Monday, March 11, 2013



ध्यान र पुनर्ताजगी
— नेत्र आचार्य


अघिल्लो वर्षको आखिरीतिर आयोजित एउटा विपश्यना शिविरमा गुरु छोक्न्यी रिन्पोछेले भने, ‘बुद्धले संसारलाई दिएको सबभन्दा ठूलो देन विपश्यना ध्यान हो । बुद्धले आफ्नो कालखण्डमा ध्यानको यो प्राचीन पूर्वीय कलालाई पुनरुत्थान गरेका थिए । विपश्यनालाई एकपटक फेरि पुनरुत्थान गर्ने बेला आएको छ ।’ यतिखेर स्रोत साधन सम्पन्न विश्वविद्यालयहरूले ध्यानको प्रभाव र उपयोगितामाथि विभिन्न प्रयोग गर्न थालेका छन् ।

हार्वर्ड विश्वविद्यालयमा गरिएको पछिल्लो शोधले ध्यान गर्नेहरूमा मानसिक स्वास्थ्य, एकाग्रता र स्मरण शक्तिको विकास भएको तथा तिनीहरू तुलनात्मक रूपले सन्तुलित जीवन बाँच्ने गरको पाइएको छ । विपश्यना ध्यान साधकहरूमाथि गरिएको उक्त शोधबाट ध्यानीहरूको दिमागको आयतनसमेत बढाएको देखियो । हार्वर्ड मेडिकल स्कूलकी मनोविज्ञानवेत्ता तथा शोधको अगुवाइ गरेकी सारा लाजार भन्छिन्, संगीतकारहरूमा ध्यानले दिमागका संगीतसम्बन्धी तन्तुको आकार वृद्धि गरेको र जादूगरहरूमा तिनको दिमागका दृश्य नियन्त्रण गर्ने तन्तु सबल बनाएको देखियो । उनका अनुसार ध्यान दीर्घ यौवनका लागि समेत प्रभावी देखिएको छ । कैयौँ ध्यानीहरूको अनुभवबाट सिद्ध भइसकेको छ, नियमित ध्यानको अभ्यासले विचारमा स्पष्टता आउँछ, तनाव हराउँछ र प्रतिकूल परिस्थितिहरूमा अविचलित रहने सहनशीलता विकसित हुन्छ । तर आकांक्षाहरूको पछि दौडन सधैँ हतारो गर्नुपर्ने हुँदा मानिसलाई ध्यान गर्ने समय निकाल्न मुश्किल हुन्छ र ध्यानमा बसिहाले पनि मनको बेचैनीले गर्दा एकाग्र रहन र ध्यानलाई स्वभाव बनाउन कठिन हुन्छ । प्राचीन कालमा भने ध्यान मानिसको एउटा महत्वपूर्ण दैनिकी थियो ।

ध्यान प्रायः सबै धर्मको एक प्रमुख अङ्ग हो । हिन्दूहरू गायत्री मन्त्रजपबाट नित्य दैनिकी सुरु गर्छन् । बौद्धहरू प्रातः कालमा विपश्यना अभ्यास गर्छन् भने क्रिश्चियनहरू प्रार्थना गर्छन् । मुस्लिम मस्जिदमा नित्य मध्यान्हकालमा नमाज पढ्ने प्रार्थना गर्ने गरिन्छ । वर्तमान उत्तरआधुनिक कालखण्डमा जीवन जति जटिल हुँदै गएको छ उति नै फेरि एक पटक ध्यान मानव जीवनको दैनिकीको एक हिस्सा बन्दै गइरहेको छ । तनावबाट मुक्त हुन र मानसिक शान्ति अनुभूति गर्नका लागि भए पनि शहरियाहरू ध्यानमा बस्न थालेका छन् । ध्यानको महत्ता र उपयोगिता भने योभन्दा निकै बेशी छ ।

