Saturday, September 29, 2012

अरविन्दो आश्रममा एक दिन

                                                                                                                                           – नेत्र आचार्य

पचास–साठी गाई लहरै बाँधिएको गोठमा पस्दा गोबरको हल्का सुगन्ध महसुस भयो । घाँसपातलाई मेसिनमा पेलेर मसिनो बनाएपछि त्यसमा आश्रममै बनाएको दाना मिसाइयो र गाईहरुलाई खान दिइयो । पुष्ट गाईहरुका रहरलाग्दा फाँचा भरिभराउ दूधले भरिभराउ देखिन्थे । दैनिक चार सय लिटर ‘अग्र्यानिक’ दूध उत्पादन हुँदोरहेछ । हामी मास्तिर उक्लियौं ।

माथ्लो तलामा घरेलु प्रविधिबाट पस्मिनाका च्यादर तयार हुँदै रहेछन् । बाहिर बरण्डामा स्थायी रंगहरु पगालेर धागोलाई रंगाइँदै थियो । उत्पादित च्यादरहरु विभिन्न देशबाट माग हुँदोरहेछ । स्कूल भवनमा छिर्यौं । खाली समयमा बाबुनानीहरु तोते बोली बोल्दै लुकामारी खेल्दै छन् । भव्य पुस्तकालय, दराजमा श्री अरविन्दोका योगसम्बन्धी ग्रन्थहरु लहरै सजाइएको । छेवैको कोठामा थाङ्का बनाइँदै रहेछ । बुद्धको सौम्य मुहारमा हेर्दाहेर्दै शान्ति, प्रेम र करुणा पोतियो । कलाकारले गहन सन्तोषको सास फेरे । नजिकैको हनुमान मन्दिरमा फूल चढाएर हामी ध्यान स्थलतिर लाग्यौं ।

ध्यान हल अलग्गै भवनमा रहेछ । त्यहाँको मौनता यति सघन थियो मानो एकै छिनलाई मनमा विचारको कोलाहल समाप्त भयो । स्थिरता, चैन र समरसताको गहन अनुभूति भयो । हामीलाई आश्रम देखाउँदै गरेकी लक्ष्मी घिमिरेले माथ्लो तलामा जान संकेत गरिन् । रंगमञ्च । लक्ष्मीजीको भरत नाट्यम्को साधना स्थल । चेन्नइबाट आर्ट एण्ड आर्किटेक्टमा ग्रयाजुएसन गरेकी उनले राष्ट्रिय नाचघरमा एकल नृत्य प्रदर्शन गरिसकेकी रहिछन् ।

भान्छाघर । आश्रमका दुई सय साधक र विद्यार्थीले एकसाथ भोजन गर्न मिल्ने फराकिलो हल । जता हेरे पनि बालक, तन्नेरी र वृद्धवृद्धा सबैले आ–आफ्नो क्षमता र योग्यताअनुसारको काम गरिरहेका । तरकारी केलाउने, चामल निफन्ने, मकै भुत्ल्याउने, लुगा धुने, सरसफाइ, अध्ययन–अध्यापन, पूजा–पाठ, खेलकुद । उसिनेका मकै दहीसँग खाँदैगरेकी दुर्गाजीले भान्छाबाटै भोक लाग्यो कि भनी सोधिन् । हामी आश्रमका परिकल्पनाकार रामचन्द्र दासलाई भेट्न गयौं ।

