Sunday, October 27, 2013

सार्थक जीवनको खोजी

नेत्र आचार्य 

'चाँडै मर्दै छु भन्ने पीर लाग्दैन ?' एड्स संक्रमित आशा क्षेत्रीलाई सोधियो । 'लाग्दैन,' आशाले कत्ति निराश नभई भनिन्, 'कसैले अजम्मरी बुटी खाएर आएको त छैन, एक दिन सबै मर्नैपर्छ । तपाईं घर नपुग्दै दुर्घटनामा मर्न सक्नुहुन्छ ।' उनले अगाडि भनिन्, 'बाँचुन्जेल मान्छेले सम्मानित र सार्थक जीवन बाँच्ने हो । लामो बाँचेर पनि कसैको जीवन निरर्थक बितिरहेको हुन्छ, त्यस्तो हुनु एड्सभन्दा नराम्रो रोग लागेको होइन र ?' 

हाम्रो समाजमा नारीलाई अझै धेरै बाधा बन्धन र नियमका तगारोले छेक्ने काम भइरहेको छ । कहिले परम्पराका नाममा त कहिले परिवारका नाममा । तर, कहिलेकाहीं यथास्थितिलाई बदल्ने हिम्मत भएका नारीहरू पनि जन्मन्छन् । र तिनले मेहनत, लगन र परिश्रमले असार्थकलाई सार्थक बनाइदिन्छन्, बन्धन चुँडालेर उन्मुक्त भइदिन्छन्, शून्यबाट सिर्जना उठाइदिन्छन् । पत्रकार अश्विनी कोइरालाले नेपाली समाजका विविध तह र तप्कामा रहेर जीवनको सार्थकता सिद्ध गर्न सफल भएका महिलासँगको वार्ता प्रकाशित गरेका छन्, 'उनी' । 


कर्मक्षेत्रमा डटेर खटेका संघर्षशील, सिर्जनशील, आँटिला र हिम्मतिला महिलाहरूको जीवन-वार्तामा तिनले आफ्नो गरिमा साबित गरेको पढ्दा पुरुष पाठकसमेत झस्किन्छन् । महिला पाठकलाई त निश्चय नै यस्तो लाग्नेछ, समय हामीलाई कुल्चेर धेरै अगाडि बढिसकेछ, म पो आजसम्म के गर्दै रहेछु ? उनीहरू आफ्नो जीवनको पुनर्मूल्यांकन गर्न थाल्नेछन् । 

जीवनका विभिन्न क्षेत्रमा उपलब्धि हासिल गरेका र समाजमा चिनिएका स्वास्नीमान्छेहरूसँगका यी वार्तामा जीवनका विविध रंग समेटिएका छन् । हरेक वार्तामा फरक स्वादको आस्वादन पाइन्छ । मायाको परिभाषाका सम्बन्धमा हरेक नारीमा गजप वैचित्र्य छ । 'सबैभन्दा कसको माया लाग्छ ?' गिटी कुटेर गुजारा गर्ने लक्ष्मी राई ओठ लेप्राउँदै भन्छिन्, 'कसैको पनि लाग्दैन । मलाई कसले माया गरेको छ र ?' श्रीमान्को पनि लाग्दैन ? 'लाग्दैन, ऊ पनि सुत्ने बेलामा चिल्लो घस्ने त हो ।' स्मिता थापामा पुरुषहरूप्रति यस्तै वितृष्णा देखिन्छ । माया-पे्रम केवल भ्रम हो भन्ने सोचमा कत्ति दुविधा छैन उनलाई । र त भन्छिन्, 'मलाई लोग्ने होइन, लोग्ने मानिस चाहिन्छ । सोह्र वर्षदेखि पुरुषको संगत गर्न थालेकी हुँ । अहिलेसम्म त कति पुगे गन्नै अलमलिन्छु ।' स्मितालाई पुरुष भनेका 'खेलौना हुन्' भन्ने लाग्न थालेको छ । दुई चार महिना वा एकाध वर्ष खेलायो अनि छोडिदियो । 

'स्वतन्त्रता' शीर्षकमा स्मितासँगै राखिएकी आनी छोइङ डोल्माको सोचविपरीत छ । स्मिताका निम्ति एकपछि अर्को पुरुष फेर्दै हिँड्नु स्वतन्त्रता हो, आनीका निम्ति पुरुषको छायामा पर्नु पनि स्वतन्त्रता हनन हुनु हो । आनी भन्छिन्, 'सेक्स भनेकै बन्धन हो । सम्भोगको चाहना पूरा गर्न लोग्ने मानिस चाहियो, अनि विवाह, घर-गृहस्थी, बालबच्चा, पारिवारिक जञ्जाल । क्षणिक आनन्दका लागि यति ठूलो बन्धनको सिर्जना किन गर्नु ?' आनी बनेर जीवनमा सम्भोगको आनन्द नै नलिनु जीवनप्रति अन्याय भएन र ? आनीको जवाफ छ, 'सबैले सबैथोकको अनुभव गर्दैनन् । सबैले रक्सी चुरोट खाँदैनन् । नखानेलाई खानेले यति धेरै आनन्द आउँछ भन्नुको के अर्थ ?' 

मायाका सम्बन्धमा होचा कलाकार लोकनाथ ढकालसँग बिहे गरेकी विमला ढकालको अनुभव पेचिलो छ । बिहे गरेपछि परिवार आफन्त सबैले 'तेरा आँखा फुटेका थिए ? कस्तो केटो हेरेको ?' भन्दै छिःछिः गरेछन् । उनी भन्छिन्, 'जीवन बिताउन रूप होइन, माया चाहिन्छ । मैले श्रीमान्बाट जुन माया पाएकी छु, त्यो सबै महिलाको भाग्यमा हुन्छ भन्ने लाग्दैन ।'

प्रेममा मान्छे अन्धो हुन्छ भनिन्छ । ७० वर्षका वृद्ध अपराधी चाल्र्स सोभराजको प्रेममा परिन् निहिता विश्वास । उनीसँग गरिएको कुराकानी रोचक छ । 'म सपनाको राजकुमार सेतो घोडामा आउँछ, कल्पनाको संसारमा पुर्‍याउँछ भन्ने कुरामा विश्वास गर्दिनँ । गाडीमा, मोटरसाइकलमा, साइकलमा अथवा जहाँबाट पनि मेरो राजकुमार आउन सक्थ्यो । जेलबाट आयो त मैले के गर्ने ?' एउटा अर्को प्रश्नमा उनको जवाफ छ, '२५ वर्षे तन्नेरीभन्दा कम फुर्तिला छैनन् चाल्र्स । बौद्धिक दृष्टिकोणले परिपक्व र मेरो उमेरजस्तै रोमान्टिक । प्रेम थोडा शरीरलाई गर्ने हो र ?'

व्यवसाय चलाउन मृदुला कोइरालाले अमेरिकामा र सविता श्रेष्ठले काठमाण्डूमा गरेको आँट, मेहनत र लगन प्रेरणादायी छ । द्वन्द्वसँग सम्बन्धित वार्तामा अन्तर्वार्ताकारलाई द्वन्द्वको सूत्रपात हुनुका आधारभूत कारण र त्यसको दीर्घकालीन प्रभावबारे खोजबिन गर्न जाँगर नचलेजस्तो देखिन्छ । यति परिवर्तनका लागि त्यति धेरै मानिस मर्नु आवश्यक थियो र भन्नेजस्तो प्रश्न दोहोराई दोहोराई सोध्नुको तुक देखिँदैन । हिंसाको विरोध गर्नु स्वाभाविक हो तर परिस्थितिलाई बुझ्ने चेष्टै नहुनु स्वाभाविक देखिँदैन । 

सशस्त्र द्वन्द्व उठाउनेहरूले धनी र गरिबको असमानता हटाउन, वर्गविहीन समाज निर्माण गर्नका लागि हिंसासमेत प्रयोग गरेका थिए । द्वन्द्व टुंगिएको पनि वर्षौं बितिसक्यो । तर असमानता जस्ताको तस्तै छ । रोचक कुरा, रेडियो सुन्दै गिटी कुट्ने सपना साँचेकी लक्ष्मी राई र मर्सिडिज बेन्ज चढ्ने र यसको रोमान्टिक थि्रल अनुभूति गर्ने सपना साँचेकी सृजना जोशीलाई पढ्दा हाम्रो समाजको यथार्थ चित्रण देखिन्छ । पुस्तकमा यौन शिक्षाको अभावमा पारिवारिक विखण्डन बढ्दै गएको, तेस्रो लिङ्गी र ट्रान्सजेन्डरका प्रसंगहरू समेटिएका छन् । कुशल र मायालु गृहिणीले कसरी पुरुषको व्यक्तित्व चम्काउन मद्दत गर्न सक्छन् भन्ने मार्मिक वार्ताहरू छन् । 

शिक्षा, सञ्चार र विदेश आवागमनको प्रभावले यतिखेर नेपाली महिलाहरू स्वअस्तित्वबारे सचेत हुन थालेका छन् । अर्चना थापाको 'स्वअस्तित्वको खोजी' शीर्षकको कृतिमा ३६ जना महिलाहरूले नारी जीवनका सार्थकता र निरर्थकताहरू केलाएका छन् । तिलक सुनारले दासताको साङ्लो चुँडाउन दलित महिलाले गरेका संघर्षहरू 'परिवर्तनका पाइला'मा समेटेका छन् । 'गरिमा'ले नारी विशेषांक प्रकाशित गरी नारी हृदयका उमसहरू बाहिर ल्याएको छ । जीवन निरर्थक नबितोस् यसका निम्ति नेपाली नारी जगत् एउटा माहोल बनाउँदै छ सायद ।

प्रकाशित मिति: २०६९ मंसिर १६ १०:३५ कान्तिपुर दैनिकमा प्रकाशित पुस्तक समीक्षा

Thursday, June 20, 2013

अरविन्द पोट्रेट

-नेत्र आचार्य


netraधर्तीमा स्वर्ग

‘मानिस मासिए भने पृथ्वी पाँच वर्षभित्र फेरि हराभरा हुन्छ, किरा मासिए भने पृथ्वी त्यति नै समयमा पूरै उजाड हुन्छ ।’

पछिल्लो समयमा मानिसले गरेको पर्यावरण विनाश देखेर वैज्ञानिकले यस्तो आँकलन गरेका हुन् । पर्यावरणका लागि मानिस सबभन्दा ठूलो खतरा भएको छ । बरु किराहरू पर्यावरण–मैत्री सावित भएका छन् ।

सृष्टिको ‘सर्वोत्कृष्ट’ प्राणी मानिस सृष्टिका लागि अभिशाप होइन, वरदान हुनुपर्ने हो । मानिसले विज्ञान र अध्यात्मलाई एकसाथ अपनाएमा सृष्टिको कायाकल्प हुनसक्छ ।
पण्डिचेरीका सन्त श्री अरविन्दले धर्तीमा स्वर्ग उतार्ने सम्भावना पहिल्याएका छन् । मानिसले धर्तीलाई स्वर्ग बनाउन सक्छ । मानिसमा सही आध्यात्मिक रूपान्तरण भएमा धर्तीलाई रूपान्तरण गर्न सम्भव छ । यो श्री अरविन्दको अटल आस्था हो ।
श्री अरविन्द भन्छन्– यो केवल आशा होइन, बरु सुनिश्चित नै हो प्रकृतिको पूर्ण रूपान्तरण हुनेछ । कसरी ?
मानिस अझै विकसित हुँदै छ । बाँदरबाट विकसित भएको मानिसले अझ एउटा फड्को मार्दै छ । अरविन्द भन्छन्– मानव उद्विकास रोकिएको छैन । जनवारहरूको बीचबाट मानिस प्रकट भएझैँ मानवजाति विकसित हुँदै महामानव हुनेछन् ।
त्यसबेला मानिस बृहत्तर क्षितिजभन्दा बृहत्तम हुनेछ, विशाल सगरमाथाभन्दा विशालतम हुनेछ, गहन सागरभन्दा गहनतम हुनेछ । तब मासिले सबै कुरालाई महजस्तै मीठो बनाउनेछ, धर्तीलाई दिव्य बनाउनेछ र धर्तीमा स्वर्ग उतार्नेछ ।
ब्रह्म सत्यम् जगत् मिथ्या ?
आजसम्मका सन्तहरूले आºनो मोक्षको चाहना राखे । पृथ्वीको सरोकार राखेनन् । ब्रह्म सत्यम् जगत् मिथ्या । अर्थात् केवल ब्रह्म सत्य हो जगत् झुट हो । शंकराचार्यले अद्वैत वेदान्तका नाममा यस्तो गलत धारणा विकसित गरे । जसले गर्दा आध्यात्मिक साधनाको लामो कालखण्ड खेर गयो । व्यक्तिगत आनन्दको प्राप्ति भयो होला तर पृथ्वीका लागि कुनै प्रकारले उपलब्धिमूलक भएन । सन्तहरू गुफामा तपस्या गर्ने र त्यहीँ बिलय हुने क्रम चलिरह्यो । यो पलायन प्रवृत्तिले गर्दा आध्यात्मिक साधनामै खोट लाग्यो । साधना भनेको जोगीले, संसारबाट विरक्त भएको मानिसले अपनाउने बाटो हो भन्ने भ्रम पैदा भयो ।
श्री अरविन्दले फरक सोचको विकास गरे । आध्यात्मिक सिद्धि मात्र पर्याप्त छैन, भौतिक सिद्धि पनि उत्तिकै आवश्यक छ । शरीर भौतिक भएको हुँदा यो भोगोन्मुख हुन्छ, आत्मा चैतन्य भएको हुँदा यो परम सत्यको भोको हुन्छ । यी दुवैको सन्तुलनमा दिव्य जीवन सम्भव छ । यो सन्तुलन खोज्न श्री अरविन्दले भने, ‘म पृथ्वीसँग सरोकार राख्छु, संसारभन्दा परको लोकसँग मलाई चासो छैन । भौतिक सिद्धि नै मैले खोजिराखेको छु, सुदूर शिखरहरूको उडान होइन ।’
सत्य फेला पार्न जगत् छाड्नुपर्दैन, आत्मा साक्षात्कार गर्न जीवन त्याग गर्नुपर्दैन, दिव्यतासँग एकाकार हुन संसार त्याग्नुपर्दैन, कुनै खास सम्प्रदायमा आस्था राख्नुपर्दैन । परम सत्य सर्वत्र उपलब्ध छ, सबै वस्तुमा विद्यमान छ । यदि, हामीले आनन्दको परम स्रोत आफँैभित्र फेला पार्दैनौँ भने हामीले खोज्ने यथोचित प्रयत्न नगरेर हो । समय र परिस्थितिले श्री अरविन्दलाई अध्यात्मको जगत्मा डोर्‍यायो । उनको जेल जीवन यो मोडको एउटा मुख्य कारण देखिन्छ ।
जेलको अनुभूति
आज सरकार नामको संयन्त्र या त अपराधीहरूको संरक्षक बनेको छ या कानुनको आवरणभित्र रही अपराध गर्नेहरूको अखाडा । निरपराधहरूलाई जेलको चिसो छिँडीमा पुर्‍याउनु र सत्ता टिकाइराख्नु सत्ताधारीहरूको स्वाभाविक धर्म भएको छ । श्री अरविन्दलाई तत्कालीन शासकहरूले अलीपुर बम काण्डमा संलग्न भएको भन्ने झुटो आरोपमा जेल हाले ।
त्यतिखेर भारतीय स्वतन्त्रताका लागि दिलोज्यानले लागिपरेका श्री अरविन्द नराम्ररी बिथोलिए । चोरलाई चौतारी साधुलाई सुली ! आफूलाई स्वतन्त्रता सेनानी सम्झने र स्वदेशलाई विदेशीको पञ्जाबाट मुक्त गर्ने अठोट लिएका श्री अरविन्दलाई नियतिले जेल हालेको थियो त ? के परम सत्ताले श्री अरविन्दको भूमिका बुझ्न सक्दैनथ्यो ? ईश्वर छ भने उनीमाथि यत्रो अन्याय हुँदा र स्वतन्त्रताको लडाइँको काम बिथोलिँदा के हेरेर बसेको थियो ?
आफूमाथि नियतिको यो अन्याय र अविवेकी खेलले श्री अरविन्दलाई निकै पीडा भयो । जेलभित्रै श्री अरविन्दले गहन चिन्तन–मनन गर्न थाले । उनलाई जेलमै परम सत्यको केही साक्षात्कार भयो । कुनै अदृश्य सत्ताले उनलाई भन्यो, ‘तिम्रा लागि के ठीक हो भन्ने कुरा परम सत्तालाई भन्दा तिमीलाई थाहा होला र ? जे भइरहेको छ भलाइकै लागि भइरहेको छ । तिमी छिट्टै जेलमुक्त हुनेछौ । परम सत्ताले तिम्रो भूमिका अर्थोकै तय गरेको छ ।’

श्री अरविन्दको रूपान्तरण
नभन्दै श्री अरविन्द एक वर्षपछि जेलबाट छुटे । उनीमाथि लगाइएको आरोप झुटो सावित भयो, उनलाई स–सम्मान रिहा गरियो । यद्यपि, उनी फेरि सक्रिय राजनीतिमा फर्किएनन् । जेलभित्र भएको साक्षात्कारले उनलाई आध्यात्मिक खोजी गर्न प्रेरित गरिरहेको थियो । उनी आततायीहरूबाट सुरक्षित रहन केही साथीको सहयोगमा पण्डिचेरी पुगे । संस्कृत भाषा पढे र योग, उपनिषद्, वेद आदि ग्रन्थहरूको अध्ययन–मननमा जुटे । आध्यात्मिक साधना पनि जारी रह्यो । छोटो समयमै उनले ध्यानको गहन अभ्यास गरे । उनलाई परम सत्यको बोध भयो । उनले बुझे– समग्र जीवन दिव्य जीवन हो । जीवनको उद्देश्य आत्माको विकास हो न कि अहिल्यै वा निकट भविष्यमा मिल्न सक्ने बाहिरी सफलता ।
साधनाको परिपाकपश्चात् श्री अरविन्दको जीवनमा एक रूपान्तरण आएको थियो ।
त्यसपछि बल्ल उनले देखे कसरी आध्यात्मिक साधना पलायनवादी बाटोमा लागेको रहेछ भनेर । उनलाई हेक्का भयो परम सत्ताले उनका लागि तय गरेको भूमिका यही हो : आध्यात्मिक साधनालाई सही दिशामा ल्याउने । उनी आफूलाई समग्र मानव जातिको मार्गदर्शकका रूपमा देख्न थालेका थिए । समग्र मानव जातिलाई दिव्यताको साक्षात्कार गराउने उनको ध्येय बन्यो ।
उनले भने– म दृढतासाथ विश्वास गर्छु, अस्तित्वले मलाई दिएका उपलब्धि, प्रतिभा, शिक्षा र भौतिक साधन सबै उहाँकै हुन् । परिवार पालनको लागि जति आवश्यक पर्छ त्यति मात्र मेरो हो, बाँकी सबै अस्तित्वकै सेवाका लागि उपयोग हुनुपर्छ । यदि, मैले सुखसयल र भोगविलासका लागि खर्च गरेँ भने म चोर हुँ ।
श्री अरविन्दले पण्डिचेरीमा आश्रम स्थापना गरे । उनी घन्टौँ ध्यानमा बस्थे । १२ वर्षसम्म त उनी पूर्णरूपले एकान्तबास बसे, साधनाका लागि । त्यसपछि पनि उनी प्राय: एकान्तमै रहन मन पराउँथे । यद्यपि, उनले आºनो शिष्यहरूलाई पत्रमार्फत मार्गदर्शन र दीक्षा दिने गर्थे । श्री अरविन्दका यिनै पत्रहरू लेटर्स अन योगलगायत अन्य विभिन्न ग्रन्थका रूपमा प्रकाशन भएका छन् ।
लाइफ डिभाइन
लाइफ डिभाइन अर्थात् दिव्य जीवन श्री अरविन्दको दर्शन हो । सम्पूर्ण जीवन दिव्य जीवन हो । योग एकाध घन्टा शरीर दोब्य्राउने कसरत मात्र होइन । योगको बृहत्तर भूमिका छ । सम्पूर्ण जीवन योग हो । आशक्तिरहित भई कर्मशील हुँदा हाम्रो योग साकार भएको हुन्छ । यो दृष्टिले काम गर्न आरम्भ गर्ने हो भने धर्तीमै जीवनलाई दिव्य बनाउन सकिन्छ । केवल हामीले हेर्ने दृष्टिकोण उपयुक्त हुनुपर्छ । दिव्य जीवन सम्भव छ ।
व्यक्ति, वस्तु वा कामलाई यो आध्यात्मिक र त्यो भौतिक, यो वन्दनीय र त्यो त्यज्य, यो प्रिय र त्यो अप्रिय भनी भेददृष्टि नराखी समग्र जीवन र यसका गतिविधिमा दिव्यता देख्न सक्नु प्राथमिक चरण हो । यही अभ्यासका क्रममा व्यक्ति रूपान्तरणलाई आत्मसात गर्न सक्षम हुन्छ ।
कर्मयोग, ज्ञानयोग र भक्तियोगलाई एकसाथ समन्वय गर्नु श्री अरविन्दको विशेषता हो । श्री अरविन्दले यसलाई पूर्ण योग भन्छन् । पूर्ण योगको लक्ष्य हो समग्र जीवनलाई दिव्य जीवन बनाउनु । समग्र जीवन योग हो, कर्म योग हो, ज्ञान योग हो र भक्ति योग हो ।
श्री अरविन्दका कृतिमा सिन्थेसिस अफ योग, सावित्री, द लाइफ डिभाइन, लेटर्स अन योग मुख्य हुन् ।
मातृभूमि प्रेम
जीवनलाई अनन्य प्रेम गर्ने दार्शनिक श्री अरविन्दले समग्र जीवनलाई योगमा रूपान्तरण गराउने व्यवस्थित प्रणाली विकसित गरेका छन् । कर्मयोगी श्री अरविन्द भन्छन्– अरूले देशलाई जंगल, पहाड, मैदान र नदीनाला सम्झन्छन्, म देशलाई आºनी आमा मान्छु । उनको पूजा गर्छु, मातृभक्तिमा जस्तो जीवनको आनन्द मैले अरू कुरामा भेटेको छैन ।
हरेक व्यक्तिले मातृभूमिप्रति प्रेम विकसित गर्न सकुन् भन्ने श्री अरविन्दको अभीष्ट हो । यो सदीक्षा मनमा जागृत हुन्छ भने यसले साकार रूप लिन असम्भव पनि छैन । केवल हामीले आºनो वास्तविक क्षमताको पहिचान गर्नु आवश्यक छ । हाम्रो वास्तविक शत्रु हामीबाहिरको कुनै शक्ति होइन । हाम्रो आºनै रोइलो, कमजोरी, कायरता र स्वार्थीपना, हाम्रो पाखण्ड र अन्योलग्रस्त ‘सेन्टिमेन्टालिटी’ नै हाम्रा मुख्य शत्रु हुन् ।
जीवनका अनन्त सम्भावना पहिल्याउने महनीय व्यक्तित्व श्री अरविन्दप्रति भावविभोर हुँदै विख्यात कवि रवीन्द्रनाथ ठाकुरले लेखेका छन्, ‘धेरै पहिला अरविन्दमा यौवनको उत्ताल ऊर्जासहितको नायकीय व्यक्तित्व देख्दा मैले गाएको थिएँ : ‘अरविन्द, रवीन्द्रनाथको नमन स्वीकार गर ।’ आज मैले उनलाई प्रज्ञाको प्रशान्ततामा देखेँ र मौन भाषामा भनेँ : अरविन्द, रवीन्द्रनाथको नमन स्वीकार गर ।’
अरविन्द आश्रम
नेपालमा पनि श्री अरविन्द आश्रम खुलेको छ । गुल्मीका चन्द्रमणि भुसाल यसका संस्थापक हुन् । १२ वर्षमा घर छोडेका चन्द्रमणि भुसाल भारतका विभिन्न सहरमा गुरुकुलीय पद्धतिबाट संस्कृत भाषा र धर्मग्रन्थ पढ्दै २० वर्ष बिताए । उनको ज्ञानको प्यास मेटिएको थिएन । संयोगले उनको हातमा श्री अरविन्दको बेसिस अफ योग नामको पुस्तिका पऱ्यो । त्यो पुस्तकमा श्री अरविन्दले अध्यात्म र योगको नयाँ परिभाषा दिएका थिए । ज्ञान, कर्म र भक्तिको ºयुजनबाट मात्र सही आध्यात्मिक जीवन सम्भव छ । श्री अरविन्दको यो विचारले चन्द्रमणि भुसाल भित्रैदेखि प्रभावित भए ।
त्यही पुस्तकमा उल्लिखित ठेगाना पछ्याउँदै भुसाल पण्डिचेरीस्थित श्री अरविन्द आश्रम पुगे । त्यहाँ उनी कर्मयोग र साधना गर्दै १२ वर्ष बसे । चन्द्रमणि भुसाल अब स्वामी रामचन्द्र दास भइसकेका थिए । अन्तत: स्वदेशको सम्झनाले उनको मनमा स्पर्श गर्न आइपुग्यो । उनका आध्यात्मिक शुभेच्छुक निरोद्दाको सल्लाहअनुसार अरविन्द आश्रम स्थापना गर्ने लक्ष्य लिएर उनी स्वदेश फर्किए ।
केही समयमै उनले थानकोटमा एउटा घर र केही जमिन किनेर श्री अरविन्द योग आश्रम स्थापना गरे । समयक्रममा आश्रमको भौतिक सम्पत्ति विस्तार हुँदै गयो । आश्रममा बस्नेहरू पनि बढे । विद्यालय खुल्यो । आय आर्जनका लागि विभिन्न कुटिर उद्योग खुले ।
हाल आश्रम २२ रोपनी जमिनमा फैलिएको छ । चन्द्रागिरिको काखमा रहेको यो आश्रमबाट हिमालका उत्तुंग शिखरहरू र तल राजधानी सहर हेर्न सकिन्छ । जंगलको नजिक भएको हुँदा हावापानी स्वच्छ र शीतल छ । नवलपरासी र गुल्मीमा आश्रमले शाखाहरू खोलिसकेको छ ।
आश्रमले आजभोलि योग साधना, सामूहिक जीवनशैली र कर्मयोगलाई आत्मसात गरी बीस वर्षदेखि जैविक खेती, गाईपालन, सिलाइ—बुनाइ, थाङ्का चित्रकला, अगरबत्ती, पस्मिना उद्योग सञ्चालन गर्दै आएको छ । आश्रममा हाल दुई सय जना युवायुवती र विद्यार्थीलाई आधारभूत आवश्यकताका साथै शिक्षा, स्वास्थ्य र आध्यात्मिक साधनाको वातावरण उपलब्ध भएको छ । आश्रमले अनाथ, गरिब र असहाय बालबालिकालाई आश्रय दिएको छ र आत्मनिर्भरता सिकाएको छ । कसैको दास भएर बस्न पर्ने बाध्यताबाट मुक्ति दिलाउनु एउटा उल्लेख्य काम हो । सादा जीवन, कर्मशीलता र सिर्जनशीलता आश्रमका विशेषता हुन् ।

नेपाली युवा स्वदेशमा भविष्य नदेखेर विदेशका खाडीहरूको तातो बालुवामा पसिना बगाउन बाध्य भएको समयमा श्री अरविन्द आश्रमले युवा र बालबालिकालाई शिक्षा, स्वास्थ्य र आधारभूत आवश्यकता उपलब्ध गराउनु प्रशंसनीय कार्य हो । आश्रमले कर्मवीर नेपालीहरूको प्राचीन संस्कृतिको जगेर्ना गरेर सम्पूर्ण नेपालीका लागि उदाहरणीय कार्य गरेको छ ।
आश्रममा एकै थलोमा कृषि, उद्योग, कला, संस्कृति र योग साधना र सामूहिक जीवनशैलीको अभ्यास देख्न पाइन्छ । आश्रमका संस्थापक एवं सञ्चालक स्वमी रामचन्द्र दासले आश्रममा जीवनलाई रूपान्तरण गर्न कर्मयोग र आत्मनिर्भरता अपनाइएको बताउँछन् । आश्रमले कसैसँग दानको याचना गर्दैन, आफैले आयस्रोत जुटाउँछ र भौतिक आवश्यकताका वस्तु उत्पादन पनि गर्छ । स्वेच्छाले कसैले सहयोग गर्छ भने त्यो लिन्छ तर कुनै सर्त स्वीकार गर्दैन ।
आध्यात्मिक विकासका लागि कर्म र सिर्जनामा जोड दिइएको छ । आश्रमका कलाकारले भरतनाट्यमलगायत शास्त्रीय नृत्य प्रस्तुत गर्छन् । स्वस्थ मनोरञ्जन दिने र पूर्वीय संस्कृतिको जगेर्ना गर्ने आश्रमको ध्येय हो ।

श्री अरविन्द आश्रम एउटा सानो संसार सिर्जना गर्ने प्रयत्न हो जहाँ मानिसहरू गाँस, बास र कपाससँग र जीवनका सबै सामान्य आवश्यकतासँग व्यस्त नभई बाँच्न सकुन्, ताकि मानिसका ऊर्जाहरू सुरक्षित भौतिक अस्तित्वको सुनिश्चितताका कारण मुक्त भएपछि स्वत:स्फूर्त रूपमा दिव्य जीवन र आन्तरिक अनुभूतितर्फ फर्किउन् ।
सहरको धूवाँ, धूलो र कोलाहलमय वातावरणबाट मुक्त भई प्रकृतिको सान्निध्य अनुभूति गर्न र आध्यात्मिक आनन्द लिन आश्रम सही गन्तव्य हुन सक्छ ।
my article published in Sourya Daily on 15 June 2013
netra.acharya@gmail.com

