Monday, May 27, 2013

एक आदि–विद्रोहीको सम्झना

-नेत्र आचार्य
matatirthaएक थोपा पानीले समुद्रमा आफ्नो पहिचान गुमाइदिन्छ । यसको विपरीत एउटा मानिसले समाजमा आफ्नो पहिचान कायम राख्छ । मानिस केवल समाज विकासका लागि जन्मेको होइन । मानिस आºनै विकासका लागि जन्मेको हो । समाज मानिसको विकासमा बाधक होइन, साधक हुनुपर्छ । गौतम बुद्धले तत्कालीन असमान, परतन्त्र र बाधक समाज व्यवस्थाविरुद्ध जसरी धाबा बोलेका थिए त्यो आज २५ सय वर्षपछि पनि आश्चर्यजनक र मननीय छ । गौतम बुद्धलाई ‘भगवान्’ मानेर भित्तामा झुन्याउनु वा पूजा गर्नुको साटो उनीबाट प्रेरणा लिएर अलिक आँटी मान्छे बनेर देखाउनु सायद उनीप्रति साँचो श्रद्धा हुनेछ ।
आदि–विद्रोही
बहुलवादका गफ गल्ली–गल्लीमा सुन्न पाइने वर्तमान समाजमा विद्रोहका कुरा गर्नु सहज होला । तर, जतिबेला गौतम बुद्धले जन्म लिएका थिए त्यतिखेरको समाज अशिक्षित र पुरातनपन्थी थियो । आँटी बुद्धले त्यो समाजमा मानव समानता र स्वतन्त्रताको शंखनाद गरेका थिए । बुद्धको त्यस शंखनादको कालजयी ध्वनि आज पनि हाम्रो कर्णविवरमा अनुगुन्जित भइरहेकै छ । बुद्धका मूर्तिहरू कुँदिएका कुँदियै छन्, गुम्बा र बिहारहरूको संख्या बढेको बढ्यै छ, विश्वविद्यालयमा बौद्धदर्शनका कक्षा थपिएका थपियै छन् । यो माहोल कसैको प्रायोजित ‘मिसन’का रूपमा चलेको छैन । स्वत:स्फूर्त रूपमा फैलिएको छ । कुनै देश विशेषमा सीमित छैन, विश्वभर विस्तार भइरहेको छ । यद्यपि, हामीले बुद्धका सन्देशलाई आत्मसात् गरेर आफूमा अलिक विद्रोही स्वभाव विकसित गर्न बाँकी छ । हामी बुद्धका वाणीहरू पढ्छौँ भने पनि त्यो आºनो आत्मोन्नतिका लागि होइन, अरुलाई ‘फ्रि एड्वाइस’ दिनका लागि ! यसो गर्दा हामीले आफूलाई चलाख सम्झन्छौं सायद । बौद्धिक विलासको यस्तो कसरत व्यक्तिलाई झन्–झन् दुर्बल र अमानव बनाउन जिम्मेवार छ । बुद्ध एक आदि–विद्रोही थिए । बौद्धिक विलासको लागि त उनी एक शब्द बोलेनन् । उनले जे बोले त्यो मानवलाई महामानव बनाउने ध्येयले बोले । उनले जे गरे त्यो मक्किएको समाजव्यवस्थालाई जगैदेखि पुननिर्माणका लागि गरे ।
बुद्धले अछुत भनिनेहरूलाई संघमा प्रवेश दिएर जातिप्रथाको अन्त्य गरे । महिलाहरूले पनि आध्यात्मिक अभ्यास गर्न पाउनुपर्छ भनी बाटो खुला गरिदिए । निर्वाण प्राप्त गर्न व्यक्तिको आºनै प्रयास पर्याप्त हुन्छ, ‘ईश्वर’को कृपा आवश्यक छैन भनी मानिसलाई ईश्वरको चरणमा दास हुनबाट मुक्त बनाइदिए ।
बुद्धको विद्रोही चेतनाका झिल्काहरू तलका हरफमा अवलोकन गर्न सकिन्छ ।
अप्प दीपो भव :
सबभन्दा पहिला त गौतम बुद्धले धर्मको ठेकेदारी प्रथा अन्त्य गर्न कदम चाले । उनले उद्घोष गरे–ब्राह्मणहरूले जग्गे थापेर अन्नपात र घिउतेल स्वाहा पार्ने चलन वाहियात हो । मान्छेलाई जजमान अर्थात् पुरेतले जे जे भन्छ त्यही त्यही मान्ने नादान बनाउनु र कहिल्यै कसैले कहीँ नदेखेको ‘ईश्वर’का नाममा जीवन धान्ने खाद्यान्न नष्ट गर्नु कदाचित् तर्कसंगत होइन ।
पुरेत्याइँ प्रथा अन्त्यसँगै बुद्धले ईश्वरको अस्तित्व अस्वीकार गरिदिए– पुरेत वा शास्त्रले यसो भने भन्दैमा विश्वास नगर । तिमी आफैं परीक्षण गरेर हेर ।
buddha-2के ईश्वरले दुनियाँमा न्याय कायम गराएको छ ? शान्ति कायम गराएको छ ? के ‘ईश्वरको सृष्टि’मा समानता र स्वतन्त्रता छ ? छैन भने केका लागि ईश्वरको गुलामी गर्ने ? मन्दिरको ढोकामा उभिने जो पनि भिखारी हो । मानिस स्वाभिमानी हुनु ठीक हो । ईश्वरसँग धनसम्पत्ति वा समृद्धिको वर माग्नु पनि भिखारी हुनु होइन र ? मानिसजस्तो बुज्झकी प्राणीलाई दिनदहाडै भिखारी हुन शोभा दिँदैन । मुक्तिको कामना गर्नु पनि भिखारीपना हो । मानिस आºनै प्रयत्नले मुक्त हुन सक्छ । ध्यानको अभ्यास गर्दै मनको मैलो हटाएका दिन मानिस स्वत: बुद्ध बन्छ । यो हो स्वाभिमान । बुद्धले भने–अप्प दीपो भव अर्थात् आफूआफ्नै दीपक होऊ ।

अत्तो हि अत्तनो नाथ
बुद्धले भने–तिम्रो मालिक तिमी नै हौ । होसमा रहने कला अभ्यास गरेर, चेतनाको विकास गरेर महामानव हुने या बेहोसीमा रमाउने ओरालो बाटो रोजेर पशुवत् हुने यो तिम्रो छनौटको विषय हो । तिमीलाई उद्धार गर्न स्वर्ग वा बैकुण्ठ लोकबाट कोही शंख–चक्र र चार हातधारी दिव्यात्मा आउने छैन । न त कहिल्यै आएको छ । जसले आफैंमा विश्वास गर्छ र आफूबाहेक यताउति अरू कसैको सहारा खोज्दैन उही व्यक्तिले जीवनको रहस्य बुझ्छ, उही व्यक्ति छिटो आत्मोन्नतिको शिखरमा पुग्छ ।
हजार इच्छाहरू पूरा गर्नुभन्दा एउटा इच्छालाई जित्नुमा अधिक आनन्द हुनसक्छ । त्यसो गरेर त हेर † क्रोधले तिलमिलाएर मुखमण्डल विकृत बनाउनु विचारको दास हुनु हो । क्रोधलाई जितेर शान्त भावले मुस्कुराउन सक्नु विचारको मालिक हुनु हो । यसो गर्दा शारीरिक र मानसिक स्वास्थ्य बिथोलिन पाउँदैन । यही बुद्धिमानी हो । मनका चाहनाहरू पूरा गर्न बाहिरी व्यक्ति र वस्तुमा निर्भर रहनु आºनो खुशीको रिमोट कन्ट्रोल अरुका हातमा दिनुजस्तै हो । तिम्रो खुशी तिमीभित्रबाट निसृत हुनुपर्छ । खुसीको सदावहार झरना हाम्रो चेतनाको शुद्धतामा छ । यत् पण्डे तत् ब्रह्माण्डे । ब्रह्माण्डमा जे छ त्यो सबै व्यक्तिभित्रै छ । अणुमा ब्रह्माण्ड समेटिएको छ । केवल हेर्ने सही दृष्टि विकसित गर्नु चुनौती हो । जुन दिन म नै मेरो मालिक हुँ भन्ने ज्ञान हुन्छ त्यस दिन व्यक्तिले भन्न सक्छ —
तीन हातको शरीरबाहिर खुसी खोज्न जान्न म
मेरो अन्तरमनको आनन्द तिमीलाई के अन्दाज !
बुद्धत्वको आनन्द
हाम्रो जीवनको उद्देश्य त बुद्धले जहाँसम्म चेतनाको विकास गरे त्योभन्दा अगाडि सोच्नु हुनुपथ्र्यो । त्यहाँसम्म त बुद्धले यात्रा गरिसके । अब त्यसभन्दा अगाडि बढ्न सक्नुपथ्र्यो । निर्वाण नै चेतनाको विकासको अन्तिम बिन्दु अवश्य हुन सक्दैन । जसरी हावा र प्रकाश सर्वव्यापी छ उसैगरी चेतना सर्वव्यापी छ । मानिसले जुन दिन आफूलाई ‘चेतन अस्तित्व’ भनेर बुझ्छ त्यसदिन उसले सर्वत्र त्यही चेतन तत्वबाहेक अर्थोक देख्ने छैन । अरूमा पनि आफूलाई नै देख्नेछ । ‘मै खाउँ मै लाउँ’जस्ता छुद्र विचारबाट माथि उठ्नेछ । अस्तित्वसँग एकाकार भएका दिन मानिसले  मानिस भएर जन्मनुको वास्तविक आनन्द अनुभूति गर्नेछ । यद्यपि, आनन्द सर्वव्यापी हुनुपर्छ । दु:खीहरूको चित्कारका माझ सुखीहरूको आनन्द फिका हुन्छ । समग्र मानव जातिलाई ज्ञानोदय हुने उपाय खोजी गर्नु र सबैलाई दु:खमुक्त बनाउनु उन्नत जीवनको अभीष्ट हुनुपर्छ । बाँच्ने पद्धति यस्तो होस् जहाँ सबैको कर्मको आशय सर्वजन हिताय, सर्वजन सुखाय लक्षित होस् । बुद्धत्वको आनन्द एक झलकमा पाए पनि मानिसलाई तदनुरूप आशयका लागि कर्मशील हुन प्रेरणा मिल्नेछ ।

गृहत्यागको कारण
हामी इतिहासलाई लुकाउन माहिर छौँ । वृद्ध, रोगी, मृत व्यक्ति एवं सन्न्यासीलाई देखेर सिद्धार्थ गौतम भोगबाट वैराग्यतिर उन्मुख भए । एक रात पत्नी र पुत्रलाई सुतेको बेलामा छोडेर ज्ञानको खोजीमा निस्के । प्रचलित कथाले यही भन्छ । तर, कथामा तार्किकता कम र अन्धभक्ति अधिक छ । २९ वर्षको उमेरसम्म सिद्धार्थ गौतमले वृद्ध, रोगी वा मृत व्यक्तिलाई देखेनन् होला ? भीम राव अम्बेडकरजस्ता विद्वान्ले बुद्धले गृहत्याग गर्नुको पछाडि राजनीतिक कारण खोजेका छन् । शाक्य गणराज्य र कोलीय गणराज्यबीच पानीको विषयमा विवाद चलिरहेको थियो । यही कारणले युद्ध र नरसंहार हुने स्थिति आइपुग्यो । बुद्धका सामु तीन विकल्प थिए : कि त लडाइँमा होमिने, कि मृत्युदण्ड वरण गर्ने या निर्वासित हुने अथवा सर्वस्वसहित सपरिवार समाजबाट बहिस्कृत हुने । पहिलो र अन्तिम विकल्प सहज थिएनन् । सिद्धार्थ गौतमले दोस्रो विकल्प रोजे र निर्वासित भए । यसरी बुझ्दा पनि बुद्धले मानव जातिलाई दिएको योगदान विल्कुलै कम हुँदैन । बरु नयाँ पुस्ताका आँखामा बुद्धको जीवनी तर्कसंगत र विश्वासनीय देखिन्छ ।
दु:खमुक्ति
सिद्धार्थ सानैदेखि कुशाग्रबुद्धि, चिन्तनशील र मानवीय थिए । गृहत्याग गर्नैपरेपछि उनले निर्वासनलाई नै मानवजातिका लागि उदाहरणीय बनाउने संकल्प गरे । पहिला त परम्परागत तपस्याको अग्निमा आफूलाई तप्त बनाए । ज्यान सुकेर सिट्ठो भयो । तर ज्ञानोदय भएन । उनले मध्यममार्ग अपनाए । खानपिन गर्न थाले । क्रमश: ध्यान गर्ने ऊर्जा शरीरलाई प्राप्त भयो । ‘यही आसनमा शरीर सुकेर जाओस्, हाडमासु गलेर जाऊन् बुद्धत्व प्राप्त नगरी उठ्दिनँ’ यस्तो प्रतिज्ञा गरी ध्यानमा बस्दा आखिरमा सिद्धार्थले ज्ञान प्राप्त गरे । यी काम चरणबद्ध रूपमा सम्पन्न भएको थियो । पहिला त ध्यानमार्फत एकाग्रता हासिल भयो । शरीर र मन स्थिर एवं शान्त भए । तब प्रज्ञा जागृत भयो । अनित्य, दु:ख र अनात्माको साक्षात्कार भयो । शून्यता अर्थात् प्रतीत्यसमुत्पादको ज्ञान भयो । नि:स्वभावता बुझेपछि उनी दुखमुक्त भए । तब दुखको सागरमा डुबेका मानिसहरूप्रति उनको हृदयमा करुणा जाग्यो । अरुलाई दुखमुक्तिको बाटो देखाउने क्रममा आºनो दु:ख छायामा परिसकेको हुन्छ । बुद्ध दर्शनमा यो दु:खमुक्तिको एक रहस्य हो ।

देवत्वकरण
हामी व्यक्तिलाई देवत्वकरण गर्नमा पनि माहिर छौँ । हामीले सायद सिद्धार्थको यथार्थ कथाबाट निश्चित तथ्यहरू गायब पारिदियौँ र बुद्धले केवल ज्ञान पाउनका लागि घरबार त्यागेका हुन् भनी कथा रच्यौँ । औसत मानिस लकिरको फकिर हुन चाहन्छन् । उनीहरूले हत्तपत्त बुद्धलाई देवत्वकरण गरेर भगवान् बनाइदिए । र, आफू भगवान्को चरणदास बन्नुमा सन्तोष माने । जसले ईश्वरको अस्तित्व अस्वीकार गर्‍यो उसैलाई भगवान्को पगरी गुथाइदिनु कति न्यायिक हुनसक्छ ? बुद्धको नाममा धर्म पनि चल्न थाल्यो, जुन बुद्धको सोचभन्दा विपरीत कुरा थियो । यसरी एउटा महामानवको आशयविपरीत जानु मानिसजस्तो चेतनशील जातिलाई सुहाउने कुरा होइन । बुद्धले त भनेका थिए– मानिस केवल आºनै प्रयासले चेतनालाई परिशुद्ध बनाउँदै एक दिन शुद्ध चैतन्य साक्षात्कार गर्न सक्छ । देवताको कृपा वा कुनै गुरु विशेषको सहायता खोज्नु आवश्यक छैन, हितकारी पनि छैन र यसो गर्नु मानिसको क्षमताको अवमूल्यन गर्नु हो भनेका थिए । बुद्धले समस्त मानव जातिलाई अपार स्वतन्त्रताको स्वाद चखाउन खोजेका थिए । तर, आजको नेपाली समाजमा अनागरिकालाई भिक्षुणी बन्नसमेत स्वीकृति दिइएको छैन । आज बुद्धको अग्लो मूर्ति बनाउने प्रतिस्पर्धा छ, व्यापारको होडबाजी छ, लुम्बिनीको साख कसले लिने भनी महाभारत चलिराखेको छ । बुद्धभन्दा बढी ‘जान्ने’हरू नै बुद्धको उद्देश्य सफल पार्ने मार्गमा समस्या हुन थालेका छन् ।
चन्द्रमा कि औंला
बुद्धले हामीलाई चन्द्रमा देखाएका थिए । हामीले बुद्धको औंला मात्रै देख्यौँ, चन्द्रमातर्फ देखेनौँ । बुद्धले हामीलाई बुद्धत्वतर्फ संकेत गरेका थिए हामीले व्यक्ति मात्र देख्यौँ । हामी बुद्धका भक्त बन्यौँ बुद्ध बन्न सकेनौँ । ध्यान एक घन्टा आँखा चिम्लेर बस्ने कर्मकाण्ड होइन । चीवर लगाउनु, भिक्षु बन्नु या मागेर खानु तत्कालीन समाजका लागि ठिकै थिए होलान् । आज २५ सय वर्षपछिको समाजमा छद्म बुद्ध बन्न खोज्नु अलि बढी नै नौटंकी प्रतीत हुन्छ । के हामी अलिक रचनात्मक बन्न सक्दैनौं ? कुन देश, काल र परिस्थतिमा बुद्धले तदनुरूप भेष बनाउनु सान्दर्भिक मानेका थिए त्यसको अध्ययन गरेर आजको युग सुहाउँदो पहिरन गर्नु र ज्ञानलाई उपदेशमा होइन जीवनमा उतार्नु अधिक बुद्धिमानी होइन र ? चन्द्रमा देखाउँदा औंला पक्रनेले दुख नपाए कसले पाउँछ ?

विख्यात बौद्ध लेखक भदन्त आनन्द कौसल्यायन भन्छन्– बुद्ध आजको विकसित समाजमा पैदा हुन्थे भने उनले भिक्षुहरूलाई ब्रह्मचर्यको कठोर व्रत पालना गर्ने नियम बनाउने थिएनन् । सुरक्षित यौन सम्बन्धले आत्मविकासमा बाधा पुर्‍याउँदैन । आत्मोन्नति यौनभन्दा धेरै मास्तिरको अवस्था हो । चेतनाको आनन्दका सामु यौन सुख फिका हुन्छ र स्वत: छुट्छ । हामीले बुद्धको आशयलाई पक्रनु बुद्धिमानी हो बुद्धकाजस्तै गेरुवस्त्र समातेर बस्नु मूढता हो ।

बुद्धको अध्यात्म भूमि
नेपाल बुद्धको अध्यात्म भूमि हो । बुद्ध हाम्रो आºनो माटोका उपज हुन् । उनका शिक्षाहरू, उनले बताएका कालजयी वचनहरू र समुन्नत जीवन पद्धतिका सुपरीक्षित तौरतरिकाहरू पढ्न–बुझ्नलाई अब हामीले विदेशीले लेखेका पुस्तक खोज्न पर्नु, समुद्रपारि डिजाइन गरिएका वेबसाइट चाहार्न पर्नु ठूलै दुर्भाग्य हो सायद । एक से एक बौद्ध विद्वान् स्वदेशमै पैदा होऊन् । शान्तिको देश नेपाल अध्यात्म–भूमिका रूपमा विश्वभरि विख्यात होस् अनि संसारका कुना–कुनाबाट बौद्ध दर्शन पढ्न–बुझ्न र तिनलाई जीवनमा अभ्यास गरिएको शान्तिप्रियता अवलोकन गर्न नेपाल आऊन् । आजसम्म यति त भइसकेको हुनुपथ्र्यो, कम्तीमा पनि । अगणित मानिसहरूले कलमजीवी, बुद्धिजीवी या सूचनाजीवीको परिचय बनाएका छन्, बुद्धको भूमि नेपालमा धेरै होइन केही मानिसले अध्यात्मजीवीका रूपमा पहिचान बनाउन वाञ्छनीय छ । सायद यसको समय आइसकेको छ । भौतिक समृद्धिले मानव समाजलाई निरन्तर संकट र आतंकतिर धकेल्दै गइरहेको स्थिति अहिले छ । आध्यात्मिक समृद्धि भएमा विश्व–व्यवस्थाको कायापलट हुन सक्छ । कम्तीमा यही आशा बाँकी छ ।

My article on 2557th Buddha Purnima
here is the link : http://www.souryadaily.com/2013/05/72970.html

Monday, May 06, 2013

चार वटी पत्नी


एउटा धनी व्यापारीका चार वटी पत्नी थिए । 

व्यापारीले चौथी पत्नीलाई सबभन्दा धेरै माया गर्थ्यो । स्वादिष्ट खानेकुरा खुवाउँथ्यो र सबभन्दा राम्रा लुगाहरुले झकिझकाउ बनाएर सिंगारेर राख्थ्यो । उसको सुखसुविधाको निकै ध्यान राख्थ्यो र सर्वोत्तम वस्तुहरु उपलब्ध गराउँथ्यो ।

व्यापारीले तेस्री पत्नीलाई पनि औधी मन पराउँथ्यो । तेस्रीप्रति निकै गर्व गर्थ्यो र साथीहरुलाई देखाएर, उसको बारेमा कुरा गरेर आनन्द मान्थ्यो । यद्यपि व्यापारीलाई तेस्री पत्नी अरु कसैसँग भाग्ली वा आफूलाई छोडेर कतै जाली भन्ने डर मानिराख्थ्यो ।

व्यापारीले दोस्री पत्नीलाई पनि निकै माया गर्थ्यो । दोस्री पत्नी धेरै समझदार र धैर्यवान् थिई । खासमा व्यापरीकी विश्वासपात्र यही पत्नी थिई । जहिले पनि समस्या पर्दा वा कठिनाइको सामना गर्नुपर्दा व्यापारी यही पत्नीसँग सल्लाह माग्थ्यो । दोस्री पत्नीले व्यापारीलाई गाह्रो सारो पर्दा सधैं मदत गर्थी ।

पहिली पत्नी व्यापारीप्रति ज्यादै आत्मीय थिई । उसले व्यापारीको घर, व्यवसाय सम्हाल्थी र व्यापारीको व्यक्तिगत सुखदुखको ख्याल राख्थी । यद्यपि व्यापारीले पहिली पत्नीलाई फुट्टी माया गर्दैनथ्यो । पहिलीले व्यापारीले जति गहिरो माया गरे पनि व्यापारीले उसको वास्तै गर्दैनथ्यो ।

एक दिन व्यापारी सिकिस्त बिरामी पर्यो । ओछ्यानबाट उठ्न मुस्किल हुन थालेपछि उसले आफू छिटै मर्दैछु भन्ने अनुमान गर्यो । जीवनभरि सुखसयल गर्दै चार वटी पत्नीको बीच बाँचेको ऊ मर्ने बेलामा एक्लै पर्दै गएको महसुस गरिरहेको थियो । अचानक उसको मनमा एउटा विचार आयो; म मरें भने चार पत्नी मध्ये कोही त मसँगै जालान् कि ।

व्यापारीले चौथी पत्नीलाई बोलायो र भन्यो, ‘मैले तिमीलाई सबभन्दा धेरै माया गर्थें । सधैं उत्तम लुगाहरु दिन्थें र निकै हेरचाह गर्थें । अहिले म मर्दैछु । तिमी मेरो साथी भइदिन मसँगै जान्छ्यौ ?

‘जान्नँ ! मरेर जानेलाई पनि कसैले साथ दिन्छ ?’ चौथी पत्नीले हेलाँपूर्वक भनी ।
उसका कुरा व्यापारीको मुटुमा वाण हानेझैं बिझे ।

व्यापारीले तेस्री पत्नीलाई बोलायो र भन्यो, ‘मैले तिमीलाई धेरै मन पराउँथेँ र हृदयदेखि नै माया गर्थें । तिमीप्रति मलाई निकै गर्व थियो । आज म मर्दैछु । मलाई साथ दिन तिमी मसँगै जान्छ्यौ ?’

व्यापारीका कुरा सुनेर अचम्मित हुँदै उसले भनी, ‘के भनेको ? मर्नेसँग पनि कोही जान्छ ? जिन्दगी निकै रमाइलो पो छ । म त तिमी मर्यौ भने अरु कसैसँग विहे गरेर मस्ती गर्छु ।’

व्यापारीलाई मानौं झट्का लाग्यो । उसको मुटु चिसिँदै गयो ।

व्यापारीले दोस्री पत्नीलाई बोलायो र भन्यो, ‘जहिले पनि समस्या पर्दा मैले तिमीलाई सम्झन्थें, तिमीले हरेक पटक मलाई सधैं मदत गथ्र्यौ । अहिले पनि मलाई तिम्रो साथ चाहिएको छ । म मर्दैछु, तिमी मलाई साथ दिन मसँगै जान्छ्यौ ?’

‘क्षमा गर, यतिखेर भने म तिमीलाई मदत गर्न सक्दिन र साथ दिन पनि सक्दिन । अँ, धेरै गर्न सकें भने तिमी मरेपछि चिहानसम्म पुर्याइदिउँला ।’

उसको यस्तो जवाफले व्यापारीको मनमा चटयङ परेजस्तै भयो । व्यापारी हताश भयो ।
त्यतिखेरै उसले कोही बोलेको सुन्यो, ‘म जान्छु तिमीसँगै । तिमी जहाँ पुगे पनि म तिम्रो साथ छोड्ने छैन ।’ व्यापारीले विस्तारै टाउको उठाएर हेर्यो । यो पहिली पत्नीको आवाज थियो । ऊ दुब्लाएर सिट्टी भएकी थिई । कुपोषणले ग्रस्त जस्ती देखिएकी पहिली पत्नी नजिकै आई । उसको हालत देखेर व्यापारीको मन औधी दुखी भयो । उसले भन्यो, ‘मैले तिम्रो अलि राम्रो हेरचाह गर्नुपर्ने थियो ।’

यथार्थमा हामी सबैका चार वटी पत्नी छन् ।

चौथी पत्नी हाम्रो शरीर हो । शरीर सिंगार्न र राम्रो देखिन जतिसुकै समय दिए पनि र प्रयत्न गरे पनि हामी मरेर जाँदा शरीरले छोडिदिन्छ । दोस्री पत्नी हामीले जम्मा गरेको धनसम्पत्ति, सामाजिक हैसियत र सम्बन्धित वस्तुहरु हुन् । हामी मर्दा यी सबै अरुको हातमा पुग्छन् । दोस्री पत्नी हाम्रो परिवार र साथीहरु हुन् । बाँचुञ्जेल जति प्रिय भए पनि मरेपछि परिवार र साथीहरु बढीमा चिहानसम्म मात्र पुग्छन् ।

पहिली पत्नी वास्तवमा हाम्रो आत्मा (चेतना) हो । भौतिक धनदौलत जम्मा गर्ने र ऐन्द्रिक सुख भोग्ने धुनमा हामीले आत्मालाई प्रायः वेवास्ता गर्छौं । हामी भित्र रहेको आत्माको अस्तित्व समेत हेक्का राख्दैनौं, कुनै मतलब गर्दैनौं । आत्माले नै वास्तवमा हामी मरेर जहाँ जान्छौं त्यहाँसम्म हामीलाई पछ्याउँछ, आत्मा सधैं हाम्रो साथी हुन्छ ।
मर्नेबेलामा पछुताउनलाई पर्खनुभन्दा अहिलेदेखि नै आत्मालाई पोषित गर्नु, सबल पार्नु र उन्नत बनाउनु सायद उत्तम हो ।


शिक्षित सुगाहरु

धेरै पहिला एक जना ऋषिले कुटीसँगैको रुखमा सुगाहरु पालेका थिए । सुगाहरुलाई आत्म—सुरक्षाका लागि एउटा गीत सिकाइ राखेका थिए ‘शिकारी आउनेछ, जाल बिछ्याउने छ, चारो हाल्नेछ, तर हामी जानेछैनौं, जालमा फस्नेछैनौ‌ ।’

एक दिन ऋषि नजिकैको गाउँमा गएका थिए । त्यही समयमा एउटा शिकारी त्यहाँ आयो । कुटी अगाडिको रुखमा केही सुगाहरु देखेर शिकारीले जाल बिछ्याउन थाल्यो ।

सुगाहरु सशंकित भए । उनीहरु एक स्वरले गीत गाउन थाले, ‘शिकारी आउनेछ, जाल बिछ्याउने छ, हामी चारो खानेछैनौं, जालमा फस्नेछैनौं ।’

सुगाहरुले सजग भएर आत्म—सुरक्षाको गीत गाएको देखेर शिकारी चकित भयो । यी सुगाहरु त शिक्षित पो रहेछन् । जाल हान्नुको के फाइदा । ऊ जाल नबिछ्याई निराश हुँदै घरतिर फर्कियो ।

घरमा उसको छोराले सोधेछ, ‘बाबा, आज किन रित्तै आउनुभयो ? चराहरु जालमा परेनन् ? शिकारीले चिन्तित हुँदै भन्यो, ‘छोरा, जंगलका सुगाहरु बडा शिक्षित भएछन् । तिनीहरु त मलाई देख्नासाथ ‘शिकारी आउनेछ, जाल बिछ्याउने छ, हामी चारो खानेछैनौं, जालमा फस्नेछैनौं’ भन्दै कराउन थाले । यिनीहरुलाई के फसाउन सकिएला भनेर म जालै नहाली फर्कें ।’

शिकारीको छोरा पढेलेखेको, शिक्षित थियो । उसले शिक्षितहरुलाई राम्ररी चिनेको थियो । ‘बाबा, म जान्छु चराहरुको शिकार गर्न’ छोराले बाबालाई ढाडस दियो ।

भोलिपल्ट छोरा शिकार गर्न गयो । त्यही रुखमुनि पुग्यो । जाल देख्दाबित्तिकै सुगाहरु त्यही गीत रट्न थाले, ‘शिकारी आउनेछ, जाल बिछ्याउने छ, हामी चारो खान जानेछैनौं, जालमा फस्नेछैनौं ।’ यद्यपि उसले फटाफट जाल बिछ्यायो, चारो हाल्यो र पर्खेर बस्यो ।

केही बेरमै सुगाहरु जालभित्र आएर चारो खान थाले । चारोको लोभले एकपछि अर्को गर्दै सबै सुगाहरु जालभित्र पसिसकेका थिए, फसिसकेका थिए ।

सुगा रटन्तम् पाराले शिक्षित छन् आम मानिसहरु
भेष बदलेर आउने नेता वा कथित ‘गुरु’हरुले
सपनाका जालमा फँसाए भने कसको दोष ?


जीवन : स्व-निर्माण-परियोजना

एउटा सिकर्मी थियो । १५ वर्षसम्मको भवन निर्माणको जागिरबाट एक दिन उसले सधैंका लागि मालिकसँग छुट्टी माग्यो । सेवानिवृत्त भएपछि महिनैपिच्छे तलब थाप्न त पाइँदैनथ्यो तर उसलाई बाँकी जीवन घरभरि भएका नातिनातिनासँग खेल्दै बिताउन मन लागिरहेको थियो । 

मालिकलाई यति राम्रो सिकर्मीले काम छोडेर जान लागेकोमा चिन्ता परेको थियो । मालिकले भन्यो, ‘तिमी जानै लाग्यौ । जानुअघि कृपया मलाई एउटा अन्तिम घर बनाइदिन सक्छौ ?’

पन्ध्र वर्षसम्म काम गरेको मालिकका लागि थप एउटा घर बनाइदिने प्रस्ताव सिकर्मीले अस्वीकार गर्न सकेन । यद्यपि यो उसको अन्तिम गृह निर्माण थियो । ऊ कहिले काम सकिएला र छुट्टी लिउँला भन्ने सोचिराख्थ्यो र आधा मनले काम गर्थ्यो। अतिरिक्त समय कहिल्यै काम गरेन । सिमेन्ट, गिटी र बालुवाको सर्वोत्तम मिश्रण तयार गर्नमा पनि उसले ध्यान दिएन । यो घरमा पौडी पोखरी पनि राखेन । काठपात पनि गुणस्तरीय छनोट गरेन । पहिलाजस्तो कलात्मक फर्निचर पनि बनाएन ।

घर बनिसकेपछि मालिकले सिकर्मीलाइ अफिसमा बोलायो र चाबीको गुच्छा दिँदै भन्यो, ‘पन्ध्र वर्षसम्म गरेको उत्कृष्ट कामको सम्मान गर्दै भर्खरै तिमीले बनाएको घर तिमीलाई नै उपहार दिँदैछु ।’

सिकर्मीका आँखमा आँसु आए । उसले यो घर आफूले पाउँला भन्ने एक रत्ती सोचेको थिएन । आफ्नै लागि घर बनाउँदैछु भन्ने थाहा भएको भए उसले यो घरको गुणस्तर र रुपरंगै अर्कै बनाउनेथियो ।

यो कथा साँचो पनि हुनसक्छ, काल्पनिक पनि । हामीहरु चाहिँ यथार्थमा ठीक यस्तै गर्छौं । हामीले आफ्नो जीवन निर्माण गरिरहेका हुन्छौ हरेक दिन । तर प्रायः हामीले आफ्नो पूर्ण क्षमता र ऊर्जा प्रयोग गर्दैनौं; आधा मनले घस्रिरहेका हुन्छौं । हाम्रो ऊर्जा व्यर्थका कुरामा नष्ट भइरहेको हुन्छ । अनि, समय गुज्रिसकेपछि हामी झसङ्ग हुन्छौं; यस घरमा त हामी आफैं पो बस्न पर्नेछ ।

हामीलाई लाग्छ, फेरि सुरुदेखि जीवन निर्माण थाल्न पाए कति मेहनतले काम गर्थ्यौ‌ होला, पढ्थ्यौं होला, सिक्थ्यौं होला ! जीवन स्व—निर्माण—परियोजना हो । आजको हाम्रो प्रवृत्ति र छनौटले भविष्यको हाम्रो घर निर्माण गरिरहेको हुन्छ जसमा हामी जीवन बिताउनेछौं ।

Saturday, April 06, 2013

रजनीले रचेको संसार



-नेत्र आचार्य
Netra-Acharya‘प्रिये, यतिखेर हामी कहाँ छौँ ?’ रजनीले आफ्ना आँखा चारैतिर डुलाउँदै सोधी ।
‘बगैँचामा छौँ, प्रिये’ प्रकाशले शान्त हुँदै भन्यो ।
‘म तिम्रो काखमा लामै समय निदाएँ क्यार,’ आँखा मिच्दै उसले गुनासो गरी, ‘मलाई किन नजगाएको ?’
‘जगाउनुपर्ने आवश्यकता परेन, त्यसैले ।’
‘तिम्रो आवश्यकता के हो मैले आजसम्म बुझ्न सकिनँ । भैरहोस् । अनि यो विशाल वृक्षको नामचाहिँ के हो नि ?’ रजनीका आँखा यतिखेर वृक्षका विशाल शाखाहरूतिर दौडिँदै थिए ।
‘यसलाई कल्पवृक्ष भनेर बुझ ।’
‘गर्मीमा शीतल, जाडोमा न्यानो । कस्तो मज्जा हगि ? मलाई त कस्तो लागिरहेको छ भने मानौँ यो कैलाश पर्वत हो, तिमी देवताहरूका पनि देवता महादेव हौ र म हिमालयकी छोरी हुँ । हामी यहाँ यसरी आनन्दले बसेको जुगजुग बितिसकेको छ’ रजनीले प्रकाशका आँखामा आँखा मिलाउँदै भनी ।
‘हो त । तिमीले जे जे भन्यौ त्यही कुरा सत्य हो । म महादेव हुँ, तिमी हिमालयकी छोरी हौ † उस्तै जिद्दी गरिरहनुपर्ने स्वभावकी । यो संसार हामीले सृष्टि गरेको हो । अनि, हामी यहाँ बसेको पनि जुगौँ भइसकेको छ । बस्, हामी समयको हिसाब गर्दैनौँ । साँची, यतिका समय भइसक्यो, तिमीलाई भोक लागेको छैन ?’
‘छ त ।’ रजनीले लाडिँदै भनी ।
‘के खान मन छ ?’
‘फापरको रोटी, पुदिनाको चट्नी अनि बदाम र दूधको सर्वत ।’
तत्क्षण रजनीले चाहेको नास्ता तयार भएर थालभरी आइसकेको थियो ।
‘ल खाऊ ।’ प्रकाशले रोटीको एक टुक्रा चट्नीसँगै खाँदै भन्यो ।
‘आबुई । यति छिट्टै कसले यो सबै खानेकुरा ल्याइदियो ?’ रजनीलाई विश्वासै भइरहेको थिएन ।
‘कल्पवृक्षमुनि जे चिताए पनि पुग्छ, त्यति पनि थाहा थिएन ?’ प्रकाशले रजनीको अज्ञानता औँल्याइदियो ।
रजनी ठुस्किई । प्रकाशको यो बानी उसलाई कत्ति मन पर्दैन । एक निमेष भर उसले यस्तो चिताई मानौँ प्रकाश त्यहीँको त्यहीँ गाएब होस् ।
र, भइदियो पनि त्यस्तै । प्रकाश गाएब । रजनी झस्किई । कल्पवृक्षमुनि जे चिताए पनि पुग्ने थियो । उसलाई आफ्नो गल्ती महसुस भयो । ‘कस्तो मूर्खता मेरो’ रजनीले लामो सास तान्दै भनी । ऊ दु:खी भएकी थिई । आफूले भर्खरै गरेको मूर्खताको चेतनाभन्दा दुखद अर्थोक केही हुँदैन ।
रजनीले आफ्नो गल्ती सुधार्ने मौका अझै थियो । ऊ शान्त हुन सक्थी र प्रकाश आफुसामु प्रकट भइदेओस् भनेर चिताउन सक्थी । ऊ कल्पवृक्षकै छहारीमा थिई । उसले चिताएको पुग्ने थियो । तर, त्यसबखत उसको इगो उसका सामु फँडा फैलाएर खडा थियो । उसलाई वास्तविकता धुमिल लागिरहेको थियो । सबै कुराप्रति अविश्वास पैदा भएको थियो । मध्यदिनमा उसले सर्वत्र अँध्यारो देख्न थालेकी थिई । यद्यपि उसको मनमा आशाको दियो निभिसकेको थिएन ।
कहाँ जाला र ऊ, सायद ऊ आफैँ आउनेछ मलाई खोज्दै, आएन भने पनि मैले उसलाई फेला पारिहाल्छु । विचारहरू उसको मनमा तरंगिँदै थिए । उसका आँखा बगैँचामा परपरसम्म पुग्नथाले । प्रकाश यतैकतै छ कि ।
रजनीले पूरै बगैँचा चाहारी । प्रकाशको अत्तोपत्तो थिएन । बगैँचामा रंगीबिरंगी फूलहरू फुलिरहेका थिए । तर, रजनीलाई ती फूलको सौन्दर्य र सुवासले छोइरहेको थिएन । भ्रमरहरूको भुनभुनले त उसलाई झन् अशान्ति महसुस भयो । ऊ झन् आजित भई ।
मगमग फुल्यो फूल यहाँ गैरी बिसाउने
भमराले लग्यो रस कोही छौ कि रिसाउने ।
कोही प्रेमी आफ्नी प्रेमिकासँग गीत गाउँदै थियो । रजनीलाई गीतका मधुर शब्दहरू कर्णकटु सुनिए । उसको अविश्वास झन् सघन हुँदै थियो । अब उसलाई आफ्नै अस्तित्वप्रति आशंका बढ्न थालेको थियो । नजानिँदो डर, आशंका र आतंकले ऊ भित्रभित्रै प्रताडित हुन थाली । ऊ हतारहतार बगैँचाबाट बाहिरिई ।
बाहिर उही चिरपरिचित सहर ।
ऊ साझ नपर्दै आफ्नो कोठामा पुगी । डोरम्याट मुन्तिरबाट साँचो झिकी र खिया लागेको ताल्चामा छिराई । बडो मुस्किलले ताल्चा उग्घ्रियो । भित्र पसेर हेरी । चारैतिर माकुराको जालो । भुइँ, टेबुल, दराज र बिछ्यौनामा जमेको धूलो । र, पूरै कोठाभरि फैलिएको एकतमासको ढुसीको गन्ध । उसको मुटु भक्कानिएर आयो । एकाध घन्टा पहिला ऊ प्रकाशसँग कल्पवृक्ष मुन्तिर थिई । त्यो बगैँचा, त्यो मौसम, त्यो आनन्द ।
जतिजति सम्झ्यो उतिउति रजनीको मन बाउँडिन थाल्थ्यो । उसको दु:खको सीमा थिएन ।
यद्यपि ऊ आत्मबल भएकी स्त्री थिई । सबै कुरा बितेर जान्छ । पहिला सुख थियो । सुख बितेर गयो । अहिले दु:ख छ । यो पनि बितेर जानेछ । उसले हिम्मत बाँधी । जुरुक्क उठी, एउटा मुखौटौ लगाई र कोठा सफा गर्न थाली । केही समयभित्रै कोठा पहिलाजस्तै टकटकाउँदो भइसकेको थियो । फोहोरको नामोनिसान थिएन, फूलदानीहरू तरोताजा भएका थिए र उसले भर्खरै छर्केको अत्तरको मधुरो बास्ना उडिरहेको थियो । ऊ शवासनमा पल्टिई ।
शवासनले उसको तनमा स्फुर्ती र मनमा ऊर्जा भरियो । हठात् उसलाई पहिलाजस्तै पुराना डायरी पल्टाएर हेर्न मन लाग्यो । तर, हातहरू अनायासै रोकिए । विगतका स्मृतिहरू उग्राउनुको के सार ? उसलाई एक—एक कुराहरू सम्झना छन् । कसलाई हुँदैनन् ?
बाल्यकालमा आमाले दूध छुटाउन स्तनमा तितेपाती दलेर मुखै तीतो बनाइदिएको, बासी भात खान भाइसँग झगडा गरेको, बाबाले अकारण भित्तामा टाउको ठोक्काइदिँदा रगतैरगत भएको, पहिलो दिन स्कुलमा जाँदा बाटोमा लडेको, साथीले आफ्नोभन्दा अधिक नम्बर ल्याउँदा दिनभरी रोएको, होलीको दिनमा केटाहरूले पिच्कारी हानेर शरीर निथ्रुक्क भिजाइदिएको, पहिलो प्रेमको मधुर अनुभूति, पहिलो समागमको कौतुहल, कलेजका सुरुआती दिनहरू, जागिर खोज्दाको रामकहानी, दोस्रो, तेस्रो …प्रेमको सिलसिला र अन्त्यमा विवाहको नाटक ।
जिन्दगी एक खेल हो, नथाकिन्जेल खेल्दै जानू
जिन्दगी एक दृश्य हो, नअघाइन्जेल हेर्दै जानू
थाकिसकेपछि रित्तो छ जीवन, अघाइसकेपछि खोक्रो छ जीवन ।
डायरीको अन्तिम पानामा यिनै हरफहरू त छन् । उसलाई डायरीका हरेक पन्ना, सायरीका हरेक पदावली याद छन् । डायरी पल्टाउनुको कुनै सार छैन । ‘म आपैँm एक जीवन्त डायरी हुँ’ रजनीले मनमनै भनी ।
उसलाई कल्पवृक्षको याद आयो । प्रकाशको मेघजस्तै सघन बोली, उसको काखमा बस्दाको न्यानो अनुभूति, त्यो अकल्पनीय माहोल । त्यो प्रेम, त्यो सान्त्वना, त्यो समरसता केवल सपना थियो त ? म फेरि त्यो बगैँचा खोज्दै जान सक्छु त ? कसरी अचानक म त्यहाँबाट बाहिरिएँ ? के मेरो मनमा पलाएको क्षणिक अहंकारले मेरो सुन्दर संसार भत्काइदिएको थियो ?
भर्खर जस्तो लाग्ने त्यो दृश्य । अघिसम्म ऊ महादेव थियो म हिमालयकी छोरी । हामी सृष्टिकर्ता थियौँ । यो संसार रचेर यहाँ भइरहेको लीला हेर्दै रमाउँदै थियौँ । अहिले भने म एक दु:खी पात्रको भूमिकामा पछारिएकी छु । प्रकाश म भुटभुटिएको हेर्दै मुस्कुराउँदै होला । ऊफ् †
‘मलाई यही भूमिका पुन: दोहोर्‍याउन कुनै आपत्ति छैन । यद्यपि एकपटक त्यो अप्रतीम जीवनको झलक पाइसकेपछि, त्यो शान्ति र आनन्दको स्वाद अनुभूति गरिसकेपछि, त्यो दिव्य जीवनको बाटो पहिल्याइसकेपछि मलाई यो नाटक खेल्न मन छैन । मैले त्यही दिव्य जीवनलाई पछ्याउनुपर्छ,’ रजनी भुतभुताई ।
उसले संसारका गतिविधिमा रस लिन वा आसक्त हुन छोडिदिई । इन्द्रियहरूमा सल्बलाउने वासनाका आँधीहरूलाई साक्षी भावले पन्छाउँदै गई । उसँग दिव्य जीवनको सूत्र थियो, ज्ञानचित्त हुँदा रागचित्त छैन, रागचित्त हुँदा ज्ञानचित्त छैन । एकसमय च उभयोऽनवधारणम् । ऊ शान्त हुँदै गई, उसको मनमा प्रज्ञा जाग्यो, संसारका सबै घटना—परिघटना अस्थाइ हुन् र समयसँगै बितेर जान्छन् । दिनसँगै रात पनि आउँछ, सुखसँगै दु:ख पनि आउँछ । यो प्रकृतिको नियम नै हो । आशंका, डर र अहंकार बन्धन हुन्, प्रेम, लयात्मकता र समरसता मुक्ति ।
यो प्रज्ञोदयसँगै रजनी फेरि आनन्दलोकमा पुगेकी थिई । त्यही कल्पवृक्ष त थिएन, प्रकाश पनि थिएन यद्यपि ऊ स्वयं आफ्नो जीवनको वास्तविकताको स्रष्टा बनेकी थिई । उसलाई यस्तो लागिरहेथ्यो मानौँ ऊ अहिले जहाँ छे त्यहाँ सन्तुष्ट छे । कल्पवृक्ष, प्रकाश वा आनन्द त उसकै मनको शान्ति, प्रज्ञा र प्रेमले सिर्जना गरेका थिए । ‘शान्ति, प्रज्ञा र प्रेमले म हजारौँ कल्पवृक्ष, प्रकाश र आनन्द सिर्जना गर्न सक्छु,’ रजनीको खुसीको सीमा थिएन ।
Written by Netra Acharya
Published in Sourya Daily 30 March 2013.

पुस्तक, कलम र पत्नी



-नेत्र आचार्य
Netra-Acharya‘पुस्तिका लेखनी रामा परहस्तौ गते गता: । कदाचित् पुनरायाता भ्रष्टा मुष्टा सुचुम्बिता ।’ अर्थात् पुस्तक, कलम र पत्नी अरूका हातमा परेपछि फर्केर आउँदैनन् । आइहालेमा पुस्तक थोत्रिएको हुन्छ, कलम भाँचिएको हुन्छ, पत्नी अर्कैले चुम्बन गरिएकी हुन्छिन् । कसैले प्रयोग गरेको वस्तु हात थाप्नु जीवनको ठूलै अभाग हो । प्रिय पाठक, कसैले पुस्तक नमागोस् भनेर मैले यसो भनेको होइन । तगारो हाल्नैपर्ने स्थिति आइसकेको छैन । खासमा पुस्तक, कलम र पत्नीले मेरो जीवनमा विशेष अर्थ राख्छन् । म त्यो विशेष अर्थ बताउने चेष्टा गर्दै छु ।
मैले होस सम्हालेदेखि नै यी तीन वस्तु मेरो जीवनसँग अभिन्न रहे । यिनले मलाई जति अरू कसैलाई सायदै प्रभाव पारे होलान् । ‘द प्रोफेट,’ ‘दस स्पेक जराथुस्त्र’ जस्ता पुस्तक पहिलोपल्ट पढिसक्दाको आनन्द, कुनै कृति लेखिसक्दाको आत्मसन्तुष्टि वा कुनै युवतीको अँगालोमा कसिँदाको परितृप्ति; मेरो भागमा परेका खुसीहरू यिनै हुन् । म फेरि दोहोर्‍याएर भन्छु पुस्तक, कलम र पत्नीले मेरो जीवनमा बढी नै प्रभाव पारेका छन् । यो जबर्जस्त प्रभावको आकृति कस्तो हुन्छ मैले देखेको छैन । कहिलेकाहीँ मेरो मानसपटलमा एउटा अस्पष्ट आकृति बन्ने र बिलाउने गर्छ ।
पुस्तक
प्राथमिक विद्यालयदेखि नै म पढ्नमा तेज थिएँ । शिक्षक र माथिल्लो कक्षाका विद्यार्थीहरूले मलाई गोर्खापत्र पढ्न लगाएर वा मेरी आमाले बाबालाई लेख्ने चिठीको बेहोरा बाँच्न लगाएर रमाइलो मान्थे । स्वस्ती श्री ६ श्री आगे तहाँ राज गरी बस्नुभएका श्रीमान् ज्यू …। म सानो हुँदा काँधमा चढाएर विद्यालय लैजाने/ल्याउने व्यक्तिले पछि मलाई आफ्नो स्वार्थको साधन बनाए । घरबाट मलाई उच्च शिक्षा पढ्न सहर जाने स्वीकृति दिइएन । मलाई पढ्नमा रुचि थियो तर घरमा खाना पकाउने, घाँस दाउरा खोज्न जंगल जाने बाली लगाउने वा थन्काउने जस्ता काम गरिराख्नुपथ्र्यो । netra-aacharaya
०४६ सालताका गोप्य पुस्तकालय स्थापना गरेका अग्रजहरूप्रति म दिलैदेखि नतमस्तक छु । मेरो लागि त्यस गाउँको एउटै आकर्षण थियो — त्यही पुस्तकालय । गाउँमा मुखिया, जिम्मवलहरूको दबदबा थियो । तिनले अत्याचार गरेको देख्दा कस्तो ठाउँमा जन्मिएछु भनेर मैले आफैँलाई धिक्कार्थें । पुस्तक पढ्ने बानी बसेको हुँदा गाउँबाहिर विशाल संसार छ जहाँ शिष्टता, सभ्यता र नियमकानुनको राज्य हुन्छ भन्ने थाहा थियो ।
गाउँको विद्यालयका मेरा अधिकांश शिक्षक र अधिकांश साथीसमेत अहिले मेरो स्मृतिमा छैनन् । कतिपय सम्बन्धहरू बालुवामा लेखिएका अक्षर जस्तै हावाको एकै झोक्काले मेटाइदिँदो रहेछ । अक्सर मानिसहरू खनिज तत्वको तहमा, कोही वनस्पतीको तहमा र कोही जनावरको तहमा जीवन बिताउँछन् । मानिस हुनुको गौरव र स्वतन्त्रता तिनीहरूले कहिल्यै बोध गर्न सक्दैनन् । जगजाहेर कुरा हो —‘नरो वै शिश्नोदर: प्रयाणा:,’ मानिसहरू यौन र उदरपूर्तिका लागि बाँच्छन् ।
पुस्तकालयका केही कुरा । त्यो प्रगतिशील साहित्य पुस्तकालय थियो । चेखब, गोर्की, संग्रौला, प्रश्रित, पारिजातका पुस्तकहरू पढ्दा एउटा आशलाग्दो भविष्यको मीठो कल्पना मनमा छाउँथ्यो । साहित्यका पुस्तकले लामै समय मलाई ऊर्जा दिए । पछि दर्शनका पुस्तकले ताने । अन्तत: अध्यात्मका ग्रन्थले उद्वेलित बनाए । यी चरण पार गरेपछि अहिले अर्कै मनोदशा छ । पुस्तकको उपयोगिताको एउटा सीमा हुँदोरहेछ । पुस्तकका पनि केही डिस्कन्टेन्ट हुँदारहेछन् । कैयौं मानिस ‘एडिक्ट’ भएका देख्छु । कतिपय पढन्तेहरू ‘एक्जस्टेड चिकन’ अर्थात् फूल पारेर थाकेको पोथीजस्तै उदासउदास देख्छु । तिनलाई वास्तविक दुनियाँभन्दा पुस्तककै दुनियाँ अधिक रोमाञ्चक लागिरहेको हुन्छ, त्यतै फर्कन एउटा खुट्टा उचालिराखेका जस्ता देखिन्छन् । कोही म जत्तिको विद्वान् क्वै छैन भनी गजक्क फुलेर बसेका हुन्छन् ।
अहिले पनि मेरो कोठामा पुस्तकहरूको ठूलै भण्डार छ । मान्छेहरू पुस्तकालय नै रहेछ भन्छन् । मलाई भित्रैदेखि थाहा छ अनन्त ज्ञानको सागरको तुलनामा मसाग भएका केही हजार पुस्तकहरू पानीको थोपा बराबर पनि छैनन्, छिटो बराबर पनि छैनन् ।
अचेल जबजब म कुनै पुस्तक पढ्न थाल्छु मैले खोजी र खोजकर्ताको बीचमा दूरी बढाएँ भन्ने लाग्छ । म स्वयं नै पुस्तक हुँ, म नै त्यहाँ लेखिएका हरफहरू हुँ, म नै त्यहाँ बताइएको लक्ष्य हुँ । यदि यसो हो भने मैले मलाई नै खोज्न पुस्तक पल्टाएर मूर्ख हुने उपक्रम बारम्बार किन गरिरहन्छु ?
कलम
‘तरबारभन्दा कलम बलियो’ भन्ने विषयको वादविवाद प्रतियोगिता हुँदा कलमको पक्षमा खुबै बहस गरेको सम्झन्छु । विश्वविद्यालयमा भने युद्धले मानिसका इन्सटिङ्क्ट अर्थात् अन्तरप्रवृत्ति जगाइदिन्छ जसमा शान्तिकालमा खिया लागेको हुन्छ भन्ने पढियो । नित्सेको शक्तिको आकांक्षा विषयमा थेसिस गर्दा मानिसका रचनात्मक र ध्वंसात्मक प्रवृत्तिहरूको बारेमा चर्को बहस गर्नुपरेको थियो । त्यही ताका माओवादीहरूले तरबारको बलले राज्यसत्तालाई झुक्न बाध्य बनाए । अमेरिकाले इराकका सहरहरू बमले उडाइदियो । कलम अधिक बलियो हुन्छ भनेर अझै कतिन्जेल म झूठो विश्वासमा बाँच्ने होला ?
कलम मेरो जीविकाको साधन हो । मेरा लागि कलम नै सर्वशक्तिमान छ । (मैले आजसम्म कुनै हतियार चलाउने अभ्यास गरेको छैन ।) मेरो नामबाट केही पुस्तकहरू र सैयौंको संख्यामा आलेखहरू प्रकाशित भएका छन् । तिनले मलाई पैसा र हल्का प्रसिद्धि पनि दिएका छन् । तर, ख्वै मेरा शक्तिशाली कलमहरू ? कलमले नलेखेको जुगौँ भइसक्यो । औँलाहरू काखे कम्प्युटरका कीहरूमा कति अभ्यस्त भइसकेका छन् भने कहिलेकाहीँ दिमागभन्दा छिटो चल्छन् । कुन अक्षर कहाँ छ भन्ने कुरा चेतन दिमागलाई भन्दा जड औँलाहरूलाई पहिल्यै थाहा हुन्छ ।
पत्नी
पुरुष भएको नाताले स्त्रीप्रति स्वाभाविक आकर्षण छ । नढाँटी भन्नुपर्दा अलिक अस्वाभाविक आकर्षण छ । यो मेरो सन्दर्भको कुरा हो । म जुन परिस्थिति र वातावरणमा हुर्कें त्यसले गर्दा यस्तो भएको हुनसक्छ । भाँडाकुटी वा गट्टा खेल्ने उमेरमा मैले र मेरी साथीले उसका बाबुआमा सम्भोग गरेको देख्थ्यौँ । एक दिन हामीले करेसाबारीमा सम्भोग गर्‍यौँ ।
आँगनमा भाँडाकुटी खेल्न छोडेर करेसाबारीमा गई झारमाथि सुतेर गरेको त्यो सम्भोग सम्झनामा कतिपल्ट दोहोर्‍याइयो हिसाब छैन । सोत्तर परेको चरीअमिलोको झार, पसिनाले निथ्रुक्क भएका, कसैले देख्ला कि भनी हतासिएका हामी दुई प्राणी । कस्तो मादक सम्झना † सम्भोग त आज पनि हुन्छन् तर त्यो बेलाको जस्तो कौतुहल छैन । उत्सुकता छैन । समर्पण छैन । छ त केवल लेनदेन छ ।
स्त्रीपुरुषबीचको आकर्षण स्वाभाविक आकर्षण हो भने किन यति गर्हित ?
‘कसैलाई माया गर्दा छोडी जान पाइन्न रे ।
उसकै लागि बाँच्नु पर्छ आफू भन्नै भ्याइन्न रे ।’

म उदेक मान्छु । प्लेटोले कतै लेखेका छन्–सृष्टिको आरम्भमा लोग्ने मानिस र स्वास्नी मानिसको शरीर एउटै थियो रे । दुई टाउका, चार हात, चार खुट्टा र दुवै लिंगीका यौनांग । सन्तान जन्माउनका लागि एक्लै समर्थ थियो रे त्यो प्रथम मानिस । चार हातगोडाले काम पनि धेरै र यात्रा पनि लामै गर्न सक्ने । स्वर्गका राजा जिउसलाई ईष्र्या भएछ । आफैँमा सर्वगुण सम्पन्न भएपछि मानिसले हाम्रो आदर गर्नेछ्रैन । मानिसलाई ठाउँमा ल्याउने मसाग एउटा उपाय छ । यति भन्दै उसले भयानक चट्याङ पार्‍यो । चट्याङले मानिसको शरीर ठीक बीचबाट चोइट्यायो । पुरुष एकातिर भयो स्त्री अर्कोतिर । त्यही बेलादेखि सम्भोगका लागि स्त्रीपुरुष एकआपसमा गाँसिनुपर्ने भयो । सम्भोगको आकर्षण त्यही आधा शरीरसँग पुन: जोडिने आकांक्षा हो रे । यो यति सहज क्रिया हो भने हामीले यसलाई किन सोसल ट्याबु बनायौँ ?
पुस्तक, कलम र पत्नी यी तीन कुराले मलाई सर्वाधिक प्रभावित पारेको खुलस्त बताएँ । बताएँ कि बताइनँ म दुविधामा छु । पुस्तक मेरा लागि बाबुआमा, साथीभाइ र शिक्षक पनि हुन् । कलम मेरो निम्ति जीविका पनि हो, तरबार पनि । पत्नी मेरानिम्ति बाल्यकालमा खेलेको त्यही लुकामारी सम्झाउने माध्यम हो । तर, मनको रित्तोपन न पुस्तकले भरेको छ, न कलमले न पत्नीले । मन भरिँदैन । यत्ति थाहा पाऊन् उफ् ! मलाई कति समय लाग्यो ?
My Article published in Sourya Daily (16 March 2013 in Sourya Daily)

जिब्रान जिन्दगी

प्रेमले तिमीलाई ताज पहिर्‍याउँछ,
शूली पनि चढाउँछ
प्रेमले तिम्रा सपनाहरू पूरा गरिदिन सक्छ,
बढारिदिन पनि सक्छ
प्रेमले प्रेमबाहेक न केही दिन्छ,
प्रेमले प्रेमबाहेक न केही लिन्छ ।

