Tuesday, June 05, 2012

साक्षी चेतनाका कुरा




हेर्ने साक्षी चेतना र खाने शरीर जड अलग हुन्छ । यो बोध हुन सकेमा जीवनमा गुणात्मक परिवर्तन आउँछ । साक्षी भावको अभ्यास गर्न सकिन्छ । व्यस्त क्षणमा टक्क अडिएर स्थितिलाई हेर्नुहोस् मानिसहरु, गाडीहरु, लमतन्न परेको सडक र पसलहरुको अन्तहीन शृंखला । यो सबै हेरिरहँदा प्रतिक्रियाविहीन, निश्चेष्ट रहनुहोस् । मूल्यांकन नगर्नुहोस् । प्रियअप्रियको भाव त्यागिदिनुहोस् । केवल  हेर्नुहोस्  । साक्षी भावले । कर्ता वा भोक्ता भावले होइन । अहा कति राम्रो, छ्या कस्तो घिनलाग्दो, यस्तो मूल्यांकनले आसक्ति बढाउँछ । एकदम अनासक्त रहनुहोस् । साक्षीभाव घनीभूत हुँदै जाँदा चेतनाको ज्योति प्रकट हुन थाल्छ, मनका पत्रहरु खुल्दै जान्छन्, मुक्त, निस्संग स्व-अस्तित्वको बोध हुन थाल्छ ।

खुट्टामा घाउ लागे मलाई घाउ भयो भन्न छोडेर खुट्टामा घाउ भयो भनौं । शरीर जड हो चेतना साक्षी हो । यति कुरा बारम्बार हेक्का राखौं । दुख र सुख दुवैमा अप्रभावित बनिरहौं । दुवै क्षणमा शरीरसँग तादात्म्य नराख्नाले भोक्ताभाव, कर्ता भाव हराउँछ ।

रामकृष्ण परमहंस, पतञ्जलि, बुद्धलाई पनि भोक लाग्थ्यो । उनीहरुले मलाई भोक लाग्यो कहिल्यै भनेनन् । भन्थे शरीर भोकायो । हामी भन्छौं मलाई भोक लाग्यो । शरीरसँग कुनै दूरी नराखी बाँच्ने हुँदा हामीलाई दुखले सताउँछ, सुखको उत्तेजनाले मत्याउँछ ।

शरीरसँग बाँधिइरहन किन पर्यो - शरीर तपाईं रहने सुन्दर घर हो । यसको उचित हेरचाह गर्नुहोस् । तर आफूलाई शरीर नै हुँ भन्ने नठान्नुहोस् । मन पनि प्यारो छ । मनको पनि उपयोग गर्नुहोस् । मनको पनि आवश्यकता छ । हृदय त झन् प्यारो छ । हृदयका सुमधुर भावनाहरुसँग पनि बाँच्नुहोस् । केवल यति हेक्का राख्नुहोस ‍ म साक्षी हुँ । जसलाई म साक्षी हुँ भन्ने सतत स्मरण भइरहन्छ उसलाई परम चेतना उपलब्ध हुन्छ ।

हामी त बोध गर्ने चेतना हौं । सबै भोक शरीरको हो ।

शरीरसँग कुनै दूरी नराखी बाँचेका छौं । त्यसैले गर्दा आफ्नो दुख आफैंले बेसाएका छौं । शरीरले दुख भोगेको पनि हेरौं, सुख भोगेको पनि हेरौं । साक्षी हाम्रो वास्तविक स्वरुप हो । यसरी हर्ेर्ने अभ्यास फलीभूत हुँदाका दिन दुखको पनि मजा लिन सक्नेछौं ।

हामी त यहाँ पर्यटक पो हौं । हेर्न आएको । सबैसँग मैत्री भाव राखौं, मिलेर बाँचौं, मस्ती गरौं, रमाऔं । भटका पंछी भूल न जाना ये जग तेरा नहीं ठिकाना ।

तपाइँ केवल साक्षी हुनुहुन्छ । साक्षी तपाइँको स्वरुप हो । तपाइँ कर्ता पनि होइन - काम त शरीरले गरिराखेको छ । तपाइँ विचारक पनि होइन - विचार त मनद्वारा भइरहेका छन् । तपाइँ भावुक पनि होइन - हृदयबाट भावना जाग्छन् । तपाइँ त केवल साक्षी हुनुहुन्छ - कृत्यहरुको, विचारहरुको र भावहरुको । यी तपाइँका तीन अभिव्यक्ति हुन् । यी तीनै प्रकारका अभिव्यक्ति देख्ने साक्षीलाई फेला पार्नुहोस् । यही जीवनको सर्वोतम प्राप्ति हुनेछ ।

जसले तपाइँका उल्लिखित तीन प्रकारका अभिव्यक्ति हरदम देखिरहन्छ त्यो स्व-चेतनामा हरपल टिकीरहनु साक्षी भाव हो । हामी चाहन्छौं यो भावमा टिकिरहौं तर बाहिर भागिरहने मन र भित्र दबेका इच्छाआकांक्षा एवं वासनाहरुले हामीलाई बगाइहाल्छन् । अतः ध्यानको अभ्यासले मनका संस्कारहरु मेटाउन आवश्यक हुन्छ । बुद्धले भनेका छन् पुराना संस्कार नाश भएपछि र साक्षी चेतनामा टिकिरहने अभ्यास भएपछि नयाँ संस्कार उत्पन्न हुँदैनन् । तब भवचक्र अर्थात् दुखचक्रको अन्त्य हुन्छ ।

कोहावर चित्रमा सुहागरातको दृश्य छ यद्यपि मास्तिर साक्षी चेतनाको प्रतीक चन्द्र सूर्यका रुपमा चराका रुपमा अंकित छ । यसको भाव हुन्छ कर्म गरौं तर त्यसमा असंग रहौं  निर्लिप्त रहौं । तस्वीर स्रोत : Mithila Art Institute http://orias.berkeley.edu/Mithila/ImagesMithila.htm

No comments: