शिक्षा, योग र अनुशासन
नेत्र आचार्य
सहरमा उच्च शिक्षा पढ्दै गरेको एक विद्यार्थी कृषि र पशुपालनको अवस्था हेर्न कुनै गाउँमा गएको रहेछ। एक ठाउँमा कोल हालेर तोरी पेल्ने काम भइरहेको थियो। गोरुहरुले कोल घुमाउँदै थिए, किसान भने छेउतिर सियाँलमा निदाइरहेको थियो। किसान बिउँझेपछि विद्यार्थीले सोधेछ, 'तपाईँ निदाएपछि गोरु घुम्न छोडे भने यति धेरै तोरी कसरी पेलिएला।' 'म निदाए पनि गोरु घुमिरहन्छन्' किसानले ढुक्क हुँदै भनेछ। 'कसैगरी गोरु अडिए भने तपार्इँले कसरी थाहा पाउनुहुन्छ?' विद्यार्थीले जिज्ञासा राखेछ। 'मैले गोरुको घाँटीमा घण्टी झुण्ड्याइदिएको छु। गोरु घुमिरहेमात्र घण्टी बजिरहन्छन्, घण्टी बज्न छोडेको मैले निदाएकै बेला पनि थाहा पाइहाल्छु,' किसानले भनेछ।
'मानौँ, तपाईँ निदाएका बेला गोरु अडिएर टाउको हल्लाइरहे भने घण्टी त बजिरहेको हुन्छ, कोल भने घुमिरहेको हुँदैन नि' विद्यार्थीले फेरि तर्क गरेछ। 'मेरा गोरुहरु तिमीजस्ता 'शिक्षित' छैनन्' किसानले अब भने धेरै बहस नगर्ने विचारले भनेछ।
शिक्षित हुनुको अर्थ दिमाग लडाउन सक्नु, तर्कशील हुनु वा हरहालतमा आफ्नो दुनो सोझ्याउन सक्षम बन्नुमात्रै होइन। समाज, पर्यावरण र मानवीयताप्रति संवेदनशीलता छैन भने विवेकशील प्राणी हुँ भन्ने गर्व गर्न मानिसले लाज माने हुन्छ। उत्तरआधुनिक मानिसले लाज मान्नुपर्ने अरु पनि विषयवस्तु छन्।
शिक्षित हुनुको अर्थ दिमाग लडाउन सक्नु, तर्कशील हुनु वा हरहालतमा आफ्नो दुनो सोझ्याउन सक्षम बन्नुमात्रै होइन। समाज, पर्यावरण र मानवीयताप्रति संवेदनशीलता छैन भने विवेकशील प्राणी हुँ भन्ने गर्व गर्न मानिसले लाज माने हुन्छ। उत्तरआधुनिक मानिसले लाज मान्नुपर्ने अरु पनि विषयवस्तु छन्।
महाकवि देवकोटाले गधा बुद्धिमान् हो कि गुरु, निश्चय गर्न सकेका थिएनन्। धेरै पढेका गुरु बुद्धिमान् भनूँ भने तिनको व्यवहारमा विवेकको नामोनिशान देखिँदैनथ्यो, आफैँले सिकाउने अनुशासन स्वयंले पालन गर्दैनथे। कहिल्यै बाटो नछोड्ने गधालाई बुद्धिमान् भनुँ भने शिक्षादीक्षा छैन। मानिसको मन-मस्तिष्कबाट अनुशासन कहाँ गायब भयो होला, कसरी हरायो होला, कहाँ फेला पार्न सकिएला। वर्तमानमा जस्तो अनुशासनको खडेरी पहिला यस ग्रहमा सायद कहिल्यै परेको थिएन।
माघको अन्त्यतिर बेंगलोरमा सम्पन्न अन्तर्राष्ट्रिय योग तथा नेचुरोप्याथी सम्मेलनमा हराएको अनुशासनलाई सर्वत्र खोज्ने चेष्टा गरियो। 'अथ योगानुशासनम्, योग भनेको अनुशासन हो, क्षणक्षणमा बदलिने, भाग्ने, आलसी र उट्पट्याङ मनलाई अनुशासनमा राख्नु योगको पहिलो र अन्तिम लक्ष्य हो' प्रसिद्ध योग गुरु बीकेएस आयंगरले भने।
