सफल कृति असल कृति
-- नेत्र आचार्य
तपाइँले पढ्दै गरेको पुस्तक कुन कोटीको हो : सफल कि असल ? कृतिलाई के कुराले असल वा कालजयी बनाउँछ ? शंकर लामिछानेका पुस्तक जति पटक पढ्दा पनि नयाँ कुरा फेला पर्छ । तर कतिपय पुस्तक एक पटक पढेपछि फेरि छुन मन नलाग्ने खालका हुन्छन् । तपाइँले खर्च गरेको समय र पैसाको उचित मूल्य पाउनुभएको छ त ?

महाकवि कालिदासका सम्बन्धमा एउटा किंवदन्ती छ । कालिदास एक दिन प्रातःस्नान गरेर नदीबाट दरबारतिर फर्कंदै थिए । नुहाउँदा पक्रेको ज्यूँदो माछा हातमा समातेका उनलाई बाटैमा राजा भोजले भेटे । दरबारमा मांसाहार निषेध थियो । कालिदासले हत्तपत्त माछा काखीमुनि च्यापे । तै, राजाले सोधिहाले ;
‘कविजी, काखीमा लुकाइराखेको के हो ?’
कालिदासले अक्मकाउँदै भने, ‘मेरो नवीन काव्य हो ।’
‘पानी चुहिराखेको छ त !’ राजाले पत्याएनन् ।
‘काव्यरस हो ।’ कालिदासले छल्न खोजे ।
‘फड्फडाइराखेजस्तो देखिन्छ नि !’ राजा अझैं शंकालु बने ।
‘जीवन्त काव्य फडफडाउनु स्वाभाविकै हो’ कालिदास आत्मविश्वासपूर्वक बोले ।
‘कस्तो गन्ध आइराखेको’ राजाले नाक खुम्च्याउँदै भने ।
‘काव्यमा वर्णित युद्धभूमिमा सडेका जीवको दुर्गन्ध हो’ कालिदास कत्ति डगेनन् ।
यत्तिकैमा काखीको माछा चिप्लेर भुइँमा खस्यो । कालिदासले आँखा चिम्ले । राजा भोज निहुरेर भुइँको पुस्तक उठाए र भने, ‘ए, अभिज्ञान शाकुन्तलम् रहेछ । म पढेर दिउँला है ।’ कालिदासले चकित हुँदै आँखा खोले । उनले भुइँमा खेसकोे वस्तु मैले सोचेकै काव्य भइदेओस् भन्ने संकल्पना आँखा चिम्लेर गरेका थिए । कविको संकल्प साकार भएको थियो ।
असल साहित्यको गुण जीवन्त, रसपूर्ण र कालजयी हुन्छ भन्ने यो प्रसंगको संकेत हो । विक्रमको प्रथम शताब्दीका कवि कालिदासका कृति आज पनि साहित्यप्रेमीका निम्ति उत्तिकै सरस र प्रिय छन् । कृतिलाई के–के कुराले उत्कृष्ट र कालजयी बनाउँछ ? कालिदासको कृतिको मुख्य वैशिष्ट्य के हो त ?
पद–पदमा भाषिक सौन्दर्य र भावको माधुर्य छचल्किनु, उपमा र प्रतीकका माध्यमबाट जीवनका महनीय रहस्यहरु प्रस्तुत गर्न सक्नु र भौतिक आकर्षणमा आधारित वासना अन्ततः प्रेमका कारण नैतिक सौन्दर्य र आध्यात्मिक ज्ञानमा रुपान्तरित भएको काल्पनिकीलाई सजीव ढंगले अभिव्यक्त गर्न सक्नु कालिदासका वैशिष्ट्य हुन् ।
कालिदासले आफ्नो कृतिको विषयवस्तु सांस्कृतिक र पौराणिक प्रसंगबाट लिएका छन् र तिनलाई आफ्नो उद्देश्य प्राप्तिअनुरुप ढालेका छन् । अभिज्ञान शाकुन्तलम्मा नायिका शकुन्तला सुकोमल, निर्दोष तर बुझ्झकी युवती हुन् भने नायक दुष्यन्त स्वार्थी प्रेमी । कण्व ऋषिले तपस्या गर्ने जंगलमा उनकै शरणमा बसेकी शकुन्तलाको मनमा दुष्यन्तप्रति जागेको प्रेमभाव, गन्धर्व–रीतिको विवाह, विछोडपछिको कष्टपूर्ण जीवन र पुनर्मिलनसम्मका परिघटना समेटिएका छन् । नाटकमा जीवनको विविधता समेटिएको छ र विविध प्रकारका रुचि भएका मानिसका लागि रोचक विषयवस्तु प्रस्तुत गरिएका छन् ।
कालिदास, भारवि, वाण, श्रीहर्ष, माघ आदि संस्कृत साहित्यका महाकविका कालजयी कृतिका आधारमा तय भएको असल साहित्यको शास्त्रीय समीक्षा पनि मननीय छ । संस्कृत काव्य–समीक्षक भन्छन् : नरत्वं दुर्लभं लोके विद्या तत्र सुदुर्लभा । कवित्वं दुर्लभं तत्र शक्तिस्तत्र सुदुर्लभा ।। अर्थात् मानिसमा मानवीयता भरिनु दुर्लभ छ, उत्तम विद्या आर्जन झन् दुर्लभ छ । कवित्व क्षमता अझै दुर्लभ छ र प्रतिभा हुनु सुदुर्लभ छ ।
सर्जकमा प्रतिभा हुनु निश्चय नै महत्वपूर्ण हो । यद्यपि प्रतिभा भएर मात्रै पनि पुग्दैन । कालिदास भन्छन्, खानीबाट निकालेको रत्न पनि नखार्दासम्म सुनको गहनामा जड्न योग्य हुँदैन । सर्जक जीवन र जगत्का द्वन्द्वहरुबाट गुज्रिँदै ज्ञान र अनुभवले खारिएको हुनुपर्दछ भन्ने कालिदासको आशय हो । तब मात्र सर्जकले गतिशील र चरित्रको हिमशैल सदृश पात्रहरु विकसित गर्न सक्छ ।
रचनामा सम्प्रेषणीयता हुनु उत्तिकै वाञ्छनीय हुन्छ । सम्प्रेषणीयताका सन्दर्भमा भाषामाथिको पकड प्रारम्भिक चरण हो । उही कुरालाई सामान्य मानिस र सर्जकले व्यक्त गर्ने ढंग अलग हुन्छ । अभिधा, लक्षणा र व्यञ्जना गरी शब्द शक्ति गहिरिँदै जान्छ । असल रचनामा वाक्यको सोझो अर्थ मात्र हुँदैन, लाक्षणिक संकेत पनि हुन्छ र त्यसबाट कुनै विशिष्ट अर्थ समेत ध्वनित भइरहेको हुन्छ । ‘गंगामा घर छ’ भन्नेले नदीको प्रवाहमा घर छ भनेको पक्कै होइन, नदीको किनारमा भन्ने संकेत गरेको हो । यही वाक्यमा पारखीले शान्त, पवित्र स्थानमा घर रहेछ भन्ने भाव समेत ध्वनित भएको अनुभूति गर्छन् ।
पाश्चात्य काव्य समीक्षक लोन्जाइनसका अनुसार असल लेखकको कृति आलंकारिक भाषा, भव्य अभिव्यक्ति, तीव्र भावावेग र गरिमापूर्ण संरचनाजस्ता गुणहरुले ओतप्रोत हुन्छ जुन लेखन अभ्यासका क्रममा विकसित हुँदै जान्छन् । उदात्त विचार र अभिप्रेरणा व्यक्तिगत प्रतिभाका विषय हुन् । भाषिक कुशलता अनवरत अभ्यासबाट हासिल हुने कुरा हो । अमरकोषको भूमिकामा विद्वान् कुलचन्द्र गौतमले भनेका छन् ः ‘मानिसको मनका समस्त भावना मनमा नै विलीन हुन्छन् यदि अर्थलाई इतरावबोध्य शब्दमा गुम्फित गर्ने सामथ्र्य छैन भने ।’ अगाडि मूढो छ भन्नुपर्दा एउटा वैयाकरणले ‘शुष्कवृक्षतिष्ठत्यग्रे’ भनिदिन्छ । एउटा साहित्यिकले ‘नीरस तरुरिह विलसति पुरतः’ भन्छ । साहित्यिकको भाषामा माधुर्य रस छ जसले सुन्ने व्यक्तिको ध्यान सजिलै तान्छ । आज हामीले महाकवि भन्ने व्यक्तिहरुमा शब्द चयन र अर्थ गुम्फनको सामथ्र्य साधारण मानिसमा भन्दा अधिक थियो । यही गुणले उनीहरुलाई मानव सभ्यताका अमर सर्जक बन्न धेरै मदत गरेको सजिलै अन्दाज गर्न सकिन्छ ।
असल कृति समाजको ऐना मात्र होइन । एरिस्टोटल भन्छन्, स्रष्टाले आप्mनो कृतिको विषय–वस्तु निश्चय नै समाज र प्रकृतिबाटै लिन्छ । तर जस्ताको तस्तै प्रस्तुत गर्दैन, आफ्नो ढंगले प्रस्तुत गर्छ । यसकारण असल लेखक नक्कलकर्ता पनि हो र सर्जक पनि हो । असल कृति समाजलाई अझ सुन्दर बनाउने प्रयत्न हो, जुन कार्य प्रकृतिले गर्न भ्याएको हुँदैन ।
आफू बाँचेको समाजलाई अझ सुन्दर बनाउनका निम्ति लेखकमा मानव सभ्यताको विभिन्न कालखण्डमा विकसित साहित्य, संगीत, नृत्य, चित्रकला, ज्ञान–विज्ञान, दर्शनलगायतका विषयदेखि लिएर शास्त्रीय र समकालीन कृतिहरुसम्मको रचना परम्परा ज्ञान हुनु आवश्यक हुन्छ । टिएस इलियटले ट्रेडिसन एण्ड इन्डिभिज्युएल ट्यालेन्टमा यही कुरा संकेत गरेका छन् । एउटा लेखकले आफ्नो कृतिमा विगत र वर्तमानलाई फ्युजन गराउँछ र साथसाथै वर्तमानका नवीन सम्भावनाहरु उजागर गर्छ । इलिएटको ‘अवैयक्तिकताको सिद्धान्त’ मा लेखकले कसरी आफूलाई परम्पराको सुसंगतिमा राखेर मात्रै नयाँ सृजना गर्न सक्छ भन्ने व्याख्या छ ।
इलिएट लेखकलाई क्याटलिस्टसँग तुलना गर्छन् । लेखक रचना प्रक्रियामा रासायनिक प्रतिक्रियाको क्याटलिस्ट जस्तै हो जसमा भावनाहरु मुख्य घटक हुन्छन् । यद्यपि लेखक आफ्नै भावनाको ज्वारबाट माथि उठेको हुन्छ, आफ्ना निजी भावनाहरुलाई किमार्थ कृतिमा अभिव्यक्त गर्दैन । केवल क्याटलिस्टको काम गर्छ । तबमात्र उत्कृष्ट कृति जन्मिन सक्छ ।
