शूली पनि चढाउँछ
प्रेमले तिम्रा सपनाहरू पूरा गरिदिन सक्छ,
बढारिदिन पनि सक्छ
प्रेमले प्रेमबाहेक न केही दिन्छ,
प्रेमले प्रेमबाहेक न केही लिन्छ ।
लेबनानको बशेरी अर्थात् स्याउका बगैंचा, किम्बुका लता र अंगुरका लहराहरूको सहर ।
उपत्यकाका गल्छी र खोंचहरू, छाँगा र छहराहरूको के बयान † प्रकृतिको सदाबहार रौनक । युवक खलिल जिब्रानले सुश्री हाला देहारलाई अंगुरका झुप्पाहरू लतक्क नुहेको कुनै बगैंचामा पहिलोपल्ट देखे । पहिलो नजरमै प्रेम बस्यो । कविहृदय † किम्बुजस्तै रसिली हालासित भरपूर रोमान्स गरेर पुगेन । आºनै बनाउन मन लाग्यो तर लेबनानीहरूको धर्मान्ध समाजले प्रेम पचाएन । खलिललाई पहिलो गाँँसमै ढुंगा लाग्यो !
हाला धनी परिवारकी छोरी । त्यसमाथि अरबी चलन–अनुसार सानैमा पादरीको भतिजासँग उनको बिहे तय गरिएको थियो । यद्यपि पहिला जे वाचा गरिएको भए पनि हालाका बाबु जिब्रानलाई छोरी दिन राजी भएका थिए तर त्यहाँको पादरीले हालासँगै आउने सम्पत्तिको लोभका कारण जिब्रानसँग बिहे हुन दिएन । जिब्रान आहत भए र ‘स्पिरिट रिबेलियस’ नामको पुस्तक लेखे । यो कृतिमा जिब्रानले लेबनानी उच्चवर्गीय समाजका कुरीतिहरू, धर्मान्धता र पादरीहरूको दबदबाप्रति तीखो आलोचना गरे । त्यसैले सत्ताधारीहरूले पछि उनीसँग चर्को बदला लिए । जिब्रानलाई चर्चबाट बहिस्कृत गरियो, देशबाट निकाला गरियो र ‘स्पिरिट रिबेलियस’ जलाइयो ।
जिब्रानका पिता भेडाबाख्रा हेर्ने गोठाला थिए । आºनो उत्तरदायित्वप्रति समेत उनी सचेत थिएनन् । एक दिन उनैले परिवारको आर्थिक भार सम्हाल्नुको साटो विपन्नतातिर धकेले तर आमा केमिला जिब्रानका लागि सबथोक थिइन् । ‘द अरबियन नाइट्स’ जस्ता विश्वविख्यात कथाहरू सुनाएर साहित्यप्रति बालक जिब्रानको रुचि जगाइदिएकी थिइन,् सानैमा हातमा ब्रस थमाइदिएर चित्रकलाप्रति चाख बढाइदिएकी थिइन् ।
जन्मभूमिका रमणीय प्राकृतिक छटाहरूले खलिल जिब्रानलाई सानैदेखि आकर्षित गरे । बाल्यकालदेखि नै उनी प्रकृतिप्रेमी, एकान्तप्रिय र विचारशील भएर हुर्किए । औपचारिक शिक्षार्जनमा उनको धेरै रुचि भएन । उनी त मानौं, जन्मजात निर्भीक थिए । जे मन लाग्छ, त्यही पढ्थे, जहाँ जान मन लाग्छ त्यहीँ पुग्थे । कहिले कुची समाएर क्यानभासमा रङ पोतिरहेका हुन्थे त कहिले गल्छी र खोंचहरूतिर बतासजस्तै त्यसै त्यसै बतासिएका हुन्थे ।
जिब्रान स्वदेशका विख्यात कवि र कलाकारहरूको अध्ययन एवं चित्र बनाउने कार्यमा जुटेका थिए । उनी सोच्थे, ‘हरेक मानिसमा कलाकार हुने सम्भावना भरपूर हुन्छ । एक बालकलाई सजिलै एउटा चराको चित्र कोर्न सिकाउन सकिन्छ, जसरी एउटा शब्द लेख्न सिकाउन सकिन्छ ।’ चित्रकला उनको रगतमा थियो सायद, उनका चित्रहरूले अभिव्यक्त गर्ने भाव शब्दले कहिल्यै संकेत गर्नसम्म सक्दैनथे ।
यसैबीच जिब्रानले अमेरिकामा प्यारी बहिनी सुल्तानाको क्षयरोगका कारण देहान्त भएको र दाजु सिकिस्त भएको खबर पाए । उनी अमेरिका हान्निए । त्यहाँ पुगेको केही महिनामै पिटरले संसारबाट बिदा लिए । दाजु बितेको तीन महिनापछि आमा केमिला परमधाम भइन् । बाल्यकालदेखि नै मन–मस्तिष्कमा सौन्दर्यचेतना भरिदिएकी आमा केमिलाको मृत्युले उनी आहत भए । क्षते: क्षारावसेचनम्, मानौं विधाताले आलो घाउमा नुनचुक छर्केको थियो । कवि विक्षिप्त जस्तै भए तापनि छिटै सम्हालिए ।
पीडा के हो ?, यो जिब्रानले जति कसले बुझे होलान् † जिब्रानमा एउटा ईष्र्यालाग्दो खुबी थियो; उनी शोकलाई शक्तिमा बदल्न सक्थे । उनले अनुभूति गरेका पीडाका ‘आह !’ हरू कालजयी दर्शनमा यसरी अभिव्यक्त भए :
–त्यो आवरण च्यातिनु नै पीडा हो जसले विवेकलाई ढाकिराखेको हुन्छ ।
–फलको बाहिरी बोक्रो फुटेपछि नरम गुदीले सूर्यको ताप सहन सक्नुपर्छ, त्यसैगरी तिमीले पनि पीडा सहन सक्नुपर्छ, पीडालाई बुझ्नुपर्छ ।
–पीडा तीतो औषधि हो । तिमीभित्रको वैद्यले यही औषधिद्वारा तिम्रो बिरामी अस्तित्वलाई स्वस्थ बनाउँछ ।
–दैनिक जीवनका आश्चर्यहरूप्रति चकित हुन सिक्यौ भने पीडा पनि खुशीभन्दा कम आश्चर्यपूर्ण हुनेछैन ।
–तिमी शोकको शिशिरलाई पनि शान्त भई हेर्नेछौ ।
–जसरी सुइरोले खोक्रो पारेको बाँस दिल बहलाउने बाँसुरी बन्छ, उसैगरी पीडा र प्रेमले आहत बनाएको हृदयबाट नि:सृत हुने हरेक उच्छ्वास कविता बन्छ, हरेक शब्द दर्शन बन्छ ।
विषादका यी दिनहरूमा जिब्रानले चित्र कोर्ने, पुस्तकका गाता डिजाइन गर्ने र छोटा निबन्धहरू लेख्ने काम गरे । ‘द प्रोफेट’ लाई सटीक बनाउन तल्लीन भए । पैसाको खाँचो परेको हुँदा एक फोटोग्राफर साथीको स्टुडियोमा चित्रकला प्रदर्शनी गरे तर विरलै मानिसहरू उनका चित्र हेर्न भेला भए । दु:खको कुरा, कसैले एउटै चित्रको मूल्यसमेत सोधेनन् । संयोगले ती थोरै मानिसमध्ये सुश्री मेरी ह्यास्केल नामकी युवती पनि थिइन् । उनी चित्रकला प्रदर्शनीको समय सकिनै लागेका बेला आइपुगेकी थिइन् । मेरीले भने जिब्रानका चित्रकलामा निकै रुचि लिइन् । जिब्रानका चित्रहरूमा विछट्ट सौन्दर्य र एक भिन्नै प्रकारको मिस्टिसिजम अर्थात् रहस्यवाद उनले फेला पारिन् । मेरीले जिब्रानलाई आºनो इन्स्टिच्युटमा प्रदर्शनी गर्ने बन्दोबस्त मिलाइदिइन् । दुबैबीच हेलमेल बढ्दै गयो, जुन अन्तत: जीवनभरिको गाढा प्रेममा परिणत भयो ।