Tuesday, June 11, 2013

जनक दर्शन

-नेत्र आचार्य
Netra-Acharyaसपना
राजा जनक विशाल फौज लिएर सिकार खेल्न गएका थिए । घना जंगल थियो । राजाले एउटा बँदेलको पिछा गर्दै थिए । बँदेल चारकोसे झाडीभित्र पस्यो । राजा हार मानेर पछाडि फर्किए । सिकारी र फौज कतै छुटिसकेका थिए । राजा एक्लै परे । उनी बँदेल लखेट्दा थकाइ, भोक र प्यासले लखतरान परेका थिए । कतै बस्ती होला कि भनी राजा जंगलमा खुला ठाउँ खोज्न थाले । संयोगले एउटा झुपडी फेला पर्‍यो । झुपडीमा एउटी कमजोर बूढीआमा रहिछन् । राजाले केही खानेकुरा मागे । बूढीआमाले खानेकुरा केही छैन भनिन् ।  राजालाई चौपट्ट भोक लागेको थियो । बूढीआमाले हाँडीमा अलिकति चामल छन् त्यही पकाएर खाऊ भनिन् । अरू केही उपाय नभएपछि राजाले मुस्किलले आगो बाले र कसौंडीमा चामल बसाले । भात पाकेपछि केराको पातमा पस्केर खान थाले । खानै लाग्दा संयोगले अघि फुत्केको बँदेल छेवैबाट धूलो उडाउँदै भाग्यो । भातमा धूलो माटो र कुहिएका पातपतिंगरका टुक्राटुक्री भरिए । हातमा लिएको गाँस खाऊँ कि नखाऊँ भन्ने अलमलमा राजा ब्युँझिए ।

भोलिपल्ट राजाले सपनाबारे धेरै चिन्तन गरे । उनी विचारशील व्यक्ति थिए । निश्चय नै यो सपनाको कुनै रहस्य हुनुपर्छ । उनलाई लाग्यो त्यो सपना विपना पनि हुन सक्थ्यो र यो विपना सपना पनि । उनले विद्वान्हरूको सभा डाके । विद्वान्ले धेरै तर्कवितर्क गरे र निष्कर्ष निकाले । राजालाई ऋषि अष्टावक्रको सटीक अभिव्यक्ति मन पर्‍यो । अष्टावक्रले भने, ‘महाराज ! तपाईंले सिकार गरेको पनि सपना हो, राज्य गरेको पनि सपना हो । सिकार गरेको सय मिनेटको सपना हो, राज्य गरेको सय वर्षको सपना ।’

हो त । राजाका आँखा खुले । जिन्दगी सपनाजस्तै बितेर जान्छ । मरेपछि केही बाँकी रहँदैन । एक दिन मर्नका लागि, मेटिनका लागि मरिहत्ते गर्नुको सार के हो ? मान्छेको जिन्दगी एक हास्यास्पद प्रहसन मात्र हो त ?
राजाले चिन्तन गर्न थाले, जीवन एउटा लामो सपना हो भने यसलाई जिउने उचित ढंग के हो त ? हामीलाई जे–जति समय, भौतिक वस्तु र स्थान प्राप्त हुन्छ त्यसको अधिकतम उपयोग गर्ने, जीवनलाई अर्थपूर्ण बनाउने सर्वाधिक सुन्दर विधि के हो त ? राजाले सारपूर्ण जीवन जिउने कला पत्तो लगाएरै छाड्ने निश्चय गरे ।

सत्संग
राजा जनकले सन्तहरूको संगत गर्न थाले । एक सन्त थिए रैकव । सन्त रैकवको साधना देखेर सबै चकित हुन्थे । उनीसँग ज्ञान प्राप्त गर्न चाहन्थे । यी सन्तको ख्याति सुनेर राजा उनीसँग भेट्न बेचैन भए । रैकवसँगको संवादले राजा जनकलाई निष्काम कर्म, अनाशक्ति र साक्षी भावको ज्ञान प्राप्त भयो । राजाले जीवनको नयाँ आयाम देखे । व्यक्ति, वस्तु र परिस्थितिलाई कसरी सही ढंगले हेर्ने भन्ने दृष्टि पाए ।
राजाले सन्तलाई भने, ‘हजुरले जीवन र जगत्लाई हेर्ने जुन दृष्टिकोण दिनुभयो त्यो पाएर म कृतकृत्य भएको छु । यो ज्ञान मेरानिम्ति यति प्रिय छ यसको दाँजोमा मेरा लागि केही पनि कुरा मूल्यवान छैन । गुरु दक्षिणामा म यो सारा राज्य हजुरलाई दिन्छु । कृपया स्विकार्नुहोस् ।’ सन्तले भने, ‘राज्य मलाई के काम ? म त शासन गर्न पनि जान्दिनँ । राज्य त त्यस्तो व्यक्तिलाई काम लाग्छ जो तमोगुणी छ, जो रजोगुणी छ । मैले त तमोगुण र रजोगुणलाई जितिसकेको छु । अब सत्वगुणको साधना गर्दै छु । मलाई राज्यको आकांक्षा छैन ।’

राजा जनकले फेरि निवेदन गरे, ‘गुरुजी, गुरुदक्षिणाका रूपमा केही न केही त अवश्य दिनुपर्छ । हजुरले मेरो ज्ञान जगाइदिनुभएको छ, ज्ञानको बृहत्तर क्षितिज देखाइदिनुभएको छ । गुरु दक्षिणा दिनु एउटा प्रचलन हो, मेरो कर्तव्य हो र धर्म पनि हो ।’

रैकवले केहीछिन विचार गरेर भने, ‘महाराज, यदि तपाईं मलाई केही दिनै चाहनुहुन्छ भने राज्य होइन, बरु राज्य दिन्छु भन्ने अहंकारमय विचार या संकल्प मलाई दिनुहोस् । अहंकारले व्यक्तिको बुद्धि, धन, ज्ञान आदि सबै भ्रष्ट बनाइदिन्छ । अत: आफ्नो अहंकार नै मलाई गुरु दक्षिणाका रूपमा दिनुहोस् ताकि अब तपाईंलाई कहिल्यै कुनै पनि कुराको अहंकार नहोस् ।’

राजाले फेरि अर्को दिव्य दृष्टि पाए । उनी रैकवप्रति नतमस्तक हुँदै भने, ‘गुरुजी, आजदेखि म कुनै पनि विषय, वस्तु र प्राप्तिप्रति अहंकार गर्नेछैन । मैले तपाईंलाई गुरु दक्षिणामा आºनो अहंकारसमेत दिएर मुक्ति पाएँ ।’ रैकव उनलाई आशीर्वाद दिएर बिदा भए ।

राजा जनकसँग विशाल राज्य, भोगविलास र जीवन छँदै थियो । आफूले पाएको आध्यात्मिक ज्ञानलाई उनले पूर्णरूपले जीवनमा उतारे । यो अप्रतिम जीवनदृष्टिले गर्दा राजाले संसारको सुख पनि भोगिरहेका थिए, मुक्तिको आनन्द पनि । सुन्दरी रानीहरूसँगको शारीरिक सुख, राजसी खानपान, राजसी पहिरन र शासकीय रवाफ पनि थियो । यी सबै कुरालाई सपनाझैँ देख्ने, यीप्रति आशक्ति नराख्ने र त्यागपूर्वक भोग गर्ने जीवनदृष्टि पनि । उनी मनमनै गुनगुनाउँथे, ‘या लोकद्वय साधनी चतुरता सा चातुरी चातुरी । मत्र्यलोक र मोक्षलोक दुवैको सुख–भोग गर्नु जीवन जिउने सर्वोत्तम कला हो, चातुर्य हो ।’

राजा आफूलाई एक दिन मरेर जाने शरीर होइन, कहिल्यै नमर्ने आत्मा हुँ भन्ने हेक्का राख्थे । शरीरको आशक्ति त्यागेका हुँदा उनले ‘विदेह’ नाम पाए । ऋषिमुनि र विद्वान्हरूले उनको ज्ञान, गुण र शासन कौशलको तारिफ गर्थे । ज्ञानी व्यक्तिको कदर गर्नु, सबै जनताप्रति न्याय र समानताको व्यवहार गर्नु उनका विशेषता थिए । शासन गर्नु उनका निम्ति योग साधना गर्नु बराबर थियो । हरेक कामलाई उनी योगमय बनाउँथे, त्यसप्रतिको भावना, दृष्टिकोण र अनाशक्तिका कारण । राजाको सम्पूर्ण राजसी जीवन साधनामय थियो । व्यवहारद्वारा समग्र जीवनलाई रूपान्तरण गरेका हुँदा राजा जनकलाई ऋषिमुनिहरूले राजर्षिको सम्मान दिए । कतिपय ऋषिले आºना शिष्यलाई ज्ञान प्राप्त गर्न राजा जनकको दरबारमा पठाउन थाले ।

शुकदेव
एकपटक वेदव्यासले आºना पुत्र शुकदेवलाई आत्मज्ञान सिक्न राजा जनकको दरबार पठाए । शुकदेव पिताजीले आफूलाई राजासँग ज्ञान लिन पठाएकोमा पहिला त आश्चर्यचकित भए । उनले सोचेका थिए, भोगविलास र राजसी जीवन बाँच्ने व्यक्तिसँग के ज्ञान सिक्ने होला । यद्यपि, पितृ आज्ञा पालन गर्न उनी विवश थिए । जब उनी राजदरबारमा पुगे त्यतिखेर राजा जनक दूधको फिँजजस्तै मखमली शय्यामा ढल्केर सुन्दरी रानीहरूका हातबाट अंगुरको मदिरा पान गर्दै थिए । कैयौँ सेवक र परिचारक राजाको सेवा गर्न हस्याङफस्याङ गरिराखेका थिए । शुकदेवले आफू आउनाको कारण बताए । राजाले शुकदेवलाई बलेको दियो हातमा राखिदिँदै भने, ‘म आराम गर्दै छु, तपाईं एकपटक मेरो दरबारको सबै विभाग अवलोकन गरेर आउनुहोस् अनि ज्ञानगुनका कुरा सुरु गरौँला । अँ, दियो निभ्न नदिनुहोला ।’
शुकदेव दियो हातमा लिएर दरबारको अवलोकन गर्न निस्किए । दरबार भव्य थियो । कलात्मक र पुरातात्त्विक महत्त्वका मूर्ति, चित्रकला र सजावट आश्चर्यजनक थिए । यद्यपि, दियो निभ्ला भन्ने भयले शुकदेवले राम्ररी हेर्न र आनन्द लिन सकेनन् ।

फर्केपछि राजाले दरबार कस्तो लाग्यो तपाईंलाई भनी सोधे । शुकदेवले भने, ‘महाराज तपाईंको दरबार सुन्दर, कलात्मक र आकर्षक रहेछ, यद्यपि मेरो ध्यान दियो जोगाउने कुरामा बढी केन्द्रित थियो । राम्ररी हेर्न पनि पाइएन ।’ राजाले मुसुक्क हाँस्दै भने, ‘जीवनको रहस्य यसैमा छ । ध्यानमा, होशमा रहेर आनन्द उठाउन जान्नु । मानिसले नशामा डुबेर मस्तिष्कलाई मूच्र्छित बनाएर दु:ख भुल्न खोज्छन् । होशमा रहेर आनन्द लिने कला जान्दैनन् । पलपल निकट आइरहेको मृत्युलाई हेक्का राख्न सक्नु, निष्काम भावले कर्म गर्नु र अनाशक्त भावले सुख–दु:खहरू भोग्नु । यो सन्तुलनको विज्ञान जान्नेलाई जहाँ–तहीँ आनन्दै आनन्द छ । यही हो आत्मज्ञान ।’

सन्तुलन
भोग र योगको सन्तुलन जीवन हो । आत्मज्ञान प्राप्त गर्न घरबार त्यागेर बनवासी हुनुपर्दैन, केवल भोक्ता भाव, कर्ता भाव त्यागे पुग्छ । दैनिक व्यवहार र स्वयंलाई समेत कर्ता वा भोक्ता भावले होइन, साक्षी भावले हेर्नु, म विनाशशील शरीर होइन, अविनाशी आत्मा हुँ भन्ने स्मरण गरिरहनु आत्मज्ञान हो । सूचना संकलन गर्नु ज्ञान होइन । त्यो त केवल जानकारी हो । जानेको कुरालाई व्यवहारमा उतारिएको छ भने त्यो ज्ञान हो । ऐन्द्रिकतादेखि अतिन्द्रियतासम्म, भौतिकतादेखि अध्यात्मसम्मको अन्तर्यात्रा जनकले अभ्यास गरेको दर्शन हो । जीवनको दिशानिर्देश गर्ने जनक दर्शन सिद्धान्तमुखी होइन, व्यवहारमुखी छ । जीवनलाई नै दर्शनमय बनाउने जनक दर्शन एक जीवन दर्शन हो ।

विभूति
आज–भोलि अधिक प्रचारित तान्त्रिक दर्शनमा जनक दर्शनकै भोगदेखि योगसम्मको यात्रा देख्न सकिन्छ । राजर्षि जनक र महर्षि श्री अरविन्दको दर्शनमा सादृश्य पाइन्छ । श्री अरविन्दले समग्र जीवन दिव्य जीवन हो भनेका छन् । जीवनलाई सुन्दर बनाउनु र साधनाको माध्यमले दिव्य चेतना विकसित गर्नु जीवनको उन्नत लक्ष्य हो । प्राचीन कालमा जनकपुरमा राज्य गर्ने राजर्षि जनक प्रतिभा र दार्शनिक योगदानका कारण नेपालका ज्येष्ठ विभूतिका रूपमा सम्मानित छन् ।

My Article on Janak Darshan published in sourya Daily. here is the link online: http://www.souryadaily.com/2013/05/70501.html