दासको परिकल्पना : काम र रामको फ्युजन

हाम्रा सामु रामचन्द्र दासको सरलता, गाम्भीर्य र ओज प्रभावी थियो । जीवनको अर्थ खोज्दै पण्डिचेरी स्थित श्री अरविन्दो आश्रममा पुगी एक दशक बिताएपछि उनी चन्द्रमणि भुसालबाट रामचन्द्र दास बने । उनको आन्तरिक शान्तिको प्यास मेटिएको थियो । स्वदेशमै केही गरौं भन्ने संकल्प लिई बीस वर्ष पहिला फर्किए, तर स्वदेशको स्थिति सन्तोषजनक थिएन । आधुनिकताको प्रभावले बढ्दो गरिबी, छिन्नभिन्न परिवार र बालबालिकाको दुर्गति । उनले कम्तीमा बालबालिकाको कल्याण गर्ने संकल्प लिई थानकोटमा श्री अरविन्दो योग मन्दिरको स्थापना गरे । कालक्रममा कैयौं प्रौढहरुले पनि आश्रममा आश्रय लिए । आश्रमकै आम्दानी र सबैको सहयोगले अग्ला भवनहरु बने, गौशाला बन्यो, जैविक खेती प्रणाली सुरु गरियो र स्कूल सञ्चालन भयो ।
कहीँ पुग्दा मानिसमा कल्पनाशीलता, सृजनशीलता, उज्वल भविष्यको परिकल्पना,  आशावाद, काम र जीवनप्रति प्रेम अझै बचेखुचेको देख्न पाउनु सन्तोष र सौभाग्य हो । आम रुपमा आजभोलि मानिसहरु जीवनप्रति निराश छन्, अँध्यारो भविष्य कल्पेर हताश छन्, काममा कत्ति लगाव छैन, परिश्रममा विश्वास छैन, नेता वा अरु कसैले विकास ल्याइदिएन र जीवन बर्बाद भयो भन्ने सोच हावी छ । आश्रममा बिल्कुलै भिन्न दृश्य देख्न पाइयो । सबैले आ–आफ्नो काम गरिराखेका थिए, चेहरामा प्रसन्नता थियो, काममा लगन थियो, भविष्यप्रति निश्चिन्तता थियो ।

यस्तो लाग्थ्यो, आश्रमको परिवेशमा अध्यात्म र भौतिकता फरक–फरक कुरा हुन् भन्ने धारणा मेटिँदै थियो । आजसम्मको आम मान्यता त यही छ : अध्यात्म भनेको योग, ध्यान, सन्यास, एकान्तवास, जीवनबाट विरक्ति । र भौतिकता भनेको जागिर, घर, गाडी, कामकाज, दौडधूप, तनाव वा मोजमस्ती, असन्तोष वा ऐशआराम । लाग्थ्यो, आश्रमको जीवनचर्या देख्दा अध्यात्म र भौतिकताबीचको सीमारेखा मेटिंदै छ, विपरीत मानिएका दुई खालका जीवनपद्धतिबीच मानौ फ्युजन हुँदै छ ।

यस्तो कसरी सम्भव भइराखेको थियो त ? हाम्रो जिज्ञासा क्रमशः शान्त भयो । एउटा मूल मन्त्र सबैको जिब्रोमै झुण्डिएको रहेछ : ‘समग्र जीवन योग हो ।’ एकाध आधारभूत दृष्टिकोण परिवर्तन गरेर जीवनलाई योगमय बनाउन सकिन्छ । उही काम प्रेम र ध्यानपूर्वक गर्दा अध्यात्मबोध हुन्छ । काम र रामको फ्युजन हुन्छ । आदर्श भनौं वा दृष्टिकोण यत्ति हो । र, यो आदर्शमा बाँच्न सिकाउन बालकलाई जति सजिलो अरुलाई हुँदैन । त्यसैले पहिला विद्यालय खोलियो । रामचन्द्र दासले भने, ‘समय लाग्न सक्छ तर, बाल्यकालमै यो आदर्शमा दीक्षित गराउन सके उनीहरुले आजीवन दिव्यताको अनुभूति गरिरहन सक्छन्, मातृभूमिको कल्याणका लागि योग्य जनशक्ति तयार हुन सक्छ ।’

