध्यानले ज्ञानोदय गराउँछ र ज्ञानले ध्यानलाई गहिरो बनाउँछ । हिन्दू परम्परामा भने ध्यानको अभ्यासलाई समान महत्व दिएको देखिंदैन । वेदान्तीहरु भन्छन्, ब्रह्मविद् ब्रह्मैव भवति अर्थात् ब्रह्मलाई जान्ने व्यक्ति ब्रह्म नै हुन्छ । ज्ञानले मुक्ति दिन्छ, कुनै अभ्यासको जरुरत पर्दैन । बुद्धले यो वेदान्ती मान्यतालाई अधुरो, अपुरो देख्नुभयो र भन्नुभयो नत्थि झानं अपञ्ञस्य नत्थि पञ्ञां अझायत अर्थात् प्रज्ञा नभए ध्यान लाग्दैन, ध्यान नगर्नेको प्रज्ञा पुष्ट हुँदैन । बुद्धको दृष्टि साङ्गोपाङ्ग प्रतीत हुन्छ ।
तान्त्रिक ध्यानमा खासगरी गुरुयोगको अभ्यासले जीवन र जगतको अद्वय ज्ञान अनुभूति गराउँछ । जीवन र जगत् भिन्न होइन, एउटै हो भन्ने बोध गराउँछ । बौद्ध तन्त्रअनुसार चित्तले जब अद्वय ज्ञान साक्षात्कार गर्छ, तब चित्त नै संसार हो र चित्त नै निर्वाण हो भन्ने रहस्य बोध हुन्छ । 

वासनायुक्त चित्त हजारौं विचारहरुको घना जंगलमा अलमलिइरहेको हुन्छ, हराइरहेको हुन्छ । यस्तो अवस्थामा चित्त बिजुलीजस्तै चञ्चल हुन्छ । चित्तमा राग एवं द्वेष जस्ता दुर्गुणहरु टाँसिएका हुन्छन् । यस्तो चित्त हुनु नै संसार हो । बौद्ध तान्त्रिक अनङ्गबज्रले भनेका छन्, यही चित्त जब प्रकाशमान हुन्छ, विचारहरु स्थिर हुन्छन्, रागद्वेषहरु विलीन हुन्छन् र चित्त ग्राह्य एवं ग्राहक भावबाट मुक्त हुन्छ, भावातीत हुन्छ या अद्वय ज्ञानयुक्त हुन्छ तब यही चित्त निर्वाण हुन्छ । यसप्रकार चित्त विशुद्धि, अद्वय ज्ञान र निर्वाण क्रमशः फलित हुन्छन् ।

व्यावहारिक प्रयोग

तान्त्रिक ध्यानको अभ्यासको व्यावहारिक उपयोग बृहत्तर छ । गुरु नरेशमान बज्राचार्यका अनुसार ‘तान्त्रिक अभ्यास एक प्रकारले मनको प्रशिक्षण हो । अन्य अवस्थामा व्यर्थका विचार र काममा अल्मलिइरहने मनलाई साधनामार्फत प्रशिक्षित गरिएपछि मन एकाग्र हुन्छ । मनको एकाग्रता अन्ततः ध्यानमा रुपान्तरित हुन्छ ।’ ध्यानले मनलाई शुद्ध बनाउँछ । मन शुद्ध हुनु नै व्यक्ति बुद्ध हुनु हो । बुद्धत्व अनुभूतिसँगै साधकमा अभेद दृष्टि विकसित हुन्छ । जब व्यक्तिले जीवन र जगत्लाई भिन्न देख्दैन उसमा जगत्का समस्त वस्तुप्रति नैसर्गिक प्रेम पैदा हुन्छ । 

सडक या टोलको सरसफाइ तान्त्रिक अभ्यासकर्ताका लागि आफ्नै शरीरको सरसफाइ जत्तिकै आवश्यक र महत्वपूर्ण हुन्छ । उसले समस्त प्रकृतिलाई आफ्नो ठान्छ र प्रेम गर्छ, वातावरणसँग आफ्नो अभिन्नता बोध गर्छ र वातावरणलाई प्रेम गर्छ । सबै दुःखी मानिसप्रति करुणायुक्त हुन्छ र उनीहरुलाई दुःखबाट मुक्त गर्न हर तरहले प्रयत्न गर्छ ।

मिति २८ साउन २०७४ मा नागरिक दैनिकमा प्रकाशित ।
http://nagarikplus.nagariknews.com/epaper/src/epaper.php?id=3109#page/8