अनुशासन बाहिरबाट थोपरिने वस्तु होइन, मानिसको अन्तर्मनबाट निसृत हुने बोध हो। वर्तमान मानिस बिमारी छ : विजातीय पदार्थ अर्थात् टक्सिनयुक्त खानपानको प्रभावले मानव शरीरका भित्री र बाहिरी अवयवहरु मक्किएका छन्, चौबीसै घण्टा काम गरिरहने प्रणाली अस्वस्थ भएका छन्। यस स्थितिलाई हृदयंगम गरी शारीरिक स्वाास्थ्य पुनर्प्राप्तिका लागि योगासनको अभ्यास हुन थालेको छ। यथोचित योगाभ्यासले निश्चय नै शारीरिक स्वास्थ्य पाउन सकिन्छ। त्यसैले शारीरिक स्वास्थ्यका लागि योगाभ्यासको प्रचलन आम भइसकेको छ। तर, योगाभ्यास शारीरिक स्वास्थ्यका लागि मात्रै होइन। शारीरिक, मानसिक र चेतनाको तहमा मानिसलाई स्वस्थ, दीर्घजीवी र अनुशासित बनाउनु योगको बृहत्तर आयाम हो। यिनै आयामको परिचय दिँदै योग गुरु आयंगरले भने, 'शरीरलाई रोगमुक्त पार्नु, मनलाई शान्त पार्नु, जीवनलाई सुखी बनाउनु र समग्र अस्तित्वसँग सौहार्दता कायम राख्न सिकाउनु योगको लक्ष्य हो।'
कुए में भाङ डाल दी सभ्यता ने आज, देखें कहाँ पे जाकर ठहरता है आदमी। उपभोगवादी संस्कृतिको हुरी र महत्वाकांक्षाको ज्वारभाटाले मानिसलाई लतार्दै, घिस्याउँदै कतै निर्जन, एकलास ठाउँतिर लगिरहेको छ। आजभोलिको कामकाजी सहरी सभ्यतामा मानिस दिनभर कम्प्युटरको अगाडि बसिरहन बाध्य छ। उसको शरीर स्थिरप्रायः रहन्छ। मन भने जंगलको बाँदरजस्तै यत्रतत्र भागिरहेको हुन्छ। मन न स्थिर छ, न मौन। एक घण्टाभित्र मनमा खेलिरहेका विचार र भागिरहेका ठाउँहरु जस्ताको तस्तै लेख्ने हो भने हरेक मानिस पागल हुन्छ। हामी जहाँ छौँ, त्यहाँ स्थिर छैनौँ, जे गरिरहेका छौँ त्यसमा सन्तुष्ट छैनौँ र त्यस काममा मन लगाउँदैनौँ। कहीँ अन्यत्र सुखसुविस्ता, आराम र चैन होला भन्ने बुझ्नै नसकिने हुटहुटी हरदम हाम्रो मनमा खेलिरहन्छ।
मनको यही अस्थिरताका कारण मानिसमा दृष्टिदोष पैदा हुन्छ। हामी औषधि खाएर रोग निको पार्न चाहन्छौँ, धेरै खानपान गरेर सन्तुष्टि लिन चाहन्छौँ, सूचनाहरु पढेर विद्वान् हुन चाहन्छौँ र अर्थोपार्जन गरेर सुख वा शान्ति प्राप्त गर्न चाहन्छौँ। तर, गहिरिएर हेर्दा दैनिक जीवनमा यस्तो परिणाम कदाचित् सम्भव देखिँदैन।
दबाइले रोग दबाउँछ। रोग निको पार्न योगाभ्यास, सात्विक भोजन, प्राकृतिक चिकित्सा आवश्यक छ। धेरै खाएर शक्ति या सन्तुष्टि प्राप्त हुँदैन। यथोचित पाचन, पोषण एव अवशोषणद्वारा मात्र शक्ति या आनन्द प्राप्त हुन्छ। पुस्तक वा पत्रपत्रिकाबाट केवल सूचना प्राप्त हुन्छ, ज्ञान प्राप्तिका लागि त चिन्तन, मनन र व्यवहारमा त्यसको अभ्यास आवश्यक हुन्छ। बैंक ब्यालेन्स बढ्यो भने बाहिरी सुख एवं सामान बढ्छन्। वास्तविक चैन, सुख, शान्ति र आनन्द त सामाजिक एवं वैश्विक महत्वका विषयमा तल्लीनताद्वारा बढ्छन्। धनात् धर्म ततः सुखम्, अर्थात् अर्थोपार्जनबाट परोपकार एवं सेवामूलक कार्य गर्न सकिन्छ तब मात्र वास्तविक सुखानुभूति हुन्छ। अन्तर्राष्ट्रिय योग तथा नेचुरोप्याथी सम्मेलनले पूर्वीय जीवनपद्धतिको पुनर्जागरणको सन्देश दियो। उक्त प्रथम अन्तर्राष्ट्रिय योग तथा नेचुरोप्याथी सम्मेलनमा नेपालबाट ५२ जना योगप्रेमीहरुको समूह सहभागी थियो। माघ २६ देखि फागुन १ सम्म चलेको सम्मेलनमा ५२ देशका पाँच हजार प्रतिनिधि सहभागी थिए।