ध्यान त्यो कला हो जसले हामीलाई आफ्नै दिमागमाथि नियन्त्रण गर्न सिकाउँछ । अन्यथा हामी हरपल दिमागको दास भइरहेका हुन्छौँ, दिमागले हामीलाई काबूमा राखिरहेको हुन्छ । हामीले चाहे पनि, नचाहे पनि दिमागमा नानावली चाहिने नचाहिने विचार खेलिरहेका हुन्छन् । हामीले शान्त बस्न चाहँदा पनि दिमागले सोचिरहेको हुन्छ, विचारको प्रवाह एक क्षण पनि रोकिएको हुँदैन । कसैले सम्मान वा अपमान गरेको प्रसङ्ग आवश्यकताभन्दा बढी दिमागमा खेलिरहन्छ । दिमागमा आकांक्षा र अतृप्त चाहनाहरूको त हरदम बाढी नै प्रवाहित भइरहेको हुन्छ । यो कहिले घर पुग्छ, कहिले अफिस, कहिले पूरा गर्नुपर्ने डेडलाइनका बारेमा चिन्ता गरिरहेको हुन्छ, भने कहिले हाकिम खुशी होला कि नहोला भन्ने तर्कना गरिरहेको हुन्छ । दिमाग अक्सर विनाकाम यत्रतत्र भौँतारिइरहेको हुन्छ भने हामी गर्नुपर्ने मुख्य कामबाट विमुख भइरहेका हुन्छौँ । दिमागलाई जे देख्यो त्यही चाहिन्छ । तृष्णाहरू असीमित हुन्छन् तर तृप्ति सीमित । एकाध चाहना पूरा गर्नु माग्नेको पोल्टामा दुईचार सिक्का फ्याँकेजस्तै हुन्छ । आज माग्नेको जीवन धानिन्छ यद्यपि भोलि उसका दुख झन् बढ्छन् । दिमागको दास हुँदा हामी यही नियतिको शिकार हुन पुग्छौँ । काबूमा रहेको दिमाग मानिसका निम्ति स्वर्ग हो भने बेलगाम दिमाग नरक हो । बुद्धले भनेका थिए, संसार जित्ने मानिस बहादुर होइन, बहादुर त्यही हो जसले आफ्नो दिमागमाथि विजय प्राप्त गरेको हुन्छ । ध्यान साधनाद्वारा दिमागलाई काबूमा राख्न सकिन्छ ।

ध्यान एउटा मिहीन कला हो । ध्यान मस्तिष्कलाई विचारशून्य पार्नु होइन । बरु त्यहाँ खेल्ने विचारहरूलाई विना हस्तक्षेप अवलोकन गर्नु हो । क्रमशः नियमित अभ्यासबाट मस्तिष्कमा उठ्ने विचारका तरङ्गहरूलाई निगरानी र नियमन गर्ने क्षमता हासिल हुन्छ । ध्यानमा बस्दा कहीँ कतैबाट आवाज सुनियो भने त्यसलाई के रहेछ भनेर सोच्ने होइन, सुन्ने मात्रै । खुट्टा निदाउँछ भने त्यहाँ भइरहेको शारीरिक संवेदना अनुभव गर्ने मात्र । अथवा बाह्य कुनै कुराले ध्यान भङ्ग गरिरहेको छैन भने स्वासप्रश्वासमा ध्यान केन्द्रित गर्ने । क्रमशः वर्तमानमा होशपूर्वक रहने अभ्यास गर्ने र शून्यता अनुभूति गर्ने । यसबाट मस्तिष्कलाई पर्याप्त विश्राम प्राप्त हुन्छ र एकाग्रता पनि विकसित हुँदै जान्छ । एकाध घण्टाको नियमित अभ्यासले केही दिनमै मन–मस्तिष्कमा ताजगी आउँछ र ऊर्जा भरिन थाल्छ । नकारात्मक विचारहरू विलय हुँदै जान्छन् र सकारात्मक सोचहरू विकसित हुन थाल्छन् । जर्मन दार्शनिक शोपेनहावर भन्छन्, ‘तिम्रो मनको आनन्द तिम्रो गोजीमा के छ त्यसमा होइन, तिम्रो मस्तिष्कको संरचनामा निर्भर गर्छ ।’ ध्यान गरौँ र आफ्नो मस्तिष्कलाई समृद्ध बनाऔँ ।
नोट : केही वर्ष पहिलाको आलेख ।