आफू नरहे पनि मातृभूमिलाई माया गर्ने पुस्ता तयार गरेर विदा हुने सुष्ठु संकल्प । हुन पनि, सभ्य र विकसित विश्वका सामु हाम्रो मातृभूमिको अवस्था दयनीय छ । आज नेपाल आमाको दोहोलो काढिएको छ । हामी आम मानिसहरु भने रमिते भएर बसिराखेका छौं । कोही व्यक्ति आमाको छातीमा चढेर उन्मत्त भएको देख्दा उनको छोरो हेरेर बस्न सक्दैन । हातमा औजार हुने औजार लिएर दौडन्छ, कलम हुने कलम लिएर दौडन्छ, शस्त्र हुने त्यही लिएर दौडन्छ, साथमा केही नहुने आवाज लिएर दौडन्छ, तर हेरेर बस्दैन । रामचन्द्रदास अरविन्दोबाट प्राप्त ज्ञान र कर्मको फ्युजनको धारणालाई उपयोग गरेर मातृभूमिको सेवामा जुटेका देखिन्छन् ।

श्री अरविन्दोको योग–दर्शन

दासलाई यो संकल्पमा प्रेरणा र आत्मबल दिने श्री अरविन्दोको योग दर्शन नै हो । जीवन र योगलाई भिन्न नदेख्ने दृष्टि । धर्म सजाएर राख्ने आदर्श मात्र होइन, योग दुई घण्टा उछलकुद गर्ने कसरत मात्र होइन, अध्यात्म दर्शन जानेर–मानेर बस्ने जजमानी मात्रै होइन, यी त जीवनका अधिकतम सम्भावनाहरुमा बाँच्ने पद्धति हुन् । मानव उ¬िद्वकास रोकिएको छैन । यही मान्यताका साथ मानवका अनन्त सम्भाव्यताहरु पहिल्याउन अग्रसर छ अरविन्दो योग ।

फ्रेडरिक नित्सेको परिकल्पना थियो : जसरी बाँदरबाट विकसित भएर मानवको उत्पत्ति भएको थियो त्यसैगरी मानव विकसित हुँदै महामानव हुनेछ ।

श्री अरविन्दोको परिकल्पना अझ अगाडि छ । उनी भन्छन् : उद्विकास रोकिएको छैन । विवेक नै अन्तिम शब्द होइन, विवेकी प्राणी नै प्रकृतिको सर्वोत्कृष्ट प्राणी होइन । जनवारहरुको बीचबाट मानिस प्रकट भएझैं मानव जाति विकसित हुँदै महामानव हुनेछन् ।

बोधिसत्वले सबैको दुख मुक्ति नभएसम्म निर्वाणको अवस्थामा प्रवेश नगर्ने संकल्प गर्छन् । बौद्ध दर्शनमा एक–एक गर्दै हरेक व्यक्तिले मुक्ति पाउने परिकल्पना थियो । वर्तमान युगमा हामीलाई चाहिएको व्यक्ति–व्यक्तिको रुपान्तरण हैन, समाजको रुपान्तरण हो । तर पूर्वीय दर्शनमै समाजको एकसाथ रुपान्तरणको अवधारणाको अभाव देखिन्छ । श्री अरविन्दोले ‘पूर्ण योग’ को अवधारणा विकसित गरे । पूर्ण योग रुपान्तरणको योग हो जहाँ समस्त चेतना र प्रकृति माथिदेखि तलसम्म एकसाथ रुपान्तरण हुन्छ । यस्तो रुपान्तरण हरेक मानिस दिव्य प्रभाव र दिशा अपनाउन पूर्णतया ग्रहणशील र तम्तयार नभएसम्म सम्भव हुँदैन ।
यसका निम्ति श्री अरविन्दोले ‘लाइफ डिभाइन’ अर्थात् दिव्य जीवनको परिकल्पना गरे । व्यक्ति, वस्तु वा कामलाई यो आध्यात्मिक र त्यो भौतिक, यो वन्दनीय र त्यो त्यज्य, यो प्रिय र त्यो अप्रिय भनी भेददृष्टि नराखी समग्र जीवन र यसका गतिविधिमा दिव्यता देख्न सक्नु प्राथमिक चरण हो । यही अभ्यासका क्रममा व्यक्ति रुपान्तरणलाई आत्मसात गर्न सक्षम हुन्छ ।

जीवनलाई अनन्य प्रेम गर्ने पण्डिचेरीका प्रसिद्ध सन्त एवं दार्शनिक श्री अरविन्दोले समग्र जीवनलाई योगमा रुपान्तरण गराउने व्यवस्थित प्रणाली विकसित गरेका छन् । कर्मयोगी अरविन्दो भन्छन् ः अरुले देशलाई जंगल, पहाड, मैदान र नदीनाला सम्झन्छन्, म देशलाई आफ्नी आमा मान्छु । उनको पूजा गर्छु, मातृभक्तिमा जस्तो जीवनको आनन्द मैले अरु कुरामा भेटेको छैन ।

हरेक व्यक्तिले आफूमा यही स्तरको मातृभूमि प्रेम विकसित गर्न सकून् भन्ने अरविन्दो योगको अभीष्ट हो । यो सदिच्छा मनमा जागृत हुँदा यसले साकार रुप लिन असम्भव पनि छैन । केवल हामीले आफ्नो वास्तविक क्षमताको पहिचान गर्नु आवश्यक छ । हाम्रो वास्तविक शत्रु हामीबाहिरको कुनै शक्ति होइन । हाम्रो आफ्नै रोइलो, कमजोरी, कायरता र स्वार्थीपना, हाम्रो पाखण्ड र अन्यौलग्रस्त  ‘सेन्टिमेन्टालिटी’ नै हाम्रा मुख्य शत्रु हुन् ।

जीवनका अनन्त सम्भावना पहिल्याउने महनीय व्यक्तित्व श्री अरविन्दोप्रति भावविभोर हुँदै विख्यात कवि रवीन्द्रनाथ ठाकुरले लेखेका छन्, ‘धेरै पहिला अरविन्दोमा यौवनको उत्ताल ऊर्जासहितको नायकीय व्यक्तित्व देख्दा मैले गाएको थिएँ : ‘अरविन्दो, रवीन्द्रनाथको नमन स्वीकार गर ।’ आज मैले उनलाई प्रज्ञाको प्रशान्ततामा देखेँ र मौन भाषामा भनेँ : अरविन्दो, रवीन्द्रनाथको नमन स्वीकार गर ।’

साँझपख श्री अरविन्दो योग आश्रमबाट फर्कंदा यस्तो लागिरहेको थियो : नेपाल एउटा सुन्दर बगैंचा हो, हामी सबै माली । मालीहरुलाई आफ्नो बगैंचाको महत्ता, सौन्दर्य र गरिमा बोध भएका दिन यसको कायापलट हुन समय लाग्नेछैन । बुद्धको देश, सगरमाथाको देश समृद्धिको देशमा रुपान्तरित हुन सक्छ । यही सुदूर भविष्यका निम्ति सस्याना बालबालिकालाई दीक्षित गरिरहेका रामचन्द्र दासको कर्मयोगलाई सलाम ।


Sunday, September 23, 2012

सर्जकको आराधना


नेत्र आचार्य

डच कलाकार विन्सेन्ट भ्यान गगको प्रसिद्ध चित्र ‘द स्टारी नाइट’ मा भुइँ झार र सिरुका पातहरु आकाशमा टिमटिमाएका ताराभन्दा माथिसम्म फैलिएका छन् । कतिपयले असम्भव र अतिशयोक्तिपूर्ण भने । कलाकारको आशय थियो, आम मानिसका उत्ताल आकांक्षाहरुको सगर चुम्ने अभीप्सा दर्शाउनु । मानिसको मनको उडान योभन्दा सुन्दर र सटीक ढंगले सायदै व्यक्त गर्न सकिएला । कलाकारको रुपमा उनी आम सर्वसाधारणभन्दा के कुरामा भिन्न थिए भने आफू बाँचेको समयलाई पढ्न सक्थे, आफ्ना इन्द्रियजन्य आवेगलाई अतिक्रमण गरेर त्योभन्दा परको शान्ति, स्थिरता र प्रेमको अनुभूति गर्न सक्थे । सातामा तीन दिन खाना खान्थे । आफन्तले दिने गरेको आयस्ताले सधैं खान पुग्दैनथ्यो । कमाउनका निम्ति समय निकाल्न सक्दैनथे, उनलाई त घुँडा धसेर चित्र कोर्दै फुर्सद हुँदैनथ्यो । २१ सयभन्दा अधिक प्रसिद्ध कलाकृतिका सर्जक उनले बाल्यकालबाटै कलाको आराधना थालेका थिए ।