लेबनानको बशेरी अर्थात् स्याउका बगैंचा, किम्बुका लता र अंगुरका लहराहरूको सहर ।
उपत्यकाका गल्छी र खोंचहरू, छाँगा र छहराहरूको के बयान † प्रकृतिको सदाबहार रौनक । युवक खलिल जिब्रानले सुश्री हाला देहारलाई अंगुरका झुप्पाहरू लतक्क नुहेको कुनै बगैंचामा पहिलोपल्ट देखे । पहिलो नजरमै प्रेम बस्यो । कविहृदय † किम्बुजस्तै रसिली हालासित भरपूर रोमान्स गरेर पुगेन । आºनै बनाउन मन लाग्यो तर लेबनानीहरूको धर्मान्ध समाजले प्रेम पचाएन । खलिललाई पहिलो गाँँसमै ढुंगा लाग्यो !
हाला धनी परिवारकी छोरी । त्यसमाथि अरबी चलन–अनुसार सानैमा पादरीको भतिजासँग उनको बिहे तय गरिएको थियो । यद्यपि पहिला जे वाचा गरिएको भए पनि हालाका बाबु जिब्रानलाई छोरी दिन राजी भएका थिए तर त्यहाँको पादरीले हालासँगै आउने सम्पत्तिको लोभका कारण जिब्रानसँग बिहे हुन दिएन । जिब्रान आहत भए र ‘स्पिरिट रिबेलियस’ नामको पुस्तक लेखे । यो कृतिमा जिब्रानले लेबनानी उच्चवर्गीय समाजका कुरीतिहरू, धर्मान्धता र पादरीहरूको दबदबाप्रति तीखो आलोचना गरे । त्यसैले सत्ताधारीहरूले पछि उनीसँग चर्को बदला लिए । जिब्रानलाई चर्चबाट बहिस्कृत गरियो, देशबाट निकाला गरियो र ‘स्पिरिट रिबेलियस’ जलाइयो ।
जिब्रानका पिता भेडाबाख्रा हेर्ने गोठाला थिए । आºनो उत्तरदायित्वप्रति समेत उनी सचेत थिएनन् । एक दिन उनैले परिवारको आर्थिक भार सम्हाल्नुको साटो विपन्नतातिर धकेले तर आमा केमिला जिब्रानका लागि सबथोक थिइन् । ‘द अरबियन नाइट्स’ जस्ता विश्वविख्यात कथाहरू सुनाएर साहित्यप्रति बालक जिब्रानको रुचि जगाइदिएकी थिइन,् सानैमा हातमा ब्रस थमाइदिएर चित्रकलाप्रति चाख बढाइदिएकी थिइन् ।prophet-cover
जन्मभूमिका रमणीय प्राकृतिक छटाहरूले खलिल जिब्रानलाई सानैदेखि आकर्षित गरे । बाल्यकालदेखि नै उनी प्रकृतिप्रेमी, एकान्तप्रिय र विचारशील भएर हुर्किए । औपचारिक शिक्षार्जनमा उनको धेरै रुचि भएन । उनी त मानौं, जन्मजात निर्भीक थिए । जे मन लाग्छ, त्यही पढ्थे, जहाँ जान मन लाग्छ त्यहीँ पुग्थे । कहिले कुची समाएर क्यानभासमा रङ पोतिरहेका हुन्थे त कहिले गल्छी र खोंचहरूतिर बतासजस्तै त्यसै त्यसै बतासिएका हुन्थे ।
जिब्रान स्वदेशका विख्यात कवि र कलाकारहरूको अध्ययन एवं चित्र बनाउने कार्यमा जुटेका थिए । उनी सोच्थे, ‘हरेक मानिसमा कलाकार हुने सम्भावना भरपूर हुन्छ । एक बालकलाई सजिलै एउटा चराको चित्र कोर्न सिकाउन सकिन्छ, जसरी एउटा शब्द लेख्न सिकाउन सकिन्छ ।’ चित्रकला उनको रगतमा थियो सायद, उनका चित्रहरूले अभिव्यक्त गर्ने भाव शब्दले कहिल्यै संकेत गर्नसम्म सक्दैनथे ।
यसैबीच जिब्रानले अमेरिकामा प्यारी बहिनी सुल्तानाको क्षयरोगका कारण देहान्त भएको र दाजु सिकिस्त भएको खबर पाए । उनी अमेरिका हान्निए । त्यहाँ पुगेको केही महिनामै पिटरले संसारबाट बिदा लिए । दाजु बितेको तीन महिनापछि आमा केमिला परमधाम भइन् । बाल्यकालदेखि नै मन–मस्तिष्कमा सौन्दर्यचेतना भरिदिएकी आमा केमिलाको मृत्युले उनी आहत भए । क्षते: क्षारावसेचनम्, मानौं विधाताले आलो घाउमा नुनचुक छर्केको थियो । कवि विक्षिप्त जस्तै भए तापनि छिटै सम्हालिए ।
पीडा के हो ?, यो जिब्रानले जति कसले बुझे होलान् † जिब्रानमा एउटा ईष्र्यालाग्दो खुबी थियो; उनी शोकलाई शक्तिमा बदल्न सक्थे । उनले अनुभूति गरेका पीडाका ‘आह !’ हरू कालजयी दर्शनमा यसरी अभिव्यक्त भए :
–त्यो आवरण च्यातिनु नै पीडा हो जसले विवेकलाई ढाकिराखेको हुन्छ ।
–फलको बाहिरी बोक्रो फुटेपछि नरम गुदीले सूर्यको ताप सहन सक्नुपर्छ, त्यसैगरी तिमीले पनि पीडा सहन सक्नुपर्छ, पीडालाई बुझ्नुपर्छ ।
–पीडा तीतो औषधि हो । तिमीभित्रको वैद्यले यही औषधिद्वारा तिम्रो बिरामी अस्तित्वलाई स्वस्थ बनाउँछ ।
–दैनिक जीवनका आश्चर्यहरूप्रति चकित हुन सिक्यौ भने पीडा पनि खुशीभन्दा कम आश्चर्यपूर्ण हुनेछैन ।
–तिमी शोकको शिशिरलाई पनि शान्त भई हेर्नेछौ ।
–जसरी सुइरोले खोक्रो पारेको बाँस दिल बहलाउने बाँसुरी बन्छ, उसैगरी पीडा र प्रेमले आहत बनाएको हृदयबाट नि:सृत हुने हरेक उच्छ्वास कविता बन्छ, हरेक शब्द दर्शन बन्छ ।

विषादका यी दिनहरूमा जिब्रानले चित्र कोर्ने, पुस्तकका गाता डिजाइन गर्ने र छोटा निबन्धहरू लेख्ने काम गरे । ‘द प्रोफेट’ लाई सटीक बनाउन तल्लीन भए । पैसाको खाँचो परेको हुँदा एक फोटोग्राफर साथीको स्टुडियोमा चित्रकला प्रदर्शनी गरे तर विरलै मानिसहरू उनका चित्र हेर्न भेला भए । दु:खको कुरा, कसैले एउटै चित्रको मूल्यसमेत सोधेनन् । संयोगले ती थोरै मानिसमध्ये सुश्री मेरी ह्यास्केल नामकी युवती पनि थिइन् । उनी चित्रकला प्रदर्शनीको समय सकिनै लागेका बेला आइपुगेकी थिइन् । मेरीले भने जिब्रानका चित्रकलामा निकै रुचि लिइन् । जिब्रानका चित्रहरूमा विछट्ट सौन्दर्य र एक भिन्नै प्रकारको मिस्टिसिजम अर्थात् रहस्यवाद उनले फेला पारिन् । मेरीले जिब्रानलाई आºनो इन्स्टिच्युटमा प्रदर्शनी गर्ने बन्दोबस्त मिलाइदिइन् । दुबैबीच हेलमेल बढ्दै गयो, जुन अन्तत: जीवनभरिको गाढा प्रेममा परिणत भयो ।
यद्यपि मेरीसँग जिब्रानको प्लेटोनिक अर्थात् आदर्श प्रेम थियो । कमसेकम उनी यस्तै सोच्थे । यही कालखण्डमा अर्की एक युवतीसँग उनको सांसारिक प्रेम चल्दै थियो । ती युवती थिइन्, मेरीकै संस्थामा फ्रेन्च भाषा पढाउने शिक्षिका एमिली । प्रेम निरापद चल्दै थियो, यद्यपि जिब्रान बडो दुविधामा थिए । आर्थिक विपत्तिका बेला मेरीले आफूमाथि लगाएको गुन एकातिर छ, एमिलीसँगको प्रेमालाप अर्कातिर छ ।
कविहृदयका एक अरबियन जिब्रान न एमिलीसँग ढुक्कले प्रणयबन्धनमा बाँधिन सक्थे, न त जीवनले दिएको प्रेमोपहार अँगालोभरि स्वीकारेर बिलौना नै गर्न सक्थे । सायद, एमिलीप्रतिको प्रेम र मेरीप्रतिको कृतज्ञताको भाव सम्मिश्रित हुँदा उनमा दार्शनिक चेतना विकसित भयो ।
‘प्रेमको अँँगनबाट बाहिर निस्क र मौसमबिहीन संसारभित्र प्रवेश गर । त्यहाँ तिमी हाँस्नेछौ तर उन्मुक्त भएर हाँस्न सक्ने छैनौ । रुनेछौ तर धक फोरेर रुन सक्नेछैनौ ।’
दुई विपरीत विचारहरूलाई एकसाथ दिमागमा खेलाउन सक्नु र तत्क्षण साहित्य सृजना पनि गर्न सक्नु; यही प्रतिभाको लक्षण हो । जिब्रानले जसरी पीडाको अतल गहिराइ भोगेका थिए, त्यसैगरी शर्तरहित प्रेमको उचाइ अनुभूति गरेका थिए । प्रेममा पर्नु (फलिङ इन लभ) भनेको के हो धेरैलाई थाहा हुन्छ, प्रेममा माथि उठ्नु (राइजिङ इन लभ) कमैलाई बोध हुन्छ । यी दुबैको इयत्ता पत्तो पाएका जिब्रानजस्तै कुनै कविको हृदयको भंmकारबाट ‘द प्रोफेट’ जस्तो मर्मस्पर्शी कृति रचना हुन सक्थ्यो । यही कालखण्डमा उनको मास्टरपिस कृति ‘द प्रोफेटले’ आकार लिँदै थियो । यसैबीच मेरीले जिब्रानलाई आफैंले खर्च हालेर चित्रकला पढ्न पेरिस पठाइन् । मेरीप्रति आभारी हुँदै उनी पेरिस गए । अब एउटीको सद्भावमा बाँच्दै अर्कीसँग प्रेमालाप गर्नुपर्ने छैन भन्ने उनलाई आशा थियो । एक अरबी हृदय भएका कवि जिब्रान मेरीप्रति कृतघ्न हुन चाहँदैनथे, सकेसम्म एमिलीलाई भुल्न चाहन्थे तर विधिको विधान, कविलाई पछ्याउँदै एमिली फ्रान्स आइपुगी । भन्नै परोइन, कविको हृदय यज्ञको अग्निमा घिउ पग्लेजस्तै पग्लियो । एमिलीसँग प्रेमालाप पुन: सुचारु भयो । सबै कुराको बाबजुद प्रेम सघन हुँदै गयो । जिब्रानले संसार भुले र संसारसँगै मेरीलाई पनि भुले । जिब्रानले आँखा चिम्लेर एमिलीलाई अँगालोमा स्वागत गरे र उनीसँगै बस्न उत्सुक भए । जिब्रान चाहन्थे, एमिली उनकी प्रेमिकाको रूपमा रहून् तर एमिली कविसँग बिहे गरेर बस्न चाहन्थिन् । एमिलीले प्रेमिकाको रूपमा जिब्रानसँग बस्न अस्वीकार गरिन् । यसप्रकार जिब्रानको प्रेम फेरि एक पटक आहत भयो ।
फेरि एक पटक आहत हृदयबाट उच्छ्वासहरू निस्किए :
प्रेम न कसैको मालिक बन्छ, न त कसैलाई आफ्नो मालिक बनाउँछ ।
किनभने प्रेम प्रेममा नै सम्पूर्ण हुन्छ ।
प्रेमको बाटो सोझ्याउन सक्छु भनी नसोच, किनभने तिमीलाई योग्य सम्झन्छ भने प्रेमले तिम्रो मार्ग निर्धारण गर्नेछ ।
स्वयंलाई सम्पूर्ण बनाउनेभन्दा प्रेमको अर्को आकांक्षा हुँदैन ।

दुई वर्ष फ्रान्स बसेर आर्ट पढेपछि उनी पुन: अमेरिका फर्किए । यतिन्जेल उनी विख्यात कलाकार र रहस्यद्रष्टा भइसकेका थिए । उनका कृतिहरू धमाधम प्रकाशित भइरहेका थिए । देश–विदेशमा कलाप्रदर्शनी भइरहेका थिए । जिब्रान जीवनको त्यो उचाइमा थिए, जहँँ विरलै मानिस पुग्छन् । अब जिब्रानले जसको माया र मद्दतले यो ख्याति आर्जन गरेका थिए, ती युवती मेरीलाई गुनको पैंचो तिर्नु थियो ।
उनले मेरीसँग बिहेको प्रस्ताव राखे । मेरीले कविलाई धेरै माया गर्थिन् तर कविले बिहे गर्ने प्रस्ताव गरेपछि यो विषयमा धेरै सोचिन् र कुनै अज्ञात कारणले उनी जिब्रानसँग बिहे गरेर बस्न राजी भइनन् । घाइते मन लिएर जिब्रान ‘द प्रोफेट’लाई अन्तिम रूप दिन तल्लीन भए । यस कार्यमा मेरीले फेरि पनि सहयोग जारी राखिन् । अंग्रेजी भाषामा निस्कन लागेको यो कृतिको भाषासम्पादनमा मेरीले धेरै मद्दत गरिन् ।
‘द प्रोफेट’ बीसौं शताब्दीको सर्वाधिक बिक्री भएको पुस्तक हो । अमेरिकामा मात्र एक करोड बीस लाख प्रति बिक्री भएको तथ्याङ्क पाइन्छ । यो पुस्तकको बारेमा एउटा लोकोक्ति छ, जसले ‘द प्रोफेट’ पढ्न थाल्छ, उसले यो पुस्तक नजिकका आत्मीय सखा–सम्बन्धीलाई उपहारको रूपमा दिन चाहन्छ ।
जिब्रानका कृतिहरूमा पाइने एउटै रस छ, त्यो हो प्रेमरस । यद्यपि यो आजभोलि हामीले देखे–जानेको प्रेम होइन । यो त वास्तविक प्रेम हो, जसलाई अरबी भाषामा ‘मोहब्बत’ भनिन्छ ।
क्रिस्चियनहरू भन्छन्, हामी खलिल जिब्रानलाई सुनिरहन चाहन्छांै । जिब्रानले जिससलाई याद दिलाउँछन् ।
जोन एफ केनेडीले जिब्रानलाई उद्धरण गर्दै भने, ‘देशले तिमीलाई के दिनसक्छ भन्ने नसोध, देशलाई तिमी के दिन सक्छौ भनी सोध ।’
इन्दिरा गान्धीले आºना सन्तानहरू हुर्काउँदै गर्दा जिब्रानका शब्द दोहोर्‍याउँथिन्, ‘तिम्रा सन्तान तिम्रा होइनन् । तिमी तिनीहरूको शरीरलाई तिम्रो घरमा राख्न सक्छौ तर तिनको आत्मालाई होइन । तिनीहरूको आत्मा त भविष्यको गृहमा रहन्छ जहाँ तिमी सपनामा पनि पुग्न सक्दैनौ ।’
विख्यात गायनसमूह बिटल्सका गीतहरूमा जिब्रानका अमर वाणीहरू मुखरित भएका छन् । ओशो रजनीशले मन परेका पुस्तकहरूको चर्चा गर्ने क्रममा स्रोताहरूसँग क्षमा मागेका छन् । ‘द प्रोफेटलाई मैले पहिलो सत्रमै किन सम्झिनँ ?’ उनले आफैंप्रति आश्चर्य व्यक्त गरे । ‘द प्रोफेट’ आफूलाई अत्यन्त मनपर्ने कृति भए पनि यो फ्रेडरिक नित्सेको पुस्तक ‘दस स्पेक जराथुस्त्र’को प्रतिबिम्ब हो भन्ने रजनीशको बुझाइ थियो ।
निश्चय नै, जिब्रानले नित्से, इमर्सन, वाल्ट ह्विटम्यान र विलियम ब्लेकजस्ता अग्रजहरूका कृतिहरू गहनरूपले अध्ययन गरेका थिए । कसैले त उनलाई बीसौं शताब्दीका ब्लेक पनि भन्ने गर्छन् । जिब्रानले बाइबलको गहन अध्ययन गरेका थिए । उनको पुस्तकालयमा बाइबलका अनेकौं संस्करण संकलित छन् । यसबाहेक जिब्रानले बुद्धदर्शनको पनि अध्ययन गरेका थिए । यी सबैको भाव उनका लेखमा ध्वनित भएको हुन सक्छ, जुन स्वाभाविक हो ।
यद्यपि शैली, विषयवस्तु र प्रतीक चयनका दृष्टिले ‘द प्रोफेट’ आपैंmमा एक अद्वितीय कृति हो । नित्सेले शक्तिको आकांक्षालाई पुष्टि गर्न जोड गरेको देखिन्छ । बाइबल क्रिस्चियनहरूको ग्रन्थका रूपमा छ, ‘द प्रोफेट’ धर्म वा सम्प्रदायभन्दा परको कृति हो । यसमा देश, काल, परिस्थिति, जाति, धर्म र सम्प्रदायको गन्ध आउँदैन । ‘द प्रोफेट’ पढ्दा पाठक एक प्रकारको ट्रयान्सको अवस्थामा पुग्छ । मानौं, कुनै जादूगरले कुनै अज्ञात आनन्दलोकमा लगेको अनुभूति हुन्छ । जिब्रान आºनो समयका एभाँ गार्ड इन्टेलेक्च्युअल थिए । उनका हरेक कृतिले पाठकको हृदयलाई अपिल गर्छन् । सारमा, ‘द प्रोफेट’प्रति कसैले कुनै आक्षेप लगाउँछ भने त्यो उसैको अज्ञानता हो र बचाउ गर्न शब्द खर्च गर्नु मूर्खता ।
उनको प्रतिभा र करिस्मा अद्वितीय छ । मेरीले अकारण उनलाई आजीवन मद्दत गर्दै रहेकी थिइनन् । स्त्रीहरूले उनको जीवनमा महत्त्वपूर्ण भूमिका खेले । उनी गहन प्रेमी थिए । फेरि एक पटक जिब्रानले मेरीसँग बिहेको प्रस्ताव राखे । फेरि पनि मेरी राजी भइनन् । अमेरिकाको खानदानी परिवारकी मेरीलाई एक आप्रवासीसँग बिहे गर्दा आफन्त, समाज र काम गर्ने संस्थाबाट तिरस्कृत भइने डर थियो ।
यसपालि पनि जिब्रान आहत भए, यसपालि पनि उनले सुस्केरा हाले :
एक अर्कालाई हृदय समर्पण गर तर उसैलाई राख्न नदेऊ । सँगै बस तर ज्यादै नजिक नहोऊ । मन्दिरका खम्बाहरू फरक—फरक उभिएरै छतलाई धानेका हुन्छन् । एउटै रागमा तरंगित हुने वीणाका तारहरू पनि अलग–अगल बाँधिएका हुन्छन् ।
My Article published in Sourya Daily (6 April 2013)
Here is the link http://www.souryadaily.com/2013/04/65442.html

Monday, March 11, 2013



ध्यान र पुनर्ताजगी
— नेत्र आचार्य


अघिल्लो वर्षको आखिरीतिर आयोजित एउटा विपश्यना शिविरमा गुरु छोक्न्यी रिन्पोछेले भने, ‘बुद्धले संसारलाई दिएको सबभन्दा ठूलो देन विपश्यना ध्यान हो । बुद्धले आफ्नो कालखण्डमा ध्यानको यो प्राचीन पूर्वीय कलालाई पुनरुत्थान गरेका थिए । विपश्यनालाई एकपटक फेरि पुनरुत्थान गर्ने बेला आएको छ ।’ यतिखेर स्रोत साधन सम्पन्न विश्वविद्यालयहरूले ध्यानको प्रभाव र उपयोगितामाथि विभिन्न प्रयोग गर्न थालेका छन् ।

हार्वर्ड विश्वविद्यालयमा गरिएको पछिल्लो शोधले ध्यान गर्नेहरूमा मानसिक स्वास्थ्य, एकाग्रता र स्मरण शक्तिको विकास भएको तथा तिनीहरू तुलनात्मक रूपले सन्तुलित जीवन बाँच्ने गरको पाइएको छ । विपश्यना ध्यान साधकहरूमाथि गरिएको उक्त शोधबाट ध्यानीहरूको दिमागको आयतनसमेत बढाएको देखियो । हार्वर्ड मेडिकल स्कूलकी मनोविज्ञानवेत्ता तथा शोधको अगुवाइ गरेकी सारा लाजार भन्छिन्, संगीतकारहरूमा ध्यानले दिमागका संगीतसम्बन्धी तन्तुको आकार वृद्धि गरेको र जादूगरहरूमा तिनको दिमागका दृश्य नियन्त्रण गर्ने तन्तु सबल बनाएको देखियो । उनका अनुसार ध्यान दीर्घ यौवनका लागि समेत प्रभावी देखिएको छ । कैयौँ ध्यानीहरूको अनुभवबाट सिद्ध भइसकेको छ, नियमित ध्यानको अभ्यासले विचारमा स्पष्टता आउँछ, तनाव हराउँछ र प्रतिकूल परिस्थितिहरूमा अविचलित रहने सहनशीलता विकसित हुन्छ । तर आकांक्षाहरूको पछि दौडन सधैँ हतारो गर्नुपर्ने हुँदा मानिसलाई ध्यान गर्ने समय निकाल्न मुश्किल हुन्छ र ध्यानमा बसिहाले पनि मनको बेचैनीले गर्दा एकाग्र रहन र ध्यानलाई स्वभाव बनाउन कठिन हुन्छ । प्राचीन कालमा भने ध्यान मानिसको एउटा महत्वपूर्ण दैनिकी थियो ।

ध्यान प्रायः सबै धर्मको एक प्रमुख अङ्ग हो । हिन्दूहरू गायत्री मन्त्रजपबाट नित्य दैनिकी सुरु गर्छन् । बौद्धहरू प्रातः कालमा विपश्यना अभ्यास गर्छन् भने क्रिश्चियनहरू प्रार्थना गर्छन् । मुस्लिम मस्जिदमा नित्य मध्यान्हकालमा नमाज पढ्ने प्रार्थना गर्ने गरिन्छ । वर्तमान उत्तरआधुनिक कालखण्डमा जीवन जति जटिल हुँदै गएको छ उति नै फेरि एक पटक ध्यान मानव जीवनको दैनिकीको एक हिस्सा बन्दै गइरहेको छ । तनावबाट मुक्त हुन र मानसिक शान्ति अनुभूति गर्नका लागि भए पनि शहरियाहरू ध्यानमा बस्न थालेका छन् । ध्यानको महत्ता र उपयोगिता भने योभन्दा निकै बेशी छ ।

ध्यान त्यो कला हो जसले हामीलाई आफ्नै दिमागमाथि नियन्त्रण गर्न सिकाउँछ । अन्यथा हामी हरपल दिमागको दास भइरहेका हुन्छौँ, दिमागले हामीलाई काबूमा राखिरहेको हुन्छ । हामीले चाहे पनि, नचाहे पनि दिमागमा नानावली चाहिने नचाहिने विचार खेलिरहेका हुन्छन् । हामीले शान्त बस्न चाहँदा पनि दिमागले सोचिरहेको हुन्छ, विचारको प्रवाह एक क्षण पनि रोकिएको हुँदैन । कसैले सम्मान वा अपमान गरेको प्रसङ्ग आवश्यकताभन्दा बढी दिमागमा खेलिरहन्छ । दिमागमा आकांक्षा र अतृप्त चाहनाहरूको त हरदम बाढी नै प्रवाहित भइरहेको हुन्छ । यो कहिले घर पुग्छ, कहिले अफिस, कहिले पूरा गर्नुपर्ने डेडलाइनका बारेमा चिन्ता गरिरहेको हुन्छ, भने कहिले हाकिम खुशी होला कि नहोला भन्ने तर्कना गरिरहेको हुन्छ । दिमाग अक्सर विनाकाम यत्रतत्र भौँतारिइरहेको हुन्छ भने हामी गर्नुपर्ने मुख्य कामबाट विमुख भइरहेका हुन्छौँ । दिमागलाई जे देख्यो त्यही चाहिन्छ । तृष्णाहरू असीमित हुन्छन् तर तृप्ति सीमित । एकाध चाहना पूरा गर्नु माग्नेको पोल्टामा दुईचार सिक्का फ्याँकेजस्तै हुन्छ । आज माग्नेको जीवन धानिन्छ यद्यपि भोलि उसका दुख झन् बढ्छन् । दिमागको दास हुँदा हामी यही नियतिको शिकार हुन पुग्छौँ । काबूमा रहेको दिमाग मानिसका निम्ति स्वर्ग हो भने बेलगाम दिमाग नरक हो । बुद्धले भनेका थिए, संसार जित्ने मानिस बहादुर होइन, बहादुर त्यही हो जसले आफ्नो दिमागमाथि विजय प्राप्त गरेको हुन्छ । ध्यान साधनाद्वारा दिमागलाई काबूमा राख्न सकिन्छ ।

ध्यान एउटा मिहीन कला हो । ध्यान मस्तिष्कलाई विचारशून्य पार्नु होइन । बरु त्यहाँ खेल्ने विचारहरूलाई विना हस्तक्षेप अवलोकन गर्नु हो । क्रमशः नियमित अभ्यासबाट मस्तिष्कमा उठ्ने विचारका तरङ्गहरूलाई निगरानी र नियमन गर्ने क्षमता हासिल हुन्छ । ध्यानमा बस्दा कहीँ कतैबाट आवाज सुनियो भने त्यसलाई के रहेछ भनेर सोच्ने होइन, सुन्ने मात्रै । खुट्टा निदाउँछ भने त्यहाँ भइरहेको शारीरिक संवेदना अनुभव गर्ने मात्र । अथवा बाह्य कुनै कुराले ध्यान भङ्ग गरिरहेको छैन भने स्वासप्रश्वासमा ध्यान केन्द्रित गर्ने । क्रमशः वर्तमानमा होशपूर्वक रहने अभ्यास गर्ने र शून्यता अनुभूति गर्ने । यसबाट मस्तिष्कलाई पर्याप्त विश्राम प्राप्त हुन्छ र एकाग्रता पनि विकसित हुँदै जान्छ । एकाध घण्टाको नियमित अभ्यासले केही दिनमै मन–मस्तिष्कमा ताजगी आउँछ र ऊर्जा भरिन थाल्छ । नकारात्मक विचारहरू विलय हुँदै जान्छन् र सकारात्मक सोचहरू विकसित हुन थाल्छन् । जर्मन दार्शनिक शोपेनहावर भन्छन्, ‘तिम्रो मनको आनन्द तिम्रो गोजीमा के छ त्यसमा होइन, तिम्रो मस्तिष्कको संरचनामा निर्भर गर्छ ।’ ध्यान गरौँ र आफ्नो मस्तिष्कलाई समृद्ध बनाऔँ ।
नोट : केही वर्ष पहिलाको आलेख ।



