Monday, April 30, 2012

सन्त कबीरको विशेष प्रवचन


सन्त कबीरले एक पटक एउटा विशेष प्रवचन दिँदै थिए । एउटा उर्दी जारी गरिएको थियो : प्रवचनमा यस्तो उपाय बताइने छ जसको प्रयोग गर्दा खाने बेला थालमा झिंगा बस्नेछैन । कबीरले यो प्रवचन सुन्न आउनेले रु. पचासको टिकट काट्नु पर्ने बन्दोबस्त गरेका थिए । मानिसहरू अचम्म मान्दै थिए । प्रवचन सधैं निशुल्क हुन्थ्यो । यसपालि उनीहरूलाई टिकट किन्न भनिएको थियो । गर्मीको बेला जति सरसफाइ गरे पनि थालमा झिंगा बसेर हैरान पाथ्र्यो । पक्कै कबीरले कुनै अनौठो उपाय बताउँछन् होला भन्ठानेर सबैले टिकट किने । प्रवचन शुरु भयो । कबीरले सधैंजस्तै साम्प्रदायिकता होइन, सेवा नै धर्म हो भन्ने विषयमा बोले र प्रवचन टुंग्याए । मानिसहरू कतिखेर कबीरले थालमा झिंगा नबस्ने उपाय बताउलान् भनेर पर्खिरहेका थिए । होहल्ला हुन थाल्यो । कबीरले सबैलाई शान्त रहन आग्रह गरे र भने, 'उपाय अत्यन्त सजिलो छ, खाने बेलामा देब्र्रे हातले झिंगा धपाउनुहोला । थालमा झिंगा बस्नै पाउँदैन ।' 'अरे, त्यो त कुनै नयाँ कुरा भएन, धपाएपछि थालमा झिंगा बस्दैन भन्ने त हामीलाई पनि थाहा छ नि, यत्ति भन्नलाई पचास रुपैयाँको टिकट भिडाउनु सुहाउने कुरा होइन' मानिसहरू कराउन थाले । 'कबीरले भने, 'तपाईंहरूलाई यो उपाय थाहा छ भन्ने मैले पनि बुझेको छु । तर तपाईंहरूले त्यति सजिलो उपाय गरिराख्नुभएको छैन । टिकट किनाएको केवल तपाईंहरू आफूले जानेको कुरा गर्नुहोस् भन्नलाई हो । सेवा नै धर्म हो भन्ने तपाईंहरूले जान्नुभएको छ, यही कुरा प्रवचनमा सुन्न आउन आवश्यक छैन । यथाशक्य सेवाको भावनाले काम गर्न थाल्नुहोला । मैले भन्न खोजेको यत्ति हो ।' 


No comments: