Monday, March 11, 2013



ध्यान र पुनर्ताजगी
— नेत्र आचार्य


अघिल्लो वर्षको आखिरीतिर आयोजित एउटा विपश्यना शिविरमा गुरु छोक्न्यी रिन्पोछेले भने, ‘बुद्धले संसारलाई दिएको सबभन्दा ठूलो देन विपश्यना ध्यान हो । बुद्धले आफ्नो कालखण्डमा ध्यानको यो प्राचीन पूर्वीय कलालाई पुनरुत्थान गरेका थिए । विपश्यनालाई एकपटक फेरि पुनरुत्थान गर्ने बेला आएको छ ।’ यतिखेर स्रोत साधन सम्पन्न विश्वविद्यालयहरूले ध्यानको प्रभाव र उपयोगितामाथि विभिन्न प्रयोग गर्न थालेका छन् ।

हार्वर्ड विश्वविद्यालयमा गरिएको पछिल्लो शोधले ध्यान गर्नेहरूमा मानसिक स्वास्थ्य, एकाग्रता र स्मरण शक्तिको विकास भएको तथा तिनीहरू तुलनात्मक रूपले सन्तुलित जीवन बाँच्ने गरको पाइएको छ । विपश्यना ध्यान साधकहरूमाथि गरिएको उक्त शोधबाट ध्यानीहरूको दिमागको आयतनसमेत बढाएको देखियो । हार्वर्ड मेडिकल स्कूलकी मनोविज्ञानवेत्ता तथा शोधको अगुवाइ गरेकी सारा लाजार भन्छिन्, संगीतकारहरूमा ध्यानले दिमागका संगीतसम्बन्धी तन्तुको आकार वृद्धि गरेको र जादूगरहरूमा तिनको दिमागका दृश्य नियन्त्रण गर्ने तन्तु सबल बनाएको देखियो । उनका अनुसार ध्यान दीर्घ यौवनका लागि समेत प्रभावी देखिएको छ । कैयौँ ध्यानीहरूको अनुभवबाट सिद्ध भइसकेको छ, नियमित ध्यानको अभ्यासले विचारमा स्पष्टता आउँछ, तनाव हराउँछ र प्रतिकूल परिस्थितिहरूमा अविचलित रहने सहनशीलता विकसित हुन्छ । तर आकांक्षाहरूको पछि दौडन सधैँ हतारो गर्नुपर्ने हुँदा मानिसलाई ध्यान गर्ने समय निकाल्न मुश्किल हुन्छ र ध्यानमा बसिहाले पनि मनको बेचैनीले गर्दा एकाग्र रहन र ध्यानलाई स्वभाव बनाउन कठिन हुन्छ । प्राचीन कालमा भने ध्यान मानिसको एउटा महत्वपूर्ण दैनिकी थियो ।

ध्यान प्रायः सबै धर्मको एक प्रमुख अङ्ग हो । हिन्दूहरू गायत्री मन्त्रजपबाट नित्य दैनिकी सुरु गर्छन् । बौद्धहरू प्रातः कालमा विपश्यना अभ्यास गर्छन् भने क्रिश्चियनहरू प्रार्थना गर्छन् । मुस्लिम मस्जिदमा नित्य मध्यान्हकालमा नमाज पढ्ने प्रार्थना गर्ने गरिन्छ । वर्तमान उत्तरआधुनिक कालखण्डमा जीवन जति जटिल हुँदै गएको छ उति नै फेरि एक पटक ध्यान मानव जीवनको दैनिकीको एक हिस्सा बन्दै गइरहेको छ । तनावबाट मुक्त हुन र मानसिक शान्ति अनुभूति गर्नका लागि भए पनि शहरियाहरू ध्यानमा बस्न थालेका छन् । ध्यानको महत्ता र उपयोगिता भने योभन्दा निकै बेशी छ ।