Monday, May 27, 2013

एक आदि–विद्रोहीको सम्झना

-नेत्र आचार्य
matatirthaएक थोपा पानीले समुद्रमा आफ्नो पहिचान गुमाइदिन्छ । यसको विपरीत एउटा मानिसले समाजमा आफ्नो पहिचान कायम राख्छ । मानिस केवल समाज विकासका लागि जन्मेको होइन । मानिस आºनै विकासका लागि जन्मेको हो । समाज मानिसको विकासमा बाधक होइन, साधक हुनुपर्छ । गौतम बुद्धले तत्कालीन असमान, परतन्त्र र बाधक समाज व्यवस्थाविरुद्ध जसरी धाबा बोलेका थिए त्यो आज २५ सय वर्षपछि पनि आश्चर्यजनक र मननीय छ । गौतम बुद्धलाई ‘भगवान्’ मानेर भित्तामा झुन्याउनु वा पूजा गर्नुको साटो उनीबाट प्रेरणा लिएर अलिक आँटी मान्छे बनेर देखाउनु सायद उनीप्रति साँचो श्रद्धा हुनेछ ।
आदि–विद्रोही
बहुलवादका गफ गल्ली–गल्लीमा सुन्न पाइने वर्तमान समाजमा विद्रोहका कुरा गर्नु सहज होला । तर, जतिबेला गौतम बुद्धले जन्म लिएका थिए त्यतिखेरको समाज अशिक्षित र पुरातनपन्थी थियो । आँटी बुद्धले त्यो समाजमा मानव समानता र स्वतन्त्रताको शंखनाद गरेका थिए । बुद्धको त्यस शंखनादको कालजयी ध्वनि आज पनि हाम्रो कर्णविवरमा अनुगुन्जित भइरहेकै छ । बुद्धका मूर्तिहरू कुँदिएका कुँदियै छन्, गुम्बा र बिहारहरूको संख्या बढेको बढ्यै छ, विश्वविद्यालयमा बौद्धदर्शनका कक्षा थपिएका थपियै छन् । यो माहोल कसैको प्रायोजित ‘मिसन’का रूपमा चलेको छैन । स्वत:स्फूर्त रूपमा फैलिएको छ । कुनै देश विशेषमा सीमित छैन, विश्वभर विस्तार भइरहेको छ । यद्यपि, हामीले बुद्धका सन्देशलाई आत्मसात् गरेर आफूमा अलिक विद्रोही स्वभाव विकसित गर्न बाँकी छ । हामी बुद्धका वाणीहरू पढ्छौँ भने पनि त्यो आºनो आत्मोन्नतिका लागि होइन, अरुलाई ‘फ्रि एड्वाइस’ दिनका लागि ! यसो गर्दा हामीले आफूलाई चलाख सम्झन्छौं सायद । बौद्धिक विलासको यस्तो कसरत व्यक्तिलाई झन्–झन् दुर्बल र अमानव बनाउन जिम्मेवार छ । बुद्ध एक आदि–विद्रोही थिए । बौद्धिक विलासको लागि त उनी एक शब्द बोलेनन् । उनले जे बोले त्यो मानवलाई महामानव बनाउने ध्येयले बोले । उनले जे गरे त्यो मक्किएको समाजव्यवस्थालाई जगैदेखि पुननिर्माणका लागि गरे ।
बुद्धले अछुत भनिनेहरूलाई संघमा प्रवेश दिएर जातिप्रथाको अन्त्य गरे । महिलाहरूले पनि आध्यात्मिक अभ्यास गर्न पाउनुपर्छ भनी बाटो खुला गरिदिए । निर्वाण प्राप्त गर्न व्यक्तिको आºनै प्रयास पर्याप्त हुन्छ, ‘ईश्वर’को कृपा आवश्यक छैन भनी मानिसलाई ईश्वरको चरणमा दास हुनबाट मुक्त बनाइदिए ।
बुद्धको विद्रोही चेतनाका झिल्काहरू तलका हरफमा अवलोकन गर्न सकिन्छ ।
अप्प दीपो भव :
सबभन्दा पहिला त गौतम बुद्धले धर्मको ठेकेदारी प्रथा अन्त्य गर्न कदम चाले । उनले उद्घोष गरे–ब्राह्मणहरूले जग्गे थापेर अन्नपात र घिउतेल स्वाहा पार्ने चलन वाहियात हो । मान्छेलाई जजमान अर्थात् पुरेतले जे जे भन्छ त्यही त्यही मान्ने नादान बनाउनु र कहिल्यै कसैले कहीँ नदेखेको ‘ईश्वर’का नाममा जीवन धान्ने खाद्यान्न नष्ट गर्नु कदाचित् तर्कसंगत होइन ।
पुरेत्याइँ प्रथा अन्त्यसँगै बुद्धले ईश्वरको अस्तित्व अस्वीकार गरिदिए– पुरेत वा शास्त्रले यसो भने भन्दैमा विश्वास नगर । तिमी आफैं परीक्षण गरेर हेर ।
buddha-2के ईश्वरले दुनियाँमा न्याय कायम गराएको छ ? शान्ति कायम गराएको छ ? के ‘ईश्वरको सृष्टि’मा समानता र स्वतन्त्रता छ ? छैन भने केका लागि ईश्वरको गुलामी गर्ने ? मन्दिरको ढोकामा उभिने जो पनि भिखारी हो । मानिस स्वाभिमानी हुनु ठीक हो । ईश्वरसँग धनसम्पत्ति वा समृद्धिको वर माग्नु पनि भिखारी हुनु होइन र ? मानिसजस्तो बुज्झकी प्राणीलाई दिनदहाडै भिखारी हुन शोभा दिँदैन । मुक्तिको कामना गर्नु पनि भिखारीपना हो । मानिस आºनै प्रयत्नले मुक्त हुन सक्छ । ध्यानको अभ्यास गर्दै मनको मैलो हटाएका दिन मानिस स्वत: बुद्ध बन्छ । यो हो स्वाभिमान । बुद्धले भने–अप्प दीपो भव अर्थात् आफूआफ्नै दीपक होऊ ।

अत्तो हि अत्तनो नाथ
बुद्धले भने–तिम्रो मालिक तिमी नै हौ । होसमा रहने कला अभ्यास गरेर, चेतनाको विकास गरेर महामानव हुने या बेहोसीमा रमाउने ओरालो बाटो रोजेर पशुवत् हुने यो तिम्रो छनौटको विषय हो । तिमीलाई उद्धार गर्न स्वर्ग वा बैकुण्ठ लोकबाट कोही शंख–चक्र र चार हातधारी दिव्यात्मा आउने छैन । न त कहिल्यै आएको छ । जसले आफैंमा विश्वास गर्छ र आफूबाहेक यताउति अरू कसैको सहारा खोज्दैन उही व्यक्तिले जीवनको रहस्य बुझ्छ, उही व्यक्ति छिटो आत्मोन्नतिको शिखरमा पुग्छ ।
हजार इच्छाहरू पूरा गर्नुभन्दा एउटा इच्छालाई जित्नुमा अधिक आनन्द हुनसक्छ । त्यसो गरेर त हेर † क्रोधले तिलमिलाएर मुखमण्डल विकृत बनाउनु विचारको दास हुनु हो । क्रोधलाई जितेर शान्त भावले मुस्कुराउन सक्नु विचारको मालिक हुनु हो । यसो गर्दा शारीरिक र मानसिक स्वास्थ्य बिथोलिन पाउँदैन । यही बुद्धिमानी हो । मनका चाहनाहरू पूरा गर्न बाहिरी व्यक्ति र वस्तुमा निर्भर रहनु आºनो खुशीको रिमोट कन्ट्रोल अरुका हातमा दिनुजस्तै हो । तिम्रो खुशी तिमीभित्रबाट निसृत हुनुपर्छ । खुसीको सदावहार झरना हाम्रो चेतनाको शुद्धतामा छ । यत् पण्डे तत् ब्रह्माण्डे । ब्रह्माण्डमा जे छ त्यो सबै व्यक्तिभित्रै छ । अणुमा ब्रह्माण्ड समेटिएको छ । केवल हेर्ने सही दृष्टि विकसित गर्नु चुनौती हो । जुन दिन म नै मेरो मालिक हुँ भन्ने ज्ञान हुन्छ त्यस दिन व्यक्तिले भन्न सक्छ —
तीन हातको शरीरबाहिर खुसी खोज्न जान्न म
मेरो अन्तरमनको आनन्द तिमीलाई के अन्दाज !
बुद्धत्वको आनन्द
हाम्रो जीवनको उद्देश्य त बुद्धले जहाँसम्म चेतनाको विकास गरे त्योभन्दा अगाडि सोच्नु हुनुपथ्र्यो । त्यहाँसम्म त बुद्धले यात्रा गरिसके । अब त्यसभन्दा अगाडि बढ्न सक्नुपथ्र्यो । निर्वाण नै चेतनाको विकासको अन्तिम बिन्दु अवश्य हुन सक्दैन । जसरी हावा र प्रकाश सर्वव्यापी छ उसैगरी चेतना सर्वव्यापी छ । मानिसले जुन दिन आफूलाई ‘चेतन अस्तित्व’ भनेर बुझ्छ त्यसदिन उसले सर्वत्र त्यही चेतन तत्वबाहेक अर्थोक देख्ने छैन । अरूमा पनि आफूलाई नै देख्नेछ । ‘मै खाउँ मै लाउँ’जस्ता छुद्र विचारबाट माथि उठ्नेछ । अस्तित्वसँग एकाकार भएका दिन मानिसले  मानिस भएर जन्मनुको वास्तविक आनन्द अनुभूति गर्नेछ । यद्यपि, आनन्द सर्वव्यापी हुनुपर्छ । दु:खीहरूको चित्कारका माझ सुखीहरूको आनन्द फिका हुन्छ । समग्र मानव जातिलाई ज्ञानोदय हुने उपाय खोजी गर्नु र सबैलाई दु:खमुक्त बनाउनु उन्नत जीवनको अभीष्ट हुनुपर्छ । बाँच्ने पद्धति यस्तो होस् जहाँ सबैको कर्मको आशय सर्वजन हिताय, सर्वजन सुखाय लक्षित होस् । बुद्धत्वको आनन्द एक झलकमा पाए पनि मानिसलाई तदनुरूप आशयका लागि कर्मशील हुन प्रेरणा मिल्नेछ ।

गृहत्यागको कारण
हामी इतिहासलाई लुकाउन माहिर छौँ । वृद्ध, रोगी, मृत व्यक्ति एवं सन्न्यासीलाई देखेर सिद्धार्थ गौतम भोगबाट वैराग्यतिर उन्मुख भए । एक रात पत्नी र पुत्रलाई सुतेको बेलामा छोडेर ज्ञानको खोजीमा निस्के । प्रचलित कथाले यही भन्छ । तर, कथामा तार्किकता कम र अन्धभक्ति अधिक छ । २९ वर्षको उमेरसम्म सिद्धार्थ गौतमले वृद्ध, रोगी वा मृत व्यक्तिलाई देखेनन् होला ? भीम राव अम्बेडकरजस्ता विद्वान्ले बुद्धले गृहत्याग गर्नुको पछाडि राजनीतिक कारण खोजेका छन् । शाक्य गणराज्य र कोलीय गणराज्यबीच पानीको विषयमा विवाद चलिरहेको थियो । यही कारणले युद्ध र नरसंहार हुने स्थिति आइपुग्यो । बुद्धका सामु तीन विकल्प थिए : कि त लडाइँमा होमिने, कि मृत्युदण्ड वरण गर्ने या निर्वासित हुने अथवा सर्वस्वसहित सपरिवार समाजबाट बहिस्कृत हुने । पहिलो र अन्तिम विकल्प सहज थिएनन् । सिद्धार्थ गौतमले दोस्रो विकल्प रोजे र निर्वासित भए । यसरी बुझ्दा पनि बुद्धले मानव जातिलाई दिएको योगदान विल्कुलै कम हुँदैन । बरु नयाँ पुस्ताका आँखामा बुद्धको जीवनी तर्कसंगत र विश्वासनीय देखिन्छ ।
दु:खमुक्ति
सिद्धार्थ सानैदेखि कुशाग्रबुद्धि, चिन्तनशील र मानवीय थिए । गृहत्याग गर्नैपरेपछि उनले निर्वासनलाई नै मानवजातिका लागि उदाहरणीय बनाउने संकल्प गरे । पहिला त परम्परागत तपस्याको अग्निमा आफूलाई तप्त बनाए । ज्यान सुकेर सिट्ठो भयो । तर ज्ञानोदय भएन । उनले मध्यममार्ग अपनाए । खानपिन गर्न थाले । क्रमश: ध्यान गर्ने ऊर्जा शरीरलाई प्राप्त भयो । ‘यही आसनमा शरीर सुकेर जाओस्, हाडमासु गलेर जाऊन् बुद्धत्व प्राप्त नगरी उठ्दिनँ’ यस्तो प्रतिज्ञा गरी ध्यानमा बस्दा आखिरमा सिद्धार्थले ज्ञान प्राप्त गरे । यी काम चरणबद्ध रूपमा सम्पन्न भएको थियो । पहिला त ध्यानमार्फत एकाग्रता हासिल भयो । शरीर र मन स्थिर एवं शान्त भए । तब प्रज्ञा जागृत भयो । अनित्य, दु:ख र अनात्माको साक्षात्कार भयो । शून्यता अर्थात् प्रतीत्यसमुत्पादको ज्ञान भयो । नि:स्वभावता बुझेपछि उनी दुखमुक्त भए । तब दुखको सागरमा डुबेका मानिसहरूप्रति उनको हृदयमा करुणा जाग्यो । अरुलाई दुखमुक्तिको बाटो देखाउने क्रममा आºनो दु:ख छायामा परिसकेको हुन्छ । बुद्ध दर्शनमा यो दु:खमुक्तिको एक रहस्य हो ।

देवत्वकरण
हामी व्यक्तिलाई देवत्वकरण गर्नमा पनि माहिर छौँ । हामीले सायद सिद्धार्थको यथार्थ कथाबाट निश्चित तथ्यहरू गायब पारिदियौँ र बुद्धले केवल ज्ञान पाउनका लागि घरबार त्यागेका हुन् भनी कथा रच्यौँ । औसत मानिस लकिरको फकिर हुन चाहन्छन् । उनीहरूले हत्तपत्त बुद्धलाई देवत्वकरण गरेर भगवान् बनाइदिए । र, आफू भगवान्को चरणदास बन्नुमा सन्तोष माने । जसले ईश्वरको अस्तित्व अस्वीकार गर्‍यो उसैलाई भगवान्को पगरी गुथाइदिनु कति न्यायिक हुनसक्छ ? बुद्धको नाममा धर्म पनि चल्न थाल्यो, जुन बुद्धको सोचभन्दा विपरीत कुरा थियो । यसरी एउटा महामानवको आशयविपरीत जानु मानिसजस्तो चेतनशील जातिलाई सुहाउने कुरा होइन । बुद्धले त भनेका थिए– मानिस केवल आºनै प्रयासले चेतनालाई परिशुद्ध बनाउँदै एक दिन शुद्ध चैतन्य साक्षात्कार गर्न सक्छ । देवताको कृपा वा कुनै गुरु विशेषको सहायता खोज्नु आवश्यक छैन, हितकारी पनि छैन र यसो गर्नु मानिसको क्षमताको अवमूल्यन गर्नु हो भनेका थिए । बुद्धले समस्त मानव जातिलाई अपार स्वतन्त्रताको स्वाद चखाउन खोजेका थिए । तर, आजको नेपाली समाजमा अनागरिकालाई भिक्षुणी बन्नसमेत स्वीकृति दिइएको छैन । आज बुद्धको अग्लो मूर्ति बनाउने प्रतिस्पर्धा छ, व्यापारको होडबाजी छ, लुम्बिनीको साख कसले लिने भनी महाभारत चलिराखेको छ । बुद्धभन्दा बढी ‘जान्ने’हरू नै बुद्धको उद्देश्य सफल पार्ने मार्गमा समस्या हुन थालेका छन् ।
चन्द्रमा कि औंला
बुद्धले हामीलाई चन्द्रमा देखाएका थिए । हामीले बुद्धको औंला मात्रै देख्यौँ, चन्द्रमातर्फ देखेनौँ । बुद्धले हामीलाई बुद्धत्वतर्फ संकेत गरेका थिए हामीले व्यक्ति मात्र देख्यौँ । हामी बुद्धका भक्त बन्यौँ बुद्ध बन्न सकेनौँ । ध्यान एक घन्टा आँखा चिम्लेर बस्ने कर्मकाण्ड होइन । चीवर लगाउनु, भिक्षु बन्नु या मागेर खानु तत्कालीन समाजका लागि ठिकै थिए होलान् । आज २५ सय वर्षपछिको समाजमा छद्म बुद्ध बन्न खोज्नु अलि बढी नै नौटंकी प्रतीत हुन्छ । के हामी अलिक रचनात्मक बन्न सक्दैनौं ? कुन देश, काल र परिस्थतिमा बुद्धले तदनुरूप भेष बनाउनु सान्दर्भिक मानेका थिए त्यसको अध्ययन गरेर आजको युग सुहाउँदो पहिरन गर्नु र ज्ञानलाई उपदेशमा होइन जीवनमा उतार्नु अधिक बुद्धिमानी होइन र ? चन्द्रमा देखाउँदा औंला पक्रनेले दुख नपाए कसले पाउँछ ?