नेपाली पुस्तक बजारमा केही कालयता चहलपहल बढेको छ । पाठकको संख्या बढेसँगै लेखक र प्रकाशक पनि बढोत्तरी भएका छन् । यो विस्तार गुणात्मक कम र संख्यात्मक अधिकतर देखिन्छ । बालकृष्ण समले ‘स्वास्नीमान्छे’ नाटकमा आफैंमाथि गरेको व्यंग्य यहाँ सम्झन योग्य छ । आफैं पात्र बनेका समलाई अज्ञात स्थानमा ‘अमृत तयार गर्ने कारखाना’को मालिकले के गर्छौ भनेर सोध्दा सम भन्छन् ः म नेपाली लेखक हुँ । संस्कृत र अंग्रेजी साहित्यको आकाशमा जसको गति छैन तिनले मेरा कविता पढ्छन् । निश्चय नै, नेपाली साहित्य गुणात्मक हिसाबले विकसित हुन बाँकी छ । यसका निम्ति अझै समय लाग्न सक्छ । यद्यपि आफ्नो वास्तविक धरातलको बोध हुनु लेखक र पाठक दुवै पक्षका निम्ति लाभदायी हुनेछ ।
बिक्री र चर्चाका आधारमा कृतिलाई असल वा कमसल भन्नु अल्पदृष्टि हुनेछ । किनकि बजारका निश्चित नियमहरु हुन्छन् र तिनको अक्षरशः पालना गर्ने हो भने चुत्थै कृति पनि चर्चामा आउन सक्छ । पदको आडमा केही मानिसलाई अघिपछि लगाएर, ठूला पत्रिकामा विज्ञापन छापेर, कक्टेल पार्टीहरु आयोजना वा नौलो ढंगको ‘गुरिल्ला मार्केटिङ’ गरेर पुस्तक बजारलाई प्रभावित पार्न सक्ने प्रकाशन संस्थाहरु एकपछि अर्को जन्मदै छन् । हुनत, जेजसरी भए पनि पुस्तक बजार विकसित हुनु सकारात्मक हो । कार्ल माक्र्सको भनाइलाई सत्य मान्ने हो भने उनका अनुसार संख्यात्मक विकास अन्ततः गुणात्मक विकासमा रुपान्तरित हुन्छ ।
यद्यपि चर्चाका कृति पढ्दा लेखकहरुले पाठकको यसरी मूल्यांकन गरेको छनक पाइन्छ : मानिस ज्ञान होइन विस्मृति चाहन्छन् । मानिसलाई निद्रा चाहिएको छ । बेहोशी, मूच्र्छा चाहिएको छ । ताकि जीवनका कटु यथार्थहरु भुलेर एकै छिनलाई भए पनि राहत महसुस गर्न सकियोस् । यही सोचले पप गीत जस्तै पप फिक्सन लेखिन थालेका छन् । कृतिको मूल्य एक पेग ह्वीस्की जति भए पुगिहाल्यो नि भन्ठान्न थालिएको प्रतीत हुन्छ । पृथ्वीनारायण क्याम्पसमा नेपाली पढाउने मेरा गुरु रघुनाथ अधिकारी भन्नुहुन्थ्यो : ‘शंकर लामिछानेका कृति अनेकौं पटक दोहो¥याएर पढेको छु, जति पटक पढ्दा पनि नयाँ कुरा फेला पर्छ ।’ तर पढ्दासम्म एक खालको भाङको नशाले छोपेजस्तै हुने र त्यसपछि फेरि कहिल्यै दराजबाट झिकेर पढ्न रुचि नहुने कृतिको कति मूल्य होला ?
