नेत्र आचार्य
आजभन्दा छ सय वर्ष पहिला अर्थात् सन्त कबीरको जमानामा मानिसको ध्यान खिच्ने थोरै कुरा मात्र थिए होला । यद्यपि त्यस बखत पनि अन्तर्मुखी हुन कठिन थियो । सन्त कबीरले यही यथार्थ संकेत गरेका हुन् सायद । वर्तमान समयमा मानिसको ध्यान खिच्ने व्यक्ति, वस्तु र तरिकाहरु अनगिन्ती छन् । अचेल ध्यानको अभ्यास गर्नु कठिनतम हुँदै गइरहेको छ । के कसरी मानिसको ध्यान तान्ने उपक्रमहरु भइरहेका छन् र तीबाट बच्न के विधि अपनाउन सकिन्छ भन्ने चर्चा गर्नु यो आलेखको विषयवस्तु हो ।
आजभोलि ध्यानको लोकप्रियता बढ्दै गइरहेको देखिन्छ । डाँडाकाँडा र थुम्काहरुमा तिब्बती मूलका रिन्पोछेहरुले निर्माण गरेका विशाल गुम्बाहरुमा मात्र होइन, शहरको छेउछाउका पाखाहरुमा बग्रेल्ती खुल्दै गएका आश्रम वा योग केन्द्रहरुमा ध्यानको अभ्यासलाई प्राथमिकतामा राखिएको पाइन्छ । ठमेलजस्ता पर्यटकीय इलाकामा होटलहरुले योग र ध्यानलाई पाहुनाको आकर्षण बनाउन थालेको धेरै अघिदेखि हो । ध्यानको लोकप्रियता बढाउन बूढानीलकण्ठमा सन् असीको दशकमा खुलेको विपश्यना ध्यान केन्द्रले धेरै नै भूमिका खेलेको छ । कम्तीमा मानसिक अशान्ति र तनावबाट मुक्त हुनका लागि ध्यानको अभ्यास उपयोगी हुँदोरहेछ भन्नेमा सबै विश्वस्त भइसकेका छन् । यस परिदृश्यमा ध्यानमा बाधा पुर्याउने तत्वहरु र तीबाट आफूलाई जोगाउने उपाय जान्नु निश्चय नै लाभदायी हुनेछ ।
दिनानुदिन बजारीकृत हुँदै गइरहेको वर्तमान समयमा मानिसहरुको ध्यान वस्तु र सेवाहरुमा आकर्षित गर्न लाखौं करोडौं रुपियाँ लगानी गरिन्छ । ताकि मानिसहरु आकर्षित होऊन् र उत्पादक या सेवा प्रदायक कम्पनीहरुका उत्पादनहरु खरिद गरुन् ।
हामीले आफूलाई यति स्वच्छन्द पाराले छोडिदिन्छौ कि हामीलाई आफू अरुद्वारा नियन्त्रित भएको र उपभुक्त भएको पत्तै हुँदैन । हाम्रो बहुमूल्य समय, सम्पत्ति र ऊर्जा परिशोषित भएको हामीले हेक्कै राखेका हुँदैनौं । हामी टेलिभिजनको अगाडि या इन्टरनेट सर्फिङ गरेर घण्टौं बसिदिन्छौं । हाम्रो मनको एकाग्रतालाई मिडियाका सूचना, जानकारी र विज्ञापनका प्रचारबाजीहरुले त्यसैगरी भताभुङ्ग पारिदिन्छन् जसरी तोपगोलाहरुको वर्षाले सेनाका टुकडीहरु छिन्नभिन्न हुन्छन् । तब मात्र हामी ती वस्तु वा सेवाहरुको खरिद गर्न जान्छौं र दिनरात नभनी कमाएको सम्पत्ति नष्ट गरिदिन्छौं । हामीलाई सुख र शान्ति चाहिएको हो । सुख र शान्ति पाइन्छ भन्ने बारम्बार सुनेपछि हामी झण्डै विश्वस्त भइहाल्छौं र चाहिएका वा नचाहिएका सामग्री बटुल्छौं । तर यस उपक्रममा वास्तवमा लाभान्वित हुने केवल वस्तु वा सेवा प्रदायक, प्रचारकर्ता वा तिनका एजेन्टहरु हुन्छन् । तिनीहरुको स्वार्थ र बैंक ब्यालेन्स बढिरहन्छ, हामी एकपछि अर्को खरिददारीको कुलतमा फस्छौं र आफ्नो समय, सम्पत्ति एवं ऊर्जा समाप्त पार्छौं । आफ्नै नाभिको सुगन्ध खोज्न कस्तुरी मृग जंगल जंगल चाहारेर थकित भएजस्तै ।
बाहिरी वस्तु तथा सेवाहरुले आन्तरिक सुख र शान्ति दिन सक्दैनन् । यो कुरा आफ्नै अनुभव र अनुभूतिबाट बुझ्न थालेपछि मात्र मानिस आध्यात्मिक पुस्तकहरु पढ्न वा चर्चाहरु सुन्न थाल्छ, अनि मात्र विस्तारै विस्तारै अन्तर्मनमा चियाउने चेष्टा गर्न थाल्छ । साधनाका पद्धतिहरुमा उसको रुचि बढ्न थाल्छ ।