ब्रह्मा र देवदूत संवाद

-नेत्र आचार्य
Netra-Acharyaब्रह्माले भर्खरै नदी, जंगल, खेत, पहाड र हिमालहरूको सृष्टि गरेका थिए । आकाशबाट तलतिर नियाल्दै ब्रह्मा बूढा आफैँ मुग्ध भए, ‘आहा † कस्तो सुन्दर धर्ती † चन्द्रमाको मुस्कान, गुलाफको सुगन्ध र महको माधुर्य । वीरभोग्या बसुन्धरा, साहसीहरूले भोग्नलायक धर्तीमा जीवन बिताउने प्राणी पो कस्तो बनाउँm ?’
ब्रह्माले हीरा, मोती, पन्ना, सुन, चाँदीहरू पगाले । हरेक धातुको घोललाई मानिसको आकारमा उभ्याए । तर, कुन्नि किन हो ब्रह्मालाई उपयुक्त लागेन । अनेक प्रयोग गर्दागर्दा धेरै ढिलो भइसकेको थियो । आखिरमा उनको मस्तिष्कमा अपूर्व विचार फुर्‍यो । उनले शुद्ध माटोको एउटा मूर्ति बनाए र त्यसैमा प्राण फुकिदिए ।
त्यसैबेला एक देवदूत आइपुग्यो । विधाताको यो अनौठो रचना देखेर आश्चर्यचकित हुँदै सोध्यो, ‘तपाईंले यो के बनाउनुभयो ?’
ब्रह्माले आफ्नो कलाकारितामा गर्व गर्दै भने, ‘यसको नाम जीवन हो । मेरो सर्वश्रेष्ठ कृति ।’
‘क्षमा गर्नुहोला विधाता † तर, यसको शरीर माटोले किन बनाइदिनुभएको ? माटो त तुच्छभन्दा तुच्छ, जडभन्दा जड वस्तु हो । माटो नलिएर कुनै धातु लिएको भए हुन्थ्यो नि । हीरामोती वा सुनले नै बनाएको भए पनि उत्तम हुन्थ्यो,’ देवदूतले किञ्चित् आश्चर्य मान्दै सोध्यो ।
देवदूतको स्वाभाविक जिज्ञासा सुनेर ब्रह्मा बूढाको ओठमा एउटा मोहक मुस्कान दौड्यो । उनले भने, ‘बन्धु, यही हो जीवनको रहस्य । माटोको शरीरमा मैले सृष्टिको सारा सुख, सौन्दर्य र वैभव भरिदिएँ । जडमा आनन्दको चैतन्य फुकिदिएँ । मानिसले शरीरको जस्तो चाहन्छ उस्तै उपयोग गर्न सक्छ । शरीरलाई महत्त्व दिनेले माटोको जस्तै जडता भोग्नेछ, शरीरभन्दा माथि उठ्नेलाई आनन्दका तहतह अनुभूति हुनेछ । मैले सबै कुरा क्षणिक बनाइदिएको छु ताकि जीवनको हरक्षण मूल्यवान् होस् । हरक्षण सजगतामा रहन जरुरी होस् । ढोकाको पाटो सर्केझैँ बिछ्यौनामा कोल्टे फेर्दै सुतिराख्ने अल्छीहरूले उति नै जीवन गुमाउनेछन् ।’
देवदूतको चित्त बुझेको थिएन । किञ्चित् शंका गर्दै देवदूतले भने, ‘तपाईंले भनेजस्तो जीवनको उच्चतम आनन्द कुनै सर्वश्रेष्ठ धातुको चहकिलो शरीरमा भरिदिन सकिँदैनथ्यो ? सुनमा सुगन्ध हुनेथियो ।’
‘अहँ, सुनमा सुगन्ध हुनै सक्दैन । सुगन्ध त माटोमा मात्र सम्भव छ । यही कारणले त सृष्टि अद्भूत रहस्यमय बनेको छ † तिमी माटोका अवगुण मात्रै देख्छौ । गुणहरू देख्दैनौ । माटोमा अद्भूत उत्पादकत्व हुन्छ । माटोमै अंकुर पलाउँछन् । माटोले बनेको शरीरको विशिष्ट उपयोगिता छ । मानिसले शरीरको बाहिरी रूपरंगलाई सिँगार्दै बस्न पनि सक्छन्, भित्री सौन्दर्य फेला पारेर त्यसमा रमाउन पनि । चेतनाको गहिराइमा अनुभूति हुने आनन्दका क्षणमा मैले सृष्टि रचना गरेको हुँ । तिमीले उपनिषद्मा पढ्यौ होला— आनन्दादेव खल्विमानि भूतानि जायन्ते ।’
