Friday, June 08, 2012

पुस्तक मेरा सहयात्री


मैले पढेको पहिलो किताब तनहूँका सागर श्रेष्ठ 'पिया'को कुनै पुस्तक थियो । अत्यन्त सरल र पद्यमय भाषामा लेखिएको त्यो सानो पुस्तकमा ज्ञान सर्वोत्तम आनन्द हो भन्ने सन्देश थियो । त्यो पुस्तिक पढेर मैले कति ज्ञान पाएँ, पाइन याद रहेन तर त्यो पुस्तिका जति दोहोर्‍याएर पढ्दा पनि आनन्द आएको मलाई सम्झना छ । सायद त्यही आनन्दले होला मैले अन्य पुस्तक खोजेर पढ्न थालें ।


विस्तारै पढ्ने बानी बसेपछि मैले विद्यालय जीवनमै म्याक्सिम गोर्की, एन्टोन चेखबलगायतका  कृति पढें । ४६ सालताका अग्रज दाजुहरूले गाउँमा खोलेको गोप्य पुस्तकालयबाट मलाई ती पुस्तक प्राप्त भएका थिए । ती पुस्तकले मेरो गाउँबाहिरको छुट्टै संसारको बारेमा मलाई अवगत गराए र मैले झन् धेरै पुस्तक खोजेर पढ्न थालें ।

मामाघर र सदरमुकाम जाँदा केही न केही किताब घर ल्याउँथें । सुरूमा देवकोटा, सम, पारिजातलगायत मोदनाथ प्रश्रति, रमेश विकल, किशोर पहाडी, सीता पाण्डेहरूको साहित्य खुब पढियो । सङ्ग्रौलाले विकलको कथाकारितामाथि लेखेको जबर्जस्त समालोचना पढेपछि भने नेपाली कथा साहित्य नै फिका लाग्न थाल्यो । 'औंल्याउनका लागि कुनै आदर्श छैन, लड्नको लागि कुनै महान् लक्ष्य छैन, पाठक छेउ प्रस्तुत गरिने जागरणकारी सन्देश कलाकारसँग छैन भने उसको कलाको सामाजिक महत्व नै रह्यो के -' मैले विकल र विस्तारै प्रश्रति पनि पढ्न छोडिदिएँ । क्याम्पस जीवनको आरम्भताका दौलतविक्रम विष्ट, विपी कोइराला, शङ्कर लामिछानेका विचार प्रधान कृति पढे । चपाइएका अनुहारहरू, हिटलर र यहुदी, एब्स्ट्रयाक्ट चिन्तन : प्याज, गोधुली संसार आदि खुब मन परे ।

क्रमशः प्रेमचन्द, शरच्चन्द्र, निर्मल वर्मा आदिका कथा, उपन्यास पढ्न थालेपछि नेपाली साहित्यसँगकै मेरो सहयात्रा पातलियो । शरच्चन्द्रको शेष प्रश्नकी नायिका कमललाई म कहिल्यै बिर्सन सक्तिन । जीवनलाई औधी माया गर्ने तर उत्तिकै अनासक्त त्यो नायिकालाई देखेर नायक भन्छ, 'मनलाई यत्तिको निर्विकार पारिसकेकी छौ, संसारमा कसैको विरुद्ध तिमीलाई कुनै गुनासो छैन ।' कमल भन्छे, 'जुन कुरा छैन त्यसलाई किन नभएको होला भनेर आँखाबाट आँसु काढ्नमा मलाई शरम लाग्दछ ।'
      कुनै दिन यात्रामा संयोगले समको स्वास्नीमान्छे पढ्दा त्यसले पुस्तकसगको सहयात्रामै नयाँ मोड ल्याइदियो । त्यो अनौठो नाटकमा समले आफैंलाई पात्र बनाएका छन् । पहाडको गुफाभित्र कुनै काल्पनिक दुनियामा अमृत बनाउने कारखानाको मालिकले उनको परिचय सोध्दा उनी म नेपाली साहित्यकार हुँ भन्छन् । कसले पढ्छ तिम्रो साहित्य भन्ने प्रश्नको जवाफमा सम भन्छन्, 'संस्कृत र अङ्ग्रेजी साहित्यको आकाशमा जसको गति छैन तिनले मेरो साहित्य पढ्छन् ।'

      समको जवाफले मलाई झसङ्ग बनायो । मैले संस्कृत र अङ्ग्रेजी भाषामा लेखिएका कृति पढ्न सक्दिनथें, भाषा कठिन लाग्ने हुँदा । मलाई समको त्यो कृतिले आफ्नो धरातलको बोध गराइदियो । त्यतिखेर म स्नातक तहमा भर्ना हुने तरखरमा थिएँ ।अङ्ग्रेजी कमजोर भए पनि मैले प्रवेश परीक्षा मेहनत गरेर पास गरेँ र अङ्ग्रेजी साहित्य विषय राखेर स्नातकमा भर्ना भएँ । पढ्नै पर्ने बाध्यता भएपछि अङ्ग्रेजी सुध्रिएला भन्ने मेरो विश्वास थियो । साहित्यमा रुचि भएको हुँदा अङ्ग्रेजी राम्रो बनाउन धेरै टाउको दुखाउन परेन । मैले डिएच लरेन्स, बाइरन, सेर्भेन्टस्, दोस्तोयब्स्की, टोल्सटोय, काफ्का, क्यामु, इट्स, किट्स, इलियट, स्टेभन वालेस, डाइलन टोमसका कृति पढिरहँदा अङ्ग्रेजी पढाउने गुरु देवी गौतम भन्नुहुन्थ्यो, 'अङ्ग्रेजी भाषामा यति उत्कृष्ट साहित्य छ, त्यो नपढी मर्ने मानिस ठूलै अभागी हो ।' ती लेखकका कृति पहिलो पटक पढ्दाका दिन मस्त थिए ।

      अङ्ग्रेजीका साथसाथै मैले संस्कृत साहित्य पनि पढ्न थालेको थिएँ । संस्कृत भाषा प्रशिक्षण उत्तीर्ण गरेर म संस्कृत विद्यापीठमा बिहानमा भर्ना भएँ । कालिदास, भारवी, दण्डी, माघलगायत महाकविका अभिज्ञान शाकुन्तलम्, किरातार्जुनीयम्, कादम्बरी, नैषधीय चरितम्जस्ता महाकाव्य र आख्यान् संस्कृत भाषामै पढ्दा लाग्यो, योभन्दा सर्वोत्कृष्ट साहित्य अरु कहाँ छ, ख्वै - मैले आजपर्यन्त फेला पारेको छैन । कुनै यक्षले बिछोडिएकी आफ्नी नवबधुलाई मेघदूतमार्फ सन्देश पठाउँछ, 'तिमीलाई सम्झेर बसिरहेको ढुङ्गामा त्रि्रो आकृति कोरेर आलिङ्गन गर्न खोज्छु, तर आँखामा आँसु भरिन्छ, म तिमीलाई देख्नै सक्तिन, पत्थरमा पनि हाम्रो मिलन देख्नै नचाहने विधाता कति निर्दयी ।' संस्कृत साहित्य सबै कवितामा हुन्थ्यो, त्यो पनि कर्णकटु अक्षर वर्जित ।

      जति सुन्दर भए पनि मृत भाषामा दरिइसकेको संस्कृत साहित्यको रसास्वादनलाई एक दिन मैले पनि विराम दिएँ । अब साहित्य नै पढे पनि लर्तरो साहित्यतिर आँखै नजाने भइसकेको थियो । विस्तारै दर्शनका कृतिहरूतिर मन तानियो, खलिल ज्रि्रान, रजनीश, मार्क्स, हेगेल, स्पिनोजा, शोपेनहावर, नित्से पढ्न मन पर्न थाल्यो । जिब्रानको दि प्रोफेटका केही वाक्यहरूमै ठूला साहित्यका ठेली पढिसक्दा पाइने स्वाद पाउँथें म । त्यो पुस्तक नेपालीमा अनुवाद गर्ने जोश पनि आयो । त्यो अनुवाद 'गुरु' प्रकाशित भइसकेको छ । तर रजनीशले प्रोफेट नित्सेको दस स्पेक जराथुस्त्रको प्रतिध्वनिमात्र हो भनेको पढेपछि नित्सेको कृति खोज्न म तीन वर्षपुस्तक पसल चाहार्दै भौंतारिएँ । फेलापार्दा हीरा पाएझैं लाग्यो । जराथुस्त्र साँच्चै हीरा नै रहेछ । नित्सेका कृतिहरूमा म आकषिर्त हुँदै गएँ र स्नातकोत्तरको थेसिस जराथुस्त्रमै गरें ।