ब्रह्मा र देवदूत संवाद

-नेत्र आचार्य
Netra-Acharyaब्रह्माले भर्खरै नदी, जंगल, खेत, पहाड र हिमालहरूको सृष्टि गरेका थिए । आकाशबाट तलतिर नियाल्दै ब्रह्मा बूढा आफैँ मुग्ध भए, ‘आहा † कस्तो सुन्दर धर्ती † चन्द्रमाको मुस्कान, गुलाफको सुगन्ध र महको माधुर्य । वीरभोग्या बसुन्धरा, साहसीहरूले भोग्नलायक धर्तीमा जीवन बिताउने प्राणी पो कस्तो बनाउँm ?’
ब्रह्माले हीरा, मोती, पन्ना, सुन, चाँदीहरू पगाले । हरेक धातुको घोललाई मानिसको आकारमा उभ्याए । तर, कुन्नि किन हो ब्रह्मालाई उपयुक्त लागेन । अनेक प्रयोग गर्दागर्दा धेरै ढिलो भइसकेको थियो । आखिरमा उनको मस्तिष्कमा अपूर्व विचार फुर्‍यो । उनले शुद्ध माटोको एउटा मूर्ति बनाए र त्यसैमा प्राण फुकिदिए ।
त्यसैबेला एक देवदूत आइपुग्यो । विधाताको यो अनौठो रचना देखेर आश्चर्यचकित हुँदै सोध्यो, ‘तपाईंले यो के बनाउनुभयो ?’
ब्रह्माले आफ्नो कलाकारितामा गर्व गर्दै भने, ‘यसको नाम जीवन हो । मेरो सर्वश्रेष्ठ कृति ।’
‘क्षमा गर्नुहोला विधाता † तर, यसको शरीर माटोले किन बनाइदिनुभएको ? माटो त तुच्छभन्दा तुच्छ, जडभन्दा जड वस्तु हो । माटो नलिएर कुनै धातु लिएको भए हुन्थ्यो नि । हीरामोती वा सुनले नै बनाएको भए पनि उत्तम हुन्थ्यो,’ देवदूतले किञ्चित् आश्चर्य मान्दै सोध्यो ।
देवदूतको स्वाभाविक जिज्ञासा सुनेर ब्रह्मा बूढाको ओठमा एउटा मोहक मुस्कान दौड्यो । उनले भने, ‘बन्धु, यही हो जीवनको रहस्य । माटोको शरीरमा मैले सृष्टिको सारा सुख, सौन्दर्य र वैभव भरिदिएँ । जडमा आनन्दको चैतन्य फुकिदिएँ । मानिसले शरीरको जस्तो चाहन्छ उस्तै उपयोग गर्न सक्छ । शरीरलाई महत्त्व दिनेले माटोको जस्तै जडता भोग्नेछ, शरीरभन्दा माथि उठ्नेलाई आनन्दका तहतह अनुभूति हुनेछ । मैले सबै कुरा क्षणिक बनाइदिएको छु ताकि जीवनको हरक्षण मूल्यवान् होस् । हरक्षण सजगतामा रहन जरुरी होस् । ढोकाको पाटो सर्केझैँ बिछ्यौनामा कोल्टे फेर्दै सुतिराख्ने अल्छीहरूले उति नै जीवन गुमाउनेछन् ।’
देवदूतको चित्त बुझेको थिएन । किञ्चित् शंका गर्दै देवदूतले भने, ‘तपाईंले भनेजस्तो जीवनको उच्चतम आनन्द कुनै सर्वश्रेष्ठ धातुको चहकिलो शरीरमा भरिदिन सकिँदैनथ्यो ? सुनमा सुगन्ध हुनेथियो ।’
‘अहँ, सुनमा सुगन्ध हुनै सक्दैन । सुगन्ध त माटोमा मात्र सम्भव छ । यही कारणले त सृष्टि अद्भूत रहस्यमय बनेको छ † तिमी माटोका अवगुण मात्रै देख्छौ । गुणहरू देख्दैनौ । माटोमा अद्भूत उत्पादकत्व हुन्छ । माटोमै अंकुर पलाउँछन् । माटोले बनेको शरीरको विशिष्ट उपयोगिता छ । मानिसले शरीरको बाहिरी रूपरंगलाई सिँगार्दै बस्न पनि सक्छन्, भित्री सौन्दर्य फेला पारेर त्यसमा रमाउन पनि । चेतनाको गहिराइमा अनुभूति हुने आनन्दका क्षणमा मैले सृष्टि रचना गरेको हुँ । तिमीले उपनिषद्मा पढ्यौ होला— आनन्दादेव खल्विमानि भूतानि जायन्ते ।’
‘हो, पढेको थिएँ । आनन्दबाटै सृष्टि हुन्छ, आनन्दमै चलिराख्छ र आनन्दमै विलय हुन्छ । सायद यही कुरा बुझेर श्री अरविन्दले भनेका छन्, आनन्द नै रहस्य हो । परम आनन्द अनुभूति गर्न सिक्यौ भने तिमीले सृष्टिकर्तालाई देख्नेछौ ।’
देवदूतलाई कौतूहल लाग्दै थियो । उनले सोधे, ‘परम आनन्द कसरी अनुभूति हुन सक्छ ?’
ब्रह्माले एकछिन आँखा बन्द गरे । लामो श्वास लिए र देवदूतलाई सम्झाउन थाले, ‘सिर्जनशील काम गर्नेलाई काममै आनन्द अनुभूति हुन्छ । ध्वंसात्मक र विनाशकारी काम गर्नेलाई अपराधबोध र ग्लानि हुन्छ । कर्मको फल शरीरमा तत्काल देखापर्छ । पाप गर्नेको मन जलिरहेको हुन्छ, कताबाट पापको पोल फुस्केला भन्ने चिन्ता हुन्छ । भलो गर्नेको मन प्रशन्न हुन्छ । मानिसले स्वविवेकको प्रयोग गर्न सक्छ । कुन काम गर्ने, कुन नगर्ने भन्ने छनोट गर्न पाउँछ । चित्तनदी नामो उभयतो बाहिनी, पुण्याय च बहति, पापाय च । चित्त नामको नदी दुवैतिर बग्न सक्छ, पुण्य कर्मतिर बग्न पनि सक्छ, पापतिर ओरालो लाग्न पनि सक्छ । मैले जानीजानी मानिसको मनको स्वभाव चञ्चल बनाइदिएको छु । ताकि मानिस हरपल सजग रहोस् । अलिकति बेहोसी भएमा मानिसको मन पापतिर बग्न थालिहाल्छ । पछुतो र दु:ख भोग्न नपरोस् भनेर मानिस हमेसा वर्तमान क्षणमा होसपूर्वक बाँच्नुपर्छ, यही नै जिउने कला हो । विगतको चिन्ता र भविष्यको कल्पनामा रुमल्लिने र कुन बेला के गर्दै छु भन्ने होस नहुनेले दु:ख नपाए कसले पाउँछ त †’
सृष्टिकर्ता ब्रह्माको चातुर्य देखेर देवदूत प्रभावित भयो । बोलीमा केही श्रद्धाभाव ल्याएर उसले अर्को शंका व्यक्त गर्‍यो, ‘तपाईंले धेरै विचार पुर्‍याएर मानिस रच्नुभएछ । तर, मानिसले जीवनको गहन रहस्य बुझ्ला भन्ने लाग्दैन । मैले धेरै समानान्तर ब्रह्माण्डको भ्रमण गरेको छु । अन्य ग्रहका मानिसको स्वभाव कहाँसम्म देखेँ भने भौतिक शरीरबाट प्राप्त हुने सुखलाई नै मुक्ति भन्ठान्छन् । एउटा ग्रहको महाकविले भन्थ्यो, ‘सुन्दर युवतीहरूलाई पेन्टी र ब्राबाट मुक्त गरेपछि मात्र पुरुषलाई मोक्षको आनन्द प्राप्त हुन्छ ।’
देवदूतको कुरा सुनेर ब्रह्मालाई खेद भयो । ‘यौनको मामलामा मानिस र चौपाया उस्तै छन् । बरु पशु एक ऋतुमा मात्र सम्भोग गर्छन् । सम्भोगमा चेतनाको आनन्दको एक झलक मात्र प्राप्त हुने हो । त्यही एक झलकमा सन्तुष्ट हुन्छन् भने मेरो के लाग्छ । शरीर त उपहार हो । उपहारको प्याकेट खोलेर भित्र हेर्नेले चेतनाको अद्भुत आनन्द पाउँछन्, केवल खोल चाटिराख्नेलाई यही बानी पर्छ । नयाँनयाँ खोल चाहिन्छ । यज्ञकुण्डमा जति हवन गरे पनि आगोको ज्वाला शान्त हुँदैन ।’
ब्रह्मालाई हल्का विरक्ति लाग्यो । यद्यपि संयमित हुँदै भने, ‘म एक छिन ध्यानमा बस्छु । तिमी पृथ्वीको भ्रमण गरेर आऊ । एक चक्कर लगाएपछि यहीँ आउनु र मेरो सम्पूर्ण सृष्टि तिमीलाई कस्तो लाग्यो, बताउनू ।’
पृथ्वीको भ्रमण पूरा गरेर फर्केपछि देवदूतले ब्रह्मालाई दण्डवत् गरेर भने, ‘प्रभो, पदेपदे यत् नवतां उपैति तदेव रूपं रमणीयताया । म जहाँजहाँ पुगेँ त्यहाँ पाइलापाइलामा सौन्दर्य देखेँ, कणकणमा भगवान् देखेँ र प्रत्येक श्वासमा आनन्द अनुभूति गरेँ । एकाबिहानै सूर्य होली खेलेर निस्कँदो रहेछ र हिमाललाई रङ छेपेर राताम्मे बनाइदिँदोरहेछ । बर्खाको हिलो राम्रो, शरदको चाँदनी राम्रो, वसन्तका पालुवा राम्रा …।’
‘धर्तीको सुगन्धै बेग्लै । घामले गर्दा दिन उज्याला, ताराले गर्दा रात रमाइला । पारखी आँखामा त सर्वत्र सौन्दर्य देखिँदो रहेछ । घाम डुबेपछि सन्ध्या पृथ्वीमा ओर्लन्छे । कसैलाई पर्खेर बसेकी सन्ध्याको मनभरी अनुराग सल्बलाइरहेको हुन्छ । ठीक त्यतिबेलै, जून उदाएर उसलाई यस्तरी चुम्बन गर्छ उसले आफ्नो निष्पट्ट अँध्यारो सारी सर्लक्क खसेको पत्तै पाउँदिन ।’
मीठामीठा फल खाएको सम्झँदै देवदूतले अगाडि भने, ‘सृष्टिका फलहरू सुस्वादु र अमृततुल्य रहेछन् । तर, आँपको मीठो फलमा त्यति ठूलो कोया किन राख्नुभएको ? अनि, स्त्रीका स्तनमा कोया नै नराखिदिनुभएको । सुन्दरीहरूका स्तन लत्रिएपछि सौन्दर्य पनि खस्कँदोरहेछ ।’
मैले धेरै अनौठा दृश्य देखेँ । कुनै बस्तीमा घुम्दै थिएँ । एक ठाउँमा एउटा लहरामा विशाल फर्सी फलेको देखेँ । एमानको फर्सीले थाँक्रोबाट लहरालाई नै चोइटाइदिएको थियो । मैले सोचेँ, यो फर्सीले आफैँले धान्न नसक्ने फल किन फलाएको होला ? मैले त केही बुझ्न सकिनँ ।’
‘हेर्नुस् न, कति ठाउँमा त आपत् आइलाग्यो । एक ठाउँमा थकाइ मार्न ओखरको रूखमुनि बसेको थिएँ । अचानक ओखर खसेर टाउकोमै लाग्यो’ देवदूतले टाउकोमा टुटिल्को देखाउँदै भने ।
ब्रह्माले देवदूतको टाउको सुम्सुम्याउँदै भने, ‘देवदूत, त्यो ओखरको विशाल वृक्षमा फर्सीजत्रै फल लागेका हुन्थे भने †’
‘मेरो टाउको त रोटी पर्ने थियो नि ।’
ब्रह्माले शान्त हुँदै भने, ‘सृष्टिको रहस्य यही हो । ओखरको विशाल वृक्षमा सस्याना फल लाग्छन् । फर्सीको मसिनो लहरामा विशाल फर्सी फल्छन् । जहाँ जे देख्छौ त्यसको पछाडि कारण हुन्छ । कार्यकारण सम्बन्धबाटै सृष्टि चलिरहन्छ । हरेक व्यक्ति, वस्तु र घटना रहस्यमय हुन्छन् । तिनलाई यथाभूत स्वीकार गर्नु र आफ्नो आवश्यकता र क्षमताअनुसार उपयोग गर्नु बुद्धिमानी हो । जुन दिन जहाँतहाँ व्यर्थमा नाक रगड्ने बानी छुट्छ, त्यही दिन मानिस मुक्त हुन्छ– ‘स्वीकार मात्रै गर एक बार संसार तिम्रै अनि बार बार ।’
Published in Sourya Daily 9 March 2013 
http://www.souryadaily.com/2013/03/61235.html


शिक्षा, योग र अनुशासन


नेत्र आचार्य


सहरमा उच्च शिक्षा पढ्दै गरेको एक विद्यार्थी कृषि र पशुपालनको अवस्था हेर्न कुनै गाउँमा गएको रहेछ। एक ठाउँमा कोल हालेर तोरी पेल्ने काम भइरहेको थियो। गोरुहरुले कोल घुमाउँदै थिए, किसान भने छेउतिर सियाँलमा निदाइरहेको थियो। किसान बिउँझेपछि विद्यार्थीले सोधेछ, 'तपाईँ निदाएपछि गोरु घुम्न छोडे भने यति धेरै तोरी कसरी पेलिएला।' 'म निदाए पनि गोरु घुमिरहन्छन्' किसानले ढुक्क हुँदै भनेछ। 'कसैगरी गोरु अडिए भने तपार्इँले कसरी थाहा पाउनुहुन्छ?' विद्यार्थीले जिज्ञासा राखेछ। 'मैले गोरुको घाँटीमा घण्टी झुण्ड्याइदिएको छु। गोरु घुमिरहेमात्र घण्टी बजिरहन्छन्, घण्टी बज्न छोडेको मैले निदाएकै बेला पनि थाहा पाइहाल्छु,' किसानले भनेछ।
'मानौँ, तपाईँ निदाएका बेला गोरु अडिएर टाउको हल्लाइरहे भने घण्टी त बजिरहेको हुन्छ, कोल भने घुमिरहेको हुँदैन नि' विद्यार्थीले फेरि तर्क गरेछ। 'मेरा गोरुहरु तिमीजस्ता 'शिक्षित' छैनन्' किसानले अब भने धेरै बहस नगर्ने विचारले भनेछ।
शिक्षित हुनुको अर्थ दिमाग लडाउन सक्नु, तर्कशील हुनु वा हरहालतमा आफ्नो दुनो सोझ्याउन सक्षम बन्नुमात्रै होइन। समाज, पर्यावरण र मानवीयताप्रति संवेदनशीलता छैन भने विवेकशील प्राणी हुँ भन्ने गर्व गर्न मानिसले लाज माने हुन्छ। उत्तरआधुनिक मानिसले लाज मान्नुपर्ने अरु पनि विषयवस्तु छन्। 

महाकवि देवकोटाले गधा बुद्धिमान् हो कि गुरु, निश्चय गर्न सकेका थिएनन्। धेरै पढेका गुरु बुद्धिमान् भनूँ भने तिनको व्यवहारमा विवेकको नामोनिशान देखिँदैनथ्यो, आफैँले सिकाउने अनुशासन स्वयंले पालन गर्दैनथे। कहिल्यै बाटो नछोड्ने गधालाई बुद्धिमान् भनुँ भने शिक्षादीक्षा छैन। मानिसको मन-मस्तिष्कबाट अनुशासन कहाँ गायब भयो होला, कसरी हरायो होला, कहाँ फेला पार्न सकिएला। वर्तमानमा जस्तो अनुशासनको खडेरी पहिला यस ग्रहमा सायद कहिल्यै परेको थिएन।
माघको अन्त्यतिर बेंगलोरमा सम्पन्न अन्तर्राष्ट्रिय योग तथा नेचुरोप्याथी सम्मेलनमा हराएको अनुशासनलाई सर्वत्र खोज्ने चेष्टा गरियो। 'अथ योगानुशासनम्, योग भनेको अनुशासन हो, क्षणक्षणमा बदलिने, भाग्ने, आलसी र उट्पट्याङ मनलाई अनुशासनमा राख्नु योगको पहिलो र अन्तिम लक्ष्य हो' प्रसिद्ध योग गुरु बीकेएस आयंगरले भने।
अनुशासन बाहिरबाट थोपरिने वस्तु होइन, मानिसको अन्तर्मनबाट निसृत हुने बोध हो। वर्तमान मानिस बिमारी छ : विजातीय पदार्थ अर्थात् टक्सिनयुक्त खानपानको प्रभावले मानव शरीरका भित्री र बाहिरी अवयवहरु मक्किएका छन्, चौबीसै घण्टा काम गरिरहने प्रणाली अस्वस्थ भएका छन्। यस स्थितिलाई हृदयंगम गरी शारीरिक स्वाास्थ्य पुनर्प्राप्तिका लागि योगासनको अभ्यास हुन थालेको छ। यथोचित योगाभ्यासले निश्चय नै शारीरिक स्वास्थ्य पाउन सकिन्छ। त्यसैले शारीरिक स्वास्थ्यका लागि योगाभ्यासको प्रचलन आम भइसकेको छ। तर, योगाभ्यास शारीरिक स्वास्थ्यका लागि मात्रै होइन। शारीरिक, मानसिक र चेतनाको तहमा मानिसलाई स्वस्थ, दीर्घजीवी र अनुशासित बनाउनु योगको बृहत्तर आयाम हो। यिनै आयामको परिचय दिँदै योग गुरु आयंगरले भने, 'शरीरलाई रोगमुक्त पार्नु, मनलाई शान्त पार्नु, जीवनलाई सुखी बनाउनु र समग्र अस्तित्वसँग सौहार्दता कायम राख्न सिकाउनु योगको लक्ष्य हो।' 

कुए में भाङ डाल दी सभ्यता ने आज, देखें कहाँ पे जाकर ठहरता है आदमी। उपभोगवादी संस्कृतिको हुरी र महत्वाकांक्षाको ज्वारभाटाले मानिसलाई लतार्दै, घिस्याउँदै कतै निर्जन, एकलास ठाउँतिर लगिरहेको छ। आजभोलिको कामकाजी सहरी सभ्यतामा मानिस दिनभर कम्प्युटरको अगाडि बसिरहन बाध्य छ। उसको शरीर स्थिरप्रायः रहन्छ। मन भने जंगलको बाँदरजस्तै यत्रतत्र भागिरहेको हुन्छ। मन न स्थिर छ, न मौन। एक घण्टाभित्र मनमा खेलिरहेका विचार र भागिरहेका ठाउँहरु जस्ताको तस्तै लेख्ने हो भने हरेक मानिस पागल हुन्छ। हामी जहाँ छौँ, त्यहाँ स्थिर छैनौँ, जे गरिरहेका छौँ त्यसमा सन्तुष्ट छैनौँ र त्यस काममा मन लगाउँदैनौँ। कहीँ अन्यत्र सुखसुविस्ता, आराम र चैन होला भन्ने बुझ्नै नसकिने हुटहुटी हरदम हाम्रो मनमा खेलिरहन्छ। 

मनको यही अस्थिरताका कारण मानिसमा दृष्टिदोष पैदा हुन्छ। हामी औषधि खाएर रोग निको पार्न चाहन्छौँ, धेरै खानपान गरेर सन्तुष्टि लिन चाहन्छौँ, सूचनाहरु पढेर विद्वान् हुन चाहन्छौँ र अर्थोपार्जन गरेर सुख वा शान्ति प्राप्त गर्न चाहन्छौँ। तर, गहिरिएर हेर्दा दैनिक जीवनमा यस्तो परिणाम कदाचित् सम्भव देखिँदैन। 

दबाइले रोग दबाउँछ। रोग निको पार्न योगाभ्यास, सात्विक भोजन, प्राकृतिक चिकित्सा आवश्यक छ। धेरै खाएर शक्ति या सन्तुष्टि प्राप्त हुँदैन। यथोचित पाचन, पोषण एव अवशोषणद्वारा मात्र शक्ति या आनन्द प्राप्त हुन्छ। पुस्तक वा पत्रपत्रिकाबाट केवल सूचना प्राप्त हुन्छ, ज्ञान प्राप्तिका लागि त चिन्तन, मनन र व्यवहारमा त्यसको अभ्यास आवश्यक हुन्छ। बैंक ब्यालेन्स बढ्यो भने बाहिरी सुख एवं सामान बढ्छन्। वास्तविक चैन, सुख, शान्ति र आनन्द त सामाजिक एवं वैश्विक महत्वका विषयमा तल्लीनताद्वारा बढ्छन्। धनात् धर्म ततः सुखम्, अर्थात् अर्थोपार्जनबाट परोपकार एवं सेवामूलक कार्य गर्न सकिन्छ तब मात्र वास्तविक सुखानुभूति हुन्छ। अन्तर्राष्ट्रिय योग तथा नेचुरोप्याथी सम्मेलनले पूर्वीय जीवनपद्धतिको पुनर्जागरणको सन्देश दियो। उक्त प्रथम अन्तर्राष्ट्रिय योग तथा नेचुरोप्याथी सम्मेलनमा नेपालबाट ५२ जना योगप्रेमीहरुको समूह सहभागी थियो। माघ २६ देखि फागुन १ सम्म चलेको सम्मेलनमा ५२ देशका पाँच हजार प्रतिनिधि सहभागी थिए। 