बाहिरी वस्तुहरुमा विक्षिप्त भएको मनलाई एकाग्र बनाउन केही साधना विधि या पद्धति आवश्यक हुन्छन् । चेतना अर्थात् हामीभित्रको वास्तविक साक्षी सत्ताको साक्षात्कार गर्न पहिला त मनलाई अन्तर्मुखी बनाउनुपर्छ । त्यसको लागि ध्यान अपरिहार्य हुन्छ । र ध्यानका लागि मनलाई एकाग्र, एकचित्त बनाउनुपर्छ ।
मनलाई एकाग्र बनाउन माला जपेर वा मन्त्रोच्चारण गरेर मात्र पुग्दैन, ध्यान कहाँ छ भन्ने कुरा अधिक महत्वपूर्ण हुन्छ । ध्यान आफूतर्फ फर्काउनु आध्यात्मिक साधनाको पहिलो सिंढी हो । ध्यान एकाग्र बनाउनका लागि इन्द्रिय संयम आवश्यक हुन्छ । इन्द्रिय संयमका सम्बन्धमा भगवान बुद्ध भन्नुहुन्छ, निष्फला नेत्र विक्षेपा नकर्तव्या कदाचन । निध्यायन्तीव शततं कुर्यात् दृष्टिरधोगतम् । अर्थात्, बिनाकाम कहिल्यै पनि आँखा यताउता नडुलाउनु । बाटोमा हिँड्दा पनि ध्यानमग्न भएझैं चार कदम अगाडि मात्र हेर्नू । पूर्वीय अध्यात्म परम्परामा साधनाका सयौं विधिहरु पाइन्छन् । आफूलाई कुन विधि उपयुक्त हुन्छ यो पत्तो लगाउने काम व्यक्तिको आफ्नै हो । विपश्यना ध्यान, प्रेक्षा ध्यान, चक्र ध्यान, अष्टाङ्ग योग साधना, कुण्डलिनी तन्त्र ध्यान, मन्त्र ध्यान पद्धति आदि सबैको अध्ययन र अभ्यास गरेपछि आफूलाई उपयुक्त विधि पत्तो लाग्छ ।
यी विधि र पद्धतिहरुले ध्यान साधकको बाहिर भट्किइरहेको चित्तलाई आफूतिर फर्काउन मदत गर्छन् । चित्त एकाग्र हुँदै गएपछि चित्तका संस्कारहरु नष्ट हुन्छन् । संस्कार रहित मन शुद्ध र पवित्र हुन थाल्छ । तब मात्र मनको स्वच्छ दर्पणमा चेतनाको निर्मल ज्योति देखा पर्न थाल्छ । मन शुद्ध भएपछि मात्र व्यक्तिले मौनको भाषा बुझ्न थाल्छ । त्यसैले भनिएको हो सायद, जसको मन शुद्ध उसका भगवान् बुद्ध ।
‘मान्छेको मन उज्यालो छ भने व्यक्तित्वमा सौन्दर्य झल्कन्छ । व्यक्तित्वमा सौन्दर्य भए घरमा सौहार्दता हुन्छ । घरमा सौहार्दता भएमा देशमा सुव्यवस्था कायम हुन सक्छ, तब मात्र समग्र विश्वमा शान्ति सम्भव हुन्छ । व्यक्तिको मनलाई उज्यालो पार्न मानव धर्मको अवलम्बन आवश्यक हुन्छ, ध्यानको अभ्यास आवश्यक हुन्छ ।’ गत साता नारायणी नदी किनारमा आयोजित सत्संगमा भेला भएका दशौं हजार जिज्ञासु र धर्मप्रेमीहरुलाई सतपालजी महाराजले यही भने ।
धनको खोजीमा हामीले पूरै जीवन लगायौं । यद्यपि धनले मात्रै मनको सुख र शान्ति दिन सक्दोरहेनछ भन्ने प्रस्ट भइसकेको छ । यो वास्तविकता अब धनी—गरीब सबैलाई जगजाहेर भइसकेको छ । एक पटक ध्यानको खोजी गरी हेरौं । सायद ध्यान नै असली धन सावित हुन सक्छ । मानिस बडा कौतुहलयुक्त प्राणी हो । मानिसले देखेको वा सुनेको हरेक कुरा एक पटक फेला पारेर, छामेर, सुम्सुम्याएर, चाखेर हेर्न माहिर हुन्छ । आधुनिक मानिसले सबै प्रकारका साहसिक कार्यहरु गरेर हेरिसकेको छ । आफ्नै शुद्ध चेतनाको खोजी गर्ने चेष्टा भने गरेको छैन । आशा गरौं, हामीमा चेतनाको खोजीमा जुट्ने चेष्टा पलाओस् ।
Published in Nagarik Daily on 11 March 2014
http://www.nagariknews.com/opinion/story/14863/14863.html