Ram-Janaki Bibaha Mandap |
'शिरोच्छेदन किया राम ने रावणका पर वह मरा नहीं
उसके शिर मडराते रहे
लाखौं करोडौं नहीं अरबौं कि संख्या में
और जब वह मरा भी था, केवल दश शिर ही तो मरे थे
बाँकियों को थाम लिया कन्धे हमारे कन्धों ने
इसिलिए तो आज हैं हम राक्षस अधिक और आदमी कम ।'
-युगलकिशोर लाल
पहिलो प्रभाव
जनकपुरमा छठपर्व हेर्न जाने भनी अमृत भादगाउँले र म तिहारको भोलिपल्ट भरतपुरको पारस बसपार्कमा भेटियौँ । कुनै पनि बसमा बस्ने ठाउँ बाँकी थिएनन् । एउटाको डन्डीमा अडिएर छ घन्टाको यात्रा छठको रमाइलो कल्पना गर्दै पूरा गर्यौँ । साँझमा जनकपुर पुगेपछि साथीको साथीलाई फोन गरेर कहाँ बस्न सुविधाजनक होला भनी सोध्यौँ । काठमाण्डू गेष्ट हाउसमा तय भयो । पहिलो रात थकाइले गर्दा वेलैमा निद्रा परेछ, मच्छरले टोकेको पनि पत्तो भएन । स्नानकक्षमा पानी कालो रंगको आउँदो रहेछ, नुहाइसक्दा पो थाहा भयो । फोहोरामा थापिँदा बत्ती मलिन भएको हुँदा पहिला पत्तै भएनछ । अब लुतो आउनेभो भनेर म भोलिपल्ट दिनभरि भुटभुटिइरहेँ ।
सबेरै प्रातः भ्रमण निस्कँदा मूल सडकमा एक हुल सुँगुरले स्वागत गरे । थुतुनो उचाली-उचाली तिनले मानो 'जनकपुर हामी सुँगुर जातिको राजधानी हो' भनिरहेका थिए । फोहोरका डुँगुर र दुर्गन्धित नालीहरूमा हालीमुहाली गरिरहेका सुँगुरहरूको दाबी अस्वीकार गर्न कठिन थियो ।
मैले व्यंग गर्दै भनेँ, 'सुन्दर नगरी जनकपुर !'
अमृतले थपे, 'सुँगुर नगरी जनकपुर !'
भानु चोकदेखि जानकी चोकसम्मको बाटोमा ती स्थूलकाय प्राणीहरूको बिगबिगी थियो । जनकपुरको तुलनामा काठमाण्डू सफा लाग्यो । वेलाबखत फोहोर नउठ्ने समस्या भए पनि दुर्गन्धित नालीहरू राजधानीमा त्यत्ति देख्नुपर्दैन । साथीले कोण-कोणबाट जानकी मन्दिरको तस्बिर लिए । परिसर फूल, केरा र मिठाई बेच्नेहरूले ओगटेको हुँदा भनेजस्तो फोटो खिच्न मिलेन ।
जनक दर्शन र मिथिला कला
दिउँसो जनकपुरका पौराणिक प्रसंग स्थानीय डा. राजेन्द्र विमलबाट थाहा पायौँ । जनक वंशका राजा सिरध्वज जनक दर्शनका प्रणेता थिए । यो दर्शनले आत्मज्ञान प्राप्त गर्न घरबार त्यागेर वनबासी हुनु पर्दैन, केवल भोक्ता भाव, कर्ता भाव त्यागे पुग्छ भन्छ । ऋत् अर्थात् सृष्टिक्रम, सूर्योदय, सूर्यास्त, ऋतु परिवर्तन, दैनिक व्यवहार र स्वयंलाई समेत कर्ता वा भोक्ता भावले होइन, साक्षी भावले हेर्नु, म शरीर होइन आत्मा हुँ भन्ने स्मरण गरिरहनु आत्मज्ञान हो । यति ज्ञानलाई व्यवहारमा उतार्न सफल भएपछि राजा जनकले विदेह -म शरीर हुँ भन्ने भावनारहित) अवस्था प्राप्त गरेका थिए । आष्टावक्रको भोगविलास विमुख दर्शनको प्रतिच्छाया पनि जनक दर्शनमा पाइन्छ । ऐन्दि्रकतादेखि अतिन्दि्रयतासम्म, भौतिकतादेखि अध्यात्मसम्मको अन्तर्यात्रा दिशानिर्देश गर्ने यो दर्शन र तान्त्रिक दर्शनमा तारतम्य पनि देखिन्छ ।
कोहावर अर्थात् सुनौला सुहागरात नामक मिथिला कलामा चित्रित अक्षत योनीमा सम्भोगरत लिंगलाई छेवैको बाँसको टुप्पामा बसेर वाल्ल पर्दै हेरिरहेको सुगा साक्षी भावको उदाहरण हो । म कहाँ छु, के गरिरहेको छु भन्ने यथार्थलाई कर्म गरिरहँदा पनि पृथक् रहेर सोच्न सक्नुपर्छ यो सन्देश आश्चर्यचकित भई हेरिरहेको सुगाले बताउँछ । शरीर चेतनाको स्थूल रूप हो जसलाई समात्न सकिन्छ । जसलाई समात्न सकिँदैन त्यो चेतनाको सूक्ष्म रूप आत्मा हो । सम्भोगरत हुँदा शरीरमा अनुभूति भइरहेको रोमाञ्च कसलाई अनुभूति भइरहेको हो ? त्यसलाई पक्रन सके जीवनमा ठूलै आन्तरिक क्रान्ति हुन्छ । त्यसैले
आफ्नो होसलाई बाँसको टुप्पामा रहेको सुगाझैँ सर्वोपरि राख्नुहोस्, कुनै पनि वेला आफूभित्र चेतनाको दियो प्रज्ज्वलित हुन सक्छ । यसप्रकार कोहावरमा चित्रित तान्त्रिक दर्शनमा जनक दर्शनकै भोगदेखि योगसम्मको यात्रा देख्न सकिन्छ ।
राजा जनककै प्रभावले प्राचीन कालदेखि जनकपुरमा अभूतपूर्व धार्मिक सहिष्णुता रहिआएको डा. विमलले बताए । आपसी सहिष्णुताका कारण शैव, वैष्णव र शाक्त सम्प्रदायको एउटै परिचय बनेको रहेछ स्मार्त दर्शन । हरेक घरमा तुलसीको मठ, त्यसमा हनुमानको ध्वजा र देवीको प्रतीक स्वरूप शिलाहरू राख्ने चलन अद्यापि जनकपुरबासीमा रहेछ । सन्न्यासीले ललाटमा तीन सम्प्रदायको प्रतीक विभूति, त्रिपुण्ड र रातो टीका आज पनि लगाउँदा रहेछन् । यति सहिष्णु पुरवासीहरूले बुद्धलाई भने नगरमा छिर्न दिएनछन् । बुद्ध नगर बाहिरै अखाडा जमाएर बसेछन् । उनका अनुयायीहरूलाई पुरवासीहरूले देखिसहँदैनथे रे । भिक्षुहरूले 'ऊँ नमः सिद्धम्' भन्दा जनकपुरेहरूले 'ओ नामा सिधम् गुरुजी चितम्' भन्दै उल्लीबिल्ली गर्थे रे ।
जनकपुरमा सुफी सन्तहरूको पनि बसोबास छ । हिन्दू र मुस्लिम दर्शनको मिश्रति रूप सुफी दर्शनकै प्रभावले जानकी मन्दिरको छेवैमा मदरसा बनेको रहेछ । जैन दर्शनका तीर्थंकर मल्लीनाथ र नेमीनाथ जनकपुरकै भएको बताउँदै संस्कृतिविद् डा. विमलले दाबी गरे, 'जनकपुर आध्यात्मिक ऊर्जाले सिञ्चित भूमि हो ।'
धनुषा धाम
दोस्रो दिन नागरिक दैनिकका जनकपुर संवाददाता सुरेश यादव र मित्र राजेन्द्र महतोसँगै धनुषा धाम हेर्न गयौँ । धनुषा पुग्न मोटरसाइकलमा एक घन्टा लाग्यो । त्यहाँको मुख्य आकर्षण रामले त्रेता युगमा सीता स्वयंवरका वेला भाँचेको धनुष रहेको मानिने मन्दिर रहेछ । मन्दिर अति सामान्य थियो तर जहाँ धनुष टुक्रिएको जनविश्वास गरिएको छ, त्यहाँ जमिनमा अनौठो शिला फैलिएको रहेछ । न त्यसलाई ढुंगा भन्न मिल्ने न धातु । रमाइलो कुरा त त्यो शिला बढ्दै गइरहेको स्थानीयबासीले बताए । राजेन्द्रजी स्वयंले शिलाको आयतन फराकिलो हुँदै गएको देखेको स्वीकार गरे । भाँचिएको धनुषका बारे अनेक मिथक जनजिब्रोमा रहेछन् । अन्य कसैले उचाल्न नसक्ने धनुषलाई जानकीनन्दिनी सीताले घर लिपपोत गर्दा देब्रे हातले उचालेर त्यसमुनि लिप्थिन् रे । जनकले सोचेछन्, सीता दैवी शक्ति हुन्, यिनको विवाह कुनै दैवी पुरुषसँगै गरिदिनुपर्छ । त्यसका लागि रचाइएको स्वयंवरमा देशदेशावरका वीर आएछन् तर धनु कसैले हल्लाउन पनि सकेनछन् । रावणले त जोडले धनु उचाल्न खोज्दा आफैँ लडेर सबलाई हँसाएछ । पालो आएपछि रामले सजिलै धनु उचालेछन् तर ताँदो चढाउन खोज्दा भाँचिएछ ।
त्यो धनु परशुरामले तीर्थयात्रा गर्न जाँदा जनकलाई राख्न दिएका रहेछन् । फर्केर आउँदा भाँचिएको देखेपछि उनी नराम्ररी जंगिएछन् । लक्ष्मणले जति सम्झाए पनि परशुरामको रिस शान्त भएनछ । फन्केर हिँडेका परशुराम अलिक पल्तिरको कुण्डमा नुहाउन पसेछन् । चिसो पानीले बल्ल उनको दिमाग ठण्डा भएछ । परशुराम कुण्ड बाटैमा पर्दो रहेछ । त्यहाँ अहिले पनि तलाउ रहेको हाम्रा साथीहरूले देखाइदिए ।
छठको रमाइलो
छठपर्वको आरम्भ भइसकेको छ । सानाठूला तलाउहरू सिंगारिएका छन् । पानी मैलो भए पनि तैरिरहेका फोहोर हटाइएको छ । किनारमा व्रतालुहरूले पूजासामग्री लहरै सजाएका छन् । फलफूल, केरा, ठगुआ, सिंगारिएको माटोको घैंटो र बीचमा दियो बलिरहेको छ । जनकपुरे स्त्रीहरू बिछट्ट सिंगारिएर सडकमा निस्केका छन्, व्रतालु तलाउ किनारमा जम्मा भएका छन् । सर्वत्र घुइँचो छ । आतशबाजी गरिँदै छ । आकाश ढर्र्र्र धडाम्जस्ता आवाजले गुञ्जिएको छ । स्थानीयहरू त्यसैत्यसै रौसिएका छन् । छठ त जनकपुरेहरूलाई नसाजस्तै लाग्दो रहेछ । व्रत बस्नेको मनोकांक्षा पूरा हुन्छ । यसमा कसैले आशंका गर्नेे साहस पनि गर्दा रहेनछन् । बिहान सबेरैको ठण्डीमा फोहोर तलाउमा डुबुल्की मारेर हातमा अघ्र्य लिएर घन्टौँ सूर्योदय पर्खने व्रतालुहरूको आस्था कति प्रबल होला ! मैले त्यतिखेरै सोचेँ, यो लेखेर देखाउन सकिँदैन, किनभने आँखैले देखेर पनि विश्वास गर्न मुस्किल भइरहेको थियो ।
छठका बारेमा विरोधाभाषी मिथक प्रचलित रहेछन् । छठी माताको आराधना गरेको देखिन्थ्यो तर अघ्र्यचाहिँ सूर्यदेवलाई चढाउने विधि महत्त्वपूर्ण रहेछ । डा. विमलले छठपर्व आर्यहरू आउनुपूर्वदेखि चलिआएको तर्क गरे । अनार्यहरूले सूर्यलाई स्त्रीरूपमा पूजा गर्थे । त्यसैले सूर्यको उपासना गरिन थालेको हो । छठमा गहुँका पक्वान्न चढाइने चलनले पनि यो पुष्टि हुन्छ । उनका अनुसार आर्यहरूलाई गहुँको जानकारी थिएन ।
स्थानीय पत्रकार राजेश्वर नेपालले पौराणिक स्रोत उद्धरण गर्दै छठी मैया अर्थात् षष्ठी देवी महादेवकी पुत्रवधू अथवा कार्तिकेयकी प्राणपि्रया थिइन् भने । वैवर्त पुराणको प्रकृति खण्डको अध्याय ४३ र देवी भागवतको ९औँ स्कन्धको ४६औँ खण्डमा यसको प्रसंग रहेछ । षष्ठी तिथिमा निष्ठापूर्वक दिनभरि निराहार बसी गहुँको पीठोको खजुरिया -ठेकुवा) र चामलको पीठोको भुसवा बनाएर साँझमा नदी वा पोखरीको छठघाटमा पुगेर सूर्यलाई साक्षी राखी छठी देवीलाई अघ्र्य चढाइन्छ ।
छठमा उपयोग हुने हरेक वस्तुको प्रतीकात्मक अर्थ छ । चामलको पीठोमा पानी राखेर परिकार बनाइनुको तात्पर्य अक्षता अर्थात् अक्षत् ब्रह्ममा जल अर्थात् जीवनको सम्मिलन गरिएको हो । हाम्रो जीवन ब्रह्ममय होस्, जीवनमय होस् भन्ने अपेक्षा यहाँ लुकेको छ । सेतो सबै रंगहरूको सम्मिलन हो, जीवन सबै रंगले सजियोस् भन्ने आशय यसमा छ ।
