Saturday, July 12, 2014

१०१ प्रेरणादायी आध्यात्मिक कथाहरूको संगालो

हजुरबाले नातिलाई कथा सुनाउँदै भने‚ मेरो मनभित्र दुइटा ब्वाँसा छन् । यौटा ब्वाँसो शान्त भएर बस्न मन पराउँछ । कसैलाई हानि गर्दैन‚ झगडा मोल्दैन । 
अर्को रिसाहा छ । अरूलाई हेप्छ र व्यर्थमा झगडा मच्चाउँछ । मलाई कहिले एउटाले बहकाउँछ कहिले अर्कोले । जब एउटा अर्कोमाथि हावी हुन खोज्छ‚ मेरो दिमाखको सन्तुलन बिग्रन्छ ।

एक छिन सोचेपछि नातिले सोध्यो‚ हजुरबा तपाइँको मनभित्र अक्सर कुन ब्वाँसो हावी हुन्छ ?

हजुरबाले भने‚ त्यही हावी हुन्छ जसलाई मैले खानपिउन दिन्छु ।

कथानक सनसनीपूर्ण रूपमा विकसित हुँदै जानु कौतुहलसँगै मिठास बढ्दै जानु र अन्त्यमा अक्सर झल्याँस्स पार्दै  हामीलाई गाढा निद्राबाट ब्युँझाउने गरी रहस्यको पोको खुल्नु सुन्दर कथाको विशेषता हो । छोटामीठा कथा पढ्दा आनन्द आउँछ ।


यो संगालोका कथाहरूले जीवनलाई हेर्ने एक फरक दृष्टि दिन्छन् । जीवन दुखैदुख हो यदि जीवनलाई नियाल्ने दृष्टि सही छैन भने ।  हामीले आम्रपाली जस्ती सुन्दरी युवतीलाई कसरी हेर्छौं ? बुद्धका आँखामा आम्रपाली कस्ती देखिइन् होला ? जीवनप्रति सही दृष्टि विकसित गर्न मदत पुर्‍याऊन् भन्ने सोचका साथ यी कथाहरू चुनिएका हुन् ।