यद्यपि मेरीसँग जिब्रानको प्लेटोनिक अर्थात् आदर्श प्रेम थियो । कमसेकम उनी यस्तै सोच्थे । यही कालखण्डमा अर्की एक युवतीसँग उनको सांसारिक प्रेम चल्दै थियो । ती युवती थिइन्, मेरीकै संस्थामा फ्रेन्च भाषा पढाउने शिक्षिका एमिली । प्रेम निरापद चल्दै थियो, यद्यपि जिब्रान बडो दुविधामा थिए । आर्थिक विपत्तिका बेला मेरीले आफूमाथि लगाएको गुन एकातिर छ, एमिलीसँगको प्रेमालाप अर्कातिर छ ।
कविहृदयका एक अरबियन जिब्रान न एमिलीसँग ढुक्कले प्रणयबन्धनमा बाँधिन सक्थे, न त जीवनले दिएको प्रेमोपहार अँगालोभरि स्वीकारेर बिलौना नै गर्न सक्थे । सायद, एमिलीप्रतिको प्रेम र मेरीप्रतिको कृतज्ञताको भाव सम्मिश्रित हुँदा उनमा दार्शनिक चेतना विकसित भयो ।
‘प्रेमको अँँगनबाट बाहिर निस्क र मौसमबिहीन संसारभित्र प्रवेश गर । त्यहाँ तिमी हाँस्नेछौ तर उन्मुक्त भएर हाँस्न सक्ने छैनौ । रुनेछौ तर धक फोरेर रुन सक्नेछैनौ ।’
दुई विपरीत विचारहरूलाई एकसाथ दिमागमा खेलाउन सक्नु र तत्क्षण साहित्य सृजना पनि गर्न सक्नु; यही प्रतिभाको लक्षण हो । जिब्रानले जसरी पीडाको अतल गहिराइ भोगेका थिए, त्यसैगरी शर्तरहित प्रेमको उचाइ अनुभूति गरेका थिए । प्रेममा पर्नु (फलिङ इन लभ) भनेको के हो धेरैलाई थाहा हुन्छ, प्रेममा माथि उठ्नु (राइजिङ इन लभ) कमैलाई बोध हुन्छ । यी दुबैको इयत्ता पत्तो पाएका जिब्रानजस्तै कुनै कविको हृदयको भंmकारबाट ‘द प्रोफेट’ जस्तो मर्मस्पर्शी कृति रचना हुन सक्थ्यो । यही कालखण्डमा उनको मास्टरपिस कृति ‘द प्रोफेटले’ आकार लिँदै थियो । यसैबीच मेरीले जिब्रानलाई आफैंले खर्च हालेर चित्रकला पढ्न पेरिस पठाइन् । मेरीप्रति आभारी हुँदै उनी पेरिस गए । अब एउटीको सद्भावमा बाँच्दै अर्कीसँग प्रेमालाप गर्नुपर्ने छैन भन्ने उनलाई आशा थियो । एक अरबी हृदय भएका कवि जिब्रान मेरीप्रति कृतघ्न हुन चाहँदैनथे, सकेसम्म एमिलीलाई भुल्न चाहन्थे तर विधिको विधान, कविलाई पछ्याउँदै एमिली फ्रान्स आइपुगी । भन्नै परोइन, कविको हृदय यज्ञको अग्निमा घिउ पग्लेजस्तै पग्लियो । एमिलीसँग प्रेमालाप पुन: सुचारु भयो । सबै कुराको बाबजुद प्रेम सघन हुँदै गयो । जिब्रानले संसार भुले र संसारसँगै मेरीलाई पनि भुले । जिब्रानले आँखा चिम्लेर एमिलीलाई अँगालोमा स्वागत गरे र उनीसँगै बस्न उत्सुक भए । जिब्रान चाहन्थे, एमिली उनकी प्रेमिकाको रूपमा रहून् तर एमिली कविसँग बिहे गरेर बस्न चाहन्थिन् । एमिलीले प्रेमिकाको रूपमा जिब्रानसँग बस्न अस्वीकार गरिन् । यसप्रकार जिब्रानको प्रेम फेरि एक पटक आहत भयो ।