भ्यान गगको भावदशा विचित्रकै थियो । जीवनभर बिहे गरेनन् । एक पटक उनी वेश्यालय गएका थिए । त्यहाँकी सुन्दरीको खुब प्रशंसा गरे । सुन्दरीले पनि उनको प्रशंसा गर्न खोजी । तर, भ्यान गग कुरुप थिए । सुन्दरी अलमलिई : यी मान्छेको के चाहिँ प्रशंसा गर्नु । आखिरमा उसले भनी, ‘तिम्रा कान निकै राम्रा छन् ।’ भोलिपल्ट भ्यान गगले एउटा कान काटेर त्यो सुन्दरीलाई पठाइदिए । ‘तिमीले मन परायौ, त्यसैले मेरो एउटा कान तिमीलाई उपहार !’

कलाको आराधना र तदनन्तर भावदशाको परिपाकका सम्बन्धमा पप संगीत सम्राट माइकल ज्याक्सनको अनुभूति पनि उस्तै उल्लेख्य छ । पाँच वर्षको कलिलो उमेरदेखि संगीतमा होमिएका उनले हजारौं–लाखौं श्रोतालाई एकसाथ आन्दोलित पार्न सक्ने गीतहरु स्टेजबाट गाए । एक पटक ओस्कार पुरुस्कार समारोहमा उनले भनेका थिए, ‘मैले कहिल्यै आफ्नो जन्मदिन समेत हाइसुख्खले मनाउन पाइनँ । सयौं–हजारौं दर्शकका अगाडि सांगीतिक कार्यक्रम गर्दा मलाई कहिल्यै फुर्सदन हुँदैनथ्यो । यद्यपि आज संगीत सृजना मेरो ‘सेकेण्ड नेचर’ जस्तै भएको छ, मेरा ओठहरुबाट स्वतस्फूर्त गीत गुञ्जन्छ, मरो शरीरका अवयव संगीतको लयमा त्यसैत्यसै लहरिन थाल्छन् ।’

एउटा सर्जकको कलाप्रतिको लगाव प्रेममा रुपान्तरित हुन थालेपछि साधनाबाटै जीवन–ऊर्जा प्राप्त हुन थाल्छ र यही भावभूमिमा सृजनाको मूल फुट्छ । इन्द्रियजन्य भोग वा दमनलाई अतिक्रमण गर्ने सामथ्र्य सर्जकमा पैदा हुन थाल्छ र उसको मनमा शान्ति एवं स्थिरता छाउँछ । आठै बर्षदेखि कविता साधनामा लागेका बालकृष्ण सम ‘मेरो कविताको आराधना’ मा भन्छन्, ‘अशान्त भएको मेरो मनले केवल कवितामा शान्ति पायो – मनको उद्वेगलाई लयमा ढालेर राख्नु, अनि फेरिफेरि त्यसैलाई भावुक हृदयले गाइरहनु, कविताको आराधना गर्नु ।’

चिसो चुल्होमा समको आराधनाको मानौ ‘साङ्गे’ भएको छ, एउटा भावुक प्रेमीलाई उनी यस्तो सल्लाह दिन्छन् : तिम्री प्रेमिका रुपकी रानी नै हुन् भने, उनलाई पाउने उत्कण्ठा तिम्रो मनमा लबालब भरिएकै हो भने एउटा अब्बल अठोट गर । किनकि जिन्दगीसित बाजी ठोक्नुपर्छ । जिते हस्तिनापुरको राज, हारे चपरीमुनिको बास । एक दिन मर्नु नै छ भने बाँचुञ्जेल तातो र रातो फलामजस्तै भई प्रभुतासाथ बाँच्नु नि । यस्तो दृढताका सामु अस्तित्वले सबै सौन्दर्य तिम्रो प्रयोजनका लागि न्यौछावर गरिदिनेछ । तब तिम्रो सपनाकी परी तिमीलाई प्राप्त होलिन् :