विख्यात बौद्ध लेखक भदन्त आनन्द कौसल्यायन भन्छन्– बुद्ध आजको विकसित समाजमा पैदा हुन्थे भने उनले भिक्षुहरूलाई ब्रह्मचर्यको कठोर व्रत पालना गर्ने नियम बनाउने थिएनन् । सुरक्षित यौन सम्बन्धले आत्मविकासमा बाधा पुर्‍याउँदैन । आत्मोन्नति यौनभन्दा धेरै मास्तिरको अवस्था हो । चेतनाको आनन्दका सामु यौन सुख फिका हुन्छ र स्वत: छुट्छ । हामीले बुद्धको आशयलाई पक्रनु बुद्धिमानी हो बुद्धकाजस्तै गेरुवस्त्र समातेर बस्नु मूढता हो ।

बुद्धको अध्यात्म भूमि
नेपाल बुद्धको अध्यात्म भूमि हो । बुद्ध हाम्रो आºनो माटोका उपज हुन् । उनका शिक्षाहरू, उनले बताएका कालजयी वचनहरू र समुन्नत जीवन पद्धतिका सुपरीक्षित तौरतरिकाहरू पढ्न–बुझ्नलाई अब हामीले विदेशीले लेखेका पुस्तक खोज्न पर्नु, समुद्रपारि डिजाइन गरिएका वेबसाइट चाहार्न पर्नु ठूलै दुर्भाग्य हो सायद । एक से एक बौद्ध विद्वान् स्वदेशमै पैदा होऊन् । शान्तिको देश नेपाल अध्यात्म–भूमिका रूपमा विश्वभरि विख्यात होस् अनि संसारका कुना–कुनाबाट बौद्ध दर्शन पढ्न–बुझ्न र तिनलाई जीवनमा अभ्यास गरिएको शान्तिप्रियता अवलोकन गर्न नेपाल आऊन् । आजसम्म यति त भइसकेको हुनुपथ्र्यो, कम्तीमा पनि । अगणित मानिसहरूले कलमजीवी, बुद्धिजीवी या सूचनाजीवीको परिचय बनाएका छन्, बुद्धको भूमि नेपालमा धेरै होइन केही मानिसले अध्यात्मजीवीका रूपमा पहिचान बनाउन वाञ्छनीय छ । सायद यसको समय आइसकेको छ । भौतिक समृद्धिले मानव समाजलाई निरन्तर संकट र आतंकतिर धकेल्दै गइरहेको स्थिति अहिले छ । आध्यात्मिक समृद्धि भएमा विश्व–व्यवस्थाको कायापलट हुन सक्छ । कम्तीमा यही आशा बाँकी छ ।

My article on 2557th Buddha Purnima
here is the link : http://www.souryadaily.com/2013/05/72970.html

Monday, May 06, 2013

चार वटी पत्नी


एउटा धनी व्यापारीका चार वटी पत्नी थिए । 

व्यापारीले चौथी पत्नीलाई सबभन्दा धेरै माया गर्थ्यो । स्वादिष्ट खानेकुरा खुवाउँथ्यो र सबभन्दा राम्रा लुगाहरुले झकिझकाउ बनाएर सिंगारेर राख्थ्यो । उसको सुखसुविधाको निकै ध्यान राख्थ्यो र सर्वोत्तम वस्तुहरु उपलब्ध गराउँथ्यो ।

व्यापारीले तेस्री पत्नीलाई पनि औधी मन पराउँथ्यो । तेस्रीप्रति निकै गर्व गर्थ्यो र साथीहरुलाई देखाएर, उसको बारेमा कुरा गरेर आनन्द मान्थ्यो । यद्यपि व्यापारीलाई तेस्री पत्नी अरु कसैसँग भाग्ली वा आफूलाई छोडेर कतै जाली भन्ने डर मानिराख्थ्यो ।

व्यापारीले दोस्री पत्नीलाई पनि निकै माया गर्थ्यो । दोस्री पत्नी धेरै समझदार र धैर्यवान् थिई । खासमा व्यापरीकी विश्वासपात्र यही पत्नी थिई । जहिले पनि समस्या पर्दा वा कठिनाइको सामना गर्नुपर्दा व्यापारी यही पत्नीसँग सल्लाह माग्थ्यो । दोस्री पत्नीले व्यापारीलाई गाह्रो सारो पर्दा सधैं मदत गर्थी ।

पहिली पत्नी व्यापारीप्रति ज्यादै आत्मीय थिई । उसले व्यापारीको घर, व्यवसाय सम्हाल्थी र व्यापारीको व्यक्तिगत सुखदुखको ख्याल राख्थी । यद्यपि व्यापारीले पहिली पत्नीलाई फुट्टी माया गर्दैनथ्यो । पहिलीले व्यापारीले जति गहिरो माया गरे पनि व्यापारीले उसको वास्तै गर्दैनथ्यो ।

एक दिन व्यापारी सिकिस्त बिरामी पर्यो । ओछ्यानबाट उठ्न मुस्किल हुन थालेपछि उसले आफू छिटै मर्दैछु भन्ने अनुमान गर्यो । जीवनभरि सुखसयल गर्दै चार वटी पत्नीको बीच बाँचेको ऊ मर्ने बेलामा एक्लै पर्दै गएको महसुस गरिरहेको थियो । अचानक उसको मनमा एउटा विचार आयो; म मरें भने चार पत्नी मध्ये कोही त मसँगै जालान् कि ।

व्यापारीले चौथी पत्नीलाई बोलायो र भन्यो, ‘मैले तिमीलाई सबभन्दा धेरै माया गर्थें । सधैं उत्तम लुगाहरु दिन्थें र निकै हेरचाह गर्थें । अहिले म मर्दैछु । तिमी मेरो साथी भइदिन मसँगै जान्छ्यौ ?

‘जान्नँ ! मरेर जानेलाई पनि कसैले साथ दिन्छ ?’ चौथी पत्नीले हेलाँपूर्वक भनी ।
उसका कुरा व्यापारीको मुटुमा वाण हानेझैं बिझे ।

व्यापारीले तेस्री पत्नीलाई बोलायो र भन्यो, ‘मैले तिमीलाई धेरै मन पराउँथेँ र हृदयदेखि नै माया गर्थें । तिमीप्रति मलाई निकै गर्व थियो । आज म मर्दैछु । मलाई साथ दिन तिमी मसँगै जान्छ्यौ ?’

व्यापारीका कुरा सुनेर अचम्मित हुँदै उसले भनी, ‘के भनेको ? मर्नेसँग पनि कोही जान्छ ? जिन्दगी निकै रमाइलो पो छ । म त तिमी मर्यौ भने अरु कसैसँग विहे गरेर मस्ती गर्छु ।’

व्यापारीलाई मानौं झट्का लाग्यो । उसको मुटु चिसिँदै गयो ।

व्यापारीले दोस्री पत्नीलाई बोलायो र भन्यो, ‘जहिले पनि समस्या पर्दा मैले तिमीलाई सम्झन्थें, तिमीले हरेक पटक मलाई सधैं मदत गथ्र्यौ । अहिले पनि मलाई तिम्रो साथ चाहिएको छ । म मर्दैछु, तिमी मलाई साथ दिन मसँगै जान्छ्यौ ?’

‘क्षमा गर, यतिखेर भने म तिमीलाई मदत गर्न सक्दिन र साथ दिन पनि सक्दिन । अँ, धेरै गर्न सकें भने तिमी मरेपछि चिहानसम्म पुर्याइदिउँला ।’

उसको यस्तो जवाफले व्यापारीको मनमा चटयङ परेजस्तै भयो । व्यापारी हताश भयो ।
त्यतिखेरै उसले कोही बोलेको सुन्यो, ‘म जान्छु तिमीसँगै । तिमी जहाँ पुगे पनि म तिम्रो साथ छोड्ने छैन ।’ व्यापारीले विस्तारै टाउको उठाएर हेर्यो । यो पहिली पत्नीको आवाज थियो । ऊ दुब्लाएर सिट्टी भएकी थिई । कुपोषणले ग्रस्त जस्ती देखिएकी पहिली पत्नी नजिकै आई । उसको हालत देखेर व्यापारीको मन औधी दुखी भयो । उसले भन्यो, ‘मैले तिम्रो अलि राम्रो हेरचाह गर्नुपर्ने थियो ।’

यथार्थमा हामी सबैका चार वटी पत्नी छन् ।

चौथी पत्नी हाम्रो शरीर हो । शरीर सिंगार्न र राम्रो देखिन जतिसुकै समय दिए पनि र प्रयत्न गरे पनि हामी मरेर जाँदा शरीरले छोडिदिन्छ । दोस्री पत्नी हामीले जम्मा गरेको धनसम्पत्ति, सामाजिक हैसियत र सम्बन्धित वस्तुहरु हुन् । हामी मर्दा यी सबै अरुको हातमा पुग्छन् । दोस्री पत्नी हाम्रो परिवार र साथीहरु हुन् । बाँचुञ्जेल जति प्रिय भए पनि मरेपछि परिवार र साथीहरु बढीमा चिहानसम्म मात्र पुग्छन् ।

पहिली पत्नी वास्तवमा हाम्रो आत्मा (चेतना) हो । भौतिक धनदौलत जम्मा गर्ने र ऐन्द्रिक सुख भोग्ने धुनमा हामीले आत्मालाई प्रायः वेवास्ता गर्छौं । हामी भित्र रहेको आत्माको अस्तित्व समेत हेक्का राख्दैनौं, कुनै मतलब गर्दैनौं । आत्माले नै वास्तवमा हामी मरेर जहाँ जान्छौं त्यहाँसम्म हामीलाई पछ्याउँछ, आत्मा सधैं हाम्रो साथी हुन्छ ।
मर्नेबेलामा पछुताउनलाई पर्खनुभन्दा अहिलेदेखि नै आत्मालाई पोषित गर्नु, सबल पार्नु र उन्नत बनाउनु सायद उत्तम हो ।


शिक्षित सुगाहरु

धेरै पहिला एक जना ऋषिले कुटीसँगैको रुखमा सुगाहरु पालेका थिए । सुगाहरुलाई आत्म—सुरक्षाका लागि एउटा गीत सिकाइ राखेका थिए ‘शिकारी आउनेछ, जाल बिछ्याउने छ, चारो हाल्नेछ, तर हामी जानेछैनौं, जालमा फस्नेछैनौ‌ ।’

एक दिन ऋषि नजिकैको गाउँमा गएका थिए । त्यही समयमा एउटा शिकारी त्यहाँ आयो । कुटी अगाडिको रुखमा केही सुगाहरु देखेर शिकारीले जाल बिछ्याउन थाल्यो ।

सुगाहरु सशंकित भए । उनीहरु एक स्वरले गीत गाउन थाले, ‘शिकारी आउनेछ, जाल बिछ्याउने छ, हामी चारो खानेछैनौं, जालमा फस्नेछैनौं ।’

सुगाहरुले सजग भएर आत्म—सुरक्षाको गीत गाएको देखेर शिकारी चकित भयो । यी सुगाहरु त शिक्षित पो रहेछन् । जाल हान्नुको के फाइदा । ऊ जाल नबिछ्याई निराश हुँदै घरतिर फर्कियो ।

घरमा उसको छोराले सोधेछ, ‘बाबा, आज किन रित्तै आउनुभयो ? चराहरु जालमा परेनन् ? शिकारीले चिन्तित हुँदै भन्यो, ‘छोरा, जंगलका सुगाहरु बडा शिक्षित भएछन् । तिनीहरु त मलाई देख्नासाथ ‘शिकारी आउनेछ, जाल बिछ्याउने छ, हामी चारो खानेछैनौं, जालमा फस्नेछैनौं’ भन्दै कराउन थाले । यिनीहरुलाई के फसाउन सकिएला भनेर म जालै नहाली फर्कें ।’

शिकारीको छोरा पढेलेखेको, शिक्षित थियो । उसले शिक्षितहरुलाई राम्ररी चिनेको थियो । ‘बाबा, म जान्छु चराहरुको शिकार गर्न’ छोराले बाबालाई ढाडस दियो ।

भोलिपल्ट छोरा शिकार गर्न गयो । त्यही रुखमुनि पुग्यो । जाल देख्दाबित्तिकै सुगाहरु त्यही गीत रट्न थाले, ‘शिकारी आउनेछ, जाल बिछ्याउने छ, हामी चारो खान जानेछैनौं, जालमा फस्नेछैनौं ।’ यद्यपि उसले फटाफट जाल बिछ्यायो, चारो हाल्यो र पर्खेर बस्यो ।

केही बेरमै सुगाहरु जालभित्र आएर चारो खान थाले । चारोको लोभले एकपछि अर्को गर्दै सबै सुगाहरु जालभित्र पसिसकेका थिए, फसिसकेका थिए ।

सुगा रटन्तम् पाराले शिक्षित छन् आम मानिसहरु
भेष बदलेर आउने नेता वा कथित ‘गुरु’हरुले
सपनाका जालमा फँसाए भने कसको दोष ?


जीवन : स्व-निर्माण-परियोजना

एउटा सिकर्मी थियो । १५ वर्षसम्मको भवन निर्माणको जागिरबाट एक दिन उसले सधैंका लागि मालिकसँग छुट्टी माग्यो । सेवानिवृत्त भएपछि महिनैपिच्छे तलब थाप्न त पाइँदैनथ्यो तर उसलाई बाँकी जीवन घरभरि भएका नातिनातिनासँग खेल्दै बिताउन मन लागिरहेको थियो । 

मालिकलाई यति राम्रो सिकर्मीले काम छोडेर जान लागेकोमा चिन्ता परेको थियो । मालिकले भन्यो, ‘तिमी जानै लाग्यौ । जानुअघि कृपया मलाई एउटा अन्तिम घर बनाइदिन सक्छौ ?’