कर्नाटक राज्य सरकारको मुख्य आयोजना रहेको उक्त सम्मेलनले 'सम्पूर्ण स्वास्थ्यका लागि योग र नेचुरोप्याथी' मूल प्रतिपाद्य विषय तय गरेको थियो। योगासन च्याम्पिएनसिप, अमृत भोजन मेला, योगको दार्शनिक एवं स्वास्थ्य महत्वबारे विश्वभरिका विद्वान् एवं अनुसन्धाताद्वारा कार्यपत्र प्रस्तुति सम्मेलनका आकर्षण रहे। योगासन, प्राणायाम, विश्राम र ध्यानले मानिसको शारीरिक, मानसिक, भावनात्मक, सामाजिक र आध्यात्मिक स्वास्थ्य कायम गर्छन्। वैज्ञानिक खोजअनुसन्धानबाट यी तथ्य पुष्टि भएपछि योग वैकल्पिक मनोशारीरिक उपचार पद्धतिका रुपमा स्थापित हुँदै गएको छ। नेचुरोप्याथी औषधिको प्रयोगरहित प्राकृतिक उपचार पद्धति हो। माटो, पानी, हावा, ताप र उपवास एवं जीवनशैली परिवर्तनबाट गरिने पार्श्वप्रभावरहित उपचार शैलीप्रति आकर्षण बढ्दै गएको वर्तमान समयमा यस सम्मेलनले वास्तविक स्वास्थ्यप्रति जागरुकता थपेको छ।

सम्मेलन योग र नेचुरोपेथीसम्बन्धी व्यापक अनुसन्धान, प्रवर्द्धन एवं सेवा-विस्तारमा सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गर्‍यो। विश्वभरिका स्वास्थ्य व्यवसायी, अनुसन्धाता, प्राज्ञिक, नीतिनिर्माता, सन्त एवं स्वास्थ्यप्रेमी र विद्यार्थीको निम्ति महत्वपूर्ण प्लेटफर्म बन्यो। भारत सरकारले योग, होमियोपेथी, नेचुरोपेथीलगायत सम्पूर्ण पूर्वीय चिकित्सा पद्धतिहरुलाई आयुष विभागअन्तर्गत प्याकेजकै रुपमा विकसित गर्न चाहेको रहेछ। नेपालमा भने योग तथा नेचुरोपेथीलाई चिकित्सा पद्धतिका रुपमा मान्यता दिनेबाहेक सरकारले थप कुनै चासो दिएको छैन। भारतमा महात्मा गान्धीका पालादेखि योग र नेचुरोपेथीलाई अँगालिएको थियो। गान्धी स्वयंले यी विधालाई राष्ट्रिय महत्व दिएका थिए। नेपालमा भने पर्याप्त दक्ष जनशक्तिको अभावका कारण पनि यी विधा छायाँमा परिरहेका छन्। कालक्रमसँगै पूर्णतया हानिरहित, पार्श्वप्रभावरहित एवं किफायती उपचार पद्धति योग र नेचुरोपेथीप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएकाले नेपालबाट बर्सेनि भारतका विभिन्न ठाउँमा यी विषयमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीको संख्या बढिरहेको छ। बेंगलोरको एसडीएम कलेज अफ नेचुरोपेथीमा मात्रै १४ नेपाली विद्यार्थी यतिखेर ब्याच्लर इन योगिक एन्ड नेचुरोपेथी साइन्सेज विषयमा अध्ययन गरिरहेका रहेछन्। दक्ष जनशक्ति तयार भएपछि निश्चय नै हाम्रो देशमा पनि यी विधाको प्रचार हुनेछ। त्यस्तै विशाल सम्मेलनहरु नेपालमा पनि आयोजना हुन सक्लान्।
नागरिक दैनिकमा प्रकाशित MONDAY, 27 FEBRUARY 2012  
http://archives.nagariknews.com/2011/opinions/98-opinion/37344-2012-02-27-04-54-04.html

Monday, January 21, 2013

दमन, दान र दया
नेत्र आचार्य
Netra Acharya



प्रजापति ब्रह्मालाई आफ्ना सन्तानमध्ये देवता असल हुन् भन्ने लागेको थियो । कुरा गुलिया गर्ने तर व्यवहार कप्टी भएपछि के लाग्यो । वृन्दा, दधीचि र विश्वामित्रमाथि देवताले घोर अन्याय गरे । देवताहरू अमृत टन्न पिउँछन् र अप्सरासँग मस्ती गरेर कमाएको पुण्य सक्छन् । मानिसको चालामाला पनि ठीक छैन । बाँचुन्जेल मान्छेहरूको मनमा लोभ भरिएको हुन्छ । अर्काको धन लुट्न र अर्काकी स्त्री बिटुल्याउन यिनीहरूको चित्त चञ्चल भइरहन्छ । मरेपछि पशुको योनीमा जन्म लिन पुग्छन् । असुरहरू त झन् मापाका निस्के । निर्बलियाहरूलाई पछिल्तिरबाट धकेलेर लडाइदिन्छन् । कोही गरिब ऋषि जंगलमा बसेर तपस्या गर्न लागेको छ भने त्यसलाई सताउँछन् ।

स्वर्ग, मत्र्य र पाताल तीनवटा सुन्दर लोकको सृष्टि गरेर पनि ब्रह्मालाई सन्तोष भइरहेको थिएन । सन्तानहरू कुबाटोमा लागेकाले ब्रह्मा बूढाको मनमा खेद भरिएको थियो । एक दिन बूढाले तिनै सन्तानलाई बोलाए र भने, ‘बाबु हो † सन्तान भएपछि सुख हुन्छ भन्थे, खै मलाई त तिमीहरूबाट एक रत्ति सुख भएन । आकाशगंगाका अरू छिमेकीहरू हाम्रा तीन लोकको बेथिति र भाँडभैलो देखेर खिस्सी उडाउँछन् । अब म तिमीहरूलाई अंशबन्डा गरिदिन्छु र तपस्या गर्न जान्छु ।
बूढा सुर्ताएको देखेर देवता, मानिस र असुरहरू चिन्तित हुँदै भने, ‘पिताजी, कृपया आजै हामीलाई छोडेर कतै नजानुहोस् । हामी त बेसाहारा हुन्छौँ । झन् भाँडभैलो हुनेछ । बरु, हामीलाई एकपटक क्षमा गर्नुहोस् र अब आइन्दा के गर्नुपर्छ उपदेश दिनुहोस् ।’

ब्रह्माजीलाई सन्तानहरू आफ्ना सामु नतमस्तक भएको देखेर सन्तोष भयो । यद्यपि उपदेश दिएर मात्र के गर्नु, सुन्ने पात्रता तिनमा थिएन । ब्रह्माले भने, ‘ल ठीकै छ, तिमीहरू सुध्रन्छौ कि म एकपटक चेष्टा गरिहेर्छु । तर, यतिखेर भोगको तिर्सना, लोभी चित्त र बलको घमन्डले गर्दा तिमीहरूको बुद्धि भ्रष्ट भएको छ । दूषित भाँडोमा शुद्ध वस्तु राख्दा पनि दूषित नै हुन्छ । अत: पहिला एक वर्षसम्म यम, नियम र ब्रह्मचर्यको अभ्यास गरेर चित्त शुद्ध बनाऊ तब मात्र म उपदेश दिनेछु ।’ पिताजीको आज्ञा शिरोपर गरी तिनीहरू चित्त शुद्ध बनाउन तपस्या गर्न गए ।

एक वर्षपछि जब देवताहरू आइपुगे, ब्रह्माजीले उपदेश दिँदै भन्नुभयो— द । एकाक्षरी उपदेश सुनेपछि देवताहरू पहिला त अलमलिए, पछि उपदेश बुझेजस्तो गरी मुसुक्क हाँसे । ‘तिमीहरूले के बुझ्यौ ?’ ब्रह्माले सोधे । ‘पक्कै पनि इन्द्रियहरूको दमन गर भन्नुभएको हो’ देवताहरूले भने । ‘यथाशक्य दान गर, धेरै लोभ नगर भन्नुभएको हो’ मानिसहरूले यस्तो बुझेको बताए । ‘सायद, बलको घमण्ड नगर, सबै प्राणीप्रति दया गर भन्नुभएको हो’ असुरहरूले सुझाए । आखिरमा ब्रह्माले भने, ‘जसले जसरी बुझेको छ, उसैगरी उपदेशको पालना गर, तिमीहरूको कल्याण हुनेछ ।’

हामीमध्ये अधिकांश यो हिन्दू मिथकका कोही न कोही पात्रमा अनुवाद हुन सक्छौँ । कोही देवताका रूपमा, कोही मानिसका रूपमा र कोही असुरका प्रतिनिधि पात्रका रूपमा । देवत्व हुनु नै देवता हुनु हो, मानवीयता हुन मानिस हुनु हो र असुरत्व हुनु असुर हुनु हो । ब्रह्माको स्थान हाम्रो विवेकले प्रतिनिधित्व गर्नसक्छ ।

सन्तान थरीथरीका भनेझैँ देवत्वको अभ्यास गर्ने कोही न कोही हामीबीच पनि छन् । जस्तो, १७ वर्षदेखि सोल्टी मोडनजिकै ‘आमाको घर’ सञ्चालन गरेर बसेकी दिलशोभा श्रेष्ठ । ४५ जना असहाय वृद्धाहरू र त्यत्तिकै संख्यामा अनाथ बालबालिकालाई आश्रय दिएकी छन् दिलशोभाले । वृद्धाहरूलाई उनी आमा भन्छिन्, बालबालिकालाई छोराछोरी । ‘कुन प्रेरणाले तपाईंले यो पुण्य कार्य आरम्भ गर्नुभयो ?’ कसैले दिलशोभालाई सोध्यो । उनले सहज ढंगले भनिन्, ‘काम गर्नलाई जोखाना हेर्नुपर्दैन । आफ्नै सन्तानबाट परित्यक्त भई सडकमा हात फैलाएर याचना गरिरहेकी कुनै असहाय आमालाई पहिलोपल्ट मैले देखेँ । तत्क्षण उनलाई मेरो घरमा आश्रय दिएँ । कसैबाट परित्यक्त हुनुको पीडा मैले पनि भोगेकी थिएँ । मलाई उनको पीडाले छोइहाल्यो ।’

दिलशोभाले आफ्नो एउटा सानो संसार बनाएकी छिन् । जुन, आममानिसको भन्दा नितान्त भिन्न सोच र आदर्शले ओतप्रोत छ । उनी असहाय र निरुपाय आत्मालाई खाना खुवाउँदा आनन्दित हुन्छिन् । तृप्त भएपछि तिनको चेहरामा फैलिने उज्यालो, तिनको आँखामा उर्लने कल्याणको भावना र तिनका ओठबाट बर्सने आशिषले दिलशोभा प्रशन्न हुन्छिन् । दिलशोभाले अनुभूति गरेको सुखको स्तर दुई पैसाको लोभ गर्ने र घरमा भर्सक कोही नछिरोस् भनी दैलोमा भोटे कुकुर बाँधेर बस्नेहरूको भन्दा निश्चय नै माथिल्लो स्तरको हुनुपर्छ । अन्यथा, तिनले जस्तै मै खाउँm, मैलाउँm भन्न दिलशोभालाई पनि आउँदो हो । अमेरिकाबाट कमला भुसाल र श्री अरविन्द आश्रमबाट प्रेम भुसालले ‘आमाको घर’लाई गरेको खाद्यान्न सहयोग लिएर पंक्तिकार दिलशोभालाई भेट्न पुगेको थियो । नामजस्तै दिलकी धनी दिलशोभाले सरल नेपाली भाषामा गहनतम मानवीय आदर्श सुनाइन् । कसैले उनलाई सोध्यो, ‘तपाईंलाई पनि अरूले जस्तै निजी जीवन बाँच्न मन लागेन ?’ मुसुक्क हाँस्दै उनले भनिन्, ‘एउटा तोरीको दाना माटोमा बिलाएर जान्छ र लहलहाउँदो तोरीको बोटलाई जीवन दिन्छ । अन्तत: तेल भरिएका सयौँ दाना तयार हुन्छन् । प्रकृतिको यही नियम हामी मानिसहरूमा पनि लागू हुन्छ । एकजनाले त्याग गर्दा सयौँले जीवन पाउँछन् । एउटी आमालाई पाल्न थालेपछि अरू आमाहरूलाई पनि पाल्न मन लाग्यो ।’ घरमा नयाँ खटिया राख्ने ठाउँ हुँदासम्म उनले असहाय आमाहरूलाई आश्रय दिइरहिन् । आफूलाई, आफ्नो निजी जीवनलाई उत्सर्ग गरेर जुन सुखानुभूति हुन्छ, त्यो त सायद हामीले आफूलाई कुनै न कुनै ढंगले दिलशोभामा अनुवाद गरेपछि नै अनुभूति हुन सक्ला । आफ्नो जीवनकालमा करिब यस्तै अनुभूति पाएका महाकवि देवकोटाले भनेका छन् :
खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ,
आफू मिटाई अरूलाई दिनु जहाँ छ ।


यस्तो लाग्छ, जसरी आममानिसलाई लोभ गर्ने आदत बसेको छ, उसैगरी दिलशोभालाई त्याग गर्ने बानी लागेको छ । देश, काल र परिस्थितिवश कसैलाई अरूलाई लुटेर खुसी हुने लत बस्छ, कसैलाई अरूलाई दिएर प्रशन्न हुने । वर्तमान कालखण्डका राजनीतिक अगुवाहरूमा अरूलाई लुटेर खुसी हुने स्वभाव बसेको छ । एकजना पचासौँ तिकडम गरेर सत्तामा पुग्छ र बाँकी सबै उसलाई लघार्न आरम्भ गर्छन् । देशलाई नयाँ शासकको खाँचो हो कि सहमतिको ? मूढमतिहरूको मस्तिष्कमा यति सरल कुरा पनि घुस्दैन । राजनीतिक अगुवाले आफूलाई असुरमा अनुवाद गरेका हुँदा तिनको पात्रता नष्ट भएको छ । हामी स्वयंले आफूलाई देवता, मानिस वा असुर केमा अनुवाद गरिराखेका छौँ यो आफैँलाई नियाल्दा थाहा हुन्छ । पहिला पापपुण्यको हिसाब राख्ने चित्रगुप्त हुन्थे भन्ने मिथक थियो । आज विज्ञानले सावित गरेको छ— चित्रगुप्त चाहिँदैन, समाज र स्वयंले खराब भनेको काम गर्दा कानुनत: कुनै न कुनै समयमा शारीरिक रूपमा दण्डभागी हुने सम्भावना रहन्छ नै, मानसिक रूपमा जीवनको अन्तकालसम्म अपराधबोधले आत्मा छियाछिया बनाइरहन्छ ।
खुसी पनि छ, उदासी पनि छ । खुसी यसकारण कि केही दिलशोभाहरूले मानवीय चेतनालाई माथि उठाएका छन् र झन्डै दैवीकल्याणको अनुकरणीय आदर्श व्यवहारमा देखाइदिएका छन् । उदासी यसकारण कि अगुवाहरूले देशको बलात्कार गरिरहेका छन् । अधिकांश असल मानिस निष्क्रिय छन्, मुठ्ठीभर खराब मानिस सक्रिय छन् । हाम्रो दुर्भाग्य, यस युगमा शेषशायी विष्णुको नाभीबाट कोही विश्वनियन्ता ब्रह्मा जन्मँदैन । जसले लोभीपापी अगुवाहरूलाई घुक्र्याओस्, हप्काओस् । असुरचित्त भएकालाई पात्रता विकसित गर्न यम, नियम र ब्रह्मचर्यको शिक्षा देओस् र अन्तत: तिनका कानमा द अर्थात् दाम्यत, दत्त, दयध्वम्को मन्त्र फुकिदेओस् ।
 My article published in Sourya daily on 5th January 2013.
http://www.souryadaily.com/2013/01/52251.html

नेत्र आचार्य
Netra Acharya