‘उनी देखा पर्लिन् चलमल गरी छन्दबिचमा
उनी ढल्की हिंड्लिन् पदपद विषे पाउहरुमा
उनी हाँस्लिन् मुस्की मधुर गहिरा भावहरुमा
उनी तिमै्र होलिन् जब डुबिसक्यौ काव्य रसमा ।’

उता, कालिदासको मेघदूतमा एक निर्वासित यक्षले बादललाई दूत बनाएर आफ्नी नबबधुलाई सन्देश पठाउँछ । आकाशमा बादल मडारिन थालेपछि सुखी मानिसको मन त बिथोलिन्छ, दुखी यक्षको हालत कस्तो भयो होला ! यक्षले ढुंगामा प्रेमिकाको चित्र कोर्छ र आलिंगन गर्न खोज्छ, तर आँखामा आँसु भरिन्छ, उसले प्रेमिकालाई देख्न सक्दैन । अनि विधातालाई गाली गर्छ, ‘थुक्क, ढुंगामा पनि प्रेमिकालाई भेट्न दिन्नस् !’ मोतीरामको पिकदूतमा नायिकाले सुगामार्फत प्रवासी पतिलाई फट्कार्छे, ‘पाकेको फल छाडी जानु परदेश कुन शास्त्रको धर्म हो ?’ भावदशाको पराकाष्ठा र शब्दशक्तिको ‘मास्टरी’ बाट मनोरम सृजना जन्मँदोरहेछ ।
एउटा लेखक कलममा टेकेर नाच्न सक्नुपर्छ, शब्दहरु उसका प्रेमिका भन्दा प्रिय हुनुपर्छ, तब वास्तविक सृजनाले उसको सामु घुम्टो खोलिदिने सम्भावना हुँदोरहेछ । खासमा, सर्जक यति आत्मविश्वासले भरिपूर्ण हुन्छ, आराधनालाई उसले यति सम्मान गर्छ, दुनियाको केही कुराले, कसैले उसको आत्मसम्मान हल्लाउन सक्दैनन् । साधनामा विश्वास छ भने सफलताले नतमस्तक हुँदै बाटो खोलिदिन्छ । असफलता केवल उसको संकल्प पर्याप्त शक्तिशाली थिएन भन्ने संकेत हो । कुनै शायरले भनेका छन् :

खुदको कर बुलन्द इतना, खुदको कर बुलन्द इतना
कि खुदा बन्दे से खुद पूछे बता तेरी रजा क्या है ।

सर्जकले स्वयंलाई बुलन्द अर्थात् उन्मुक्त, निर्भय र उम्दा बनाउनका निम्ति हरतरहले स्वतन्त्र रहनु अभीष्ट हुन्छ । किनकि, सृजनशील व्यक्तिमा वैचारिक स्वतन्त्रताको महत्ता सर्वाधिक हुन्छ । सृजनशील लेखक, कलाकार प्रत्येकको आफ्नै नियम, सिद्धान्त, धर्म वा दर्शन हुने गर्दछ । देश–दुनियालाई हेर्ने आफ्नै अन्दाज हुनुपर्दछ । स्वयं स्रष्टा भएर पनि लेखकले अरुको विचार, सिद्धान्त वा सृजना पद्धतिको अनुकरण गर्दछ भने उसले के नयाँ सृजना गर्न सक्ला ?