फेरि एक पटक आहत हृदयबाट उच्छ्वासहरू निस्किए :
प्रेम न कसैको मालिक बन्छ, न त कसैलाई आफ्नो मालिक बनाउँछ ।
किनभने प्रेम प्रेममा नै सम्पूर्ण हुन्छ ।
प्रेमको बाटो सोझ्याउन सक्छु भनी नसोच, किनभने तिमीलाई योग्य सम्झन्छ भने प्रेमले तिम्रो मार्ग निर्धारण गर्नेछ ।
स्वयंलाई सम्पूर्ण बनाउनेभन्दा प्रेमको अर्को आकांक्षा हुँदैन ।
दुई वर्ष फ्रान्स बसेर आर्ट पढेपछि उनी पुन: अमेरिका फर्किए । यतिन्जेल उनी विख्यात कलाकार र रहस्यद्रष्टा भइसकेका थिए । उनका कृतिहरू धमाधम प्रकाशित भइरहेका थिए । देश–विदेशमा कलाप्रदर्शनी भइरहेका थिए । जिब्रान जीवनको त्यो उचाइमा थिए, जहँँ विरलै मानिस पुग्छन् । अब जिब्रानले जसको माया र मद्दतले यो ख्याति आर्जन गरेका थिए, ती युवती मेरीलाई गुनको पैंचो तिर्नु थियो ।
उनले मेरीसँग बिहेको प्रस्ताव राखे । मेरीले कविलाई धेरै माया गर्थिन् तर कविले बिहे गर्ने प्रस्ताव गरेपछि यो विषयमा धेरै सोचिन् र कुनै अज्ञात कारणले उनी जिब्रानसँग बिहे गरेर बस्न राजी भइनन् । घाइते मन लिएर जिब्रान ‘द प्रोफेट’लाई अन्तिम रूप दिन तल्लीन भए । यस कार्यमा मेरीले फेरि पनि सहयोग जारी राखिन् । अंग्रेजी भाषामा निस्कन लागेको यो कृतिको भाषासम्पादनमा मेरीले धेरै मद्दत गरिन् ।
‘द प्रोफेट’ बीसौं शताब्दीको सर्वाधिक बिक्री भएको पुस्तक हो । अमेरिकामा मात्र एक करोड बीस लाख प्रति बिक्री भएको तथ्याङ्क पाइन्छ । यो पुस्तकको बारेमा एउटा लोकोक्ति छ, जसले ‘द प्रोफेट’ पढ्न थाल्छ, उसले यो पुस्तक नजिकका आत्मीय सखा–सम्बन्धीलाई उपहारको रूपमा दिन चाहन्छ ।
जिब्रानका कृतिहरूमा पाइने एउटै रस छ, त्यो हो प्रेमरस । यद्यपि यो आजभोलि हामीले देखे–जानेको प्रेम होइन । यो त वास्तविक प्रेम हो, जसलाई अरबी भाषामा ‘मोहब्बत’ भनिन्छ ।
क्रिस्चियनहरू भन्छन्, हामी खलिल जिब्रानलाई सुनिरहन चाहन्छांै । जिब्रानले जिससलाई याद दिलाउँछन् ।
जोन एफ केनेडीले जिब्रानलाई उद्धरण गर्दै भने, ‘देशले तिमीलाई के दिनसक्छ भन्ने नसोध, देशलाई तिमी के दिन सक्छौ भनी सोध ।’
इन्दिरा गान्धीले आºना सन्तानहरू हुर्काउँदै गर्दा जिब्रानका शब्द दोहोर्याउँथिन्, ‘तिम्रा सन्तान तिम्रा होइनन् । तिमी तिनीहरूको शरीरलाई तिम्रो घरमा राख्न सक्छौ तर तिनको आत्मालाई होइन । तिनीहरूको आत्मा त भविष्यको गृहमा रहन्छ जहाँ तिमी सपनामा पनि पुग्न सक्दैनौ ।’