‘हो, पढेको थिएँ । आनन्दबाटै सृष्टि हुन्छ, आनन्दमै चलिराख्छ र आनन्दमै विलय हुन्छ । सायद यही कुरा बुझेर श्री अरविन्दले भनेका छन्, आनन्द नै रहस्य हो । परम आनन्द अनुभूति गर्न सिक्यौ भने तिमीले सृष्टिकर्तालाई देख्नेछौ ।’
देवदूतलाई कौतूहल लाग्दै थियो । उनले सोधे, ‘परम आनन्द कसरी अनुभूति हुन सक्छ ?’
ब्रह्माले एकछिन आँखा बन्द गरे । लामो श्वास लिए र देवदूतलाई सम्झाउन थाले, ‘सिर्जनशील काम गर्नेलाई काममै आनन्द अनुभूति हुन्छ । ध्वंसात्मक र विनाशकारी काम गर्नेलाई अपराधबोध र ग्लानि हुन्छ । कर्मको फल शरीरमा तत्काल देखापर्छ । पाप गर्नेको मन जलिरहेको हुन्छ, कताबाट पापको पोल फुस्केला भन्ने चिन्ता हुन्छ । भलो गर्नेको मन प्रशन्न हुन्छ । मानिसले स्वविवेकको प्रयोग गर्न सक्छ । कुन काम गर्ने, कुन नगर्ने भन्ने छनोट गर्न पाउँछ । चित्तनदी नामो उभयतो बाहिनी, पुण्याय च बहति, पापाय च । चित्त नामको नदी दुवैतिर बग्न सक्छ, पुण्य कर्मतिर बग्न पनि सक्छ, पापतिर ओरालो लाग्न पनि सक्छ । मैले जानीजानी मानिसको मनको स्वभाव चञ्चल बनाइदिएको छु । ताकि मानिस हरपल सजग रहोस् । अलिकति बेहोसी भएमा मानिसको मन पापतिर बग्न थालिहाल्छ । पछुतो र दु:ख भोग्न नपरोस् भनेर मानिस हमेसा वर्तमान क्षणमा होसपूर्वक बाँच्नुपर्छ, यही नै जिउने कला हो । विगतको चिन्ता र भविष्यको कल्पनामा रुमल्लिने र कुन बेला के गर्दै छु भन्ने होस नहुनेले दु:ख नपाए कसले पाउँछ त †’
सृष्टिकर्ता ब्रह्माको चातुर्य देखेर देवदूत प्रभावित भयो । बोलीमा केही श्रद्धाभाव ल्याएर उसले अर्को शंका व्यक्त गर्‍यो, ‘तपाईंले धेरै विचार पुर्‍याएर मानिस रच्नुभएछ । तर, मानिसले जीवनको गहन रहस्य बुझ्ला भन्ने लाग्दैन । मैले धेरै समानान्तर ब्रह्माण्डको भ्रमण गरेको छु । अन्य ग्रहका मानिसको स्वभाव कहाँसम्म देखेँ भने भौतिक शरीरबाट प्राप्त हुने सुखलाई नै मुक्ति भन्ठान्छन् । एउटा ग्रहको महाकविले भन्थ्यो, ‘सुन्दर युवतीहरूलाई पेन्टी र ब्राबाट मुक्त गरेपछि मात्र पुरुषलाई मोक्षको आनन्द प्राप्त हुन्छ ।’
देवदूतको कुरा सुनेर ब्रह्मालाई खेद भयो । ‘यौनको मामलामा मानिस र चौपाया उस्तै छन् । बरु पशु एक ऋतुमा मात्र सम्भोग गर्छन् । सम्भोगमा चेतनाको आनन्दको एक झलक मात्र प्राप्त हुने हो । त्यही एक झलकमा सन्तुष्ट हुन्छन् भने मेरो के लाग्छ । शरीर त उपहार हो । उपहारको प्याकेट खोलेर भित्र हेर्नेले चेतनाको अद्भुत आनन्द पाउँछन्, केवल खोल चाटिराख्नेलाई यही बानी पर्छ । नयाँनयाँ खोल चाहिन्छ । यज्ञकुण्डमा जति हवन गरे पनि आगोको ज्वाला शान्त हुँदैन ।’