      पुस्तकसँगको मेरो सहयात्रामा जोरबा द ग्रीक पढेपछि नयाँ मोड आएको छ । जोरबा पढ्दैन तर काम कति एकचित्त भएर गर्छ भने एकपटक ऊ कुमाले हुन्छ, भाँडा बनाउँदै गर्दा बारम्बार बूढी औंलाले घुमिरहेको भांडा छोएर दाग लगाइदिँदा झोंकमा उसले अचानोमा राखेर औला च्वाट्ट छिनाइदिन्छ । भांडा राम्रा बने, ला गएकोमा उसलाई कहिल्यै सुर्ता भएन । उसका धेरै प्रेमिका हुन्छन् । सबैले उसलाई औधी मन पराउँछन् । कारण, ऊ कसैसँग बसिरहँदा उसको दिमाखमा अन्य कोही हुँदैन । प्रेमिकाहरूले उसलाई पूर्ण रूपमा आफ्नो साथमा पाउँछन् । जोरबाको काम र सम्बन्धप्रतिको लगाव मलाई अध्ययन जत्तिकै र अझ बढी स्तुत्य लागिरहेको छ ।


नयाँ पत्रिका ११ साउन २०६५ (२६ जुलाई २००८)मा प्रकाशित


https://dl.dropbox.com/u/74437393/how%20i%20developed%20reading%20habit.doc



Tuesday, June 05, 2012

साक्षी चेतनाका कुरा




हेर्ने साक्षी चेतना र खाने शरीर जड अलग हुन्छ । यो बोध हुन सकेमा जीवनमा गुणात्मक परिवर्तन आउँछ । साक्षी भावको अभ्यास गर्न सकिन्छ । व्यस्त क्षणमा टक्क अडिएर स्थितिलाई हेर्नुहोस् मानिसहरु, गाडीहरु, लमतन्न परेको सडक र पसलहरुको अन्तहीन शृंखला । यो सबै हेरिरहँदा प्रतिक्रियाविहीन, निश्चेष्ट रहनुहोस् । मूल्यांकन नगर्नुहोस् । प्रियअप्रियको भाव त्यागिदिनुहोस् । केवल  हेर्नुहोस्  । साक्षी भावले । कर्ता वा भोक्ता भावले होइन । अहा कति राम्रो, छ्या कस्तो घिनलाग्दो, यस्तो मूल्यांकनले आसक्ति बढाउँछ । एकदम अनासक्त रहनुहोस् । साक्षीभाव घनीभूत हुँदै जाँदा चेतनाको ज्योति प्रकट हुन थाल्छ, मनका पत्रहरु खुल्दै जान्छन्, मुक्त, निस्संग स्व-अस्तित्वको बोध हुन थाल्छ ।

खुट्टामा घाउ लागे मलाई घाउ भयो भन्न छोडेर खुट्टामा घाउ भयो भनौं । शरीर जड हो चेतना साक्षी हो । यति कुरा बारम्बार हेक्का राखौं । दुख र सुख दुवैमा अप्रभावित बनिरहौं । दुवै क्षणमा शरीरसँग तादात्म्य नराख्नाले भोक्ताभाव, कर्ता भाव हराउँछ ।