पन्ध्र वर्षसम्म काम गरेको मालिकका लागि थप एउटा घर बनाइदिने प्रस्ताव सिकर्मीले अस्वीकार गर्न सकेन । यद्यपि यो उसको अन्तिम गृह निर्माण थियो । ऊ कहिले काम सकिएला र छुट्टी लिउँला भन्ने सोचिराख्थ्यो र आधा मनले काम गर्थ्यो। अतिरिक्त समय कहिल्यै काम गरेन । सिमेन्ट, गिटी र बालुवाको सर्वोत्तम मिश्रण तयार गर्नमा पनि उसले ध्यान दिएन । यो घरमा पौडी पोखरी पनि राखेन । काठपात पनि गुणस्तरीय छनोट गरेन । पहिलाजस्तो कलात्मक फर्निचर पनि बनाएन ।

घर बनिसकेपछि मालिकले सिकर्मीलाइ अफिसमा बोलायो र चाबीको गुच्छा दिँदै भन्यो, ‘पन्ध्र वर्षसम्म गरेको उत्कृष्ट कामको सम्मान गर्दै भर्खरै तिमीले बनाएको घर तिमीलाई नै उपहार दिँदैछु ।’

सिकर्मीका आँखमा आँसु आए । उसले यो घर आफूले पाउँला भन्ने एक रत्ती सोचेको थिएन । आफ्नै लागि घर बनाउँदैछु भन्ने थाहा भएको भए उसले यो घरको गुणस्तर र रुपरंगै अर्कै बनाउनेथियो ।

यो कथा साँचो पनि हुनसक्छ, काल्पनिक पनि । हामीहरु चाहिँ यथार्थमा ठीक यस्तै गर्छौं । हामीले आफ्नो जीवन निर्माण गरिरहेका हुन्छौ हरेक दिन । तर प्रायः हामीले आफ्नो पूर्ण क्षमता र ऊर्जा प्रयोग गर्दैनौं; आधा मनले घस्रिरहेका हुन्छौं । हाम्रो ऊर्जा व्यर्थका कुरामा नष्ट भइरहेको हुन्छ । अनि, समय गुज्रिसकेपछि हामी झसङ्ग हुन्छौं; यस घरमा त हामी आफैं पो बस्न पर्नेछ ।

हामीलाई लाग्छ, फेरि सुरुदेखि जीवन निर्माण थाल्न पाए कति मेहनतले काम गर्थ्यौ‌ होला, पढ्थ्यौं होला, सिक्थ्यौं होला ! जीवन स्व—निर्माण—परियोजना हो । आजको हाम्रो प्रवृत्ति र छनौटले भविष्यको हाम्रो घर निर्माण गरिरहेको हुन्छ जसमा हामी जीवन बिताउनेछौं ।

Saturday, April 06, 2013

रजनीले रचेको संसार



-नेत्र आचार्य
Netra-Acharya‘प्रिये, यतिखेर हामी कहाँ छौँ ?’ रजनीले आफ्ना आँखा चारैतिर डुलाउँदै सोधी ।
‘बगैँचामा छौँ, प्रिये’ प्रकाशले शान्त हुँदै भन्यो ।
‘म तिम्रो काखमा लामै समय निदाएँ क्यार,’ आँखा मिच्दै उसले गुनासो गरी, ‘मलाई किन नजगाएको ?’
‘जगाउनुपर्ने आवश्यकता परेन, त्यसैले ।’
‘तिम्रो आवश्यकता के हो मैले आजसम्म बुझ्न सकिनँ । भैरहोस् । अनि यो विशाल वृक्षको नामचाहिँ के हो नि ?’ रजनीका आँखा यतिखेर वृक्षका विशाल शाखाहरूतिर दौडिँदै थिए ।
‘यसलाई कल्पवृक्ष भनेर बुझ ।’
‘गर्मीमा शीतल, जाडोमा न्यानो । कस्तो मज्जा हगि ? मलाई त कस्तो लागिरहेको छ भने मानौँ यो कैलाश पर्वत हो, तिमी देवताहरूका पनि देवता महादेव हौ र म हिमालयकी छोरी हुँ । हामी यहाँ यसरी आनन्दले बसेको जुगजुग बितिसकेको छ’ रजनीले प्रकाशका आँखामा आँखा मिलाउँदै भनी ।
‘हो त । तिमीले जे जे भन्यौ त्यही कुरा सत्य हो । म महादेव हुँ, तिमी हिमालयकी छोरी हौ † उस्तै जिद्दी गरिरहनुपर्ने स्वभावकी । यो संसार हामीले सृष्टि गरेको हो । अनि, हामी यहाँ बसेको पनि जुगौँ भइसकेको छ । बस्, हामी समयको हिसाब गर्दैनौँ । साँची, यतिका समय भइसक्यो, तिमीलाई भोक लागेको छैन ?’
‘छ त ।’ रजनीले लाडिँदै भनी ।
‘के खान मन छ ?’
‘फापरको रोटी, पुदिनाको चट्नी अनि बदाम र दूधको सर्वत ।’
तत्क्षण रजनीले चाहेको नास्ता तयार भएर थालभरी आइसकेको थियो ।
‘ल खाऊ ।’ प्रकाशले रोटीको एक टुक्रा चट्नीसँगै खाँदै भन्यो ।
‘आबुई । यति छिट्टै कसले यो सबै खानेकुरा ल्याइदियो ?’ रजनीलाई विश्वासै भइरहेको थिएन ।
‘कल्पवृक्षमुनि जे चिताए पनि पुग्छ, त्यति पनि थाहा थिएन ?’ प्रकाशले रजनीको अज्ञानता औँल्याइदियो ।
रजनी ठुस्किई । प्रकाशको यो बानी उसलाई कत्ति मन पर्दैन । एक निमेष भर उसले यस्तो चिताई मानौँ प्रकाश त्यहीँको त्यहीँ गाएब होस् ।
र, भइदियो पनि त्यस्तै । प्रकाश गाएब । रजनी झस्किई । कल्पवृक्षमुनि जे चिताए पनि पुग्ने थियो । उसलाई आफ्नो गल्ती महसुस भयो । ‘कस्तो मूर्खता मेरो’ रजनीले लामो सास तान्दै भनी । ऊ दु:खी भएकी थिई । आफूले भर्खरै गरेको मूर्खताको चेतनाभन्दा दुखद अर्थोक केही हुँदैन ।
रजनीले आफ्नो गल्ती सुधार्ने मौका अझै थियो । ऊ शान्त हुन सक्थी र प्रकाश आफुसामु प्रकट भइदेओस् भनेर चिताउन सक्थी । ऊ कल्पवृक्षकै छहारीमा थिई । उसले चिताएको पुग्ने थियो । तर, त्यसबखत उसको इगो उसका सामु फँडा फैलाएर खडा थियो । उसलाई वास्तविकता धुमिल लागिरहेको थियो । सबै कुराप्रति अविश्वास पैदा भएको थियो । मध्यदिनमा उसले सर्वत्र अँध्यारो देख्न थालेकी थिई । यद्यपि उसको मनमा आशाको दियो निभिसकेको थिएन ।
कहाँ जाला र ऊ, सायद ऊ आफैँ आउनेछ मलाई खोज्दै, आएन भने पनि मैले उसलाई फेला पारिहाल्छु । विचारहरू उसको मनमा तरंगिँदै थिए । उसका आँखा बगैँचामा परपरसम्म पुग्नथाले । प्रकाश यतैकतै छ कि ।
रजनीले पूरै बगैँचा चाहारी । प्रकाशको अत्तोपत्तो थिएन । बगैँचामा रंगीबिरंगी फूलहरू फुलिरहेका थिए । तर, रजनीलाई ती फूलको सौन्दर्य र सुवासले छोइरहेको थिएन । भ्रमरहरूको भुनभुनले त उसलाई झन् अशान्ति महसुस भयो । ऊ झन् आजित भई ।
मगमग फुल्यो फूल यहाँ गैरी बिसाउने
भमराले लग्यो रस कोही छौ कि रिसाउने ।
कोही प्रेमी आफ्नी प्रेमिकासँग गीत गाउँदै थियो । रजनीलाई गीतका मधुर शब्दहरू कर्णकटु सुनिए । उसको अविश्वास झन् सघन हुँदै थियो । अब उसलाई आफ्नै अस्तित्वप्रति आशंका बढ्न थालेको थियो । नजानिँदो डर, आशंका र आतंकले ऊ भित्रभित्रै प्रताडित हुन थाली । ऊ हतारहतार बगैँचाबाट बाहिरिई ।
बाहिर उही चिरपरिचित सहर ।
ऊ साझ नपर्दै आफ्नो कोठामा पुगी । डोरम्याट मुन्तिरबाट साँचो झिकी र खिया लागेको ताल्चामा छिराई । बडो मुस्किलले ताल्चा उग्घ्रियो । भित्र पसेर हेरी । चारैतिर माकुराको जालो । भुइँ, टेबुल, दराज र बिछ्यौनामा जमेको धूलो । र, पूरै कोठाभरि फैलिएको एकतमासको ढुसीको गन्ध । उसको मुटु भक्कानिएर आयो । एकाध घन्टा पहिला ऊ प्रकाशसँग कल्पवृक्ष मुन्तिर थिई । त्यो बगैँचा, त्यो मौसम, त्यो आनन्द ।
जतिजति सम्झ्यो उतिउति रजनीको मन बाउँडिन थाल्थ्यो । उसको दु:खको सीमा थिएन ।
यद्यपि ऊ आत्मबल भएकी स्त्री थिई । सबै कुरा बितेर जान्छ । पहिला सुख थियो । सुख बितेर गयो । अहिले दु:ख छ । यो पनि बितेर जानेछ । उसले हिम्मत बाँधी । जुरुक्क उठी, एउटा मुखौटौ लगाई र कोठा सफा गर्न थाली । केही समयभित्रै कोठा पहिलाजस्तै टकटकाउँदो भइसकेको थियो । फोहोरको नामोनिसान थिएन, फूलदानीहरू तरोताजा भएका थिए र उसले भर्खरै छर्केको अत्तरको मधुरो बास्ना उडिरहेको थियो । ऊ शवासनमा पल्टिई ।
शवासनले उसको तनमा स्फुर्ती र मनमा ऊर्जा भरियो । हठात् उसलाई पहिलाजस्तै पुराना डायरी पल्टाएर हेर्न मन लाग्यो । तर, हातहरू अनायासै रोकिए । विगतका स्मृतिहरू उग्राउनुको के सार ? उसलाई एक—एक कुराहरू सम्झना छन् । कसलाई हुँदैनन् ?
बाल्यकालमा आमाले दूध छुटाउन स्तनमा तितेपाती दलेर मुखै तीतो बनाइदिएको, बासी भात खान भाइसँग झगडा गरेको, बाबाले अकारण भित्तामा टाउको ठोक्काइदिँदा रगतैरगत भएको, पहिलो दिन स्कुलमा जाँदा बाटोमा लडेको, साथीले आफ्नोभन्दा अधिक नम्बर ल्याउँदा दिनभरी रोएको, होलीको दिनमा केटाहरूले पिच्कारी हानेर शरीर निथ्रुक्क भिजाइदिएको, पहिलो प्रेमको मधुर अनुभूति, पहिलो समागमको कौतुहल, कलेजका सुरुआती दिनहरू, जागिर खोज्दाको रामकहानी, दोस्रो, तेस्रो …प्रेमको सिलसिला र अन्त्यमा विवाहको नाटक ।
जिन्दगी एक खेल हो, नथाकिन्जेल खेल्दै जानू
जिन्दगी एक दृश्य हो, नअघाइन्जेल हेर्दै जानू
थाकिसकेपछि रित्तो छ जीवन, अघाइसकेपछि खोक्रो छ जीवन ।
डायरीको अन्तिम पानामा यिनै हरफहरू त छन् । उसलाई डायरीका हरेक पन्ना, सायरीका हरेक पदावली याद छन् । डायरी पल्टाउनुको कुनै सार छैन । ‘म आपैँm एक जीवन्त डायरी हुँ’ रजनीले मनमनै भनी ।
उसलाई कल्पवृक्षको याद आयो । प्रकाशको मेघजस्तै सघन बोली, उसको काखमा बस्दाको न्यानो अनुभूति, त्यो अकल्पनीय माहोल । त्यो प्रेम, त्यो सान्त्वना, त्यो समरसता केवल सपना थियो त ? म फेरि त्यो बगैँचा खोज्दै जान सक्छु त ? कसरी अचानक म त्यहाँबाट बाहिरिएँ ? के मेरो मनमा पलाएको क्षणिक अहंकारले मेरो सुन्दर संसार भत्काइदिएको थियो ?
भर्खर जस्तो लाग्ने त्यो दृश्य । अघिसम्म ऊ महादेव थियो म हिमालयकी छोरी । हामी सृष्टिकर्ता थियौँ । यो संसार रचेर यहाँ भइरहेको लीला हेर्दै रमाउँदै थियौँ । अहिले भने म एक दु:खी पात्रको भूमिकामा पछारिएकी छु । प्रकाश म भुटभुटिएको हेर्दै मुस्कुराउँदै होला । ऊफ् †
‘मलाई यही भूमिका पुन: दोहोर्‍याउन कुनै आपत्ति छैन । यद्यपि एकपटक त्यो अप्रतीम जीवनको झलक पाइसकेपछि, त्यो शान्ति र आनन्दको स्वाद अनुभूति गरिसकेपछि, त्यो दिव्य जीवनको बाटो पहिल्याइसकेपछि मलाई यो नाटक खेल्न मन छैन । मैले त्यही दिव्य जीवनलाई पछ्याउनुपर्छ,’ रजनी भुतभुताई ।
उसले संसारका गतिविधिमा रस लिन वा आसक्त हुन छोडिदिई । इन्द्रियहरूमा सल्बलाउने वासनाका आँधीहरूलाई साक्षी भावले पन्छाउँदै गई । उसँग दिव्य जीवनको सूत्र थियो, ज्ञानचित्त हुँदा रागचित्त छैन, रागचित्त हुँदा ज्ञानचित्त छैन । एकसमय च उभयोऽनवधारणम् । ऊ शान्त हुँदै गई, उसको मनमा प्रज्ञा जाग्यो, संसारका सबै घटना—परिघटना अस्थाइ हुन् र समयसँगै बितेर जान्छन् । दिनसँगै रात पनि आउँछ, सुखसँगै दु:ख पनि आउँछ । यो प्रकृतिको नियम नै हो । आशंका, डर र अहंकार बन्धन हुन्, प्रेम, लयात्मकता र समरसता मुक्ति ।
यो प्रज्ञोदयसँगै रजनी फेरि आनन्दलोकमा पुगेकी थिई । त्यही कल्पवृक्ष त थिएन, प्रकाश पनि थिएन यद्यपि ऊ स्वयं आफ्नो जीवनको वास्तविकताको स्रष्टा बनेकी थिई । उसलाई यस्तो लागिरहेथ्यो मानौँ ऊ अहिले जहाँ छे त्यहाँ सन्तुष्ट छे । कल्पवृक्ष, प्रकाश वा आनन्द त उसकै मनको शान्ति, प्रज्ञा र प्रेमले सिर्जना गरेका थिए । ‘शान्ति, प्रज्ञा र प्रेमले म हजारौँ कल्पवृक्ष, प्रकाश र आनन्द सिर्जना गर्न सक्छु,’ रजनीको खुसीको सीमा थिएन ।
Written by Netra Acharya
Published in Sourya Daily 30 March 2013.