ब्रह्मालाई हल्का विरक्ति लाग्यो । यद्यपि संयमित हुँदै भने, ‘म एक छिन ध्यानमा बस्छु । तिमी पृथ्वीको भ्रमण गरेर आऊ । एक चक्कर लगाएपछि यहीँ आउनु र मेरो सम्पूर्ण सृष्टि तिमीलाई कस्तो लाग्यो, बताउनू ।’
पृथ्वीको भ्रमण पूरा गरेर फर्केपछि देवदूतले ब्रह्मालाई दण्डवत् गरेर भने, ‘प्रभो, पदेपदे यत् नवतां उपैति तदेव रूपं रमणीयताया । म जहाँजहाँ पुगेँ त्यहाँ पाइलापाइलामा सौन्दर्य देखेँ, कणकणमा भगवान् देखेँ र प्रत्येक श्वासमा आनन्द अनुभूति गरेँ । एकाबिहानै सूर्य होली खेलेर निस्कँदो रहेछ र हिमाललाई रङ छेपेर राताम्मे बनाइदिँदोरहेछ । बर्खाको हिलो राम्रो, शरदको चाँदनी राम्रो, वसन्तका पालुवा राम्रा …।’
‘धर्तीको सुगन्धै बेग्लै । घामले गर्दा दिन उज्याला, ताराले गर्दा रात रमाइला । पारखी आँखामा त सर्वत्र सौन्दर्य देखिँदो रहेछ । घाम डुबेपछि सन्ध्या पृथ्वीमा ओर्लन्छे । कसैलाई पर्खेर बसेकी सन्ध्याको मनभरी अनुराग सल्बलाइरहेको हुन्छ । ठीक त्यतिबेलै, जून उदाएर उसलाई यस्तरी चुम्बन गर्छ उसले आफ्नो निष्पट्ट अँध्यारो सारी सर्लक्क खसेको पत्तै पाउँदिन ।’
मीठामीठा फल खाएको सम्झँदै देवदूतले अगाडि भने, ‘सृष्टिका फलहरू सुस्वादु र अमृततुल्य रहेछन् । तर, आँपको मीठो फलमा त्यति ठूलो कोया किन राख्नुभएको ? अनि, स्त्रीका स्तनमा कोया नै नराखिदिनुभएको । सुन्दरीहरूका स्तन लत्रिएपछि सौन्दर्य पनि खस्कँदोरहेछ ।’
मैले धेरै अनौठा दृश्य देखेँ । कुनै बस्तीमा घुम्दै थिएँ । एक ठाउँमा एउटा लहरामा विशाल फर्सी फलेको देखेँ । एमानको फर्सीले थाँक्रोबाट लहरालाई नै चोइटाइदिएको थियो । मैले सोचेँ, यो फर्सीले आफैँले धान्न नसक्ने फल किन फलाएको होला ? मैले त केही बुझ्न सकिनँ ।’
‘हेर्नुस् न, कति ठाउँमा त आपत् आइलाग्यो । एक ठाउँमा थकाइ मार्न ओखरको रूखमुनि बसेको थिएँ । अचानक ओखर खसेर टाउकोमै लाग्यो’ देवदूतले टाउकोमा टुटिल्को देखाउँदै भने ।
ब्रह्माले देवदूतको टाउको सुम्सुम्याउँदै भने, ‘देवदूत, त्यो ओखरको विशाल वृक्षमा फर्सीजत्रै फल लागेका हुन्थे भने †’
‘मेरो टाउको त रोटी पर्ने थियो नि ।’
ब्रह्माले शान्त हुँदै भने, ‘सृष्टिको रहस्य यही हो । ओखरको विशाल वृक्षमा सस्याना फल लाग्छन् । फर्सीको मसिनो लहरामा विशाल फर्सी फल्छन् । जहाँ जे देख्छौ त्यसको पछाडि कारण हुन्छ । कार्यकारण सम्बन्धबाटै सृष्टि चलिरहन्छ । हरेक व्यक्ति, वस्तु र घटना रहस्यमय हुन्छन् । तिनलाई यथाभूत स्वीकार गर्नु र आफ्नो आवश्यकता र क्षमताअनुसार उपयोग गर्नु बुद्धिमानी हो । जुन दिन जहाँतहाँ व्यर्थमा नाक रगड्ने बानी छुट्छ, त्यही दिन मानिस मुक्त हुन्छ– ‘स्वीकार मात्रै गर एक बार संसार तिम्रै अनि बार बार ।’
Published in Sourya Daily 9 March 2013 
http://www.souryadaily.com/2013/03/61235.html