सर्जकलाई आखिर के कुराले कलात्मक वा साहित्यिक सृजना कोर्न सक्षम बनाउँछ ? मस्कोमा चलेको रसियन फर्मालिज्म नामक साहित्यिक सिद्धान्तवादीहरुले गजपको अन्दाज व्यक्त गरे, ‘सर्जकले भाषिक विवेचनाका माध्यमबाट दैनन्दिन घटना–परिघटनालाई ‘डिफमिलियराइज’ गरिदिन्छ, पाठकलाई यस्तो लाग्छ मानौं सधैं देखेभोगेका कुरा पहिलोपल्ट देख्दैछ, भोग्दैछ । एकोहोरो जीवन बाँच्दाबाँच्दा पाठकले गुमाएको संवेदनामा सर्जकले पुनर्ताजगी भरिदिन्छ ।

सर्जकले यस्तो कसरी गर्न सक्छ त ? यसमा सिद्धान्त निष्णात नित्सेको अलिक रहस्यवादी व्याख्या छ । नित्सेको रुमानी अन्दाजलाई सरल ढंगले यसरी बुझ्न सकिएला ः आफूलाई खुपै बौद्धिक, विवेकवान् सम्झने मानिस कुनै नशालु बुटीको प्रभावले वा वसन्ती पवनको मधुर झोंक्काले एकाएक आफूलाई बिर्सन पुग्छ । त्यतिखेर कालान्तरदेखि एक्लाइएकी प्रकृतिले पनि आफ्नो आवारा सन्तान ‘मान्छे’ सँग एकाकार हुन एउटा आयोजन गर्छे । एउटा अद्भूत उत्सव सुरु हुन्छ । धर्तीले स्वेच्छिक ढंगले उपाहारहरुको छेलोखेलो गरिदिन्छे र हिमालदेखि मरुभूमिसम्मका मानिस र जीवजन्तु एकसाथ भेला हुन्छन् । चितुवा र बाघहरु रथमा जोतिन्छन् । डाइनोसियाक रिचुअल फूलमाला, लावालस्करसाथ अगाडि बढ्छ । यो कस्तो दृश्य हो ? नित्से भन्छन् : बिथोविनको कुनै संगीतको चित्र बनाउन मिल्दो हो भने यो जात्रामा कोलाहल र हाहू गर्दै उर्लेको भीड रथका सामु धूलोमा श्रद्धापूर्वक नतमस्तक भएको दृश्य अन्दाज गर्न सकिन्थ्यो होला । त्यो अप्रतीम भव्यता र मस्तीमा को दास, को मालिक ! निरंकुशता वा आवश्यकताका कारण मानिस–मानिसबीच खडा भएका पर्खाल गल्र्याम्गुर्लुम भत्किन्छन् । ‘माया’ को घुम्टो च्यातिन्छ । विश्वबन्धुत्व र सौहार्दता व्याप्त हुन्छ । मानिस–मानिसबीच प्रेम र सद्भाव छताछुल्ल हुन्छ । अब यतिखेर मानिसले बोल्न बिर्सन्छ, गाउन थाल्छ, हिंड्न बिर्सन्छ, नाच्न थाल्छ । उसले भगवत्ता बोध गर्छ र सपनामा देखेका देवताहरु जस्तै भव्य अन्दाजमा पाइला अगाडि बढाउँछ । ऊ केवल कलाकार हुँदैन, बरु स्वयं एक कलाकृति बन्छ । यसरी कला जन्मन्छ । केवल एउटा सुन्दर कलाकृतिका रुपमा यो संसार र समग्र अस्तित्व अनन्त रुपले तर्कसंगत बोध हुन्छ ।
कला–साधनाको यज्ञ पूर्वतिर केही भिन्न ढंगले सुसम्पन्न हुन्छ । पूर्वमा सर्जकद्वारा हाडमासुको देहमा उर्लने वासनाका आँधीहरुबाट मुक्त इन्द्रियातीत आनन्दको खोजी भइरह्यो । अन्ततः, फेलापर्यो शान्त रस । मानौं, एउटी नवयौवना रुपकी रानी चुलबुले आँखा नचाउँदै र मादकता छर्दै छेवैबाट गुज्रँदै छे । उसको आगमनमा वासनायुक्त व्यक्तिले आफूलाई समाल्न मुश्किल हुन्छ । तर, मुक्त, निद्र्वन्द्व व्यक्तिको दृष्टिमा रुपसीको आगमनले निखार आउँछ । उसलाई न भोगको लालसा हुन्छ न दमनको आवश्यकता । ऊ केवल साक्षीभावमा रहन्छ, उसको मनमा शान्त रस पैदा हुन्छ । उसले युवतीलाई मात्र हैन, युवती देख्ने आपूmभित्रको द्रष्टालाई देख्छ । यही हो साक्षी भाव, यही हो जागरण । यही थियो विदेह जनकको दर्शन । कुनै कालखण्डमा हाम्रो देशको भूमिमा विकसित भएको र आज हामीले पूरै बिर्सेको जीवन जिउने कला ।