कर्नाटक राज्य सरकारको मुख्य आयोजना रहेको उक्त सम्मेलनले 'सम्पूर्ण स्वास्थ्यका लागि योग र नेचुरोप्याथी' मूल प्रतिपाद्य विषय तय गरेको थियो। योगासन च्याम्पिएनसिप, अमृत भोजन मेला, योगको दार्शनिक एवं स्वास्थ्य महत्वबारे विश्वभरिका विद्वान् एवं अनुसन्धाताद्वारा कार्यपत्र प्रस्तुति सम्मेलनका आकर्षण रहे। योगासन, प्राणायाम, विश्राम र ध्यानले मानिसको शारीरिक, मानसिक, भावनात्मक, सामाजिक र आध्यात्मिक स्वास्थ्य कायम गर्छन्। वैज्ञानिक खोजअनुसन्धानबाट यी तथ्य पुष्टि भएपछि योग वैकल्पिक मनोशारीरिक उपचार पद्धतिका रुपमा स्थापित हुँदै गएको छ। नेचुरोप्याथी औषधिको प्रयोगरहित प्राकृतिक उपचार पद्धति हो। माटो, पानी, हावा, ताप र उपवास एवं जीवनशैली परिवर्तनबाट गरिने पार्श्वप्रभावरहित उपचार शैलीप्रति आकर्षण बढ्दै गएको वर्तमान समयमा यस सम्मेलनले वास्तविक स्वास्थ्यप्रति जागरुकता थपेको छ।
सम्मेलन योग र नेचुरोपेथीसम्बन्धी व्यापक अनुसन्धान, प्रवर्द्धन एवं सेवा-विस्तारमा सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गर्यो। विश्वभरिका स्वास्थ्य व्यवसायी, अनुसन्धाता, प्राज्ञिक, नीतिनिर्माता, सन्त एवं स्वास्थ्यप्रेमी र विद्यार्थीको निम्ति महत्वपूर्ण प्लेटफर्म बन्यो। भारत सरकारले योग, होमियोपेथी, नेचुरोपेथीलगायत सम्पूर्ण पूर्वीय चिकित्सा पद्धतिहरुलाई आयुष विभागअन्तर्गत प्याकेजकै रुपमा विकसित गर्न चाहेको रहेछ। नेपालमा भने योग तथा नेचुरोपेथीलाई चिकित्सा पद्धतिका रुपमा मान्यता दिनेबाहेक सरकारले थप कुनै चासो दिएको छैन। भारतमा महात्मा गान्धीका पालादेखि योग र नेचुरोपेथीलाई अँगालिएको थियो। गान्धी स्वयंले यी विधालाई राष्ट्रिय महत्व दिएका थिए। नेपालमा भने पर्याप्त दक्ष जनशक्तिको अभावका कारण पनि यी विधा छायाँमा परिरहेका छन्। कालक्रमसँगै पूर्णतया हानिरहित, पार्श्वप्रभावरहित एवं किफायती उपचार पद्धति योग र नेचुरोपेथीप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएकाले नेपालबाट बर्सेनि भारतका विभिन्न ठाउँमा यी विषयमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीको संख्या बढिरहेको छ। बेंगलोरको एसडीएम कलेज अफ नेचुरोपेथीमा मात्रै १४ नेपाली विद्यार्थी यतिखेर ब्याच्लर इन योगिक एन्ड नेचुरोपेथी साइन्सेज विषयमा अध्ययन गरिरहेका रहेछन्। दक्ष जनशक्ति तयार भएपछि निश्चय नै हाम्रो देशमा पनि यी विधाको प्रचार हुनेछ। त्यस्तै विशाल सम्मेलनहरु नेपालमा पनि आयोजना हुन सक्लान्।
नागरिक दैनिकमा प्रकाशित MONDAY, 27 FEBRUARY 2012
http://archives.nagariknews.com/2011/opinions/98-opinion/37344-2012-02-27-04-54-04.html