शिक्षा, योग र अनुशासन


नेत्र आचार्य


सहरमा उच्च शिक्षा पढ्दै गरेको एक विद्यार्थी कृषि र पशुपालनको अवस्था हेर्न कुनै गाउँमा गएको रहेछ। एक ठाउँमा कोल हालेर तोरी पेल्ने काम भइरहेको थियो। गोरुहरुले कोल घुमाउँदै थिए, किसान भने छेउतिर सियाँलमा निदाइरहेको थियो। किसान बिउँझेपछि विद्यार्थीले सोधेछ, 'तपाईँ निदाएपछि गोरु घुम्न छोडे भने यति धेरै तोरी कसरी पेलिएला।' 'म निदाए पनि गोरु घुमिरहन्छन्' किसानले ढुक्क हुँदै भनेछ। 'कसैगरी गोरु अडिए भने तपार्इँले कसरी थाहा पाउनुहुन्छ?' विद्यार्थीले जिज्ञासा राखेछ। 'मैले गोरुको घाँटीमा घण्टी झुण्ड्याइदिएको छु। गोरु घुमिरहेमात्र घण्टी बजिरहन्छन्, घण्टी बज्न छोडेको मैले निदाएकै बेला पनि थाहा पाइहाल्छु,' किसानले भनेछ।
'मानौँ, तपाईँ निदाएका बेला गोरु अडिएर टाउको हल्लाइरहे भने घण्टी त बजिरहेको हुन्छ, कोल भने घुमिरहेको हुँदैन नि' विद्यार्थीले फेरि तर्क गरेछ। 'मेरा गोरुहरु तिमीजस्ता 'शिक्षित' छैनन्' किसानले अब भने धेरै बहस नगर्ने विचारले भनेछ।
शिक्षित हुनुको अर्थ दिमाग लडाउन सक्नु, तर्कशील हुनु वा हरहालतमा आफ्नो दुनो सोझ्याउन सक्षम बन्नुमात्रै होइन। समाज, पर्यावरण र मानवीयताप्रति संवेदनशीलता छैन भने विवेकशील प्राणी हुँ भन्ने गर्व गर्न मानिसले लाज माने हुन्छ। उत्तरआधुनिक मानिसले लाज मान्नुपर्ने अरु पनि विषयवस्तु छन्। 

महाकवि देवकोटाले गधा बुद्धिमान् हो कि गुरु, निश्चय गर्न सकेका थिएनन्। धेरै पढेका गुरु बुद्धिमान् भनूँ भने तिनको व्यवहारमा विवेकको नामोनिशान देखिँदैनथ्यो, आफैँले सिकाउने अनुशासन स्वयंले पालन गर्दैनथे। कहिल्यै बाटो नछोड्ने गधालाई बुद्धिमान् भनुँ भने शिक्षादीक्षा छैन। मानिसको मन-मस्तिष्कबाट अनुशासन कहाँ गायब भयो होला, कसरी हरायो होला, कहाँ फेला पार्न सकिएला। वर्तमानमा जस्तो अनुशासनको खडेरी पहिला यस ग्रहमा सायद कहिल्यै परेको थिएन।
माघको अन्त्यतिर बेंगलोरमा सम्पन्न अन्तर्राष्ट्रिय योग तथा नेचुरोप्याथी सम्मेलनमा हराएको अनुशासनलाई सर्वत्र खोज्ने चेष्टा गरियो। 'अथ योगानुशासनम्, योग भनेको अनुशासन हो, क्षणक्षणमा बदलिने, भाग्ने, आलसी र उट्पट्याङ मनलाई अनुशासनमा राख्नु योगको पहिलो र अन्तिम लक्ष्य हो' प्रसिद्ध योग गुरु बीकेएस आयंगरले भने।
अनुशासन बाहिरबाट थोपरिने वस्तु होइन, मानिसको अन्तर्मनबाट निसृत हुने बोध हो। वर्तमान मानिस बिमारी छ : विजातीय पदार्थ अर्थात् टक्सिनयुक्त खानपानको प्रभावले मानव शरीरका भित्री र बाहिरी अवयवहरु मक्किएका छन्, चौबीसै घण्टा काम गरिरहने प्रणाली अस्वस्थ भएका छन्। यस स्थितिलाई हृदयंगम गरी शारीरिक स्वाास्थ्य पुनर्प्राप्तिका लागि योगासनको अभ्यास हुन थालेको छ। यथोचित योगाभ्यासले निश्चय नै शारीरिक स्वास्थ्य पाउन सकिन्छ। त्यसैले शारीरिक स्वास्थ्यका लागि योगाभ्यासको प्रचलन आम भइसकेको छ। तर, योगाभ्यास शारीरिक स्वास्थ्यका लागि मात्रै होइन। शारीरिक, मानसिक र चेतनाको तहमा मानिसलाई स्वस्थ, दीर्घजीवी र अनुशासित बनाउनु योगको बृहत्तर आयाम हो। यिनै आयामको परिचय दिँदै योग गुरु आयंगरले भने, 'शरीरलाई रोगमुक्त पार्नु, मनलाई शान्त पार्नु, जीवनलाई सुखी बनाउनु र समग्र अस्तित्वसँग सौहार्दता कायम राख्न सिकाउनु योगको लक्ष्य हो।' 