मिथिला हिजो र आज
र्फकनुअघि जनक दर्शन थप बुझ्न हामी युगलकिशोर लाललाई खोज्दै गयौँ । लाल कालिदासको मालविकाग्निमित्रम् नाटक पढ्दै बसेका रहेछन् । मीठो चियासँगै दर्शन चर्चा आरम्भ भयो । मिथिला नामकरण हुनुमा रोचक मिथ रहेछ । जनकका पूर्वज राजा निमी निसन्तान मरे । पुरोहितहरूले उत्तराधिकारी जन्माउन निमीको मृत शरीर मन्थन गरे । यसरी जन्मिएका पुरुषलाई मैथिल भनियो, मैथिल राजाले शासन गरेको हुँदा यो क्षेत्रकै नाम मिथिला रह्यो । गुरु परम्परा, शास्त्र अध्ययन, सत्संग र सात्विक भोजनले मानिसको बोध निर्धारण गर्छ । जनकवंशीय राजा यस्तै सुष्ठु परम्परामा हुर्किएका थिए । अन्ततः जनक वंशका २१औँ राजाले अष्टावक्रसँगको शास्त्रार्थबाट आत्मज्ञान प्राप्त गरे । जनक दर्शन सनातन हिन्दू दर्शनभन्दा पृथक् होइन, केवल जीवनलाई दर्शनमय बनाइरहन जनक सफल भए । तब यो जनक दर्शन भयो ।
मैले लाललाई सोधेँ, 'यस्तो अपूर्व दर्शन र संस्कृतिका धनी जनकपुरेहरू आज किन आफ्नै जीवनलाई अव्यवस्थित र सहरलाई कुरूप बनाइरहेका छन् ?'
जवाफ लालको जिब्रोमै झुन्डिएको रहेछ । उनले भने, 'जनकपुर शाहवंशीय राजाको कोपभाजन बन्नाले यस्तो भयो । आजसम्मका शासकले जनकपुरलाई लुटेर, अपमानित गरेर, शोषण गरेर शान्त भएका छैनन् ।'
'अरूलाई दोष दिएर मात्रै नपुग्ला कि ?'
लाल समझयुक्त व्यक्ति रहेछन् । उनले आदमी कम राक्षस अधिक शीर्षकको माथिको कविता सुनाएर सबैको कमजोरी संकेत गरे र मलाई सन्तुष्ट पारिदिए ।
आस्थाको दियो
जनकपुरेहरू छठी देवी को हुन्, सूर्यलाई अघ्र्य दिएर कसरी तिनको आराधना हुन्छ प्रष्ट देखिएनन् । यद्यपि बर्सेनि तनमनलाई कष्टसाध्य व्रत बसिराख्छन् । हुन पनि मान्छे आस्थाले नै बाँचेको हुन्छ । मान्छेको आस्था उखेलेर फाल्नुहुन्छ भने मान्छेले तपाईंलाई उखेलेर फाल्छ । अतः आस्थाको सम्मान गर्नुको विकल्प छैन । आस्था तर्कभन्दा बलशाली हुन्छ, यो धु्रवसत्य बिर्सन हुँदैन । भनिन्छ आस्थावान् व्यक्तिलाई वृन्दावनमा रात बिताउँदा सबेरै अनुभूति हुन्छ यहाँ केही छ । कुनै अदृश्य ईश्वरीय चैतन्यले मनमस्तिष्क ओतप्रोत हुन्छ । लालले पनि भनेका थिए जनकपुर पुण्यभूमि हो, ल्यान्ड अफ मिर्याकल हो । यहाँ केही छ, जसले मानिसलाई नजानिँदो स्पर्श गर्दछ । र्फकने वेलामा साथी अमृतलाई यो आस्थाले छोएछ । उनले मौका पाउँदा फेरिफेरि आइरहने मन गरे । मलाई जनक दर्शनले बढी छोयो । त्यो सुन्दर दर्शन बिर्सेका जनकपुरेलाई के सम्झनु । तिनले एक न एक दिन आफ्ना पुर्खा र पहिचान सम्झेलान् भन्ने मेरो सपना छ । डा. विमल, लालजी र धनुषा लैजाने दुई साथीहरू भने सम्झनामा आइरहने छन् । लालजीको कविता पनि ।
Published in Naya Patrika Daily 9 Nov 2011
Janaki Mandir view from Bibaha Mandap |