पुस्तक, कलम र पत्नी



-नेत्र आचार्य
Netra-Acharya‘पुस्तिका लेखनी रामा परहस्तौ गते गता: । कदाचित् पुनरायाता भ्रष्टा मुष्टा सुचुम्बिता ।’ अर्थात् पुस्तक, कलम र पत्नी अरूका हातमा परेपछि फर्केर आउँदैनन् । आइहालेमा पुस्तक थोत्रिएको हुन्छ, कलम भाँचिएको हुन्छ, पत्नी अर्कैले चुम्बन गरिएकी हुन्छिन् । कसैले प्रयोग गरेको वस्तु हात थाप्नु जीवनको ठूलै अभाग हो । प्रिय पाठक, कसैले पुस्तक नमागोस् भनेर मैले यसो भनेको होइन । तगारो हाल्नैपर्ने स्थिति आइसकेको छैन । खासमा पुस्तक, कलम र पत्नीले मेरो जीवनमा विशेष अर्थ राख्छन् । म त्यो विशेष अर्थ बताउने चेष्टा गर्दै छु ।
मैले होस सम्हालेदेखि नै यी तीन वस्तु मेरो जीवनसँग अभिन्न रहे । यिनले मलाई जति अरू कसैलाई सायदै प्रभाव पारे होलान् । ‘द प्रोफेट,’ ‘दस स्पेक जराथुस्त्र’ जस्ता पुस्तक पहिलोपल्ट पढिसक्दाको आनन्द, कुनै कृति लेखिसक्दाको आत्मसन्तुष्टि वा कुनै युवतीको अँगालोमा कसिँदाको परितृप्ति; मेरो भागमा परेका खुसीहरू यिनै हुन् । म फेरि दोहोर्‍याएर भन्छु पुस्तक, कलम र पत्नीले मेरो जीवनमा बढी नै प्रभाव पारेका छन् । यो जबर्जस्त प्रभावको आकृति कस्तो हुन्छ मैले देखेको छैन । कहिलेकाहीँ मेरो मानसपटलमा एउटा अस्पष्ट आकृति बन्ने र बिलाउने गर्छ ।
पुस्तक
प्राथमिक विद्यालयदेखि नै म पढ्नमा तेज थिएँ । शिक्षक र माथिल्लो कक्षाका विद्यार्थीहरूले मलाई गोर्खापत्र पढ्न लगाएर वा मेरी आमाले बाबालाई लेख्ने चिठीको बेहोरा बाँच्न लगाएर रमाइलो मान्थे । स्वस्ती श्री ६ श्री आगे तहाँ राज गरी बस्नुभएका श्रीमान् ज्यू …। म सानो हुँदा काँधमा चढाएर विद्यालय लैजाने/ल्याउने व्यक्तिले पछि मलाई आफ्नो स्वार्थको साधन बनाए । घरबाट मलाई उच्च शिक्षा पढ्न सहर जाने स्वीकृति दिइएन । मलाई पढ्नमा रुचि थियो तर घरमा खाना पकाउने, घाँस दाउरा खोज्न जंगल जाने बाली लगाउने वा थन्काउने जस्ता काम गरिराख्नुपथ्र्यो । netra-aacharaya
०४६ सालताका गोप्य पुस्तकालय स्थापना गरेका अग्रजहरूप्रति म दिलैदेखि नतमस्तक छु । मेरो लागि त्यस गाउँको एउटै आकर्षण थियो — त्यही पुस्तकालय । गाउँमा मुखिया, जिम्मवलहरूको दबदबा थियो । तिनले अत्याचार गरेको देख्दा कस्तो ठाउँमा जन्मिएछु भनेर मैले आफैँलाई धिक्कार्थें । पुस्तक पढ्ने बानी बसेको हुँदा गाउँबाहिर विशाल संसार छ जहाँ शिष्टता, सभ्यता र नियमकानुनको राज्य हुन्छ भन्ने थाहा थियो ।
गाउँको विद्यालयका मेरा अधिकांश शिक्षक र अधिकांश साथीसमेत अहिले मेरो स्मृतिमा छैनन् । कतिपय सम्बन्धहरू बालुवामा लेखिएका अक्षर जस्तै हावाको एकै झोक्काले मेटाइदिँदो रहेछ । अक्सर मानिसहरू खनिज तत्वको तहमा, कोही वनस्पतीको तहमा र कोही जनावरको तहमा जीवन बिताउँछन् । मानिस हुनुको गौरव र स्वतन्त्रता तिनीहरूले कहिल्यै बोध गर्न सक्दैनन् । जगजाहेर कुरा हो —‘नरो वै शिश्नोदर: प्रयाणा:,’ मानिसहरू यौन र उदरपूर्तिका लागि बाँच्छन् ।
पुस्तकालयका केही कुरा । त्यो प्रगतिशील साहित्य पुस्तकालय थियो । चेखब, गोर्की, संग्रौला, प्रश्रित, पारिजातका पुस्तकहरू पढ्दा एउटा आशलाग्दो भविष्यको मीठो कल्पना मनमा छाउँथ्यो । साहित्यका पुस्तकले लामै समय मलाई ऊर्जा दिए । पछि दर्शनका पुस्तकले ताने । अन्तत: अध्यात्मका ग्रन्थले उद्वेलित बनाए । यी चरण पार गरेपछि अहिले अर्कै मनोदशा छ । पुस्तकको उपयोगिताको एउटा सीमा हुँदोरहेछ । पुस्तकका पनि केही डिस्कन्टेन्ट हुँदारहेछन् । कैयौं मानिस ‘एडिक्ट’ भएका देख्छु । कतिपय पढन्तेहरू ‘एक्जस्टेड चिकन’ अर्थात् फूल पारेर थाकेको पोथीजस्तै उदासउदास देख्छु । तिनलाई वास्तविक दुनियाँभन्दा पुस्तककै दुनियाँ अधिक रोमाञ्चक लागिरहेको हुन्छ, त्यतै फर्कन एउटा खुट्टा उचालिराखेका जस्ता देखिन्छन् । कोही म जत्तिको विद्वान् क्वै छैन भनी गजक्क फुलेर बसेका हुन्छन् ।
अहिले पनि मेरो कोठामा पुस्तकहरूको ठूलै भण्डार छ । मान्छेहरू पुस्तकालय नै रहेछ भन्छन् । मलाई भित्रैदेखि थाहा छ अनन्त ज्ञानको सागरको तुलनामा मसाग भएका केही हजार पुस्तकहरू पानीको थोपा बराबर पनि छैनन्, छिटो बराबर पनि छैनन् ।
अचेल जबजब म कुनै पुस्तक पढ्न थाल्छु मैले खोजी र खोजकर्ताको बीचमा दूरी बढाएँ भन्ने लाग्छ । म स्वयं नै पुस्तक हुँ, म नै त्यहाँ लेखिएका हरफहरू हुँ, म नै त्यहाँ बताइएको लक्ष्य हुँ । यदि यसो हो भने मैले मलाई नै खोज्न पुस्तक पल्टाएर मूर्ख हुने उपक्रम बारम्बार किन गरिरहन्छु ?
कलम
‘तरबारभन्दा कलम बलियो’ भन्ने विषयको वादविवाद प्रतियोगिता हुँदा कलमको पक्षमा खुबै बहस गरेको सम्झन्छु । विश्वविद्यालयमा भने युद्धले मानिसका इन्सटिङ्क्ट अर्थात् अन्तरप्रवृत्ति जगाइदिन्छ जसमा शान्तिकालमा खिया लागेको हुन्छ भन्ने पढियो । नित्सेको शक्तिको आकांक्षा विषयमा थेसिस गर्दा मानिसका रचनात्मक र ध्वंसात्मक प्रवृत्तिहरूको बारेमा चर्को बहस गर्नुपरेको थियो । त्यही ताका माओवादीहरूले तरबारको बलले राज्यसत्तालाई झुक्न बाध्य बनाए । अमेरिकाले इराकका सहरहरू बमले उडाइदियो । कलम अधिक बलियो हुन्छ भनेर अझै कतिन्जेल म झूठो विश्वासमा बाँच्ने होला ?
कलम मेरो जीविकाको साधन हो । मेरा लागि कलम नै सर्वशक्तिमान छ । (मैले आजसम्म कुनै हतियार चलाउने अभ्यास गरेको छैन ।) मेरो नामबाट केही पुस्तकहरू र सैयौंको संख्यामा आलेखहरू प्रकाशित भएका छन् । तिनले मलाई पैसा र हल्का प्रसिद्धि पनि दिएका छन् । तर, ख्वै मेरा शक्तिशाली कलमहरू ? कलमले नलेखेको जुगौँ भइसक्यो । औँलाहरू काखे कम्प्युटरका कीहरूमा कति अभ्यस्त भइसकेका छन् भने कहिलेकाहीँ दिमागभन्दा छिटो चल्छन् । कुन अक्षर कहाँ छ भन्ने कुरा चेतन दिमागलाई भन्दा जड औँलाहरूलाई पहिल्यै थाहा हुन्छ ।
पत्नी
पुरुष भएको नाताले स्त्रीप्रति स्वाभाविक आकर्षण छ । नढाँटी भन्नुपर्दा अलिक अस्वाभाविक आकर्षण छ । यो मेरो सन्दर्भको कुरा हो । म जुन परिस्थिति र वातावरणमा हुर्कें त्यसले गर्दा यस्तो भएको हुनसक्छ । भाँडाकुटी वा गट्टा खेल्ने उमेरमा मैले र मेरी साथीले उसका बाबुआमा सम्भोग गरेको देख्थ्यौँ । एक दिन हामीले करेसाबारीमा सम्भोग गर्‍यौँ ।
आँगनमा भाँडाकुटी खेल्न छोडेर करेसाबारीमा गई झारमाथि सुतेर गरेको त्यो सम्भोग सम्झनामा कतिपल्ट दोहोर्‍याइयो हिसाब छैन । सोत्तर परेको चरीअमिलोको झार, पसिनाले निथ्रुक्क भएका, कसैले देख्ला कि भनी हतासिएका हामी दुई प्राणी । कस्तो मादक सम्झना † सम्भोग त आज पनि हुन्छन् तर त्यो बेलाको जस्तो कौतुहल छैन । उत्सुकता छैन । समर्पण छैन । छ त केवल लेनदेन छ ।
स्त्रीपुरुषबीचको आकर्षण स्वाभाविक आकर्षण हो भने किन यति गर्हित ?
‘कसैलाई माया गर्दा छोडी जान पाइन्न रे ।
उसकै लागि बाँच्नु पर्छ आफू भन्नै भ्याइन्न रे ।’

म उदेक मान्छु । प्लेटोले कतै लेखेका छन्–सृष्टिको आरम्भमा लोग्ने मानिस र स्वास्नी मानिसको शरीर एउटै थियो रे । दुई टाउका, चार हात, चार खुट्टा र दुवै लिंगीका यौनांग । सन्तान जन्माउनका लागि एक्लै समर्थ थियो रे त्यो प्रथम मानिस । चार हातगोडाले काम पनि धेरै र यात्रा पनि लामै गर्न सक्ने । स्वर्गका राजा जिउसलाई ईष्र्या भएछ । आफैँमा सर्वगुण सम्पन्न भएपछि मानिसले हाम्रो आदर गर्नेछ्रैन । मानिसलाई ठाउँमा ल्याउने मसाग एउटा उपाय छ । यति भन्दै उसले भयानक चट्याङ पार्‍यो । चट्याङले मानिसको शरीर ठीक बीचबाट चोइट्यायो । पुरुष एकातिर भयो स्त्री अर्कोतिर । त्यही बेलादेखि सम्भोगका लागि स्त्रीपुरुष एकआपसमा गाँसिनुपर्ने भयो । सम्भोगको आकर्षण त्यही आधा शरीरसँग पुन: जोडिने आकांक्षा हो रे । यो यति सहज क्रिया हो भने हामीले यसलाई किन सोसल ट्याबु बनायौँ ?
पुस्तक, कलम र पत्नी यी तीन कुराले मलाई सर्वाधिक प्रभावित पारेको खुलस्त बताएँ । बताएँ कि बताइनँ म दुविधामा छु । पुस्तक मेरा लागि बाबुआमा, साथीभाइ र शिक्षक पनि हुन् । कलम मेरो निम्ति जीविका पनि हो, तरबार पनि । पत्नी मेरानिम्ति बाल्यकालमा खेलेको त्यही लुकामारी सम्झाउने माध्यम हो । तर, मनको रित्तोपन न पुस्तकले भरेको छ, न कलमले न पत्नीले । मन भरिँदैन । यत्ति थाहा पाऊन् उफ् ! मलाई कति समय लाग्यो ?
My Article published in Sourya Daily (16 March 2013 in Sourya Daily)

जिब्रान जिन्दगी

प्रेमले तिमीलाई ताज पहिर्‍याउँछ,
शूली पनि चढाउँछ
प्रेमले तिम्रा सपनाहरू पूरा गरिदिन सक्छ,
बढारिदिन पनि सक्छ
प्रेमले प्रेमबाहेक न केही दिन्छ,
प्रेमले प्रेमबाहेक न केही लिन्छ ।

लेबनानको बशेरी अर्थात् स्याउका बगैंचा, किम्बुका लता र अंगुरका लहराहरूको सहर ।
उपत्यकाका गल्छी र खोंचहरू, छाँगा र छहराहरूको के बयान † प्रकृतिको सदाबहार रौनक । युवक खलिल जिब्रानले सुश्री हाला देहारलाई अंगुरका झुप्पाहरू लतक्क नुहेको कुनै बगैंचामा पहिलोपल्ट देखे । पहिलो नजरमै प्रेम बस्यो । कविहृदय † किम्बुजस्तै रसिली हालासित भरपूर रोमान्स गरेर पुगेन । आºनै बनाउन मन लाग्यो तर लेबनानीहरूको धर्मान्ध समाजले प्रेम पचाएन । खलिललाई पहिलो गाँँसमै ढुंगा लाग्यो !
हाला धनी परिवारकी छोरी । त्यसमाथि अरबी चलन–अनुसार सानैमा पादरीको भतिजासँग उनको बिहे तय गरिएको थियो । यद्यपि पहिला जे वाचा गरिएको भए पनि हालाका बाबु जिब्रानलाई छोरी दिन राजी भएका थिए तर त्यहाँको पादरीले हालासँगै आउने सम्पत्तिको लोभका कारण जिब्रानसँग बिहे हुन दिएन । जिब्रान आहत भए र ‘स्पिरिट रिबेलियस’ नामको पुस्तक लेखे । यो कृतिमा जिब्रानले लेबनानी उच्चवर्गीय समाजका कुरीतिहरू, धर्मान्धता र पादरीहरूको दबदबाप्रति तीखो आलोचना गरे । त्यसैले सत्ताधारीहरूले पछि उनीसँग चर्को बदला लिए । जिब्रानलाई चर्चबाट बहिस्कृत गरियो, देशबाट निकाला गरियो र ‘स्पिरिट रिबेलियस’ जलाइयो ।
जिब्रानका पिता भेडाबाख्रा हेर्ने गोठाला थिए । आºनो उत्तरदायित्वप्रति समेत उनी सचेत थिएनन् । एक दिन उनैले परिवारको आर्थिक भार सम्हाल्नुको साटो विपन्नतातिर धकेले तर आमा केमिला जिब्रानका लागि सबथोक थिइन् । ‘द अरबियन नाइट्स’ जस्ता विश्वविख्यात कथाहरू सुनाएर साहित्यप्रति बालक जिब्रानको रुचि जगाइदिएकी थिइन,् सानैमा हातमा ब्रस थमाइदिएर चित्रकलाप्रति चाख बढाइदिएकी थिइन् ।prophet-cover
जन्मभूमिका रमणीय प्राकृतिक छटाहरूले खलिल जिब्रानलाई सानैदेखि आकर्षित गरे । बाल्यकालदेखि नै उनी प्रकृतिप्रेमी, एकान्तप्रिय र विचारशील भएर हुर्किए । औपचारिक शिक्षार्जनमा उनको धेरै रुचि भएन । उनी त मानौं, जन्मजात निर्भीक थिए । जे मन लाग्छ, त्यही पढ्थे, जहाँ जान मन लाग्छ त्यहीँ पुग्थे । कहिले कुची समाएर क्यानभासमा रङ पोतिरहेका हुन्थे त कहिले गल्छी र खोंचहरूतिर बतासजस्तै त्यसै त्यसै बतासिएका हुन्थे ।
जिब्रान स्वदेशका विख्यात कवि र कलाकारहरूको अध्ययन एवं चित्र बनाउने कार्यमा जुटेका थिए । उनी सोच्थे, ‘हरेक मानिसमा कलाकार हुने सम्भावना भरपूर हुन्छ । एक बालकलाई सजिलै एउटा चराको चित्र कोर्न सिकाउन सकिन्छ, जसरी एउटा शब्द लेख्न सिकाउन सकिन्छ ।’ चित्रकला उनको रगतमा थियो सायद, उनका चित्रहरूले अभिव्यक्त गर्ने भाव शब्दले कहिल्यै संकेत गर्नसम्म सक्दैनथे ।
यसैबीच जिब्रानले अमेरिकामा प्यारी बहिनी सुल्तानाको क्षयरोगका कारण देहान्त भएको र दाजु सिकिस्त भएको खबर पाए । उनी अमेरिका हान्निए । त्यहाँ पुगेको केही महिनामै पिटरले संसारबाट बिदा लिए । दाजु बितेको तीन महिनापछि आमा केमिला परमधाम भइन् । बाल्यकालदेखि नै मन–मस्तिष्कमा सौन्दर्यचेतना भरिदिएकी आमा केमिलाको मृत्युले उनी आहत भए । क्षते: क्षारावसेचनम्, मानौं विधाताले आलो घाउमा नुनचुक छर्केको थियो । कवि विक्षिप्त जस्तै भए तापनि छिटै सम्हालिए ।
पीडा के हो ?, यो जिब्रानले जति कसले बुझे होलान् † जिब्रानमा एउटा ईष्र्यालाग्दो खुबी थियो; उनी शोकलाई शक्तिमा बदल्न सक्थे । उनले अनुभूति गरेका पीडाका ‘आह !’ हरू कालजयी दर्शनमा यसरी अभिव्यक्त भए :
–त्यो आवरण च्यातिनु नै पीडा हो जसले विवेकलाई ढाकिराखेको हुन्छ ।
–फलको बाहिरी बोक्रो फुटेपछि नरम गुदीले सूर्यको ताप सहन सक्नुपर्छ, त्यसैगरी तिमीले पनि पीडा सहन सक्नुपर्छ, पीडालाई बुझ्नुपर्छ ।
–पीडा तीतो औषधि हो । तिमीभित्रको वैद्यले यही औषधिद्वारा तिम्रो बिरामी अस्तित्वलाई स्वस्थ बनाउँछ ।
–दैनिक जीवनका आश्चर्यहरूप्रति चकित हुन सिक्यौ भने पीडा पनि खुशीभन्दा कम आश्चर्यपूर्ण हुनेछैन ।
–तिमी शोकको शिशिरलाई पनि शान्त भई हेर्नेछौ ।
–जसरी सुइरोले खोक्रो पारेको बाँस दिल बहलाउने बाँसुरी बन्छ, उसैगरी पीडा र प्रेमले आहत बनाएको हृदयबाट नि:सृत हुने हरेक उच्छ्वास कविता बन्छ, हरेक शब्द दर्शन बन्छ ।