कुए में भाङ डाल दी सभ्यता ने आज, देखें कहाँ पे जाकर ठहरता है आदमी। उपभोगवादी संस्कृतिको हुरी र महत्वाकांक्षाको ज्वारभाटाले मानिसलाई लतार्दै, घिस्याउँदै कतै निर्जन, एकलास ठाउँतिर लगिरहेको छ। आजभोलिको कामकाजी सहरी सभ्यतामा मानिस दिनभर कम्प्युटरको अगाडि बसिरहन बाध्य छ। उसको शरीर स्थिरप्रायः रहन्छ। मन भने जंगलको बाँदरजस्तै यत्रतत्र भागिरहेको हुन्छ। मन न स्थिर छ, न मौन। एक घण्टाभित्र मनमा खेलिरहेका विचार र भागिरहेका ठाउँहरु जस्ताको तस्तै लेख्ने हो भने हरेक मानिस पागल हुन्छ। हामी जहाँ छौँ, त्यहाँ स्थिर छैनौँ, जे गरिरहेका छौँ त्यसमा सन्तुष्ट छैनौँ र त्यस काममा मन लगाउँदैनौँ। कहीँ अन्यत्र सुखसुविस्ता, आराम र चैन होला भन्ने बुझ्नै नसकिने हुटहुटी हरदम हाम्रो मनमा खेलिरहन्छ। 

मनको यही अस्थिरताका कारण मानिसमा दृष्टिदोष पैदा हुन्छ। हामी औषधि खाएर रोग निको पार्न चाहन्छौँ, धेरै खानपान गरेर सन्तुष्टि लिन चाहन्छौँ, सूचनाहरु पढेर विद्वान् हुन चाहन्छौँ र अर्थोपार्जन गरेर सुख वा शान्ति प्राप्त गर्न चाहन्छौँ। तर, गहिरिएर हेर्दा दैनिक जीवनमा यस्तो परिणाम कदाचित् सम्भव देखिँदैन। 

दबाइले रोग दबाउँछ। रोग निको पार्न योगाभ्यास, सात्विक भोजन, प्राकृतिक चिकित्सा आवश्यक छ। धेरै खाएर शक्ति या सन्तुष्टि प्राप्त हुँदैन। यथोचित पाचन, पोषण एव अवशोषणद्वारा मात्र शक्ति या आनन्द प्राप्त हुन्छ। पुस्तक वा पत्रपत्रिकाबाट केवल सूचना प्राप्त हुन्छ, ज्ञान प्राप्तिका लागि त चिन्तन, मनन र व्यवहारमा त्यसको अभ्यास आवश्यक हुन्छ। बैंक ब्यालेन्स बढ्यो भने बाहिरी सुख एवं सामान बढ्छन्। वास्तविक चैन, सुख, शान्ति र आनन्द त सामाजिक एवं वैश्विक महत्वका विषयमा तल्लीनताद्वारा बढ्छन्। धनात् धर्म ततः सुखम्, अर्थात् अर्थोपार्जनबाट परोपकार एवं सेवामूलक कार्य गर्न सकिन्छ तब मात्र वास्तविक सुखानुभूति हुन्छ। अन्तर्राष्ट्रिय योग तथा नेचुरोप्याथी सम्मेलनले पूर्वीय जीवनपद्धतिको पुनर्जागरणको सन्देश दियो। उक्त प्रथम अन्तर्राष्ट्रिय योग तथा नेचुरोप्याथी सम्मेलनमा नेपालबाट ५२ जना योगप्रेमीहरुको समूह सहभागी थियो। माघ २६ देखि फागुन १ सम्म चलेको सम्मेलनमा ५२ देशका पाँच हजार प्रतिनिधि सहभागी थिए। 