मानौ कुनै दुर्घटना घट्यो । त्यसबखत घटनामा इन्भल्भ अर्थात् संलग्न व्यक्तिलाई खास के भएको थियो, कसरी दुर्घटना हुन पुग्यो थाहा हुँदैन । बरु जसले बाटो छेउमा उभिएर हेरिरहेको थियो उसलाई थाहा हुन्छ, कुन गाडी कताबाट आयो, कसले गल्ती गर्यो, कसरी दुवै जुध्न पुगे । साक्षी भाव भनेको यही हो : कर्म गर्नु तर त्यसमा संलग्न, आसक्त नहुनु ।

कोहावर अर्थात् सुनौला सुहागरात नामक मिथिला कलामा चित्रित अक्षत योनीमा संभोगरत लिंगलाई छेवैको बाँसको टुप्पामा बसेर टोलाउँदै हेरिरहेको सुगा साक्षी भावको प्रतीक हो, उदाहरण हो । म कहाँ छु, के गरिरहेको छु भन्ने यथार्थलाई कर्म गरिरहँदा पनि पृथक् रहेर सोच्न सक्नुपर्छ यो सन्देश आश्चर्यचकित भई हेरिरहेको सुगाले बताउँछ । मान्छेको शरीर चेतनाको स्थूल रूप हो जसलाई समात्न सकिन्छ । जसलाई समात्न सकिँदैन चेतनाको त्यो सूक्ष्म रूप आत्मा हो । सम्भोगरत हुँदा शरीरमा अनुभूति भइरहेको रोमाञ्च कसलाई अनुभूति भइरहेको हो ? त्यसलाई पक्रन सके व्यक्तिको दृष्टिकोणमा रुपान्तरण हुन्छ र शान्त रस पैदा हुन थाल्छ । व्यासले महाभारतजस्तो महाकाव्य तयार गर्नुमा, वाल्मीकिले करुणरसप्रधान रामायण रच्नुमा यही शान्त रसको प्रभाव थियो । कालिदास, भारवि, माघ, अश्वघोष, वाणलगायत महाकविहरु शान्त रसमा सिक्त थिए । जसरी हावा र प्रकाश एउटै स्रोतबाट पैदा भएर सर्वव्यापी हुन्छ त्यसैगरी मानिसको चेतनाको परम स्रोत एउटै हो, मानिसबीच कुनै भेद छैन भन्ने बोधलाई उनीहरुले आत्मसात गरेका थिए । बुद्धसम्म आइपुग्दा शान्त रसको मूल फुट्छ । अप्रतिहत अर्थात् अवरोधरहित ज्ञान पाएका बुद्धको शान्त चित्तमा करुणा जागृत भयो । समस्त बुद्ध वचनहरु स्वतस्फूर्त, काव्यमय र शान्त रसले सिञ्चित छन् । समाकालीन समयमा तीक्ष्ण व्यंगोक्तिहरुका सुष्ठु लेखक खगेन्द्र संग्रौला पनि यही भन्छन्, ‘कनेर नलेख, लेख्दा साँचो लेख ।’ हरेक कालखण्डमा सर्जकबाट यही अपेक्षा हुन्छ उसले कलाको आराधना गरोस् ताकि सृजनाको स्वतस्फूर्त प्रवाह गतिमान होस् । netra.acharya@gmail.com

Source: २०६९ भाद्र २३ को नागरिक दैनिकमा published.