ध्यान त्यो कला हो जसले हामीलाई आफ्नै दिमागमाथि नियन्त्रण गर्न सिकाउँछ । अन्यथा हामी हरपल दिमागको दास भइरहेका हुन्छौँ, दिमागले हामीलाई काबूमा राखिरहेको हुन्छ । हामीले चाहे पनि, नचाहे पनि दिमागमा नानावली चाहिने नचाहिने विचार खेलिरहेका हुन्छन् । हामीले शान्त बस्न चाहँदा पनि दिमागले सोचिरहेको हुन्छ, विचारको प्रवाह एक क्षण पनि रोकिएको हुँदैन । कसैले सम्मान वा अपमान गरेको प्रसङ्ग आवश्यकताभन्दा बढी दिमागमा खेलिरहन्छ । दिमागमा आकांक्षा र अतृप्त चाहनाहरूको त हरदम बाढी नै प्रवाहित भइरहेको हुन्छ । यो कहिले घर पुग्छ, कहिले अफिस, कहिले पूरा गर्नुपर्ने डेडलाइनका बारेमा चिन्ता गरिरहेको हुन्छ, भने कहिले हाकिम खुशी होला कि नहोला भन्ने तर्कना गरिरहेको हुन्छ । दिमाग अक्सर विनाकाम यत्रतत्र भौँतारिइरहेको हुन्छ भने हामी गर्नुपर्ने मुख्य कामबाट विमुख भइरहेका हुन्छौँ । दिमागलाई जे देख्यो त्यही चाहिन्छ । तृष्णाहरू असीमित हुन्छन् तर तृप्ति सीमित । एकाध चाहना पूरा गर्नु माग्नेको पोल्टामा दुईचार सिक्का फ्याँकेजस्तै हुन्छ । आज माग्नेको जीवन धानिन्छ यद्यपि भोलि उसका दुख झन् बढ्छन् । दिमागको दास हुँदा हामी यही नियतिको शिकार हुन पुग्छौँ । काबूमा रहेको दिमाग मानिसका निम्ति स्वर्ग हो भने बेलगाम दिमाग नरक हो । बुद्धले भनेका थिए, संसार जित्ने मानिस बहादुर होइन, बहादुर त्यही हो जसले आफ्नो दिमागमाथि विजय प्राप्त गरेको हुन्छ । ध्यान साधनाद्वारा दिमागलाई काबूमा राख्न सकिन्छ ।

ध्यान एउटा मिहीन कला हो । ध्यान मस्तिष्कलाई विचारशून्य पार्नु होइन । बरु त्यहाँ खेल्ने विचारहरूलाई विना हस्तक्षेप अवलोकन गर्नु हो । क्रमशः नियमित अभ्यासबाट मस्तिष्कमा उठ्ने विचारका तरङ्गहरूलाई निगरानी र नियमन गर्ने क्षमता हासिल हुन्छ । ध्यानमा बस्दा कहीँ कतैबाट आवाज सुनियो भने त्यसलाई के रहेछ भनेर सोच्ने होइन, सुन्ने मात्रै । खुट्टा निदाउँछ भने त्यहाँ भइरहेको शारीरिक संवेदना अनुभव गर्ने मात्र । अथवा बाह्य कुनै कुराले ध्यान भङ्ग गरिरहेको छैन भने स्वासप्रश्वासमा ध्यान केन्द्रित गर्ने । क्रमशः वर्तमानमा होशपूर्वक रहने अभ्यास गर्ने र शून्यता अनुभूति गर्ने । यसबाट मस्तिष्कलाई पर्याप्त विश्राम प्राप्त हुन्छ र एकाग्रता पनि विकसित हुँदै जान्छ । एकाध घण्टाको नियमित अभ्यासले केही दिनमै मन–मस्तिष्कमा ताजगी आउँछ र ऊर्जा भरिन थाल्छ । नकारात्मक विचारहरू विलय हुँदै जान्छन् र सकारात्मक सोचहरू विकसित हुन थाल्छन् । जर्मन दार्शनिक शोपेनहावर भन्छन्, ‘तिम्रो मनको आनन्द तिम्रो गोजीमा के छ त्यसमा होइन, तिम्रो मस्तिष्कको संरचनामा निर्भर गर्छ ।’ ध्यान गरौँ र आफ्नो मस्तिष्कलाई समृद्ध बनाऔँ ।
नोट : केही वर्ष पहिलाको आलेख ।