असल कृतिको अभिप्राय पाठकलाई जगाउनु हो, सचेत बनाउनु हो, सुताउनु हैन । चेतनाको जागरणको आनन्द निकै माथ्लो स्तरको हुन्छ जुन एउटा असल कृतिले जगाउन सक्छ । तर हाम्रा आम पुस्तकमाथिको प्रतिक्रिया भने लज्जाजनक छ । गगन थापा भन्ने गर्छन्, मलाई निद्रा लागेन भने सधैं एउटै उपाय गर्छु : कुनै पुस्तक पढ्न थाल्छु । नेपाली पुस्तक बजारमा अक्सर कृति निद्रा लगाउनलाई पढिने वस्तु भएका छन् । एक पश्चिमी साहित्यिक भन्छन् : पुस्तक त्यस्तो पढ जसले तिमीभित्रको बरफको डल्ला फोरिदेओस् । मलाई लाग्छ हामीले तिनै किताब पढ्नुपर्छ जसले हामीलाई घोच्छन्, घाइते बनाउ“छन् । यदि पढिरहेको किताबले टाउकोमै भुत्ल्याएर हामीलाई धङधङीबाट, बेहोशीबाट ब्यु“झाउ“दैन भने त्यो किताब केका लागि पढ्ने ? आनन्दका लागि? त्यसका लागि त डेटिङ वा डिस्को गए भइहाल्यो नि । हामीलाई त्यस्ता किताब चाहिन्छन् जसले कुनै आ“धीतूफानले जस्तै हामीलाई प्रभावित पार्छन्, जसले हामीले आफूलाई भन्दा पनि धेरै माया गर्ने कुनै आफन्तको मृत्युले भन्दा अधिक हामीलाई हतप्रभ बनाउ“छन्, जसले कुनै निर्जन जंगलमा निर्वासित हु“दाको जस्तो नितान्त नौलो अनुभूति गराउ“छन् । पुस्तक त्यस्तो हुनुपर्छ जसले हामीभित्र जमेको हिम–समुद्रमा बन्चरो हानोस् ।
वर्तमान युगमा अर्थोपार्जन नै हरेक विधाको सफलताको कसी बनेको छ । लेखकीय सफलता पनि यही कसीमा हेर्न थालिएको पाइन्छ । अर्थोपार्जन महत्वपूर्ण पाटो हो । यद्यपि असल लेखक एउटा सुन्दर कृति लेख्ने क्रममा नै सफल भइसकेको हुन्छ । जीवन एक यात्रा हो भने यात्राको आनन्द लिन सक्नु नै लक्ष्य प्राप्त गर्नु हो । महान् कृतिका लेखकहरु लेख्दालेख्दै रुपान्तरित भएका सुनिन्छ । ती लेखकहरु बृहत् अध्ययन र अनुभूतिबाट गुज्रेका थिए । भनिन्छ, सफलताको छोटो बाटो छैन । धूलो, पात र प्वाँख मात्रै छिटो छिटो माथि पुग्छन् ।
‘सक्रिय मस्तिष्क’लाई कुनै प्रकारको नशाको सहाराले छेउ लगाएर लेखिएको कृतिले पाठकका इन्द्रियलाई अपिल गर्न सक्ला, कहिलकाहीँ बुद्धिलाई पनि घुमाइदिन सक्ला तर चेतनालाई स्पर्श गर्न किमार्थ सक्दैन । चेतना जीवन आनन्दको मुख्य स्रोत हो । वेद भन्छ, चेतनाको आनन्दबाटै सृष्टि भएको हो, आनन्दमै यो गतिशील हुन्छ र आनन्दमै विलय हुन्छ ।
आफूलाई लेखक भनाउन हतार गर्नुभन्दा पहिला उत्कृष्ट विषयवस्तु र कुशल प्रविधि प्राप्त गर्नु अधिक वाञ्छनीय हो । पाठकलाई न्याय गर्नु, तिनको समय र स्रोतको उचित मूल्य दिनु लेखकीय धर्म हो । वीपी कोइरालाले भनेका छन्, ठूलो मान्छे होइन, असल मान्छे हुनु । ठूलो मान्छे त धेरै हुन्छन्, दुनियालाई असल मान्छेको खाँचो छ । नेपाली पुस्तक बजारलाई पनि असल कृतिहरुको खाँचो छ ।
Article published in Nagarik Daily (21 July 2012)
http://nagarikplus.nagariknews.com/component/flippingbook/book/1045-nagarik-21-july-2012/2-nagarik.html