रामकृष्ण परमहंस, पतञ्जलि, बुद्धलाई पनि भोक लाग्थ्यो । उनीहरुले मलाई भोक लाग्यो कहिल्यै भनेनन् । भन्थे शरीर भोकायो । हामी भन्छौं मलाई भोक लाग्यो । शरीरसँग कुनै दूरी नराखी बाँच्ने हुँदा हामीलाई दुखले सताउँछ, सुखको उत्तेजनाले मत्याउँछ ।

शरीरसँग बाँधिइरहन किन पर्यो - शरीर तपाईं रहने सुन्दर घर हो । यसको उचित हेरचाह गर्नुहोस् । तर आफूलाई शरीर नै हुँ भन्ने नठान्नुहोस् । मन पनि प्यारो छ । मनको पनि उपयोग गर्नुहोस् । मनको पनि आवश्यकता छ । हृदय त झन् प्यारो छ । हृदयका सुमधुर भावनाहरुसँग पनि बाँच्नुहोस् । केवल यति हेक्का राख्नुहोस ‍ म साक्षी हुँ । जसलाई म साक्षी हुँ भन्ने सतत स्मरण भइरहन्छ उसलाई परम चेतना उपलब्ध हुन्छ ।

हामी त बोध गर्ने चेतना हौं । सबै भोक शरीरको हो ।

शरीरसँग कुनै दूरी नराखी बाँचेका छौं । त्यसैले गर्दा आफ्नो दुख आफैंले बेसाएका छौं । शरीरले दुख भोगेको पनि हेरौं, सुख भोगेको पनि हेरौं । साक्षी हाम्रो वास्तविक स्वरुप हो । यसरी हर्ेर्ने अभ्यास फलीभूत हुँदाका दिन दुखको पनि मजा लिन सक्नेछौं ।

हामी त यहाँ पर्यटक पो हौं । हेर्न आएको । सबैसँग मैत्री भाव राखौं, मिलेर बाँचौं, मस्ती गरौं, रमाऔं । भटका पंछी भूल न जाना ये जग तेरा नहीं ठिकाना ।

तपाइँ केवल साक्षी हुनुहुन्छ । साक्षी तपाइँको स्वरुप हो । तपाइँ कर्ता पनि होइन - काम त शरीरले गरिराखेको छ । तपाइँ विचारक पनि होइन - विचार त मनद्वारा भइरहेका छन् । तपाइँ भावुक पनि होइन - हृदयबाट भावना जाग्छन् । तपाइँ त केवल साक्षी हुनुहुन्छ - कृत्यहरुको, विचारहरुको र भावहरुको । यी तपाइँका तीन अभिव्यक्ति हुन् । यी तीनै प्रकारका अभिव्यक्ति देख्ने साक्षीलाई फेला पार्नुहोस् । यही जीवनको सर्वोतम प्राप्ति हुनेछ ।

जसले तपाइँका उल्लिखित तीन प्रकारका अभिव्यक्ति हरदम देखिरहन्छ त्यो स्व-चेतनामा हरपल टिकीरहनु साक्षी भाव हो । हामी चाहन्छौं यो भावमा टिकिरहौं तर बाहिर भागिरहने मन र भित्र दबेका इच्छाआकांक्षा एवं वासनाहरुले हामीलाई बगाइहाल्छन् । अतः ध्यानको अभ्यासले मनका संस्कारहरु मेटाउन आवश्यक हुन्छ । बुद्धले भनेका छन् पुराना संस्कार नाश भएपछि र साक्षी चेतनामा टिकिरहने अभ्यास भएपछि नयाँ संस्कार उत्पन्न हुँदैनन् । तब भवचक्र अर्थात् दुखचक्रको अन्त्य हुन्छ ।

कोहावर चित्रमा सुहागरातको दृश्य छ यद्यपि मास्तिर साक्षी चेतनाको प्रतीक चन्द्र सूर्यका रुपमा चराका रुपमा अंकित छ । यसको भाव हुन्छ कर्म गरौं तर त्यसमा असंग रहौं  निर्लिप्त रहौं । तस्वीर स्रोत : Mithila Art Institute http://orias.berkeley.edu/Mithila/ImagesMithila.htm