विख्यात गायनसमूह बिटल्सका गीतहरूमा जिब्रानका अमर वाणीहरू मुखरित भएका छन् । ओशो रजनीशले मन परेका पुस्तकहरूको चर्चा गर्ने क्रममा स्रोताहरूसँग क्षमा मागेका छन् । ‘द प्रोफेटलाई मैले पहिलो सत्रमै किन सम्झिनँ ?’ उनले आफैंप्रति आश्चर्य व्यक्त गरे । ‘द प्रोफेट’ आफूलाई अत्यन्त मनपर्ने कृति भए पनि यो फ्रेडरिक नित्सेको पुस्तक ‘दस स्पेक जराथुस्त्र’को प्रतिबिम्ब हो भन्ने रजनीशको बुझाइ थियो ।
निश्चय नै, जिब्रानले नित्से, इमर्सन, वाल्ट ह्विटम्यान र विलियम ब्लेकजस्ता अग्रजहरूका कृतिहरू गहनरूपले अध्ययन गरेका थिए । कसैले त उनलाई बीसौं शताब्दीका ब्लेक पनि भन्ने गर्छन् । जिब्रानले बाइबलको गहन अध्ययन गरेका थिए । उनको पुस्तकालयमा बाइबलका अनेकौं संस्करण संकलित छन् । यसबाहेक जिब्रानले बुद्धदर्शनको पनि अध्ययन गरेका थिए । यी सबैको भाव उनका लेखमा ध्वनित भएको हुन सक्छ, जुन स्वाभाविक हो ।
यद्यपि शैली, विषयवस्तु र प्रतीक चयनका दृष्टिले ‘द प्रोफेट’ आपैंmमा एक अद्वितीय कृति हो । नित्सेले शक्तिको आकांक्षालाई पुष्टि गर्न जोड गरेको देखिन्छ । बाइबल क्रिस्चियनहरूको ग्रन्थका रूपमा छ, ‘द प्रोफेट’ धर्म वा सम्प्रदायभन्दा परको कृति हो । यसमा देश, काल, परिस्थिति, जाति, धर्म र सम्प्रदायको गन्ध आउँदैन । ‘द प्रोफेट’ पढ्दा पाठक एक प्रकारको ट्रयान्सको अवस्थामा पुग्छ । मानौं, कुनै जादूगरले कुनै अज्ञात आनन्दलोकमा लगेको अनुभूति हुन्छ । जिब्रान आºनो समयका एभाँ गार्ड इन्टेलेक्च्युअल थिए । उनका हरेक कृतिले पाठकको हृदयलाई अपिल गर्छन् । सारमा, ‘द प्रोफेट’प्रति कसैले कुनै आक्षेप लगाउँछ भने त्यो उसैको अज्ञानता हो र बचाउ गर्न शब्द खर्च गर्नु मूर्खता ।
उनको प्रतिभा र करिस्मा अद्वितीय छ । मेरीले अकारण उनलाई आजीवन मद्दत गर्दै रहेकी थिइनन् । स्त्रीहरूले उनको जीवनमा महत्त्वपूर्ण भूमिका खेले । उनी गहन प्रेमी थिए । फेरि एक पटक जिब्रानले मेरीसँग बिहेको प्रस्ताव राखे । फेरि पनि मेरी राजी भइनन् । अमेरिकाको खानदानी परिवारकी मेरीलाई एक आप्रवासीसँग बिहे गर्दा आफन्त, समाज र काम गर्ने संस्थाबाट तिरस्कृत भइने डर थियो ।
यसपालि पनि जिब्रान आहत भए, यसपालि पनि उनले सुस्केरा हाले :
एक अर्कालाई हृदय समर्पण गर तर उसैलाई राख्न नदेऊ । सँगै बस तर ज्यादै नजिक नहोऊ । मन्दिरका खम्बाहरू फरक—फरक उभिएरै छतलाई धानेका हुन्छन् । एउटै रागमा तरंगित हुने वीणाका तारहरू पनि अलग–अगल बाँधिएका हुन्छन् ।
My Article published in Sourya Daily (6 April 2013)
Here is the link http://www.souryadaily.com/2013/04/65442.html