कर्नाटक राज्य सरकारको मुख्य आयोजना रहेको उक्त सम्मेलनले 'सम्पूर्ण स्वास्थ्यका लागि योग र नेचुरोप्याथी' मूल प्रतिपाद्य विषय तय गरेको थियो। योगासन च्याम्पिएनसिप, अमृत भोजन मेला, योगको दार्शनिक एवं स्वास्थ्य महत्वबारे विश्वभरिका विद्वान् एवं अनुसन्धाताद्वारा कार्यपत्र प्रस्तुति सम्मेलनका आकर्षण रहे। योगासन, प्राणायाम, विश्राम र ध्यानले मानिसको शारीरिक, मानसिक, भावनात्मक, सामाजिक र आध्यात्मिक स्वास्थ्य कायम गर्छन्। वैज्ञानिक खोजअनुसन्धानबाट यी तथ्य पुष्टि भएपछि योग वैकल्पिक मनोशारीरिक उपचार पद्धतिका रुपमा स्थापित हुँदै गएको छ। नेचुरोप्याथी औषधिको प्रयोगरहित प्राकृतिक उपचार पद्धति हो। माटो, पानी, हावा, ताप र उपवास एवं जीवनशैली परिवर्तनबाट गरिने पार्श्वप्रभावरहित उपचार शैलीप्रति आकर्षण बढ्दै गएको वर्तमान समयमा यस सम्मेलनले वास्तविक स्वास्थ्यप्रति जागरुकता थपेको छ।

सम्मेलन योग र नेचुरोपेथीसम्बन्धी व्यापक अनुसन्धान, प्रवर्द्धन एवं सेवा-विस्तारमा सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गर्‍यो। विश्वभरिका स्वास्थ्य व्यवसायी, अनुसन्धाता, प्राज्ञिक, नीतिनिर्माता, सन्त एवं स्वास्थ्यप्रेमी र विद्यार्थीको निम्ति महत्वपूर्ण प्लेटफर्म बन्यो। भारत सरकारले योग, होमियोपेथी, नेचुरोपेथीलगायत सम्पूर्ण पूर्वीय चिकित्सा पद्धतिहरुलाई आयुष विभागअन्तर्गत प्याकेजकै रुपमा विकसित गर्न चाहेको रहेछ। नेपालमा भने योग तथा नेचुरोपेथीलाई चिकित्सा पद्धतिका रुपमा मान्यता दिनेबाहेक सरकारले थप कुनै चासो दिएको छैन। भारतमा महात्मा गान्धीका पालादेखि योग र नेचुरोपेथीलाई अँगालिएको थियो। गान्धी स्वयंले यी विधालाई राष्ट्रिय महत्व दिएका थिए। नेपालमा भने पर्याप्त दक्ष जनशक्तिको अभावका कारण पनि यी विधा छायाँमा परिरहेका छन्। कालक्रमसँगै पूर्णतया हानिरहित, पार्श्वप्रभावरहित एवं किफायती उपचार पद्धति योग र नेचुरोपेथीप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएकाले नेपालबाट बर्सेनि भारतका विभिन्न ठाउँमा यी विषयमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीको संख्या बढिरहेको छ। बेंगलोरको एसडीएम कलेज अफ नेचुरोपेथीमा मात्रै १४ नेपाली विद्यार्थी यतिखेर ब्याच्लर इन योगिक एन्ड नेचुरोपेथी साइन्सेज विषयमा अध्ययन गरिरहेका रहेछन्। दक्ष जनशक्ति तयार भएपछि निश्चय नै हाम्रो देशमा पनि यी विधाको प्रचार हुनेछ। त्यस्तै विशाल सम्मेलनहरु नेपालमा पनि आयोजना हुन सक्लान्।
नागरिक दैनिकमा प्रकाशित MONDAY, 27 FEBRUARY 2012  
http://archives.nagariknews.com/2011/opinions/98-opinion/37344-2012-02-27-04-54-04.html