विषादका यी दिनहरूमा जिब्रानले चित्र कोर्ने, पुस्तकका गाता डिजाइन गर्ने र छोटा निबन्धहरू लेख्ने काम गरे । ‘द प्रोफेट’ लाई सटीक बनाउन तल्लीन भए । पैसाको खाँचो परेको हुँदा एक फोटोग्राफर साथीको स्टुडियोमा चित्रकला प्रदर्शनी गरे तर विरलै मानिसहरू उनका चित्र हेर्न भेला भए । दु:खको कुरा, कसैले एउटै चित्रको मूल्यसमेत सोधेनन् । संयोगले ती थोरै मानिसमध्ये सुश्री मेरी ह्यास्केल नामकी युवती पनि थिइन् । उनी चित्रकला प्रदर्शनीको समय सकिनै लागेका बेला आइपुगेकी थिइन् । मेरीले भने जिब्रानका चित्रकलामा निकै रुचि लिइन् । जिब्रानका चित्रहरूमा विछट्ट सौन्दर्य र एक भिन्नै प्रकारको मिस्टिसिजम अर्थात् रहस्यवाद उनले फेला पारिन् । मेरीले जिब्रानलाई आºनो इन्स्टिच्युटमा प्रदर्शनी गर्ने बन्दोबस्त मिलाइदिइन् । दुबैबीच हेलमेल बढ्दै गयो, जुन अन्तत: जीवनभरिको गाढा प्रेममा परिणत भयो ।
यद्यपि मेरीसँग जिब्रानको प्लेटोनिक अर्थात् आदर्श प्रेम थियो । कमसेकम उनी यस्तै सोच्थे । यही कालखण्डमा अर्की एक युवतीसँग उनको सांसारिक प्रेम चल्दै थियो । ती युवती थिइन्, मेरीकै संस्थामा फ्रेन्च भाषा पढाउने शिक्षिका एमिली । प्रेम निरापद चल्दै थियो, यद्यपि जिब्रान बडो दुविधामा थिए । आर्थिक विपत्तिका बेला मेरीले आफूमाथि लगाएको गुन एकातिर छ, एमिलीसँगको प्रेमालाप अर्कातिर छ ।
कविहृदयका एक अरबियन जिब्रान न एमिलीसँग ढुक्कले प्रणयबन्धनमा बाँधिन सक्थे, न त जीवनले दिएको प्रेमोपहार अँगालोभरि स्वीकारेर बिलौना नै गर्न सक्थे । सायद, एमिलीप्रतिको प्रेम र मेरीप्रतिको कृतज्ञताको भाव सम्मिश्रित हुँदा उनमा दार्शनिक चेतना विकसित भयो ।
‘प्रेमको अँँगनबाट बाहिर निस्क र मौसमबिहीन संसारभित्र प्रवेश गर । त्यहाँ तिमी हाँस्नेछौ तर उन्मुक्त भएर हाँस्न सक्ने छैनौ । रुनेछौ तर धक फोरेर रुन सक्नेछैनौ ।’
दुई विपरीत विचारहरूलाई एकसाथ दिमागमा खेलाउन सक्नु र तत्क्षण साहित्य सृजना पनि गर्न सक्नु; यही प्रतिभाको लक्षण हो । जिब्रानले जसरी पीडाको अतल गहिराइ भोगेका थिए, त्यसैगरी शर्तरहित प्रेमको उचाइ अनुभूति गरेका थिए । प्रेममा पर्नु (फलिङ इन लभ) भनेको के हो धेरैलाई थाहा हुन्छ, प्रेममा माथि उठ्नु (राइजिङ इन लभ) कमैलाई बोध हुन्छ । यी दुबैको इयत्ता पत्तो पाएका जिब्रानजस्तै कुनै कविको हृदयको भंmकारबाट ‘द प्रोफेट’ जस्तो मर्मस्पर्शी कृति रचना हुन सक्थ्यो । यही कालखण्डमा उनको मास्टरपिस कृति ‘द प्रोफेटले’ आकार लिँदै थियो । यसैबीच मेरीले जिब्रानलाई आफैंले खर्च हालेर चित्रकला पढ्न पेरिस पठाइन् । मेरीप्रति आभारी हुँदै उनी पेरिस गए । अब एउटीको सद्भावमा बाँच्दै अर्कीसँग प्रेमालाप गर्नुपर्ने छैन भन्ने उनलाई आशा थियो । एक अरबी हृदय भएका कवि जिब्रान मेरीप्रति कृतघ्न हुन चाहँदैनथे, सकेसम्म एमिलीलाई भुल्न चाहन्थे तर विधिको विधान, कविलाई पछ्याउँदै एमिली फ्रान्स आइपुगी । भन्नै परोइन, कविको हृदय यज्ञको अग्निमा घिउ पग्लेजस्तै पग्लियो । एमिलीसँग प्रेमालाप पुन: सुचारु भयो । सबै कुराको बाबजुद प्रेम सघन हुँदै गयो । जिब्रानले संसार भुले र संसारसँगै मेरीलाई पनि भुले । जिब्रानले आँखा चिम्लेर एमिलीलाई अँगालोमा स्वागत गरे र उनीसँगै बस्न उत्सुक भए । जिब्रान चाहन्थे, एमिली उनकी प्रेमिकाको रूपमा रहून् तर एमिली कविसँग बिहे गरेर बस्न चाहन्थिन् । एमिलीले प्रेमिकाको रूपमा जिब्रानसँग बस्न अस्वीकार गरिन् । यसप्रकार जिब्रानको प्रेम फेरि एक पटक आहत भयो ।
फेरि एक पटक आहत हृदयबाट उच्छ्वासहरू निस्किए :
प्रेम न कसैको मालिक बन्छ, न त कसैलाई आफ्नो मालिक बनाउँछ ।
किनभने प्रेम प्रेममा नै सम्पूर्ण हुन्छ ।
प्रेमको बाटो सोझ्याउन सक्छु भनी नसोच, किनभने तिमीलाई योग्य सम्झन्छ भने प्रेमले तिम्रो मार्ग निर्धारण गर्नेछ ।
स्वयंलाई सम्पूर्ण बनाउनेभन्दा प्रेमको अर्को आकांक्षा हुँदैन ।

दुई वर्ष फ्रान्स बसेर आर्ट पढेपछि उनी पुन: अमेरिका फर्किए । यतिन्जेल उनी विख्यात कलाकार र रहस्यद्रष्टा भइसकेका थिए । उनका कृतिहरू धमाधम प्रकाशित भइरहेका थिए । देश–विदेशमा कलाप्रदर्शनी भइरहेका थिए । जिब्रान जीवनको त्यो उचाइमा थिए, जहँँ विरलै मानिस पुग्छन् । अब जिब्रानले जसको माया र मद्दतले यो ख्याति आर्जन गरेका थिए, ती युवती मेरीलाई गुनको पैंचो तिर्नु थियो ।
उनले मेरीसँग बिहेको प्रस्ताव राखे । मेरीले कविलाई धेरै माया गर्थिन् तर कविले बिहे गर्ने प्रस्ताव गरेपछि यो विषयमा धेरै सोचिन् र कुनै अज्ञात कारणले उनी जिब्रानसँग बिहे गरेर बस्न राजी भइनन् । घाइते मन लिएर जिब्रान ‘द प्रोफेट’लाई अन्तिम रूप दिन तल्लीन भए । यस कार्यमा मेरीले फेरि पनि सहयोग जारी राखिन् । अंग्रेजी भाषामा निस्कन लागेको यो कृतिको भाषासम्पादनमा मेरीले धेरै मद्दत गरिन् ।
‘द प्रोफेट’ बीसौं शताब्दीको सर्वाधिक बिक्री भएको पुस्तक हो । अमेरिकामा मात्र एक करोड बीस लाख प्रति बिक्री भएको तथ्याङ्क पाइन्छ । यो पुस्तकको बारेमा एउटा लोकोक्ति छ, जसले ‘द प्रोफेट’ पढ्न थाल्छ, उसले यो पुस्तक नजिकका आत्मीय सखा–सम्बन्धीलाई उपहारको रूपमा दिन चाहन्छ ।
जिब्रानका कृतिहरूमा पाइने एउटै रस छ, त्यो हो प्रेमरस । यद्यपि यो आजभोलि हामीले देखे–जानेको प्रेम होइन । यो त वास्तविक प्रेम हो, जसलाई अरबी भाषामा ‘मोहब्बत’ भनिन्छ ।
क्रिस्चियनहरू भन्छन्, हामी खलिल जिब्रानलाई सुनिरहन चाहन्छांै । जिब्रानले जिससलाई याद दिलाउँछन् ।
जोन एफ केनेडीले जिब्रानलाई उद्धरण गर्दै भने, ‘देशले तिमीलाई के दिनसक्छ भन्ने नसोध, देशलाई तिमी के दिन सक्छौ भनी सोध ।’
इन्दिरा गान्धीले आºना सन्तानहरू हुर्काउँदै गर्दा जिब्रानका शब्द दोहोर्‍याउँथिन्, ‘तिम्रा सन्तान तिम्रा होइनन् । तिमी तिनीहरूको शरीरलाई तिम्रो घरमा राख्न सक्छौ तर तिनको आत्मालाई होइन । तिनीहरूको आत्मा त भविष्यको गृहमा रहन्छ जहाँ तिमी सपनामा पनि पुग्न सक्दैनौ ।’
विख्यात गायनसमूह बिटल्सका गीतहरूमा जिब्रानका अमर वाणीहरू मुखरित भएका छन् । ओशो रजनीशले मन परेका पुस्तकहरूको चर्चा गर्ने क्रममा स्रोताहरूसँग क्षमा मागेका छन् । ‘द प्रोफेटलाई मैले पहिलो सत्रमै किन सम्झिनँ ?’ उनले आफैंप्रति आश्चर्य व्यक्त गरे । ‘द प्रोफेट’ आफूलाई अत्यन्त मनपर्ने कृति भए पनि यो फ्रेडरिक नित्सेको पुस्तक ‘दस स्पेक जराथुस्त्र’को प्रतिबिम्ब हो भन्ने रजनीशको बुझाइ थियो ।
निश्चय नै, जिब्रानले नित्से, इमर्सन, वाल्ट ह्विटम्यान र विलियम ब्लेकजस्ता अग्रजहरूका कृतिहरू गहनरूपले अध्ययन गरेका थिए । कसैले त उनलाई बीसौं शताब्दीका ब्लेक पनि भन्ने गर्छन् । जिब्रानले बाइबलको गहन अध्ययन गरेका थिए । उनको पुस्तकालयमा बाइबलका अनेकौं संस्करण संकलित छन् । यसबाहेक जिब्रानले बुद्धदर्शनको पनि अध्ययन गरेका थिए । यी सबैको भाव उनका लेखमा ध्वनित भएको हुन सक्छ, जुन स्वाभाविक हो ।
यद्यपि शैली, विषयवस्तु र प्रतीक चयनका दृष्टिले ‘द प्रोफेट’ आपैंmमा एक अद्वितीय कृति हो । नित्सेले शक्तिको आकांक्षालाई पुष्टि गर्न जोड गरेको देखिन्छ । बाइबल क्रिस्चियनहरूको ग्रन्थका रूपमा छ, ‘द प्रोफेट’ धर्म वा सम्प्रदायभन्दा परको कृति हो । यसमा देश, काल, परिस्थिति, जाति, धर्म र सम्प्रदायको गन्ध आउँदैन । ‘द प्रोफेट’ पढ्दा पाठक एक प्रकारको ट्रयान्सको अवस्थामा पुग्छ । मानौं, कुनै जादूगरले कुनै अज्ञात आनन्दलोकमा लगेको अनुभूति हुन्छ । जिब्रान आºनो समयका एभाँ गार्ड इन्टेलेक्च्युअल थिए । उनका हरेक कृतिले पाठकको हृदयलाई अपिल गर्छन् । सारमा, ‘द प्रोफेट’प्रति कसैले कुनै आक्षेप लगाउँछ भने त्यो उसैको अज्ञानता हो र बचाउ गर्न शब्द खर्च गर्नु मूर्खता ।
उनको प्रतिभा र करिस्मा अद्वितीय छ । मेरीले अकारण उनलाई आजीवन मद्दत गर्दै रहेकी थिइनन् । स्त्रीहरूले उनको जीवनमा महत्त्वपूर्ण भूमिका खेले । उनी गहन प्रेमी थिए । फेरि एक पटक जिब्रानले मेरीसँग बिहेको प्रस्ताव राखे । फेरि पनि मेरी राजी भइनन् । अमेरिकाको खानदानी परिवारकी मेरीलाई एक आप्रवासीसँग बिहे गर्दा आफन्त, समाज र काम गर्ने संस्थाबाट तिरस्कृत भइने डर थियो ।
यसपालि पनि जिब्रान आहत भए, यसपालि पनि उनले सुस्केरा हाले :
एक अर्कालाई हृदय समर्पण गर तर उसैलाई राख्न नदेऊ । सँगै बस तर ज्यादै नजिक नहोऊ । मन्दिरका खम्बाहरू फरक—फरक उभिएरै छतलाई धानेका हुन्छन् । एउटै रागमा तरंगित हुने वीणाका तारहरू पनि अलग–अगल बाँधिएका हुन्छन् ।
My Article published in Sourya Daily (6 April 2013)
Here is the link http://www.souryadaily.com/2013/04/65442.html